सन्तानको मायामा चुर्लुम्म डुबेका बाबुआमाको आशा भरोसा सन्तान जो मुटुमा राखेका हुन्छन् र उनीहरूलाई सबै थोक पूरा गरिरहेका हुन्छन्।
भात खाने खेत बेचेर सन्तानलाई विदेश पठाउँछन्। गोठको दुहुनो भैँसी बेचेर पैसाको जोगाड गर्छन् तर सन्तान उता पुगेपछि परिस्थितिको दास बनेर उतै अड्किन्छन्। उनीहरूको पनि दोष छैन किनकि समय नै दुष्ट छ। महँगाइ, घर भाँडा ट्युसन फी, खानपिन खर्च गर्दा पैसा बच्दैन। बिस्तारै सन्तानको रहर बढ्छ। खर्च पनि बढ्छ। जब पैसा बच्दैन, ऊ ऋणमा डुब्छ।
सबै कुरा इएमआईमा हुने भएपछि घर किस्ता, मोटर किस्ता, मोबाइल किस्ता जस्ता किस्ता नै किस्ताले जकडिएपछि कहाँबाट फर्कनु मुलुक! समय गुज्रन्छ, मन मर्दै जान्छ, सम्पर्क पातलिन्छ किनकि फोन सम्पर्क गर्न समय मिल्दैन; उता दिन यता रात, यता रात उता दिन हुन्छ।
‘कहाँको दूध भात खानु! भएको खेत धितो राखेर सन्तान विदेश पठाएको, दुहुनो पाल्न घाँस-पराल, गोठ-गोबर कसले गर्ने? यसैले न दूध भयो, न भात!’ यस्तै छ नेपाली बाबुआमाको गुनासो। संसार नै बसाइसराइमा छ।
‘नेपाली मात्र होइन, दुनियाँ नरलोक उरालिएको छ विदेशमा के देखेर हो,’ भन्नुहुन्थ्यो एक जना बुबाले।
अस्ति मात्र बिहेको पार्टीमा एक जना पुरानो स्नातक पढ्दाको मित्र र उहाँकी जीवनसंगिनीसँग भेट हुने शुभ अवसर मिल्यो। त्यो विवाहमा मुख्य पात्र दुलाहा-दुलही को के गर्दा रहेछन् भन्ने जिज्ञासा राख्दा मित्रले विदेशकै डाक्टर भन्नुभयो। हामी सबै विदेशी भनेपछि हाम फाल्छौँ। फेरि विदेश जानु अपराध पनि त हैन, तथापि भरोसा भने टुट्छ बाबुआमाको। तर पनि सन्तानको सुखलाई सर्वोपरि ठानेर मुटुमा गाँठो पार्दै पीडा लुकाएर बनावटी हाँसो देखाउँदै सहर्ष प्रस्ताव स्वीकार गर्छन्।
उहाँको पनि सन्तान बिदेसिएको बताउनु भयो। साथै दुखेसो पनि थियो। समाज आडम्बर भएपछि छिमेकीलाई देखाउन भए पनि एक सन्तानलाई त विदेशतिर पठाउनै पर्ने जस्तो पनि परिस्थिति छ हामीकहाँ।
बिदेसिनु, मुलुकमै बस्नु, इलम गर्नु, मान पदवी लिनु, ठुलो मान्छे बन्नु, धन कमाउनु जे-जसो गरे पनि आखिर ‘बाबुआमालाई दूध भात खुवाउन’ भुल्नु चाहिँ भएन।
बाबुआमाको इच्छा स्वदेशमै बसिदिए हुन्थ्यो भन्ने छ तर सन्तानको इच्छा मुलुक छाड्ने छ। किन यस्तो होला भन्ने प्रसंगमा एक जना आफन्तले भन्नुभयो- ‘विदेश जान र बस्न छोरी मान्छे बढी चाहेको देखियो।’
