तराईको गर्मीमा फिल्ड रिपोर्टिङ गर्नु आफैँमा चुनौती हो। त्यो दिन पनि म घामको चर्को रापले तातेर कार्यकक्षमा फर्किएकी थिएँ। सहकर्मी दाजुहरू सोफाको दुवै छेउमा बसेका थिए, बिचमा म बस्नुपर्ने भयो। तर मलाई असहज लाग्यो। तीमध्ये एक जनालाई पर सर्न आग्रह गरेँ तर उहाँले नमानेपछि मैले आफूलाई सहज पार्न कुर्सी सराउने प्रयास गरेँ।
त्यतिमा अचानक आवाज आयो– ‘किन त्यहाँ नबसेको? छुई भएकी हाै कि क्या?’
म स्तब्ध भएँ। आँखा उठाएर हेरेँ, उहाँ समाजशास्त्र पढाउने प्रोफेसर हुनुहुन्थ्यो। त्यस दिन हाम्रै कार्यकक्षमा आउनु भएको थियो। कुरा गरेर सामान्य ढंगमा मुस्कुराउँदै हुनुहुन्थ्यो। वरपरका अन्य पुरुष सहकर्मीहरू पनि हाँस्दै थिए। तर म भने त्यहाँ एउटी मात्र थिएँ जसको शरीरमा पाठेघर छ, जसलाई महिनावारी हुन्छ।
त्यो क्षणमा मैले केही भनेको जस्तो लाग्दैन। तर मनमनै भनेको थिएँ, ‘हाम्रो घरमा यस्तो कुरामा विश्वास गरिँदैन।’ यद्यपि त्यो भनाइ पनि बाहिरभन्दा भित्र, मेरो अन्तरमनमा मात्र गुन्जिएको थियो।
त्यो घटनाले मलाई गहिरो चोट दियो किनभने समाजशास्त्र पढाउने, शिक्षित र ‘बौद्धिक’ ठानिएका व्यक्ति पनि महिनावारीलाई अपवित्र र अछुतको रूपमा हेर्छन् भने समाजमा परिवर्तन कसरी सम्भव होला?
त्यस दिन मैले बुझेँ, शैक्षिक प्रमाणपत्र हुनु र साँच्चिकै शिक्षित हुनु दुई फरक कुरा हो। महिनावारीप्रतिको यो सोच प्राचीन अन्धविश्वासको निरन्तरता हो जुन गहिरो अनुसन्धान र संवादबिना पुस्ताबाट पुस्तामा सर्दै आएको छ। जुन रगतका कारण हामी सबै संसारमा आएका हौँ, त्यो रगतलाई अपवित्र भनिन्छ भने हामी सबैले आफैलाई फोहोरी भन्नुपर्ने हो। महिनावारी ‘छुई’ होइन, शरीरको प्रकृत चक्र हो। त्यो लाज होइन, शक्ति हो। अपमान होइन, अस्तित्व हो।
यी त भए वर्तमान समयमा भोगेका कुरा तर थाहै नपाई महिनावारी विभेद भोग्नु परेको देखेको अथवा सुनेको समय धेरै भइसक्यो।
महिनावारीको पहिलो सम्झना
महिनावारी शब्द सुनेको पहिलो पटक ८ वर्षकी हुँदा, आमा महिनावारी भएको थाहा पाएँ। त्यस दिन आमाले थोत्रो ओछ्यान ल्याएर भुईँमा बिछ्याउनु भयो। पुराना लुगा लगाउनु भयो। खाना पनि अलग्गै, एक्लै बसेर खानुभयो। अझ अरूले थालमा पस्किदिएपछि मात्र खानुभयो।
