एक्लो छोरा हुनु केवल भाग्यको संयोग मात्र होइन, जिम्मेवारी र अपेक्षाको भार बोकेर अघि बढ्नु पनि हो। म २६ वर्षीय अविवाहित युवक, सुदूरपश्चिम प्रदेशको विकट पहाडी जिल्ला अछामको ढकारी गाउँपालिका- ३, वाग्वेतेमा जन्मिएको हुँ।
मेरो परिवारमा बुबा, ममी र एक बहिनी छन्। म बुबा-ममीको एक मात्र छोरा र पहिलो सन्तान भएकाले उहाँहरूको प्रत्येक सपना र आशाको केन्द्रबिन्दु म नै बनेको छु। यसको अर्थ— सम्पूर्ण जिम्मेवारी मेरो काँधमा। यो सोचले मलाई हरेक दिन अझ मेहनत गर्न र संघर्षको बाटो तय गर्न प्रेरित गरेको छ।
म एक मध्यम वर्गीय परिवारमा जन्मिएँ। मेरो बुबा र ममी न कुनै सानो-ठुलो जागिरमा हुनुहुन्छ, न त विदेशतिर नै जानु भयो। गाउँमै एउटा सानो किराना पसल र थोरै खेती गरेर हामीलाई हुर्काउनु भयो। पसलमा बेचिएका साना–साना सामग्रीले हाम्रो पढाइको खर्च जुट्थ्यो। हरेक बिहान पसल खोल्दा बुबाको अनुहारमा देखिने आशा र संघर्षको गहिरो चिन्ह म स्पष्ट देख्थेँ। उहाँको पसिनाको हरेक थोपा मेरो शिक्षाको लागि बगिरहेको थियो।
सानैदेखि बाबु-ममीको त्यही पसिना र मेहनतलाई मूल्यवान् सम्झन्थेँ। २०७१ सालमा श्री कालिका माध्यमिक विद्यालय ढकारी- २ हिच्मा, अछामबाट एसएलसी उत्तीर्ण गरेँ। आर्थिक अवस्था सबल नभए पनि बुबा-ममीको सपना मेरो पढाइमै केन्द्रित थियो। उहाँहरूले पसलमा राखिएको सामान एक–एक गरी बेचेर जम्मा गरेको पैसाले मलाई तानसेन, पाल्पाको सिद्धार्थ इन्स्टिच्युट अफ मेडिकल टेक्नोलोजीमा सिएमए पढ्न पठाउनुभयो।
पन्ध्र महिनाको कठिन मेहनतपछि स्वास्थ्यकर्मी बन्ने मेरो सपना पूरा भयो, र बुबा-ममीको पनि। सिएमए बनिसकेपछि म विभिन्न पोलिक्लिनिक, प्राइभेट हस्पिटल हुँदै आफ्नै गाउँ नजिकै रहेको हिच्मा स्वास्थ्य चौकी २, अछाममा करिब पाँच वर्ष जति अहेव पदमा रहेर सेवा गरेँ। गाउँलेहरूको खुसी र पीडासँग नजिकबाट परिचित हुँदै मैले स्वास्थ्य सेवामा अझ नजिकिन सिकेँ।
प्रत्येक बिरामीको पीडा मेरा आँखामा झल्कन्थ्यो। गाउँका वृद्धहरूको चाउरी परेको हात समातेर औषधि दिनु, बालबालिकालाई खोप लगाउँदा उनीहरूको आँखामा देखिने मुस्कान— यी सबैले मलाई अझ बढी सेवामुखी बनायो। कहिलेकाहीँ बिरामीले धन्यवाद दिँदै हात समाउने बित्तिकै म आफ्ना बुबा–ममीको संघर्ष सम्झन्थेँ। उहाँहरूले पसलमा बेच्ने प्रत्येक चाउचाउ, साबुन र तेलको खोलमा मेरो सपना पोको पारेर पठाउनु भएको थियो।
थप ज्ञानको खोजीमा अहिले म मंगलसेन बहुप्रविधिक शिक्षालय मंगलसेन अछाममा एचए (हेल्थ असिस्टेन्ट) को दोस्रो वर्षमा अध्ययनरत छु। यससँगै, २०८१ सालमा अछाम बहुमुखी क्याम्पस मंगलसेन अछामबाट बिएड (शिक्षामा स्नातक) पनि उत्तीर्ण गरिसकेको छु। यो मेरो शिक्षा र सपनाको यात्रा उहाँहरूको अर्थात् मेरो बुबा-ममीको संघर्षको फसल हो।
मेरो बुबा र ममीले विगत २०/२१ वर्षदेखि गाउँमै सानो किराना पसल र कृषि गरेर जीविका चलाउँदै आउनुभएको छ। ‘गाउँमै केही गरेर खानुपर्छ जसले गर्दा परिवार र समाजलाई टेवा पुगोस्’ भन्ने सोचले उहाँहरूले कहिल्यै विदेश जानु भएन। साँच्चै नै मेरो बुबा-ममी धेरै मान्छेको प्रेरणाको श्रोत हुनुहुन्छ। मसँग हुने हरेक किताबको पानामा, हरेक कपडामा, हरेक कलममा बुबा-ममीको पसिनाको गन्ध मिसिएको छ। पसलमा राखिएका सामानहरू बेचेर मैले शिक्षाको खुड्किलो चढेको हुँ।
बुबाको पसलबाट बेचेको एक–एक चाउचाउ, साबुन र नुनका खोलहरूमा उहाँहरूको संघर्षको कहानी लुकेको थियो। म उहाँहरूको त्यही पसिनाको मूल्यलाई बुझ्दथेँ। ममीले माया र मिहिनेतले बनाएको खाना खाएर म ठुलो भएँ।
हरेक बिहान म स्कुल जाँदा ममी भान्सामा खाना पकाउँदै भनिरहनु हुन्थ्यो, ‘बाबु, तिमीले ठुलो मान्छे बन्नु पर्छ।’ ममी बोल्दा उहाँको आँखामा आँसु टल्किन्थ्यो, ती आँसु मेरा सपनाहरूको आशीर्वादजस्तै लाग्थ्यो।
बुबाको पसलमा आउने ग्राहकहरूले कहिलेकाहीँ मलाई सोध्थे, ‘बाबु, पढेर के बन्ने हो?’