उहाँको अनुभवमा किनभने विदेश रहँदा सबै काम आफैले मात्र गर्न नपर्ने, टाउको ढाक्ने ढोग दिने झन्झटबाटै मुक्त, जे जस्तो लुगा लगाए पनि भयो कसैले कमेन्ट गर्दैन। न कसैलाई पाल्न पर्यो न त इष्टमित्र, पर पाहुना छिमेकी र समाज। सबै खर्च जोगिने। यस कारण बिदेसिएका छोरी-बुहारी फर्कन चाहन्नन्। हामी यहाँ बस्नेले पनि सोच बदल्न पर्छ तब महिला ढुक्क भएर आनन्द मनले निस्फिक्री बनेर दंगसँग मुलुक बस्छन्।
उहाँको तर्कमा आंशिक सत्यता रहे पनि छोरी मान्छेको पनि बा-आमा त नेपालमा छन् नि। तिनीहरूको मायाले पनि तान्न पर्ने हो। अर्कोतर्फ रिवाज मान्नै पर्छ भन्ने पनि छैन, आफूलाई चित्त नबुझेर असहमति जनाउन पनि पाइन्छ नि, कसैले जबरजस्ती त गरेको छैन।
जहाँसम्म कामको कुरा छ, घरधन्दा यहाँ नेपालमा महिलाकै पेवा जस्तै छ। यस कारण उता विदेश पुगेर केही सहुलियत पाएको हुनसक्छ तर नेपाली पुरुषत्व चिन्तन जहाँ गए पनि धेरथोर त पक्कै हुन्छ नै।
सुकिला देशमा पुगेका सन्तानहरू उतै रमाउँछन्। मैलाधैला खाडीमा पुगेकाहरू कोही बाकसमा आउँछन्, बचेखुचेकाहरू बिमार मिर्गौला, जन्डिस, ग्यास्ट्रिक, दम बोकेर आउँछन्। देश रेमिटेन्सले चलेको छ र पनि तिनै रेमिटेन्सवालालाई पासपोर्ट बनाउन बाउको बिहे देख्न पर्छ। खाडीबाट घामले डढेर आउँछन्। यस्तै छ यहाँको चलन।
केही समयअघि एक भारतीय सिनेमा वध हेरेको थिएँ। त्यहाँ बाबुआमाले ऋण काढेर छोरा अमेरिका पठाउँछन् अनि साहुले धरपकड गर्छ। छोरालाई स्काइपमा सम्पर्क गर्छन्। बुढा बाआमा नातिनीसँग कुरा गर्न चाहन्छन् तर उता छोरा-बुहारी फोन गरेकोमा झर्को मान्छन्। ऋण तिर्ने कुरा परै जाओस्, खालि ‘पैसा छैन, मैले यहाँ घर किनेँ, त्यो घर बेचे हुन्छ’ समेत भन्छ। उनीहरू साह्रै पीडामा रहेर बाँचेका हुन्छन्। छोराले त्यस्तो व्यवहार गरेपछि बाबुले छोराको स्काइपको नम्बर उडाइदिन्छन् र भरोसा मर्छ, टुट्छ। परिवार पीडामा रहँदा पनि सन्तानले नहेरेपछि ऋणले घर बेचेर गाउँ नै छोड्छन्।
यो त एउटा प्रतिनिधि घटना हो। सिनेमा पनि समाजको घटनाको आधारमा नै बन्छ, पूरा काल्पनिक हुँदैन।
अहिले लामो समयपछि गाउँ जाने मौका मिल्यो। गाउँमा हरेक घरका छोराछोरी बिदेसिएका छन्। राम्रो छ, दुई/चार पैसा पठाएका छन्। तर गाउँ शून्य। बस् खाली छन् चौक, गल्ली शून्य छन्। बाँदरको लर्को हिँड्छन्। खेती छैन, बाँझै छ।
उता विदेशतिर रहेका केही युवा-युवतीहरू ‘मुलुक बन्यो भने फर्कने हो नेपाल’ भन्छन्, आशामा छन्। कोही पासपोर्ट रिन्यु गर्दै बसेका पनि छन्, मन मारेका छैनन्।
बुढा बाआमालाई दूध भात खुवाउन सन्तान आउने वातावरण मिलाउन राज्य अघि सर्नुपर्छ। समाज बदलिनु पर्छ। नारी हिंसा र भेदभाव तोड्नु पर्छ। पक्कै सन्तान बाआमालाई दूध भात खुवाउन आउने छन्, दिन टाढा छैन।