चार दिनसम्म उहाँको दिनचर्या त्यही थियो– सबैभन्दा टाढा, सबैभन्दा अलग। पाँचौँ दिन उहाँले स्नान गर्नुभयो। त्यसपछि ‘चोखिनु’ भयो रे! अनि फेरि बाअनुसार अरू २५ दिनजस्तै आफ्नो कामकाजमा फर्किनुभयो। त्यो प्रक्रिया महिनैपिच्छे दोहोरिन्थ्यो।
बुबा, दिदी र मेरो ३० दिन एउटै हुन थाल्यो तर आमाको भने २५ दिन फरक हुन्थ्यो। महिनावारीको ५ दिन फरक हुन्थ्यो।
विद्यालयमा सेतो लुगा र महिनावारी रगतको डर
विद्यालय शिक्षामा अध्ययनरत रहँदा हप्तामा दुई दिन (मंगलबार र शुक्रबार), मेरो विद्यालयको पोसाक सेतो हुन्थ्यो। त्यो सेतो पोसाक मेरो लागि ‘डर’ को प्रतीकजस्तै बनेको थियो। महिनावारी हुने समयमा त झन् सासै अड्किन्थ्यो– कहीँ रगत लुगा छिर्ला कि, कसैले देख्ला कि भन्ने चिन्ताले हरबखत सताउँथे।
एक दिन त्यही भयो, जुन आज पनि म प्रस्टसँग सम्झन्छु। त्यो दिन चौथो घण्टी थियो, मलाई प्यास लाग्यो र पानी खान उठेँ। उठ्नासाथ साथीसंगीबिच गाइँगुइँ सुरु भयो। मसँगै बस्ने मेरी साथीले फुसफुसाउँदै भनिन्, ‘ओइ, तिमीलाई पिरियड्स भएछ, पछाडि रगत लागेको छ।’
उसले यति के भनेकी थिइन्, १४ वर्षको उमेरमै मुटु झस्कियो। मलाई ठुलो अपराध गरेजस्तो महसुस भयो। लज्जा बोध मिश्रित डरले शरीर काँप्न थाल्यो, मन थर्थरायो। म केही भन्न सकिनँ, कसैलाई हेर्नै सकिनँ। हतारमा झोला बोकेँ, झोलाको फित्ता खुकुलो बनाउँदै रगत लागेको ठाउँ छेक्ने कोसिस गरेँ र एक शब्द नबोली घर फर्किएँ। त्यो दिन मेरो कक्षा अधूरै रह्यो।
त्यो एउटा मात्र दिन थिएन। महिनावारी भएको बेला रगत लुगामा लाग्दा म पटक पटक यस्तै घटनामा परेँ। डर, लाज, अपमान– यी सबै मिलेर मलाई बारम्बार विद्यालयबाट घर फर्कन बाध्य बनायो। म पढ्न चाहन्थेँ, सिक्न चाहन्थेँ तर महिनावारी विभेदका सामाजिक–सांस्कृतिक अवयवहरूले हरेक महिना ‘पाँच दिन’ मलाई विद्यालयबाट टाढा राख्थ्यो। पर धकेल्थ्यो।
यी घटनाहरू सायद धेरैका लागि सामान्य लाग्न सक्छन्, तर एक किशोरीका लागि ती क्षणहरूले आत्मविश्वासलाई गम्भीर चोट पुर्याउँछ। मलाई पनि गम्भीर चोट दिएको छ। महिनावारीको रगत कुनै अपराध होइन, न त लाजको कुरा। तर त्यति बेला मलाई लाग्थ्यो, सेतो लुगाभित्र लुकेको एउटा सानो दागले मेरो सम्पूर्ण अस्तित्वलाई नै कलंकित बनायो।
छाउगोठ सुदूरमा मात्र छैन
