‘हेलो बहिनी, तिमी आरामै छौ?’ दिदीले फोनबाट भन्नुभयो।
‘आरामै छु दिदी, हजुरलाई कस्तो छ? आज धेरै दिनपछि याद गर्नु भयो त,’ मैले जवाफ दिएँ।
‘याद त किन नगर्नु बहिनी, परदेशको ठाउँ यस्तै त हो,’ उहाँले भन्नुभयो।
मैले भनेजस्तो कहाँ हुन्छ र परदेशमा, काम पनि गर्नु पर्यो, ग्वाक्को (स्कुल) पनि जानु पर्यो भनेँ।
उताबाट जवाफ आयो, ‘दुःख पनि छ बहिनी। नेपालमा पनि त कति दुःख गरियो, अहिले यहाँ पनि दुःख छ तर यहाँ दुःख गरे अनुसारको फल पनि पाइन्छ।’
हाम्रो कुराकानी हुँदै थियो। यतिकैमा दिदीले भन्नुभयो, ‘तिमी पनि अब नेपालमै नभुल, परदेशिन ढिला नगर है? आऊ अब विदेश।’
मैले हाँस्दै भनेँ, ‘हाहा दिदी, अब कहाँ विदेश आउनु, छोरोलाई कहाँ छाड्न सक्छु र?’
उताबाट जवाफ आयो, ‘बाबु त हुर्कियो नि, यही समय हो पैसा कमाउने। म पनि यहाँ आउन ढिला गरे जस्तो लाग्छ। त्यति बेला राजनीति, घर-परिवार भन्दै भुलियो तर सबैभन्दा ठुलो पैसा रहेछ। तिमी पनि बेलैमा बिचार गर।’
‘हो दिदी तर मेरो विदेश जाने त्यस्तो सोच नै छैन। यति सानो बाबुलाई छाडेर कहाँ आउनु अहँ! दिदी पछि सोचौँला,’ मैले भनेँ।
मेरो जवाफपछि दिदीले भन्नुभयो, ‘म तिम्रो दिदी हो, नराम्रो सोच्दिनँ। नेपालमा भविष्य छैन। हरेक कुरामा राजनीति, भनसुन, पावर अनि पहुँच चाहिन्छ नत्र केही हुँदैन। त्यही भएर बेलैमा बिचार गर भनेको’
मैलै जवाफमा हस् दिदी पछि सोच्छु भनिदिएँ।
यत्तिकैमा दिदीले आफ्नो ड्युटी जाने समय भएको र पछि कुरा गर्ने भन्दै फोन काट्नुभयो।
दिदीसँगको संवादपछि मेरो मनमा एउटै प्रश्न आइरह्यो- के साँच्चिकै नेपालमा भविष्य नै नभएको हो त? होइन भने किन दैनिक हजारौँ युवाहरू आफ्नो परिवार छाडेर बिदेसिएका छन् त? सबैको बिदेसिनु रहर त पक्कै होइन होला?
नेपालमै बस्छु विदेश जाँदिनँ भन्नेहरूको पनि अन्ततः गन्तव्य परदेश नै छ। आफ्नो दुधे सन्तानलाई छाडेर परदेसिनु कुनै आमाको रहर हुँदैन तर रहरलाई बाध्यताले जितेपछि के गर्नु? नेपालमै बसेर केही गरौँ भने रोजगारी छैन, हरेक ठाउँमा भनसुन।
व्यवसाय गरौँ सिप, अनुभव तथा कुनै आइडिया नै छैन। अहिलेको समय, महँगी, घर परिवारको परिस्थिति जस्ता कारणले पनि परदेशिन बाध्य छन्।
यी र यस्ता कारणले म पनि निकै दोधारमा पर्ने गर्दछु। घरी लाग्छ साँच्चिकै विदेश जाऊँ कि भन्ने। फेरि सोच्छु, ह्या जे जस्तो होस् नेपाल नै सही। नेपालको अवस्था देख्दा त कहिलेकाहीँ विरक्त लाग्छ। सानो जागिरका लागि पनि भनसुन गर्नु पर्ने, क्षमतावान् व्यक्तिभन्दा पनि पावर र पहुँचको भरमा जागिर खाने इत्यादि।
फेरि त्यस्ता व्यक्तिहरूलाई पनि देख्छु जो आफ्नै क्षमताले जागिर खाएका छन्। नेपालमा स-साना व्यवसाय गरेर आफ्नै बुतामा केही हासिल गरेर टिकिरहेका छन्। उनीहरूलाई हेर्न हो भने ‘नेपालमा केही गर्न सकिन्नँ’ भन्ने मतमा सहमत हुन आवश्यक छैन भन्ने लाग्छ।
ठुलो संख्यामा युवा बिदेसिइरहेको सन्दर्भमा ‘नेपालमा काम गर्ने वातावरण नै छैन’ भन्ने भाष्य सत्यको एउटा पाटो हो। तर काम गर्ने क्षमता (जागिर वा व्यवसाय) व्यक्तिमा छ कि छैन, छ भने व्यक्तिले त्यो क्षमतालाई उपयोग गरेको छ कि छैन, आफ्नो कामलाई कत्तिको पेसागत प्रतिविद्धताका साथ गरिरहेको छ भन्ने सवाल पनि छ।
दैनिक युवा शक्ति बिदेसिँदा अहिले गाउँघर रित्तिनुका साथै गाउँघरमा वृद्धवृद्धा तथा बालबालिका मात्र देखिन्छन्। यहाँसम्म कि अब गाउँमा केही भएमा पनि गुहार पाउने अवस्था छैन। अर्को पाटो युवा पलायनका कारण खेती हुन नसकी धेरै जमिन बाँझो बनेको छ।
त्यो बन्जर बन्दै गइरहेको खेतीयोग्य जमिनलाई देश छोड्न नचाहने र कृषिमा रुचि भएका युवाको पहुँचमा कसरी पुर्याउन सकिन्छ भन्ने बारे छलफल हुनु आवश्यक छ।
अब नेपालमा केही गर्न सकिन्न भनेर दिने सतही जवाफ वा सल्लाहभन्दा नेपालमा कुन-कुन क्षेत्रमा कसरी काम गर्न सकिन्छ, कुन क्षेत्रमा सकिन्न भनेर विस्तृत र वस्तुगत अध्ययन हुन जरुरी छ। यसतर्फ सरकारको पहलकदमी आवश्यक देखिन्छ। मानिसको जीवनमा हरेक संकटसँग एउटा अवसर पनि आइरहेको हुनसक्छ। यसको पहिचान गर्नु आजको आवश्यकता हो।