पछिल्लो समय एउटा विषय अलि चर्चामा छ कि नेपालमा बस्ने केटाले बिहे गर्नका लागि केटी पाउन गाह्रो छ।
यो कुरा अरूको मुखबाट सुन्दा मलाई एकदमै सतही लागेको थियो तर जब आफूमाथि आयो नि तब निकै गहिरो लाग्यो।
अहिले बिहेको महिनाहरू चलिरहेका छन् या भनौं माघ फागुन महिना भनेका बिहेका लागि अति उत्तम महिनाहरू मध्येमा पर्छन्। त्यसको कारणबारे भने अरू नै लेखहरूमा चर्चा गरौंला।
कुरा माघ अन्तिमतिरको हो, म एक जना नजिकैको आफन्तकहाँ उहाँको छोरीको विवाहका लागि आएको प्रस्तावको माध्यम बनेर गएँ, उहाँको पहिलो प्रश्न थियो, 'केटा कहाँ बस्छ?'
'यहीँ नेपालमा आफ्नै बुवाको व्यवसाय चलाएर बसिरहेको छ, व्यवसाय पनि राम्रै चलिरहेको छ' भनेर मैले पूरै जबाफ दिन नभ्याउँदै उहाँले फेरि प्रश्न गर्नुभयो, 'विदेश नबस्नेलाई पनि के छोरी दिनु?'
प्रश्नकर्ताका २ छोरा पहिले नै जापान र क्यानडामा छन् आफूसँग भएको एक मात्र सन्तान छोरीलाई पनि उहाँ विदेशमा बस्नेसँग विवाह गरेर पठाउन चाहनुहुन्छ। जसले साँझ बिहान सुगर, प्रेसरको औषधि नियमित खानुपर्ने रोग लागेको छ। जसले छोराहरूलाई आफूसँग कुरा गर्ने फुर्सद पनि नभएको गुनासो गरेको मैले धेरै पटक सुनेको छु।
एक जना नन्द हुनुहुन्छ, जो २४/२५ वर्षको उमेरको हुनुहुन्छ। हाम्रो समाजमा २४/२५ वर्ष उमेर पुगेको छोरी मान्छेलाई उमेरका हिसाबले बिहे गर्नका लागि योग्य मानिन्छ, त्यो उमेरमा अधिकांशले स्नातक तह पास गरेर सानो तिनो भए पनि जागिर सुरू गरिसकेका हुन्छन् या भनौं आत्मनिर्भर भइसकेका हुन्छन्।
अब उहाँको पनि विवाह गर्नुपर्ने बेला भएको महसुस गर्दै विवाहको प्रस्तावसहित भेट्न पुगेँ।
उहाँलाई मेरो यो प्रस्ताव सायद चौथो पटकको थियो, उहाँलाई पनि यी प्रस्तावहरूसँग झर्को लागिरहेको थियो होला सायद। त्यसैले पहिले पहिलेका प्रस्तावमा जसरी बुझेर कुरा गरौंला नभनेर सिधै मलाई नेपालमा बस्ने केटासँग विवाहका लागि प्रस्ताव लिएर नआउनका लागि भन्नुभयो। यो जबाफबाट नेपाल बस्ने केटासँग विवाह नगर्ने उहाँको सोच बुझ्न मलाई त्यति समय लागेन।
हाम्रो वरपर उमेरले, पढाइले, अवस्थाले, आयस्रोत लगायत सबै योग्यताले विवाहका लागि उपयुक्त समय भएर पनि विवाह नगरी बसेका धेरै छोरा मान्छेहरूको विवाह नहुनुको पछाडि पनि यही कारण रहेछ भनेर सजिलै बुझ्न सकिन्छ।
के विदेशमा बस्नु वा भनौं विदेशी नागरिक भएका नेपाली केटाहरूलाई विवाहका लागि चाहिने अन्य योग्यताहरू नभए पनि हुने हो त?