महिनावारी विभेद भन्नासाथ हामी सुदूरपश्चिम सम्झिने गर्छौँ। हो, सुदूरका गाउँहरूमा देखिने छाउगोठ छन् तर सहरहरूमा नदेखिने। छाउगोठका फरक–फरक स्वरूपहरू छन्। अहिले पनि महिनावारी भएको समयमा परिवारले थाहा पाएको खण्डमा धार्मिक, सांस्कृतिक तथा अन्य गतिविधिमा समावेश गर्न असम्भव हुन्छ। अहिले पनि कतिपय सार्वजनिक स्थलमै पनि महिनावारी भएको समयमा पसलमा नआउनुहोस् भन्ने जस्ता अनुभव समेत रहेको विषय समेत उठान भएको थियो।
महिनावारी विभेदको चर्चा गर्दा प्रायः हामी सुदूरपश्चिमका गाउँघरमा देखिने छाउगोठलाई सम्झिन्छौँ– काठका झुपडी, खरपातले छाएको अँध्यारो कोठा र छोरीहरूमाथिको अमानवीय व्यवहार। ती दृश्यहरू आज पनि यथावत् छन्। तर छाउगोठ केवल सुदूर गाउँमै सीमित छैन। सहरमा पनि छन् छाउगोठ। देखिँदैनन् तर महसुस हुन्छ। यहाँ छाउगोठ ‘इँट र काठ’ मा होइन, सोच र व्यवहारमा निर्माण भएका छन्।
आज पनि सहरका घरभित्र महिनावारी भएको थाहा पाउने बित्तिकै महिलालाई पूजा गर्न निषेध गरिन्छ, भान्सामा पस्न दिइँदैन वा कुनै धार्मिक अनुष्ठानमा सहभागिता गर्न अनुमति दिइँदैन।
छाउगोठको स्वरूप अब रूपान्तरण भइसकेको छ, काठको झुपडीबाट मानसिक जेलमा। विभेदको रूप फेरिएको छ तर सार उस्तै छ।
मर्यादित महिनावारी मैत्री पूर्वाधारको अभाव
देशभर करोडौँ रुपैयाँ खर्चिएर ठुला–ठुला भवनहरू बनाइन्छन्; अस्पताल, मन्त्रालय, अदालत, विद्यालय, निजी कार्यालय अनि तारे होटेलहरू। यी संरचनाहरूमा धूम्रपान कक्ष, रक्सीको बार, विश्राम कोठा– सबै व्यवस्था सजिलै भेटिन्छ। तर महिनावारी भएका व्यक्तिहरूका लागि आवश्यक पर्ने ‘आराम कक्ष’ वा ‘प्याड कक्ष’ किन छैनन्?
कहिले चुरोटको खोल हातमै देखिन्छ, कहिले रक्सीको बोतल खुला रूपमा बोकेर हिँडिन्छ, कोही लज्जित हुँदैन। तर महिनावारी प्याड किन अझै कालो प्लास्टिकमा बेरेर मात्र दिने चलन चलिरहेको छ? किन यो जैविक प्रक्रिया आज पनि लाज, अपवित्रता र गोप्यताको खोलमा बेरिएको छ?
महिनावारी भएको भनेर विद्यालय नजाने, सेतो पोसाकमा रगत लाग्छ कि भन्ने डरले कक्षा छुटाउने, सांस्कृतिक कार्यक्रममा सहभागी नहुने वा भान्सामै नछिर्ने घटनाहरू आज पनि सामान्यजस्तै छन्। तर म आज भान्सामा जान्छु, देवीको मन्दिर पनि जान्छु, उत्सवमा सहभागी हुन्छु किनभने म बुझ्न थालेकी छु; महिनावारी हुने शरीर अशुद्ध होइन। यदि त्यो अशुद्ध हो भने, कामाख्या, दुर्गा, काली, सरस्वती जस्ता महिला मूर्ति देवीहरूको आराधना महिनाको ३० दिन खुला हुने मन्दिरहरूमा किन भइरहेछ?
