शिक्षक समाजको मेरूदण्ड हो। उसले ज्ञानको आलोक फैलाउने, विद्यार्थीलाई अनुशासन र नैतिकताको बाटोमा हिँडाउने र राष्ट्र निर्माणको आधार तयार पार्ने काम गर्छ। तर समाजले शिक्षकलाई कस्तो दृष्टिले हेर्छ? यो प्रश्न आजको समयमा झनै महत्वपूर्ण बनिरहेको छ। पुराना दिनमा शिक्षकलाई अत्यन्त सम्मानका साथ हेरिन्थ्यो। ‘गुरू ब्रह्मा, गुरू विष्णु’ भन्ने भावले भरिएको हाम्रो संस्कृतिमा गुरूको स्थान देवताभन्दा पनि उच्च थियो। गाउँघरमा शिक्षकको कुरा मान्नु, उनीहरूको सुझावअनुसार निर्णय गर्नु, सामान्य कुरा थियो। शिक्षक भनेको ज्ञानको भण्डार, अनुशासनको मूर्ति र आदर्श पात्र मानिन्थे।
शिक्षक आदर्शको प्रतीक मानेको व्यक्ति हो भन्ने कुरा हामी पाठ्यपुस्तकमा पढ्यौं, भजनमा गायौं र भाषणमा सुन्दै आयौं। तर आजको यथार्थ के छ?
एउटै उदाहरण हेर्नुस्– मावि तहमा स्थायी रहेको शिक्षकले जब खरदारमा नाम निस्किएको खबर पाउँछ, तब उसले त्यो समाचारलाई जीवनको सफलता ठान्छ। के यो शिक्षा पेसाको सम्मान हो? यो कुरा सुन्दा अचम्म लाग्न सक्छ, तर आज शिक्षकको अवस्था यति न्यून बनाइएको छ कि उसले शिक्षकको दर्जा छाडेर प्रशासन सेवाको खरदार बन्नुलाई उन्नति ठान्न थालेको छ। यसको मुख्य कारण हो – राज्यद्वारा शिक्षकमाथि गरिँदै आएको लापरबाही र सुविधाको घोर अभाव।
सामुदायिक विद्यालयमा साधन स्रोतको घोर कमी छ, न त समाजबाट पर्याप्त सम्मान पाइन्छ, त्यहिँ खरदार बनेर कम्तीमा पनि स्थायित्व, सुविधा र सामाजिक सुरक्षाको आश्वासन पाइन्छ। यही कारणले शिक्षक पेसा ‘सेवाभाव’ होइन, 'समस्याको बासस्थान' बन्दै गएको छ। अन्य सेवा समूहमा कार्यरत सामान्य कर्मचारीलाई समेत यातायात सुविधा, घरभाडा भत्ता, विशेष भत्ता जस्ता सुविधाहरू दिइन्छ, तर त्यही दर्जाका शिक्षकहरू यस्ता सुविधाबाट बञ्चित छन्। पालिकाको एउटा खरदार सरहको शिक्षा शाखाको कर्मचारीले उप-सचिव स्तरको प्रधानाध्यापकलाई विद्यालयमा काम गर्ने सीमित कामदारको रूपमा हेर्ने प्रवृत्ति कायमै छ।
शिक्षण पेसामा न त आवश्यक सेवा सुविधा छ, न त गरिमामय सम्मान।
न त तलब आकर्षक छ, न त पदोन्नतिको स्पष्ट बाटो। न त सुरक्षाको प्रत्याभूति छ, न त परिवार पाल्ने आत्मगौरव। फलस्वरूप योग्य, दक्ष र नयाँ सोच भएका जनशक्ति निजामती, निजी क्षेत्र वा विदेश पलायन भए। शिक्षण पेसामा अनुभव नभएका, अस्थायी सोच भएका व्यक्तिहरू मात्र टिके। विद्यार्थीको सिकाइ प्रभावकारी भएन, शिक्षकको आत्मबल घट्यो। परिणामतः शिक्षाको गुणस्तर खस्किन थाल्यो जुन अब सर्वत्र देखिन थालेको छ।
नेपालको ग्रामीण समाजमा एउटा रमाइलो, तर विचारणीय भनाइ सुन्न पाइन्छ - 'होन्डा साइन चढेर हिँड्या छ, यो त पक्कै मास्टर हुनुपर्छ!'
