‘पत्रकार हो भने त म कोठा दिन्नँ,’ उनले भने।
हामी अक्क न वक्क भयौं।
‘किन?’ कोठा देखाउने बहिनीले प्रश्न गरिन्। मलाई पहिलो गाँसमै ढुंगा लागे जस्तो भयो।
अनि उनी मापदण्डका सूची प्रस्तुत गर्न थाले, श्रीमान् श्रीमतीलाई नदिने। ७ बजेभन्दा ढिला आउनेलाई नदिने। श्रीमान्, साथीभाइ, आफन्त ल्याउनै नहुने।
बानेश्वरको भित्री एरिया, ठ्याक्कै भन्नु पर्दा मिनभवनको पछाडितिर। तीन तलाको घर, जसमा कालो गेट। भित्र छिर्दा शान्त वातावरण । घर अगाडि स्पेस। प्रायः काठमाडौंका साँघुरा गल्लीले २०७२ को भूकम्प सम्झाउँछ। भूकम्प आइगयो भने घर वरपर सुरक्षित ठाउँ छ कि छैन, आँखा परिहाल्छ। धन्न, अगाडि पार्किङ भएको घर रहेछ। कम्तीमा भूकम्प आउँदा निस्कन सजिलो हुने।
गेट खोलेपछि सिँढी हुँदै माथि, तेस्रो तला, माथि टपमा एउटा कोठा जुन हामी हेर्न गएका थियौं।
काठमाडौंका घरबेटीहरू कठोर हुन्छन्, भाडामा बस्नेलाई निकै दुःख दिन्छन् भन्ने सुनेको थिएँ। तर तीन वर्ष बुद्धनगरको एउटा घरमा बसेँ। त्यो अनुभूति कहिल्यै भएन। केही सीमित मापदण्ड पक्कै थिए, ती पनि परिस्थिति अनुसार—जस्तै धारामा पानी बिहानमा मात्र खोलिदिने, कपडा इनारको पानीले मात्र धुनुपर्ने, जुन पानी समस्याका कारण स्वाभाविकै हो।
अन्नपूर्ण पोस्टमा संसद बिटमा काम गर्ने भएकाले मलाई संसद र सिंहदरबार नजिक पायक पर्ने ठाउँमा कोठा पाउनु नै ठूलो कुरा थियो। म अस्ट्रेलिया जाने बेलामा कोठा सामानसहित मैले पोखराकै एक जना बैनीलाई दिएर गएको थिएँ। उनले अहिलेसम्म मलाई सामानको पैसा दिएकी छैनन्। सम्पर्कविहीन छिन्।
प्रसंग, घरबेटीकै। सिँढी चढेर कोठा देखाउने बैनीले सिधै माथि लगिन्। कोठामा पुग्दा भरखर कलर गरिएको रहेछ। छतबाट पानी रसाएर होला, एकतिरको भित्ता ओसिएको थियो।
घरबेटी अंकल आए— कपाल सेतै फुलेका। उमेर अनुमान ६० देखि ६५ होला कि! मैले सोधेँ, ‘सिपेज रहेछ, बनाइदिनुहुन्छ होला नि?’
उनी उल्टै कड्किए, ‘मैले नबनाएर कसले बनाउँछ त, मेरो घर?’
सुरूमै मलाई लाग्यो— यी दिदीले घरबेटी वकिल हुन् भन्थिन्, भाषा त कति रूखो!
फेरि उनले सोधे, ‘को बस्ने हो?’
मैले म भन्न नपाउँदै, कोठा देखाउने बैनीले नै ‘उहाँ’ भनेर मलाई देखाइन्।
‘के गर्नुहुन्छ ?’ अर्को प्रश्न।
‘उहाँ पनि पत्रकार हो,’ उनले नै जबाफ दिइन्।
एक दिनअघि पनि पत्रकार बैनी नै कोठा हेर्न गएकी थिइन्। उनले नबस्ने भनेपछि म त्यही कोठा हेर्न गएको थिएँ।
उनलाई के लाग्यो खै, निकै टकटकिएर भने, ‘म पत्रकारलाई त दिन्नँ।’
हामी अक्क न वक्क भयौं।
कोठा देखाउने बैनीको मुखमा हेरेँ। उनले मलाई कोठा देखाउन बाटोमा आउँदा भनेको कुरा सम्झिएँ। एजेन्ट बैनी जसले कोठा देखाए वापत दुई–तीन हजार लिन्छिन्।
कोभिड लागेदेखि उनका श्रीमानलाई प्यारालाइसिस भएको रहेछ। उनी एक्लैले घर चलाउन गाह्रो छ। उनले मानिसहरूलाई कोठा फ्ल्याट देखाउने र चित्त बुझाएपछि देखाए वापत पैसा लिने गरेको बताएकी थिइन्।