समस्या यो हो कि महिनावारीलाई अझै पनि ’अशुद्धता’ को सन्दर्भमा मात्र हेरिन्छ, स्वास्थ्य वा गरिमासँग होइन।
त्यसैले अब समय आएको छ जहाँ पूर्वाधार बनाउँदा ‘महिनावारी मैत्री’ सोच अनिवार्य बनोस्। विद्यालय, कार्यालय, अस्पताल, होटेल वा अन्य सार्वजनिक ठाउँमा होस्, जसरी पुरुष शौचालय वा धूम्रपान कक्ष सहज उपलब्ध छन्, त्यसरी नै महिनावारी भएका व्यक्तिहरूका लागि स्वच्छता, गोपनीयता, सुविधा र सम्मानयुक्त पूर्वाधारको सुनिश्चितता गरिनुपर्छ।
महिनावारी मैत्री कार्यकक्ष अभाव
सञ्चारमाध्यममा काम गर्ने हामीजस्ता पत्रकारहरूसँग समाजले उच्च नैतिकता, विवेक र जिम्मेवारीको अपेक्षा गर्छ। हामी ‘आवाजविहीनका आवाज’ बन्ने प्रयत्न गरिरहेका हुन्छौँ तर स्वयम हामीले भोगिरहेका केही मौन पीडाहरूमा भने न हामीले आवाज उठाउन सकिरहेका छौँ, न त संस्थाहरूले त्यसमा ध्यान दिएका छन्।
महिनावारी जस्तो जैविक प्रक्रियाप्रति समाजले राख्ने दृष्टिकोण अझै पनि पश्चगामी छ। पत्रकारिता क्षेत्रलाई बौद्धिक र प्रगतिशील भनिए पनि कार्यस्थलहरू भने महिनावारीमैत्री छैनन्। केही अपवादबाहेक, अधिकांश मिडिया हाउसहरूले महिला कर्मचारीका महिनावारी अवस्थाको संवेदनशीलता बुझ्न चाहँदैनन्। कार्यकक्षमा महिनावारी भएका बेला देखिने कार्यक्षमताको उतार–चढाव, पोषणयुक्त खानाको आवश्यकता, विश्रामको आवश्यकता– यी सबै अझै गम्भीरतापूर्वक सम्बोधन भएको पाइँदैन।
सयौँ वर्षको पितृसत्तात्मक संरचनाभित्र हुर्किएको समाजले महिनावारीसँग जोडिएका विभेदहरूलाई ‘सामान्य’ ठान्छ। यही सोचले गर्दा न कार्यस्थलमै महिनावारी विश्राम कक्षको सुविधा छ, न प्याडको पहुँच, न खुला संवाद। महिलाहरू अझै पनि चुपचाप दुखाइ सहेर काम गरिरहेछन्, लाजको भारी बोकिरहेछन्।
महिनावारी हरेक व्यक्तिमा फरक हुन्छ। कोही बिना पीडाको त्यो ४–५ दिन कटाउँछन्, त कोही प्रसव पीडाजस्तै पीडा भोग्न बाध्य हुन्छन्। यस्तो अवस्थामा पनि महिलालाई कामको चापबाट छुट नहुनु, विभेदपूर्ण व्यवहार भोग्नु, कतिपय अवस्थामा हिंसासम्म सहनु पर्नु– यी सबै पितृसत्तात्मक सोचको उपज हुन्।
अब समय आएको छ, जहाँ प्रत्येक कार्यस्थलले महिनावारी भएका कर्मचारीहरूको गरिमा, स्वास्थ्य र सहजीकरणको लागि आवश्यक पूर्वाधारहरू सुनिश्चित गरोस्। प्याड रेस्ट कक्ष, पोषणयुक्त खाने व्यवस्था, लचिलो समय, र महिनावारीसम्बन्धी सचेतना अभिवृद्धि, यी सबै अब नीतिमा मात्र होइन, व्यवहारमै लागु हुनुपर्छ।
मर्यादित महिनावारी अब सामाजिक माग मात्र होइन, कार्यस्थलको न्यूनतम दायित्व हो। किनभने आवाज दिनेहरूका आवाज यदि सुनिएन र उसलाई मौन राख्न खोजियो भने यो मौनता सबैभन्दा ठुलो अन्याय हुन्छ। किनभने महिनावारी विभेद मानव अधिकार उल्लंघन पनि हो।
के हो महिनावारी र मर्यादित महिनावारी?
