पैसा भन्ने चिज अचम्मको हुँदो रैछ। साथी साथी बीच दुस्मनी पैदा गर्दो रैछ। हिजो सामुन्ने देखिएका मान्छेहरू पनि हराई जाने पार्दो रैछ। लाज शरम, घिन भन्ने पटक्कै लाग्दो रैनछ। पैसाको अभाव हुँदा र तिर्न पर्दा समयले गिज्याउँदा पनि नमज्जा लाग्दो रैनछ। सम्बन्धमा अड्केका विश्वासहरू पनि झर्दा रहेछन्। पैसाले गर्नु गर्दो रैछ। मुन्टो बटार्न सिकाउँदो रैछ, रिसाउन सिकाउँदो रैछ, झुटो बोल्न सिकाउँदो रैछ।
पहिलो घटना
एकदम मिल्ने साथी थियो मेरो। गुणका आधारमा दोष लगाउने ठाउँ थिएन। मान्छे हलुंगो थियो सिमलको भुवा जस्तै तर जबदेखि मैले पैसा सापटी दिएँ मान्छे गह्रुँगो हुन थाल्यो। मित्राताको बोझ पनि उठाउनै नसक्ने गरी भारी भयो ऊ।
‘घरमा बहिनीको बिहे छ पैसा नभएर हत्ते पर्या छ,’ भन्यो लौ न त नि होला भनेर पचास हजार सापटी दिएँ तर वर्षौं बित्दा पनि फिर्ता गर्ने नाम लिएन। बरू उल्टै अर्ति दिन थाल्यो, साथी साथीको सम्बन्ध पैसामा नदाज भन्न थाल्यो।
दोस्रो घटना
एक जना अफिसका सर थिए अलि सिनियर। यताउताका काम अलि जानेका अनि पर्दा काम लाग्ने मान्छे। व्यापार, व्यवसायमा लागेर चुर्लुम्मै पैसा डुबाएका रैछन्। आर्थिक वर्षको अन्तिममा 'लौन सर मिल्छ भने किस्ता तिर्ने पैसा सापटी दिनु पर्यो' भन्न थाले। सञ्चय कोषको पैसा निकालेर दुई लाख उनकै नाम गर्दिएँ। धेरै भयो ति सर आजकल बोल्दैनन्। फोन मैले नै गरें भने पनि कुरा अन्तै अन्तै मोड्छन्। पैसा छ पनि भन्दैनन् छैन पनि भन्दैनन्। 'हुन्छ दिन्छु। तपाईंलाई किन पो चाहिया छ र अहिले?' भनेर प्रश्न तेस्याउँछन्। रूनु न हाँस्नु बनाउँछन्।
तेस्रो घटना
ठूला बाका छोरा दाइलाई पैसा सापटी दिएँ अनि बल्ल थाहा पाएँ आफन्तसँग पैसाको कारोबार कहिल्यै गर्न हुने रैनछ। घर बनाउँदै थिए काठमाडौंमा अनि एकदिन मेसै मेसोमा सोधिहाले, ‘भाइ! छ भने मलाई दुई चार लाख सापटी दे न, म घर बनाएर सक्किने बित्तिकै दिन्छु।सहकारीमा पैसा अड्केको छ के। आउँछ अब चाँडै।’
म पनि होला नि त भनेर बाइक किन्न ठिक्क पारेर राखेको तीन लाख झिकेर दिएँ। घर बनाइसकेर भित्तामा लेउ लाइसक्यो तर अहँ! न सहकारीको छिनोफानो भयो न मैले पैसा पाएँ। बाइक किन्ने सपना जति सबै जुत्ताका तलुवासँगै फाटेर अनि खिइएर गैसके। दाइसँग यसो पैसा माग्यो 'आइज न भाइ यहीँ काठमाडौंमा आएर बस्। तँसँग म भाडा लिन्नँ' भन्छन्। आफ्नो जागिर पोखरामा छ अब पैसा चुक्ता गर्न काठमाडौं गएर बसिदिनुपर्ने रे मैले।
चौथो घटना
आफ्नै फुपू दिदीले धेरै त हैन पच्चीस हजार जति सापटी मागिन्। 'भाञ्जीको भर्ना गर्ने बेला भैगयो। भिनाजुले परदेशबाट पैसा पठाउन ढिला गरे,लौ न भाइ! छ भने पैसा सापटी चाहियो’ भनिन्। मैले पनि 'हुन्छ' त नि भनेर पैसा फुत्काइहालें अहिले उता भिनाजु काम नपाएर स्वदेश फर्किएदेखि दिदीको परिवारको आम्दानी हुनै सक्या छैन। पैसा नमागूँ आफैलाई गाह्रो छ, उता दिदीलाई पनि भाइले के सोच्या होला भन्ने पीर। शनिबार शनिबार भात खान बोलाउँथिन्, अहिले त्यही पनि बन्द भो। आफ्नो दुई महिनाको घर खर्च चल्ने पच्चीस हजार रुपैयाँ चटक्कै माया मार्न पनि नमिल्ने। आजै दिनु भोलि नै दिनु भनेर रोइकराइ पनि गर्न नमिल्ने। बडो अप्ठेरो हुने रैछ।
