‘बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्’ भन्ने पङ्क्ति अधिकांश प्रवासी नेपालीका लागि ‘बिहान उठ्ने बित्तिकै नेपाली नेतालाई गाली गर्न पाइयोस्’ हुने गरेको छ।
यो प्रवृत्ति निरन्तर जारी मात्र होइन, झन्झन् उग्र हुँदो देखिन्छ।
प्रवासी नेपालीले आफू बसाइ सरेको देशमा त्यो देशको हितका लागि र नेपाली मूलको भएको नाताले नेपाली समुदायको सामूहिक उत्थानका लागि के चाहिँ योगदान गरेको भएर नेपाली नेताहरूलाई त्यति बिघ्न तीतो बोली लगाएका होलान्?
प्रवासमा बसी माथिको प्रवृत्ति प्रवर्द्धन गर्ने कुकर्ममा आफू स्वयम् पनि सहभागी हुने गरेकोमा आफैसँग बढो खेद छ मेरो। आजभोलि अलि सुध्रिने प्रयासमा छु। नानीदेखि लागेको बानी सुधार्न गाह्रो हुने रहेछ। निरन्तर कोसिस जारी छ।
विदेशमा स्थायी रूपले बसाइसराई गरिसक्नु भएका नेपाली मूलका नागरिकहरूले आफ्नो र आगामी पुस्ताको आत्मसम्मान तथा उज्ज्वल भविष्य सुनिश्चित गर्ने हो भने आफू बस्दै गरेको देश स्थानमा आजका र आउँदा दिनमा हाम्रो आफ्नो के कस्तो जिम्मेवारी र उत्तरदायित्व रहन सक्छ तथा व्यक्तिगत र सामूहिक रूपमा आफ्नो भूमिका के कस्तो हुनुपर्छ भन्नेबारे यस लेखमार्फत केही विचार राख्ने प्रयास गरेको छु।
विगत
‘दि गुर्खा वेलफेर ट्रस्ट’को वेबसाइटका अनुसार आजको २१० वर्षअघि बेलायती सेनामा गुर्खा सैनिकहरू प्रवेश गर्नुभएको हो। दुई शताब्दीको सेवाका बाबजुद हाम्रा गुर्खा सैनिक र आफ्नो ज्यानसहितको योगदानको कदरको सम्मानको वहाँहरूको लडाइँका लागि सन् २००८ मा बेलायतकै नागरिक जोआना लुम्ली र वहाँ जस्तै गैर नेपालीले बोलिदिनुपर्यो।
त्यो हक अधिकारको लडाइँका बेला हाम्रा गुर्खा सैनिक र वहाँहरूको परिवार तथा नेपालीहरूको मात्रै आवाज बेलायतका लागि त्यति बुलन्द हुन सकेन। यदि बेलायती संसदमा नेपाली मूलका एक मात्र सांसद हुँदो हो र त्यस स्तरमा प्रभावकारी भूमिका हुँदो हो त हाम्रा गुर्खा सैनिक र वहाँहरूको परिवारजनले आफ्नो पाउनु पर्ने हक अधिकारको लडाइँका लागि दुई शताब्दीपछि पनि सन् २००८ ताका त्यो प्रकारको सङ्घर्ष गर्नुपर्दैन थियो भन्ने मेरो व्यक्तिगत निर्क्योल हो।
तर हामी बेलायती संसदमा छैनौँ। कुनै पनि देशमा छैनौँ। संसद र अन्य उच्च तहमा पुग्नेबारे हाम्रो ध्यान गएकै छैन। कहिलेकाहीँ लाग्छ हामी कता छौँ? के गर्दै हरदम व्यस्त र कुदाकुद होला यस्तो विधि? जहिले जो पनि बिजी!
हाम्रा प्रवासीहरूको ध्यान, प्रयास र काम गराई न त त्यतातिर वा अरू त्यस्तै प्रभावशाली निर्णय स्तरमा पुग्न प्रयास गर्ने प्रवृत्तिको देखिन्छ। कमसेकम नेपाली मूलको लाखौँ जनसङ्ख्या पुगिसकेका देशहरूमा उच्च तहमा हाम्रो प्रतिनिधित्व हुन अब आवश्यक भइसकेको छ। निर्णय टेबलमा हुनु हुन्न भने तपाईं अस्तित्वविहीन सरह हुनु हुनेछ।
‘इफ यु आर नट एट दि टेबल, यु आर नट अन दि मेन्यु।’ संसदसम्म पुग्ने, त्यहाँ र त्यस्तै उच्च तहमा रहेर गौरवान्वित भई तर्क वितर्क गर्ने हाम्रो महत्त्वाकांक्षा र सामर्थ्य छ?