महिनावारी एक प्राकृतिक प्रक्रिया हो जुन प्रायः ८ देखि १६ वर्षको उमेरमा सुरु हुन्छ र करिब २८ दिनको अन्तरालमा दोहोरिन्छ। यो महिलाको स्वास्थ्य र जीवनको सामान्य हिस्सा हो। तर हाम्रो समाजमा अझै पनि महिनावारीलाई अशुद्ध मानेर अनेक विभेद गरिन्छ। धार्मिक, सांस्कृतिक र सामाजिक गतिविधिबाट महिलालाई अलग राखिन्छ। यस्ता व्यवहार अन्त्य गर्न ‘मर्यादित महिनावारी’ को अवधारणा आएको हो।
महिनावारी भएकालाई महिनाको अन्य समय जस्तै समान व्यवहार गरिनुपर्छ, उनीहरूको इच्छा विपरीत कुनै धार्मिक, सामाजिक, लगायत अन्य क्रियाकलापमा रोक नलगाई त्यो समयलाई पनि अन्य समयमा जस्तै सामान्य व्यवहार गरिनुपर्छ भन्ने नै हो। यसले महिला अधिकार, सम्मान र समानताको रक्षा गर्छ। मर्यादित महिनावारीको सिद्धान्तको दायरा अत्यन्तै फराकिलो छ तर सामान्य अर्थमा बुझ्नुपर्दा यही विषय महत्त्वपूर्ण रहेको बुझ्न सकिन्छ।
महिनावारी पाठेघर भएका मात्र सवाल हैन
अहिले पनि मानिसहरूलाई लाग्ने गर्छ महिनावारीको विषय भनेको महिनावारी हुनेहरूको मात्र हो। तर यो विचार गलत हो। उदाहरणको लागि राधा फाउन्डेसनको आयोजनामा भएको ३ दिने प्रशिक्षण कार्यक्रममा झन्डै १५ जना देशका विभिन्न जिल्लाका पत्रकारहरूको उपस्थिति थियो। जसमध्ये ६ जना पुरुषहरू अथवा महिनावारी नहुने व्यक्तिहरूको रहेका थिए। महिनावारीको सवालमा आफ्ना आफ्ना अनुभव सुनाइरहँदा बालक अवस्थामा आफ्नी दिदी, बहिनी, आमा महिनावारी हुँदा आफूले मानसिक रूपमा तनाव भोगेको समेत अनुभव साट्नु भएको थियो। त्यति मात्र नभएर पूजाआजा, तिथि, लगायतका गतिविधि हुने समयमा श्रीमती महिनावारी भएको खण्डमा श्रीमानले समेत कुनै धार्मिक कार्यमा सहभागिता जनाउन नपाएको विषय पनि उठान गरेका थिए। अझ सबैभन्दा महत्त्वपूर्ण कुरा महिनावारी रगत भएकै कारणले गर्दा पाठेघर हुने र नहुने सबैका जन्म हुने गर्छ अनि महिनावारीको विषय पाठेघर हुनेहरूको मात्रै हो त? अब समय आएको छ महिनावारी बारे सोच र धारणा परिवर्तन गर्ने।
थाहै नपाई थिचिएको संवैधानिक अधिकार
नेपालको संविधान २०७२ भाग ३ मा नागरिकको मौलिक हक र कर्तव्यमा ३२ वटा धारा रहेका छन्। महिनावारी विभेद हुँदा अथवा महिनावारी भएको समयमा बार्नुपर्ने भनेर बनाइएका बाध्यात्मक नियमले ११ वटा मौलिक हक अधिकार उल्लंघन भएको देखिएको छ। संविधानको धारा १६ मा सम्मानपूर्वक बाँच्न पाउने हक छ। धारा १७ मा कुनै पनि व्यक्तिलाई वैयक्तिक स्वतन्त्रताबाट वञ्चित गर्न नहुने भनी उल्लेख छ। धारा १८ मा समानताको हक, धारा २४ मा छुवाछुत तथा भेदभाव विरुद्धको हक, धारा २९ मा शोषण विरुद्धको, धारा ३० मा स्वच्छ वातावरणको हक, धारा ३१ मा शिक्षा सम्बन्धी हक, धारा ३५ मा स्वास्थ्य सम्बन्धी हक, धारा ३६ खाद्य सम्बन्धी हक, धारा ३७ आवास सम्बन्धी हक, धारा ३८ मा महिलाको हक र धारा ३९ बालबालिकाको अधिकार छ। महिनावारी विभेद भएकै कारणले गर्दा संविधानले सुनिश्चित गरेको मौलिक अधिकार समेत हनन भएको प्रत्यक्ष रूपमा अनुभूति गर्न सकिन्छ।
