देश छोडेर विदेश बस्ने युवाहरूको दिमागमा मुख्य रूपमा यी दुई भावनाहरू आपसमा लडिरहेका हुन्छन्-
जागिर, पैसा र भविष्य बनाउने सपना।
देश, परिवार, र पहिचान नछुटाउने मोह।
यी दुई विषयबिच हुने मनोसंघर्ष कहिले भावुक हुन्छ, कहिले यथार्थवादी। यदि नेपालले अवसर दिन सक्यो, विश्वास जगाउन सक्यो भने त्यही युवाको दिमाग फेरि देश फर्किने सपना बुन्छ। ठिक यसै गरी देश बस्ने युवाले विदेश सोचिरहेको छ।
किन?
किनकि उनीहरूलाई यहाँ आफ्नो सपना, सीप र श्रमको मूल्य नभएको महसुस गर्छन्। अहिले हरेक चिया चौतारीमा हुने बहस नै यही हो- यहाँ के छ र?
यहाँ के छ र भन्ने भावनाले नै विदेश उनीहरूको लागि भविष्य, सम्मान र आत्मविश्वास खोज्न स्थल भएको छ। तर यदि नेपालले युवालाई थाम्ने नीति बनायो भने विदेश सोचिरहने युवाहरू यहीँ देश बनाउने सपना देख्न थाल्नेछन् जुन तत्काललाई देखिँदैन।
यसै गरी, देश बाहिर भएको युवाले हरेक पल देश फर्किने योजना बुनिरहन्छन्। विदेश पुगेपछि सबैजसोले देश फर्कने समय सोचिरहन्छन्। त्यसै गरी, यहाँ रहिरहेका तर सन्तोष नभएका युवाहरूले पनि आफू जान खोजेको मुलुकको विषयमा सोचिरहन्छन्। प्रयास गरिरहन्छन्।
जे छैन त्यही चाहिने मानवीय स्वभाव हुँदा यसको प्रभाव नेपाली युवाहरूको मनोभावमा बेस्कन देख्न सकिन्छ। यो मनोसंघर्षका बिच दुईतिर बाँडिएका नेपाली युवाहरू बिच तालमेल अथवा आपसी सम्बन्ध कस्तो छ त? अलिकति गहिरिएर तथ्यमा हेर्ने हो भने विदेश बस्ने र यहाँ देशमै बस्ने युवाहरू बिचको सम्बन्ध चिसिएको छ।
साँच्चै किन चिसिएको छ सम्बन्ध?
विदेश बस्ने नेपाली युवा र नेपालमै बस्ने युवाहरू बिचको सम्बन्ध चिसो हुनुको कारण केवल दूरी हैन- त्यो सोच, अनुभव, जीवनशैली र अपेक्षाको फरकपन हो। समयसँगै एउटै ठाउँबाट हुर्किएका साथीहरूबिच पनि गहिरो भावनात्मक दूरी बन्न थाल्छ।
साँच्चै किन?