हालसम्म त्यस्तो भए जस्तो देखिँदैन।
उच्चतम तहसम्म पुग्ने पुर्याउने महत्त्वाकांक्षा बोक्ने र सामर्थ्य निर्माण गर्ने बेला अब भएको छ। नेपाली भन्दै सधैँ गर्व गर्ने तर लगभग अस्तित्वविहीन, अदृश्य र लाचार नै रहिरहने हो भने यो लेख यहाँभन्दा अगाडि पढ्न रोकिदिए हुन्छ।
वर्तमान
विदेशी भूमि हाम्रो आफ्नो कर्मभूमि मात्र नभई अब दत्तक घर (एडप्टेड होम) भइसकेको छ। हेक्का राखौँ, जन्मेको उता नेपालमा भए पनि हामी मर्ने यतै प्रवासमा हो अब। हाम्रा यता जन्मेका सन्ततिको हकमा हामी हालमा बस्दै गरेको प्रवास नै वहाँहरूको घर हो।
प्रवासी भूमिमा शिर ठाडो गरी जिउने हो भने हामीले अब सम्मान आर्जन गर्न लायक काम कारबाहीतिर ध्यान दिनुपर्छ। कर्म भूमिबाट लिने मात्र होइन, योगदान गर्ने बारे सोच्नुपर्छ। नेपालमा रेमिटेन्स पठाउनेतिर मात्र जोड हैन, आफ्नो र आउँदो पुस्ताले भविष्यमा टेक्ने धरातल अवस्थित देशका लागि केही गर्नुपर्छ भन्ने विचार राख्नुपर्छ।
देशका अरू भागबाट काठमाडौँ बसाइसराई गरेका नेपालीलाई वहाँहरूको काठमाडौँप्रति लगाव छैन, काठमाडौँलाई बुझ्दैनन् भन्ने हामी नै होइनौँ? भेद आन्तरिक र अन्तर्राष्ट्रिय तहको बसाइसराइको मात्रै हो। आजका दिनमा अपवादबाहेक प्रवासी नेपालीलाई हामी बसोबास गर्दै गरेको देशका नागरिकहरूले ‘यहाँले यो देशका लागि के योगदान गर्नुभयो?’ भन्ने प्रश्न गरे भने त्यसको गतिलो जवाफ हामीसँग छैन। मैले अक्सर सुन्ने गरेको जवाफ चाहिँ ‘कर तिर्छु’ भन्ने हो।
जन्मभूमि नेपाल भएकाहरू हाम्रो नेपालसँग भावनात्मक सम्बन्ध र बलियो लगाव हुनु स्वाभाविक हो। त्यो हुनु हुन्न अथवा गलत हो भन्न खोजेको हैन। दशकौँ बसिसकेको, आफ्नो जवानी र ऊर्जादान गरेको देशमा चाहिँ लगाव हुनुपर्ने कि नपर्ने? अवकाशपछि जुन देशले पेन्सन दिन्छ त्यो देशप्रति हाम्रो नजरिया कस्तो छ?
अलिकति कुरा प्रवासी नेपालीले नेपालका लागि चाहिँ के–के गरे भन्नेबारे पनि गरिहालौँ। अपवाद र केही व्यक्तिगत पहल छोडेर सामूहिक प्रयास नगण्य मात्रै हो। कुरा चाहिँ अक्सर ठुलठुलै हुने गर्छ। हुनुपर्ने, गर्नुपर्ने इत्यादि। तर आफूले हैन, अरू कसैले गर्नुपर्छ। वास्तवमै के चाहिँ योगदान रह्यो त? त्यसको खासै चित्तबुझ्दो उत्तर पाउन अलि गाह्रै छ।
आपतविपद् पर्दा यसो अलि चन्दा दियो, बस् भई गो त! परोपकार कर्मका लागि एक डलर माग्दा १०० डलर बराबरको अर्ति उपदेश खेप्नु पर्ने अवस्थासम्मको अनुभव रह्यो। कसैले केही राम्रो काम गरे, गर्न खोजे शंका उपशंका मात्र होइन खुट्टै तानेको पनि हेर्न पाइयो। विडम्बना नै भन्नुपर्ला।
भविष्य
माथि गनथन गरेझैँ वर्तमान अवस्थामै रमाउने हो भने कुरै सकियो। प्रवासमा सधैँ परदेशी नै रहिरहने हो भने अहिले जे गर्दै छौँ त्यही निरन्तर जारी गरे भयो। हैन अलि शिर ठाडो गर्ने जमर्को गरौँ भन्ने हो भने हल्का–फुल्का मात्र हैन, सोचाइमा व्यापक परिवर्तनको आवश्यकता देख्छु म। महान् छलाङ भन्न सकिन्छ होला सायद।