त्योसँगै संविधानको भाग ४, राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व अन्तर्गत धारा ५० को निर्देशक सिद्धान्तहरूको खण्ड (१), (२), धारा ५१ खण्ड ख, ग, ञ र झ मा उल्लेखित मर्म, भावना, धारा ५२, ५३, ५४ का प्रबन्धहरूमा गरेको व्यवस्थाहरू पनि महिनावारी विभेदका कारण उल्लङ्घन हुने गर्छन्। धारा ५० को खण्ड १ मा मौलिक हक तथा मानव अधिकारका मूल्य, मान्यता, लैङ्गिक समानताका विषय छन्। खण्ड २ मा धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने लगायता विषय छन्।
धारा ५१ मा मानव अधिकारको संरक्षण र संवर्द्धन गर्दै विधिको शासन कायम राख्ने, समाजमा विद्यमान धर्म, प्रथा, परम्परा,रीति तथा संस्कारका नाममा हुने सबै प्रकारका विभेद, असमानता, शोषण र अन्यायको अन्त गर्ने जस्ता नीतिहरू देखिन्छ।
धारा ५२ मा मौलिक हक तथा मानवअधिकारको संरक्षण संवर्द्धन, राज्यका निर्देशक सिद्धान्तहरूको अनुसरण तथा राज्यको नीति कार्यान्वयन गर्ने राज्यको दायित्व हुने उल्लेख छ।
महिनावारी विभेदको अन्त्यसम्बन्धी संकल्प प्रस्ताव सर्वसम्मत पारित
गत चैत्र ९ गते मर्यादित महिनावारीका लागि महिनावारी विभेद अन्त्यसम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभाले सर्वसम्मत पारित गरेको थियो। राष्ट्रिय सभा सदस्य मदनकुमारी शाह (गरिमा) ले शुक्रबारको बैठकमा प्रस्तुत गरेको संकल्प प्रस्तावलाई छलफलपछि सभाले अनुमोदन गरेको हो ।
संकल्प प्रस्ताव पारित भएपछि राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले त्यसमा उल्लिखित विषय कार्यान्वयन गर्न नेपाल सरकारलाई निर्देशन दिएका थिए। साथै कार्यान्वयनको अनुगमन गर्न सम्बन्धित समितिलाई समेत जिम्मेवारी तोकिएको छ । १८ माघमा दर्ता भएको शाहको प्रस्तावमा सुमित्रा बिसी, विष्णुकुमारी सापकोटा, गंगा बेल्बासे, पूजा चौधरी र डा. अञ्जान शाक्यले समर्थन जनाएका थिए ।
संकल्प प्रस्तावमा महिनावारी हुने बालिका तथा महिलाले यस अवधिमा भोग्नुपर्ने सामाजिक बहिष्करण, हिंसा, विभेद तथा तिनका कारण उत्पन्न शारीरिक र मानसिक पीडा एवं असुरक्षाले समग्र व्यक्तित्व विकास अवरुद्ध गर्ने उल्लेख छ । यस्तो विभेद अन्त्य गर्न तथा सामाजिक न्याय, मौलिक अधिकार र मानव अधिकारको रक्षा सुनिश्चित गर्न कानुनी तथा संरचनागत सुधार आवश्यक रहेको प्रस्तावमा उल्लेख गरिएको छ।
महिनावारी विभेद समाजद्वारा स्थापित मान्यताको हो। समाज गतिशील छ। आजभन्दा सयौँ वर्षअघि महिनावारी प्याड, टेम्पुन लगायतका महिनावारी साधनको उपलब्धता थिएन। जस कारण महिनावारीको रगत व्यवस्थापन गर्न महिनावारी हुने व्यक्तिहरूलाई असहज हुने गर्थे। समय क्रमसँगै हाल महिनावारीका साधनहरू पनि उपलब्धता प्रत्येक स्थानमा बढ्दै गएको छ। सरकारले पनि महिनावारी प्याडको उपलब्धता बढाउन निःशुल्क रूपमा विद्यालयहरूमा वितरण गर्ने गरेका छ। तर त्योसँगै सरकाले नीति नै बनाएर मर्यादित महिनावारी कायम गर्न जरिवाना र सजाए नै तोक्नुपर्छ। किनभने ‘मबाट महिनावारी भएकै कारण तपाईं हुनुहुन्छ म छु हामी छौँ, महिनावारी प्रकृतिको उपहार हो यसलाई अभिसाप भन्ने भाष्य नगराऊ। महिनावारीको रगत स्वच्छ र सफा हुन्छ। त्यसै कारणले तपाईं र म पनि स्वच्छ र सफा छौँ। महिनावारीको रगत पवित्र हुन्छ। यही रगतबाट जन्मिएका तपाईं हामी पवित्र छौँ।