म हाँस्दै उत्तर दिन्थेँ, ‘डाक्टर बन्ने हो।’
के थाहा त्यति बेलाको बच्चालाई, अहिलेको जस्तो चेत 'स्वास्थ्यकर्मी र डाक्टरमा भिन्नता' त्यो सपना मेरो मात्र थिएन, बुबा-ममीको पनि थियो- स्वास्थ्यकर्मी बनाउने।
समाजको नजरमा एक्लो छोरा भनेको केवल सन्तान मात्र होइन, सम्पूर्ण परिवारको भविष्य हो। गाउँलेहरूले मेरा बुबालाई सोध्नुहुन्थ्यो, ‘छोरोले के बन्छ त?’
अनि बुबा गर्वले भन्नुहुन्थ्यो, ‘डाक्टर बनाउँछु।’
उहाँका ती शब्दहरूले मलाई जिम्मेवारी बोध गराउँथ्यो। समाजको त्यो विश्वासले म अझ दृढ भएर अध्ययन गर्न प्रेरित भएँ।
तर एक्लो छोराप्रति शुभचिन्तकहरूले राख्ने अपेक्षा भने निकै ठुलो हुन्छ। हरेक कदममा सफल हुनै पर्छ भन्ने दृष्टिकोणले कहिलेकाहीँ दबाब सिर्जना गर्थ्यो। 'एक मात्र छोरो' असफल भयो भने, परिवारको भविष्य के होला भन्ने प्रश्नले रातभरि निद्रा हराउँथ्यो। त्यसैले म कहिल्यै पछाडि फर्किएर हेर्ने आँट गर्न सकिनँ।
मेरो यात्रामा अवसर र चुनौतीहरू दुवै थिए। गाउँमै बसेर पढ्दा शैक्षिक स्रोतहरूको अभाव, यातायातको असुविधा र प्रविधिको पहुँच नहुनु प्रमुख चुनौतीहरू थिए। तर तिनै चुनौतीहरूले मलाई अझ परिपक्व बनायो। गाउँले तथा शुभचिन्तकहरूको माया र प्रोत्साहन मेरा लागि ठुलो अवसर बन्यो। स्वास्थ्य चौकीमा काम गर्दा गाउँका मानिसहरूको दुःख–सुख नजिकबाट देख्न पाएँ। यसले मलाई थप मानवताको सेवा गर्न प्रेरित गर्यो।
चुनौतीहरूका बाबजुद मैले गाउँमै सेवा गर्ने सपना देखेँ। स्वास्थ्य क्षेत्रमा काम गर्दा सिकेका ज्ञान र सीपलाई भविष्यमा अझ ठुलो स्तरमा प्रयोग गरेर गाउँका बिरामीहरूलाई नजिकबाट सेवा पुर्याउने इच्छा छ।
मध्यम वर्गीय परिवारमा जन्मेर मेरो बुबा-ममीले पसिना बगाएर पढाएकोमा मलाई अभिमान छ। उहाँहरूको संघर्ष र पसिनाको मूल्य बुझेर अघि बढेको छु। म गर्व गर्छु कि म बुबा-ममीको छोरा हुँ जसले उहाँहरूको सपना साकार पार्ने संकल्प लिएको छ। गाउँ र समाजको विश्वासलाई निरन्तरता दिँदै स्वास्थ्य सेवा पुर्याएर नयाँ उदाहरण स्थापित गर्ने मेरो लक्ष्य छ।
म भोलिका दिनमा गाउँमै स्वास्थ्य सेवा विस्तार गर्ने सपना बोकेर अघि बढिरहेको छु। चुनौती र अवसरको सम्मिश्रणमा हुर्किएको मेरो यात्रा अझ बलियो र प्रभावकारी बनाउँदै लैजाने छु। मेरो सफलता मेरो मात्र होइन, मेरो बुबा–ममीको संघर्षको फसल हो। त्यसैले मेरो हरेक कदम उहाँहरूकै सपना पूरा गर्ने दिशामा हुनेछ।