त्यसमा पनि उनले अर्को दुःख लाग्दो कुरा के भनिन् भने यसरी गरी खाँदा पनि रिस गर्नेहरूले ‘केटा मान्छेसँग हिँड्छे’ भनेर घरबेटीलाई सुनाएछन्। घरबेटीले उल्टै गाली गरेछन्। उसले ‘घर, कोठा देखाउने काम हो, केटा मान्छे लिएर देखाउन जानु पर्छ’ भनेर उल्टै कुरा काट्नेहरूलाई हपारेछन्।
उनका अनुहारमा मलिनता थियो। उनले घरबेटीलाई सम्झाउन खोज्दै थिइन्, ‘पत्रकारलाई किन नदिने?’ त्यही मेसो ती अंकललाई सोधिन्।
उनले थपे, ‘मेरो छोरो पनि पत्रकार हो।’ अहिले उनका छोरा बुहारी अमेरिकामा रहेछन्। भने, ‘पत्रकारको समयको ठेगान हुँदैन। देशको परिस्थितीअनुसार आधा रातसम्म पनि बाहिर हुनुपर्ने अवस्था आउँछ।’
त्यति सम्म पनि ठीकै थियो। मैले उनलाई सम्झाउने प्रयास गरेँ, ‘सधैंभरि राति हुँदैन। यसअघि मैले अन्नपूर्ण पोस्टमा काम गर्दा कहिलेकाहीँ राति अबेरसम्म राजनीतिक खिचातानी लेख्नु पर्दा पनि कोठाबाटै लेखेर पठाउँथेँ। अबेर रात कहिल्यै पनि अफिसमा बस्नु परेन। प्रायः त्यस्तो कहिलेकाहीँ मात्र हुने हो, त्यही पनि घरबाटै काम गर्न सकिन्छ।’
उनी मान्न तयार थिएनन्। एकोहोरो आफ्ना मापदण्डहरू सुनाउँदै गए।
रिस त उठिसकेको थियो, जब उनले ‘पत्रकारलाई कोठा दिन्नँ’ भनेका थिए। म सम्झाउने प्रयास गर्दै थिएँ।
‘साँझ कति बेलासम्म भित्र आइपुग्ने त?’ उनले अर्को सर्त तेस्र्याए।
मैले भनेँ, ‘समय तोक्न सकिन्न, किनभने तपाईंले भनेजस्तो आधा रात नभए पनि समय नै तोक्ने आधार त के ? हामी पत्रकारको जागिर १० देखि ५ मा सीमित हुँदैन। कहिलेकाहीँ साथीभाइसँग बस्नुपर्छ। कहिलेकाहीँ स्रोतले पनि साँझपछिको समय दिन सक्छ।’
उनले भने, ‘६ः३० पछि ढोका खोल्न सकिन्न।’
मैले थपेँ, ‘कहिले त त्योभन्दा छिटो दिउँसै पनि आउला। तर सधैँ त यही समयमा कसरी आउन सक्छु र?’
‘कति बजे त ?’ उनले सोधे।
फेरि अर्को प्रश्न गरे, ‘घर कहाँ हो?’
मैले भनेँ, ‘पोखरा।’
‘ल, पोखरा हो भने समय अलिकति थपें।’
‘किन ?’ मैले प्रश्न गरेँ, ‘हजुरको कहाँ हो?’
‘स्याङ्जा।’
मैले पनि भनें, ‘मेरो पनि पहिला स्याङ्जा नै हो।’
‘८ बजेसम्म आइपुग्नु, त्यसभन्दा एक मिनेट पनि ढिला हुनु हुँदैन।’
सम्झिएँ, काठमाडौंको ट्राफिक जाम र अंकलको समयको मापदण्ड। मैले केही भन्न नपाउँदै लगत्तै उनले थपे, ‘साथीहरू कति जना ल्याउने?’
मैले सम्झिएँ, अहिले म होस्टेलमा छु। कुनै साथीभाइ, आफन्तलाई आऊ भन्न पाउँदिनँ। त्यही कुरा सहज होस्, कहिलेकाहीँ आफन्त साथीभाइ भन्नका लागि कोठा चाहिएको हो,’ मैले जबाफ दिएँ।
‘साथीभाइ आफन्त त आउँछन् नि, कहिलेकाहीँ,’ उनले फेरि भने।
‘कति जना, कहिले, कहिले ? महिनामा कति?’ प्रश्नमाथि प्रश्न।
मसँग कुनै जबाफ थिएन।
कोठा देखाउने बैनीले भनिन्, ‘कहिले जन्मदिन मनाउनु पर्ला, साथीहरू त आऊलान् नि।’
मैले भनेँ, ‘जन्मदिन त हामी बाहिर पनि मनाउन सक्छौं, तर कहिले, कहिले, को–को आउँछन् भन्ने डिटेल त कसरी अहिले भन्न सक्छु?’