यसो सोच्दा अहिले मसँग बैंक ब्यालेन्स नै रित्तो रहेछ। आफैलाई वा बाआमालाई नै केही इमर्जेन्सी पर्यो भने त आफै ऋण माग्दै पो हिँड्नुपर्ने रैछ।मिठा मिठा कुराहरू खान मन लाग्छ तर तलबले मात्र नपुग्दो रैछ। कहिलेकाहीँ घुम्न अनि फिल्म हेर्न जान मन लाग्छ, गोजी रित्तो हुँदा मन खिन्न हुँदो रैछ। आफ्नो थैलीको मुख बलियो पारेर राख्नुपर्छ पछि अरूसँग मागी हिँड्नुपर्दैन भन्थे बुढापाकाले साँच्चिकै हो जस्तो लाग्छ। थैलीको मुख फुकाउँदा, फुकाउँदा आफू नै जोगी बनेको पत्तो हुँदो रैनछ।
पैसा माग्न पनि अत्ति जानेका हुने रैछन् मान्छेहरू। ‘तँ सुनको पखेँटा लगाएर उड्ने होइनस् क्यारे, बैंकमा राखेर तेरो पैसाले फूल पार्ने होइन, हाँगा हाल्ने होइन। हामीलाई दिएर के नै पो हुन्छ र? ब्याज स्याज जोडेर दिउँला’ भन्थे।
आजकल ब्याजको त कुरै छाडौं सावाँ नै मुस्किलले पाइएला जस्तो छ।
'बिहे सिहे गर्या छैनस्, एक्लो मान्छे पैसा केमा नै खर्च होला र! आफैसँग राख्दा फुर्मास गर्लास् बरू हामीलाई दिए बचत हुन्छ कहीँ जाँदैन भन्न पनि भ्याए। बिहे गर्ने बेलामा एकमुष्ट दिउँला पनि' भन्थे। तर अपसोच त्यही पैसाको अभावले मेरो बिहे नहुने अवस्था आइसक्यो। केटी अनि लगन सबै ठिक्क छ तर उठ्ने ठाउँबाट पैसा नउठ्दा 'जनवादी बिहे' नै गर्न पर्ने अवस्था आइसक्यो।
बरू कि जुवा खेलेको भए कि तत्काल जान्थ्यो कि आउँथ्यो। बेकारको आश त हुन्थेन। तर यो आसैआसमा डुबाउने सापटीको खेल खेल्दा त मुटु ढक्क फुलिँदो रैछ, चिन्ताले श्वास नै रोकिन्छ कि झै हुँदो रैछ। म भोलि नै दिन्छु, पर्सी त फरकै पर्दैन अनि अर्को हप्ता त घरमै ल्याइदिन्छु जस्ता सजिला र फुरूंग बनाउने भाकाहरूले पनि व्यर्थैमा उत्तेजित पारेर भुइँमा थेचार्दो रैछ। सापटी लगेका मान्छेहरूको घर जाउँ घरमा भेटिँदैनन्, फोन गरौं फोन नम्बर ब्लक लिस्टमा राखेर बिजी बनाउँछन्, म्यासेन्जरमा म्यासेज छोडे सिन नै गर्दैनन् अनि टुप्लुक्क बाटोमा भेटिए भने उभिरहेर मुसुमुसु हाँस्छन्। कपटी त्यो हाँसोले त झन् झिनो आशाहरूलाई पनि उलटपुलट पार्दो रैछ।
मलाई भन्न मन लाग्छ- कति पो दिन भाग्नुहुन्छ ए मेरा साथी, मान्यजन एवं इष्टमित्रहरू? चोरी नै गरे जस्तो के आफ्नो चरित्र दाउमा पार्नुहुन्छ? कति सुमधुर भएका सम्बन्ध यही पैसाले गर्दा नै छेउ न टुप्पाको जस्तो भइसक्यो। अझै कति भाग्य परीक्षा खेल्नुहुन्छ? पैसा नभएको पक्कै होइन तपाईंहरूसँग। बस् नभएको भनेको पैसा तिर्ने जाँगर हो। यसलाई यसैगरी झुलाउन पाए त अर्को काम टरिहाल्थ्यो भन्ने पनि सोच्नुभा होला। मार्दैन काट्दैन हदै गरे गर्ने त्यही रिसाउने त हो- त्यो जाबो रिसाएर हाम्रो के नै जान्छ र? भनेर पनि सोच्नुभाको होला।
तर अलि अलि गर्दै आएको तलब सीमित घर खर्च गरेर बचत गरेको पैसा हो यो सबै। जहाँ मेरा आधा गाँस खाना, आधा रमाइलो र आधा फुर्मासहरूलाई संगालेको छु। अरूका बिन्दासहरूलाई हेरेर आफूले भने 'कम्प्रमाइज्ड' हुँदै जोगाएको हुँ। जसलाई सजिलैसँग विश्वास गरेर तपाईंहरूलाई दिएँ। र तपाईंहरूलाई आवश्यकता पर्दा मैले दिएको पैसाको मूल्य तब मात्र कायम हुन्छ, जब तपाईंहरूले मलाई आवश्यकता पर्नुअघि नै फिर्ता गरिसक्नुहुन्छ। तर सबै आवश्यकताहरूले मेटो काटी सक्दा समेत तपाईंहरूले कुनै सुरसार नगर्नुले नैतिकताको कसीमा सबै जना गिरिसक्नुभएको छ। अब बाँकी केही छ भने तपाईंहरूलाई मेरो पैसाले काँडा जस्तै एकदिन बिझाउने छ र त्यो काँडा हतार हतार झिकेर फाले पनि खत गहिरै बसिराख्ने छ। धन्यवाद!