यसलाई बुँदागत रूपमा उल्लेख गरियो भने अझ बुझ्न सकिएला।
१. जीवनको भोगाइअनुसार सोच फरक-फरक बन्छ
विदेश बस्नेले कडा परिश्रम, अनुशासन र एक्लोपनको अनुभव गर्न थाल्छ। नेपालमा बस्नेले संघर्ष, व्यवस्थाको अन्याय, अवसरको अभाव भोगिरहन्छ। यी फरक फरक भोगाइले उनीहरूको सोच, व्यवहार, कुरा गर्ने तरिका फरक बनाइदिन्छ।
एक जना सोच्दछ- ‘मैले यहाँ घाम, पानी, र श्रमले बाँचिरहेको छु।’ अर्को सोच्दछ- ‘ऊ त विदेश गयो, अब ठुलै भयो।’
२. तुलना, ईर्ष्या र ‘लेभल ग्याप’ को भावना
विदेश गएर राम्रो कमाइ गरेको युवालाई नेपालमै बस्ने साथीहरू ‘अब त उसले हाम्रो वास्ता गर्दैन’ भन्ने भान पर्छ। विदेशमा हुने युवा सोच्छ- मैले जे गरेँ त्यो संघर्ष देखेनन्, केवल पैसा मात्रै देखे। यहीँबाट सुरु हुन्छ ऊ घमन्डी भयो, उनीहरू सम्झँदैनन्, अब हाम्रो लेभलको रहेन भन्ने संवादविहीन दूरी।
३. आपसी ‘एक्सपेक्टेसन’ मिल्दैन
नेपालका साथीलाई लाग्छ- ‘विदेशमा छ भने सहयोग गर्ला, पैसा पठाउँला, केही ल्याउँला।’ विदेशको साथीलाई लाग्छ- ‘हामी पनि सजिलै छैनौँ तर हाम्रा कुरा बुझ्दैन।’एकले सोच्छ- ऊ रिसायो, अर्कोले सोच्छ- उनीहरू लोभी भए।’
यत्तिकै सम्बन्ध ‘सामान्य’ बाट ‘स्वार्थी’ को आकलनमा बदलिन्छ।
४. कुरा गर्ने तरिका र शैली परिवर्तन
विदेशमा बसेको मानिसको बोली, स्टाइल, व्यवहार, भाषा प्रयोग, जीवनशैली फेरिन्छ। नेपालमा बस्नेहरूलाई लाग्छ, ऊ नाटक गर्न थाल्यो। विदेश बस्नेले भन्छ- ‘मैले आफूलाई विकास गरेँ तर तिनीहरू अझै जहाँको त्यहीँ छन्।’
५. ‘समयको अभाव’ भन्ने गलत बुझाइ
विदेशमा कामको कडा तालिका हुन्छ। जसले गर्दा कुरा गर्न समय मिल्दैन। नेपालमै बस्ने साथीहरूलाई लाग्छ ‘हामीलाई बेवास्ता गर्यो।’ समयको असन्तुलनले सम्बन्धको सन्तुलन बिगार्छ।
६. सामाजिक सञ्जालको असर
फेसबुक, इन्स्टाग्राममा विदेशका साथीका घुमफिरका फोटो हेरेर, यहाँ बस्नेलाई- ‘बिग्रियो, देखावटी भयो’ भन्ने भावना आउँछ। विदेशमा बस्नेहरूको मनमा पनि नेपालमा बस्नेहरूको संजालका गतिविधिहरू हेर्दा ‘निराश, अल्छी छन्, केही प्रगति गरेनन्’ भन्ने भावना आउँछ।
फोटोमा देखाइने कुराहरू पूरा सत्य हुँदैनन् तर दूरी चाहिँ गहिरो बनाइदिन्छ।
७. फर्कँदा लामो ग्याप भइसकेको हुन्छ
विदेशबाट फर्केपछि नेपालमा बस्ने साथीहरू आफूलाई चिसो व्यवहार गरेको महसुस गर्छन्। नेपालमै बस्नेहरू सोच्दछन्- ‘अब आएपछि घमन्ड देखायो, पराई भयो।’ फर्केपछि ‘फर्किएको सम्बन्ध’ जस्ताको त्यस्तै रहँदैन।
निष्कर्षमा
विदेश बस्ने र नेपाल बस्ने युवा बिचको सम्बन्ध चिसो हुनुको कारण केवल ठाउँ हैन; सोचको दूरी, बुझाइको कमी र संवादको अभाव हो।
यसको समाधान के त? के भयो भने सम्बन्ध आत्मीय रहिरहन्छ?
यदि दुवै पक्षले–
ईर्ष्या होइन, समझदारी गरेमा
अपेक्षा होइन, अपनत्व रहेमा
दूरी होइन, संवाद जोडिरहन सके भने सम्बन्ध चिसो होइन, झन् गहिरो र आत्मीय हुन सक्छ।