सकिन्छ क्षमता र आँट छ, आफैँ अघि सर्ने हो। हैन छैन, जसले सक्छन् तिनलाई हौसला दिनुपर्छ। यो अघि सराइ हाम्रो आफ्नै बलबुता, प्रतिभा र क्षमताका आधारमा हुनुपर्छ। न कि कसैको निगाह वा मायामा परनिर्भर।
तर उच्च स्थान पुग्ने सपना देख्नुअघि भने आफ्नै घर समाजभित्र गर्नुपर्ने थुप्रै सुकर्म थाँती छन्। पहिलो र प्राथमिक, दायरा अलि फराकिलो पार्नुपर्यो। नेपाली–नेपाली आफू आफैबिचको साँघुरो वृत्तभन्दा बाहिरको फराकिलो समाज–संसार पनि चाहर्नुपर्यो। हैन काममा त मेरो बहु सांस्कृतिक साथी छन् भन्नु होला फेरि। आराम क्षेत्रबाट बाहिर आउने प्रयास गर्नुपर्यो।
हाम्रो आफ्नो व्यक्तिगत र सामूहिक भूमिका र उत्तरदायित्वको समीक्षा गर्नुपर्यो। लिने मात्र हैन, दिन पनि उत्तिकै अग्रसर हुनुपर्यो। जोन एफ केनेडीले भन्नु भएझैँ आफू बस्दै गरेको देशलाई के गर्न सक्छु भनेर पनि सोच्नुपर्यो।
सरसर्ती हेर्नुभयो भने आजका दिनमा केही नेपालीले प्रवासमा राम्रै नाम र दाम कमाएका छन्। तर त्यो व्यक्तिगत सफलता हो। सामूहिक रूपमा हाम्रो हैसियत अझै एक अति–गरिब मुलुकका प्रवासी समुदाय हो। सगरमाथा र बुद्धको देशका जनता हौँ, हाम्रो लागि आफ्नो पहिचान। यिनै थोत्रा झोला भिरी बस्ने? नयाँ मुलुकमा नयाँ पहिचान बनाउनेतिर किन नसोच्ने?
अब अलि कुरा विदेशी नागरिकता ग्रहण गर्नेहरूको बारे। नागरिकता समारोहमा मुटुमाथि हात राखी त्यो देशको राष्ट्रिय गान र राष्ट्र प्रमुखका सामु गर्नुभएको शपथ समारोह स्थलबाट बाहिर निस्केपछि पनि नबिर्सौँ। शपथको मर्म र धर्म सम्झौँ। जन्मभूमिको मात्रै तिर्सना होइन, कर्मभूमिप्रति पनि कृतघ्य र उत्तरदायी हुनुपर्यो।
व्यक्तिगत स्वार्थभन्दा अलि माथि उठ्नुपर्यो। आफूलाई बिर्सी अरूको सेवा गरौँ भनेको हैन। आफ्नो जमर्को गर्ने जिम्मेवारी हाम्रो आफ्नै हो। व्यक्तिगत प्रगतिसँगै आफू बस्दै गरेको समाजको हितका बारे पनि मनन गरौँ भन्ने भाव हो।
जाँदा जाँदै
कहिले कुनै साम्राज्यका अघि शिर झुकाउन नपरेको गर्व गर्ने हो भने अब हामीले प्रवासमा आफ्नो शिर ठाडो हुने कर्म गर्नै पर्छ। नत्र इतिहासमै र गफैमा सीमित रहन्छ हाम्रो गर्व।
विगत हिजोको कुरा भयो। त्यो सकियो। त्यता रुमल्लिएर हात लाग्ने केही हैन। विगतबाट सिक्ने हो। अनि त्यसको आधारमा वर्तमानमा कर्म गर्ने हो। हाम्रो भोलि कस्तो हुन्छ, त्यो धेरै हदसम्म हाम्रो आजको कर्ममा निर्भर हुन्छ।
हाम्रो आफ्नो भविष्य निर्माण गर्ने जिम्मेवारी हाम्रो आफ्नै हो। लगाव भए आउँदा दिन हाम्रो हितमा नहुने भन्ने प्रश्नै छैन। त्यसको निर्माण भने आजैबाट थाल्नुपर्छ अब हामीले।
हालको हाम्रो अवस्थाबाट भोलिका दिनमा माथि उल्लेख गरिएको गर्व गर्न लायक शानको मार्गमा लाग्ने हो भने हामीले अहिलेको ढर्रा र पारा त्याग्नै पर्छ। नौलो नवीनतम सोच राख्ने, व्यक्तिगत स्वार्थबाट माथि उठ्ने, फराकिलो दायरा समाहितको विचारलाई मलजल गर्ने जस्ता उत्कृष्ट तथा परिमार्जित सोच र कर्म गर्दै जाने दृढताको संकल्प गर्नुपर्छ। अनि मात्र केही होला। होइन भने लाइफ त चली नै रहन्छ नि, होइन र?
हाम्रो भविष्य हाम्रै हातमा छ।