विवाहलाई दुई आत्माको मिलन भनिन्छ भने यसको उल्टो परिभाषा डिभोर्सलाई दिइन्छ। हाम्रो समाजले यसलाई सरल रूपमा बुझ्ने यही तरिका हो। केही वर्ष अघिको मेरो बुझाइ पनि यही थियो। तर भनिन्छ नि, टाढाबाट हेर्दा र नजिकबाट नियाल्दा धेरै चीजहरूको मूल्य, मान्यता, भाव, र परिभाषा फरक देखिन्छ।
सानै हुँदा देखेको एउटा दृश्य मेरो मानसपटलमा अझै ताजै छ। सायद म त्यति बेला १०/११ वर्षकी थिएँ। गाउँमा एक जना दाइको मृत्यु भएपछि भाउजूको सिन्दूर पखाल्ने विधि हुँदै थियो। उहाँ डाको छोडेर रोइरहनु भएको थियो र गाउँका अन्य महिलाहरू उहाँलाई समाउन, सिन्दूर पुछ्न, चुरा फुटाउन अगाडि सरेका थिए।
त्यो बेला मेरो बाल दिमागमा एउटै प्रश्न उठ्यो— जबरजस्ती अरूले हटाइदिँदा झन् पीडा त हुने नै भयो! त्यसैले भाउजू यति पीडाले रुनु भएको हुँदो हो। बरु भाउजूलाई आफैँले सिन्दूर पखाल्न दिएको भए, चुरा फुकाउन दिएको भए सायद कम पीडा महसुस गर्नुहुन्थ्यो होला।
समय बित्दै जाँदा बाल्यकालमा उठेका ती प्रश्नहरू क्रमशः स्पष्ट हुँदै गए। आफूले रहरले लगाएको सिन्दूर, वैवाहिक जीवनप्रतिको उत्साहको उमंगसँगै बजेका चुराहरू, अब त कन्यादान गरेर पनि उम्कियो भन्दै प्रफुल्ल भएका माइती पक्षको खुसी कायम राख्ने जिम्मेवारी बोकेको निधारको टिकी, यी सबै कुनै महिलाको जीवनमा कति प्रिय हुने रहेछन्। तर जब जबरजस्ती तिनलाई हटाउनुपर्ने अवस्था आउँछ, त्यो असहनीय पीडा बन्छ।
सायद त्यसैले समाजले महिलालाई आफैँ यी चीजहरू हटाउन नसक्ने मानसिक अवस्थामा राखेर अरूलाई अघि सार्ने परम्परा बनायो।
अब फेरि म विवाह र डिभोर्सको परिभाषातर्फ फर्किन चाहन्छु। विवाह एक नयाँ सुरुवात हो भने डिभोर्स कहिल्यै पूर्ण रूपमा अन्त्य हुन सक्दैन। बरु यो एउटा विषाक्त सम्बन्धको जन्जिर तोड्ने साहसिक निर्णयको प्रारम्भ हो। आत्मसम्मान गुमाएको पीडा र आँसुमा लतपतिएको कालो रातपछिको नयाँ बिहानी हो। जन्मेदेखि बुबासँग जोडिएको, विवाहपछि श्रीमानसँग निर्भर हुने महिलाको परिचयबाट टाढा रहेर आफ्नै अस्तित्व खोज्ने यात्राको सुरुवात हो।
जसरी जन्मलाई नयाँ सुरुवातको रूपमा स्विकारिन्छ र मृत्युलाई अन्त्यको रूपमा, समाजले डिभोर्सलाई भने न त नयाँ सुरुवात मान्छ न पूर्ण अन्त्य। यसको सट्टा अहिलेको समयमा समाजले डिभोर्सलाई पेचिलो प्रश्नहरूको ज्वारभाटासँगै घृणा र तिरस्कारको नजरले नै नियाल्छ।
यो कठोर यथार्थ हाम्रो समाजीकरणको मूल जरा र ऐतिहासिक महत्त्वसँग गाँसिएको छ जसको म सम्मान गर्छु। यद्यपि समाज समयसँगै परिवर्तनशील छ। तर यो संवेदनशील विषय समयको प्रवाह अनि चेतनाको विकास र अनुभवको परिपक्वतासँगै रूपान्तरित हुँदै जानेछ भन्ने कुरामा म पूर्ण विश्वास राख्छु।
सानोमा टाढाबाट देखिएको सिन्दूर पुछ्ने दृश्य र अहिले आफैँले त्यो यात्रा तय गर्दा अनुभूत भएको पीडाले मेरो बाल्यकालका प्रश्नहरूको जवाफ दिँदै गरेको छ। अब मलाई बुझ्न बाँकी केवल एउटा कुरा छ— त्यो पीडा कति गहिरो छ जसले महिलालाई आफ्नै हातले सिन्दूर पुछ्न बाध्य बनाउँछ, आफ्नै मुटु चिर्न बाध्य बनाउँछ, आफ्नै आत्मा निकालेर फ्याँक्न बाध्य बनाउँछ?
आज त्यो भाउजूको अनुहारमा भएको मलिनता ती हरेक महिलाहरूको अनुहारमा देख्छु, जो विषाक्त सम्बन्धबाट उम्किन संघर्ष गर्दै हुनुहुन्छ। हजारौँ रहरले सजाइएको सिन्दूर पुछेर, बजाएका चुराहरू फुकाएर, आँखाभरि सजाएका सपनाहरू आँसुले बगाउँदै, समाजका कठोर प्रश्नहरूको सामना गर्दै, कठोर निर्णय लिन बाध्य हुनुहुन्छ। म अब ती अनुहारहरू पछाडिका कथाहरू बुझ्न चाहन्छु।
के कारणले उनीहरू आफ्नो आत्मालाई चिथोरिन बाध्य भए?
कुन परिस्थितिले उनीहरूलाई आफ्नै अस्तित्व मेट्न जत्तिकै कठोर बन्न बाध्य बनायो?
तर त्योभन्दा बढी ध्यानाकर्षण म मेरो त्यो बाल्यकालको प्रश्नमा लैजान चाहन्छु जुन अझै पूर्ण रूपमा मेटिएको छैन। तर आज मलाई यति थाहा छ, भवितव्यले पुछिदिएको सिन्दूरभन्दा आफ्नै हातले सिन्दूर पुछ्नुमा अझै बढी असहनीय पीडा छ र यसलाई समाजको विद्यमान दृष्टिकोणले झनै बढी पीडा थप्ने काम गर्छ। न सिन्दूरको रेखा छ न नर्भित आश्रयको पहिचान, तर पनि म जीवित छु।