यो भनाइ केवल हाँस्य होइन, समाजको गहिरो मनोविज्ञान झल्काउने दृश्य हो। मोटरसाइकल र पेसाको सम्बन्ध जोडेर अनुमान लगाउने यो सामाजिक प्रवृत्ति हाम्रो गाउँले संस्कारको अनौठो तर सजीव आयाम हो। तर यो धारणा केवल 'सवारी' र 'पेसा' को सम्बन्ध मात्र होइन, यो शिक्षकको आर्थिक हैसियत, जीवनशैली, अनि समाजको ऊ प्रति बनिरहेको सोचको संकेत पनि हो।
समाजमा शिक्षक त्यो वर्ग हो जसले चिल्ला गाडी होइन, साइन चलाउँछ; र त्यसमा पनि गर्व गर्छ। किनभने त्यो साधन होइन, साधनाको प्रतीक हो। तर… यो सोचको पछाडि विडम्बना पनि लुकेको छ। किन 'साइन' चढ्नेलाई शिक्षकका रूपमा चिनिन्छ, किन शिक्षक सधैं मध्यमवर्गीय अस्तित्वमा सीमित रहन बाध्य छन्? यो प्रश्न केवल मजाक होइन, नीति निर्मातालाई सोध्नुपर्ने गम्भीर प्रश्न हो।
गाउँमा कुनै औपचारिक कार्यक्रम हुन्छ— स्कूलको सभा, गाउँसभा, सार्वजनिक समारोहमध्ये जुनसुकै होस्। उद्घाटन गरिन्छ, मञ्च सजिन्छ, पाहुना बोलाइन्छन्। प्रहरी, स्थानीय नेताहरू, कर्मचारीहरूलाई अगाडिको सोफामा आसन दिइन्छ। अनि… विद्यालयका प्रधानाध्यापक र शिक्षक? छेउमा उभिएर टुलुटुलु हेर्न बाध्य हुन्छ! यो दृश्य सामान्य लाग्न सक्छ, तर यसमा लुकेको अपमानको बोझ एक शिक्षकले मात्र बुझ्छ। एउटै समाजमा राष्ट्र निर्माता भनिएका शिक्षकलाई एउटै कार्यक्रममा प्रहरी जवानको भन्दा पनि तलको हैसियत दिनु हाम्रो सामाजिक सोचको पतन हो।
आजको यथार्थ हेरौँ— एक सामुदायिक विद्यालयका प्रधानाध्यापक, जसले विद्यालयको सम्पूर्ण प्रशासन सम्हाल्छन्, शिक्षक व्यवस्थापन गर्छन्, विद्यार्थीको भविष्य निर्माण गर्छन्, अभिभावक र समाजलाई उत्तरदायी बनाउँछन्। तर त्यही व्यक्ति, जब पालिकाको कार्यक्रममा जानुपर्छ, हिलो–धुलो खेप्दै निजी खर्चमा हिँड्न बाध्य हुन्छ। किनभने राज्यले उसलाई एक थोपो यातायात सुविधा दिएको छैन। अनि अर्कोतिर, त्यही पालिकाको सामान्य पिउन, जसको प्रशासनिक काम कागज सार्ने, चिया बनाउने जस्ता सेवा–सहयोग हो— उसलाई चाहिँ सरकारी मोटरसाइकल उपलब्ध छ। हेर्नुहोस्, यो व्यवस्थाको उल्टो चित्र।
प्रश्न उठ्छ— के शिक्षक राज्यको कर्मचारी होइन? के प्रधानाध्यापक कार्यालय प्रमुख होइन? के ऊ देशको भावी नागरिक निर्माण गर्ने संयन्त्रको प्रमुख होइन? यदि हो भने, किन ऊ बारम्बार यसरी सुविधाबाट बञ्चित भइरहेको छ? आज ती शिक्षकहरू, जसले नेताहरूलाई जन्माए, जसले गाउँमा सांसदको सन्देश पुर्याए, — ती शिक्षकहरू नै पछि पर्दैछन्। जसको काँध चढेर कसैले मन्त्री, कसैले मेयर, कसैले सांसदको टिकट पाए — ती सबै सफल भए। तर शिक्षक? उनैलाई भेट्दा मेयरले आँखा उठाउँदैन, मन्त्रीले सम्झँदैन, सांसदले निम्तो गर्दैन।
शिक्षक— समाजको चेतना निर्माण गर्ने वर्ग। उनीहरूले कलम चलाउँछन्, विचार रोप्छन्, भविष्यको नक्सा कोर्छन्। तर विडम्बना, राज्यले उनीहरूलाई अझै पनि पुरानै चश्माले हेर्छ — गोठालोझैँ, सबै काम गर्ने तर मूल्य नभएको।
अर्कोतर्फ, निजामती कर्मचारी— राज्यको संरचना चलाउने, प्रशासन धान्ने, प्रक्रिया पूरा गर्ने वर्ग। उनीहरूको कामको महत्व निर्विवाद छ। तर यिनीहरूप्रति राज्यको दृष्टिकोण भने: 'सेवा नै सेवा,सम्मान, सुविधा, सुरक्षासहित।' त्यो शिक्षक जसले निजामतीको परीक्षा पास गराउने तयारी गराउँछ, त्यो शिक्षक जसले देशभरि नेतृत्व उत्पादन गर्छ, त्यही शिक्षक जब आफ्नो अधिकार माग्छ राज्यको जबाफ हुन्छ: 'तिमी त तलब खाएर पढाउने नोकर!'
यो विभेदपूर्ण दृष्टिकोण जसले शिक्षकलाई केवल सेवा प्रदायक होइन, बोझ बोक्ने गोठालोझैँ बनाएको छ। शिक्षक गोठालो होइन, उसले अन्धकारमा हिँडिरहेकालाई उज्यालोमा ल्याउँछ। अब राज्यको दृष्टिकोण बदल्नुपर्छ। नत्र शिक्षाको भविष्य होईन, राष्ट्रको नै आधार खल्बल्याउनेछ।