एसएलसी पास गरेपछि गाउँबाट काठमाडौँ जाने कि धनगढी, महेन्द्रनगर? यस्तै यस्तै सहरको रोजाइ हुन्थ्यो। कुरा विसं २०६३ अगाडि नै हो। त्यसपछिका परीक्षा त कसले नै पास गर्न सक्दैन थ्यो र? कुरा २०६३ भन्दा अगाडि जाऊँ। सो जाँच पास गर्नेको संख्या कमै भएका कारण छुट्टै पहिचान हुने। प्रथम श्रेणीमा पास त न्यून हुने, दोस्रो श्रेणीमा पनि हातका औँलामा गन्न सकिने। अहिले त परिस्थिति बेग्लै छ।
ती पास गर्न सकेका विद्यार्थी वर्गहरू तत्कालीन यस क्षेत्रका हुनेखाने परिवारका कहलिन्थे। कि त्यो मास्टर (शिक्षक), कि सुब्बा स्तरको वा कुनै सरकारी तलब खाने परिवारको नै हुन्थ्यो। अन्य सर्वसाधारणका पनि हुन्थे तर एकदम न्यून।
ज–जसले एसएलसी पास गर्यो, उसको गाउँभरि हल्ला हुन्थ्यो। मासिक तलब बुझ्ने परिवारका हो भने जिल्ला बाहिरका सहरमै पढ्न जानु पर्थ्यो। नगए त आफूलाई अब्बल साबित गर्न नसक्ने। मासिक खर्च जोहो गर्न नसक्नेलाई जिल्लाका क्याम्पस छँदै थिए।
जिल्लामा पहिलो जयपृथ्वी क्याम्पस थियो भने पछि सेती क्याम्पसको स्थापना भयो। काठमाडौँको अस्कल, आरआर, ताहाचल पढ्न जाने सीमित परिवारका हुन्थे। छिटपुट प्राविधिक धारमा जान्थे।
सहरमा पढ्न गएको उपलब्धि के छ कसैलाई मतलब हुँदैन थियो। तर तिनका परिवारका सदस्यहरूले गाउँभरि हल्ला फैलाएका हुन्थे कि सहरको क्याम्पस छुनै नसकिने गरी महँगो छ भनेर। सायद त्यो महँगोका गफले पछिल्लो साल गाउँबाट अर्को कोही पनि सहर नजाओस्।
आफन्तको सहारामा सहर पढ्न गएकाहरू समेत सहरको रहनसहनको सत्य कुरा गाउँमा गर्न भ्याउँदैन थिए। सहरको बसाइमा मासिक तलब बुझ्नेहरू त खर्च पुर्याउनै समस्या भयो भनेर दिएका गफ सुनिरहनु पर्थ्यो समाजमा। सहरको पढाइ र बसाइको भन्दा तिनका हावादारी गफ नै बढी मूल्यका हुन्थे। यी सहरका त्यति खेरका क्याम्पसहरूको त गाउँभरि चर्चा हुन्थ्यो।
जेनतेन गरेर जिल्लामा बसेर पढ्ने वर्गलाई त हतोत्साहित नै गर्थे। मुटु बलियो बनाएर जिल्ला भित्रकै क्याम्पसमा पढेर केही न केही गर्न हुटहुटी हुने वर्गलाई समाजकै बढी चिन्ता हुन्थ्यो। गाउँमा बसेर पढेको बखत समाजका हरेक सार्वजनिक कार्यहरूमा सरिक हुनै पर्थ्यो। कुलामा पानी ल्याउन किन नहोस्, दाउरा मेलापात जाँदा किन नहोस्, सहभागी हुनु पर्थ्यो। यदि उपस्थित भएन भने कस्तो ठुलो पल्टेको भनेर कुरा सुन्नु पर्थ्यो। हरेक काममा उपस्थित हुनै पर्थ्यो।
सहरको अब्बल शिक्षा हासिल गर्न गएको मान्छे दसैँ-तिहार जस्ता पर्व बिदामा गाउँ फर्किँदा ठाँटिएर नेपाली बोल्दा समुदायको अभावको खिसीटिउरी नै बढी गर्न भ्याउँथ्यो। सामाजिक काममा त किन जाओस्, ऊ सहरिया न हो।
नियमित आम्दानी हुने वर्ग र नियमित आम्दानी नहुने वर्ग बिचमा घोचपेच भइरहन्थ्यो। नियमित आम्दानी नहुने वर्गले नै स्थानीय विद्यालय, विवाह समारोह, मेलापात, कुलो निर्माणमा, मलामी, मेला पर्व आदि जे जति सामुदायिक काम छन् सबैमा सहभागी भएर संरक्षण गरिराखेको हुन्छ। समुदायका हरेक काममा सम्पन्न गर्नुपर्ने अभिभारा हुन जान्थ्यो।
जो नक्कली सहरिया हो, गाउँमा जाँदा अभावै अभावको यस्तो गाउँ पनि भनेर कुरा काट्न जान्थ्यो। त्यही नक्कली सहरियाको अभिभावकका कुरा सुन्दा त आफ्नो छोराछोरीको खर्च धान्न मुस्किल छ भनेर दिएका गफहरूसँगै सहरमा लाखौँको घडेरी पनि जोडेको अर्को चर्चा सुन्नमा आउँथ्यो।
समुदायमा नायब स्तरको भन्दा बढी कमाउने हैसियत भएको प्रायः कमै थिए। तर छोराछोरीको लागि खर्च गरेर अझै कसरी लाखौँको घडेरी लिन जम्मा गरेको होला रकम? गाउँ न हो, कमाइको अर्थ नबुझेको बस्ने रहेछौँ। भ्रष्टाचार गरेर जम्मा गरेको कालो धनलाई गाउँले पनि कमाइको नै धन भन्थे। तल्लो घर, पल्लो घर, पारि गाउँको, माथि गाउँको फलानोले त कति कमाएको भनेर समाजले गुनगुनाउँथ्यो। सरकारी तलब त कमै छ भन्थे तर कमाइ त कति हो कति रहेछ भन्थे।
मनलाग्दी खर्च, आलिसान घर, सहरमा घडेरी, सहरमै केटाकेटी। हुन पनि तिनै हाकिम, नेता, डाक्टरका हुन्थे। अस्पताल, स्वास्थ्य संस्थामा काम गर्ने कार्यालय सहयोगी त मेरा गाउँका डाक्टर भनेर परिचित हुन्थे। सरकारी कार्यालयका खरिदार स्तरका तलब बुझ्ने हाकिम भनेर चिनिन्थे। अदालतका कार्यालय सहयोगी गाउँका न्यायाधीशकै भूमिकाले परिचित थिए।
समाजले पनि कसको पद के हो र पदका लागि योग्यता के हुन्छ प्रायः थाहा हुँदैन थियो। झन् सरकारी योजनाको खरिदबिक्री नै गर्न सक्ने व्यक्ति त गाउँका नेता नै हुने। समाजको शिक्षा त औपचारिक शिक्षा लिएकाहरूले नै बन्धकमा राख्दा रहेछन्।
हो, म यही गाउँमा जन्मे हुर्किएँ। गाउँका ती नै डाक्टर, हाकिम,न्यायाधीश, .लेखापाल, नेता बन्न खोज्दा खोज्दै वास्तविक पद र सो पदका लागि चाहिने योग्यताको बारेमा सहर पसेर बुझेँ। कमाइ के हो? परिश्रम के हो? थुपारेको कालो धन के हो? समाजले पनि अहिले बुझेको भेटाउँछौँ।