उनले आफ्नो घरमा तल्लो तलामा पूजा कोठा भएको र केटी साथी आउँदा तलमाथि गर्दा महिनावारी भएको बेला पूजा कोठा अगाडि हिँड्न नहुने भन्दै आपत्ति जनाए।
त्यसपछि हामीलाई असह्य भयो। मसँगै कोठा हेर्न गएकी मेरी साथी राधिका कँडेल र मेरो आँखा जुध्यो। ती अंकलका सर्त सुनेर ऊ पनि दिक्क थिइन्। मैले इसारा गरेँ।
उनी मापदण्ड बताउँदै थिए। मैले त निर्णय गरिसकेको थिएँ—मलाई यो घरमा कुनै हालतमा बस्नु छैन। उनले राखेका मापदण्ड र पत्रकारप्रति घृणाको मुखभरी जबाफ थियो मसँग। तर उमेरको लाज राखेँ। पाकेका कपाल र न्याय क्षेत्रमा काम गरेका व्यक्तिको सोच देखेर दया लाग्यो। म नि:शब्द रहेँ।
त्यहाँ को थिए त? एउटा अन्याय–बेथितिमा कलम चलाउने, अर्को न्यायका लागि जीवनभर वकालत गरेको व्यक्ति। आफूलाई वरिष्ठ अधिवक्ता हुँ भन्ने व्यक्तिको पत्रकार, समाज, महिला र महिनावारीप्रतिको धारणा सुन्दा लाग्यो—मानिस कहिले पनि पेसाले होइन; उसका क्रिया, प्रतिक्रिया कस्ता छन् र उसले बनाएको धारणाले चिनिन्छ।
२ दिनपछि सुरक्षित महिनावारीसम्बन्धी कार्यक्रममा सहभागी हुन जाँदैछु। ‘मर्यादित महिनावारी’ भन्नाले किशोरी तथा महिला महिनावारी हुँदा भेदभावरहित, मर्यादित, सम्मानित, सुरक्षित, स्वच्छ तथा विभेदरहित अवस्थालाई जनाउँछ। महिनावारी भएको बेला कुनै महिला वा किशोरीलाई कुनै पनि धार्मिक वा घरायसी कार्य गर्न नदिँदा उसको मौलिक अधिकार हनन हुने हुन्छ।
विभेदरहित समाज, मर्यादित महिनावारी—आजको आवश्यकता हो। ‘सामान्य प्रक्रिया हो’ भन्ने कुरालाई स्थापित गर्न प्रयासका लागि कार्यक्रममा सहभागी हुन जाँदै गरेकी म, महिनावारीलाई कति ठूलो अछुतको दर्जा दिएका ती घरबेटीको घरमा म कसरी बसूँ?
मैले सम्झेँ, म आफै घरबेटी हुँदा कहिल्यै यस्तो गरिनँ। पोखराको बिन्ध्यवासिनी मन्दिर नजिक मेरो घर थियो। अहिले त्यो घर बेचेर हामी लेकसाइड बस्छौं। तीन तलाको घर थियो, तेस्रो तलामा हामी बस्थ्यौं, दुई तला भाडामा दिन्थ्यौं।
दुई तलामा बस्ने दुई जना त १० वर्षभन्दा बढी मेरो घरमा बसेर, घर बनाएर मात्र सरेका थिए। पृथ्वीनारायण क्याम्पस नजिक भएकाले क्याम्पस पढ्ने विद्यार्थी प्रायः कोठा खोज्न आउँथे। तलबाट घण्टी बजाउँथे।
बाहिर निस्केर हेर्दा, ‘दिदी, कोठा छ ?’ तलबाट सोध्थे।
‘छैन नि।’
‘अरू यता–कता कसैको घरमा छ र दिदी?’
उनीहरूले बोलेको त्यो मायालु शब्द सुन्दा निकै करूणा लाग्थ्यो। सबभन्दा तल्लो तलामा विद्यार्थी बस्थे। कहिल्यै पनि उनीहरूमाथि कुनै प्रकारको मापदण्ड लादिनँ। कहिल्यै पनि घरको अहम आएन।
राजधानी सहरमा शिक्षा, दीक्षा, जागिरसँगै अन्य अवसर खोज्दै आउनेहरूको संख्या बढ्दो छ। त्यसमा पनि कोठाको समस्या त व्यापक नै छ।
कोठा खोज्ने पसल दर्ता गरेर कोठा खोजिदिने भन्दा फारम भरेर पाँच सय पहिले नै असुल्ने पसलहरूको पनि कमी छैन। उनीहरूले ‘खोज्ने’ भन्दै असुलेको पैसा १ महिनासम्मका लागि मात्र भन्दै लिएपछि बेवास्ता गर्ने गरेको गुनासोहरू पनि थुप्रै आउने गरेका छन्।
बानेश्वर, बबरमहल, बुद्धनगर वरिपरि एउटा कोठालाई १० देखि १५ हजारसम्म भन्ने गर्छन्। उनीहरूले दिनमा थुप्रै जनासँग पाँच सयका दरले असुल्ने र कोठा खोजी दिन त्यति चासो नदिने गरेको धेरैले भन्ने गरेको सुन्न सकिन्छ।
त्यसभन्दा धेरै त मनै नभएका घरबेटीका कुरा सुनिन्छ। जुन मैले प्रत्यक्ष अनुभूत गरेँ।
(लेखक स्वतन्त्र पत्रकार हुन्।)