नेपालका युवायुवतीहरू विदेश जाने मोहमा तानिनुको मुख्य कारण आर्थिक अवसर, जीवनशैली र व्यक्तिगत विकाससँग जोडिएको छ। नेपालमा रोजगारीको अवसर सीमित छ। उपलब्ध जागिरहरूमा पनि तलब कम र स्थायित्वको ग्यारेन्टी हुँदैन। नेपालमा विश्वस्तरीय शिक्षा प्राप्त गर्ने अवसर सीमित भएकाले धेरै युवायुवती उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहन्छन्।
नेपालमा दीर्घकालीन राजनीतिक अस्थिरता, भ्रष्टाचार र प्रशासनिक कमजोरीका कारण युवाहरू स्वदेशलाई आफ्नो भविष्यका लागि सुरक्षित नठान्नु स्वाभाविक नै हो।
आफ्नो नजिकैका आफन्त, साथीभाइ, छरछिमेकीको जीवनशैली देख्दा जो कोहीलाई पनि ऊ जस्तै हुन मन लाग्नु, बुवाआमालाई आफ्ना छोराछोरीलाई पनि त्यस्तै बनाउन चाहना राख्नुलाई अन्यथा लिनु हुँदैन तर धेरै नै जाडो भयो भन्दैमा आफ्नै घर जलाएर आगो ताप्नु पनि त मूर्खता होला नि, होइन र?
नेपाल र नेपालीको भविष्यका जिम्मा लिएर नेतृत्वमा पुगेका र पुग्न चाहनेले आफू र आफ्नाहरूको मात्र चिन्ता नगरेर समग्र देशको विकासमा लागिपर्ने हो भने हाम्रो देश नेपाललाई पनि युवाहरूको आकर्षणको केन्द्र बनाउन सकिन्छ।
सरकारले लगानीमैत्री वातावरण सिर्जना गर्ने, उद्यमशीलतामा युवाहरूलाई प्रोत्साहन गर्ने नेपालमै अन्तर्राष्ट्रिय स्तरका गुणस्तरीय शिक्षण संस्थाहरू स्थापना गर्ने, प्राविधिक शिक्षामा जोड दिने, युवा लक्षित कार्यक्रमहरू सञ्चालन गर्ने, फर्केर आउन चाहने युवाहरूलाई नेपालमै पुनःस्थापित गर्ने नीतिहरू बनाउनुपर्ने अहिलेको टड्कारो आवश्यकता हो।
विदेश मोह हुनुका कारणहरू व्यावहारिक छन्, तर यो समाधान नहुने समस्या होइन। नेपालमा युवाहरूलाई अवसर दिने वातावरण बनाएर, उनीहरूको प्रतिभा र श्रम स्वदेशमै उपयोग गर्न सकियो भने विदेश जाने मोहलाई कम गर्न सकिन्छ। सरकार, समाज र व्यक्तिगत रूपमा पनि सकारात्मक सोच अपनाएमा नेपालमै सम्मानजनक जीवनयापनको सम्भावना बलियो बन्दै जान्छ।
आफ्ना सन्तानको भविष्यको चिन्ता जो कोही अभिभावकलाई पनि हुनु स्वाभाविक हो, हाम्रो सामाजिक परम्परा अनुसार प्राचिन कालदेखि नै छोरीलाई विवाह गरेर अरूको घरमा पठाउने चलन चलिआएको छ, जसले गर्दा कस्तो केटा भेटिने, घरपरिवार कस्तो भेटिने, छोरीको भविष्य केही हदसम्म विवाह भएर जाने केटा र घरपरिवारमा भरपर्ने भएकाले पनि छोरीको विवाहका लागि राम्रो, धनी र इमानदार केटा खोज्नुलाई अन्यथाका रूपमा लिनु हुँदैन तर विदेश बस्ने र नबस्ने कुराले मात्र विवाह सफल वा असफल बनाउने भन्ने चाहिँ हुँदैन। मुख्य कुरा आपसी विश्वास, समझदारी र भविष्यप्रतिको सोच हो। छोरीले खुसीसाथ जीवन बिताउन सक्छे भने केटा विदेश बसेको छ वा छैन भन्ने कुरा गौण हुन सक्छ।
त्यसैले विवाहको निर्णय गर्दा व्यक्तिको चारित्रिक गुण, भविष्यप्रतिको सोच र व्यावहारिकतामा ध्यान दिनु सबभन्दा उपयुक्त हुन्छ। देशको विकासका लागि केबल सरकारको मात्र जिम्मेवारी होइन। देशको समृद्धि नागरिककै सक्रिय सहभागितामा निर्भर हुन्छ। इमानदार, शिक्षित र जागरूक नागरिकले मात्र देशलाई उन्नतिको मार्गमा लैजान सक्छन्। हामी प्रत्येकले आफ्नो जिम्मेवारी बुझेर लागेमा नेपाललाई समृद्ध बनाउन सकिन्छ अनि मात्र नेपालमै बस्ने केटालाई पनि निर्धक्कसँग छोरी दिन सकिन्छ।