केही दिनयता काठमाडौँमा निकै चिसो बढेको छ।
एउटा सुन्दर शनिवार बिहान स्कुलमा प्यारेन्टिङको विषयमा एउटा कार्यक्रममा भाग लिएर फर्किएँ। बेलुका सपरिवार बसेर रामायण हेर्यौँ। प्रायजसो रामायण, महाभारत जस्ता ग्रन्थमा आधारित टेलिकास्टहरू हेर्दा हामी परिवारै बसेर हेर्छौँ।
रामायण सकिएपछि सानो छोरा श्रुहितले युट्युबमा एउटा भिडिओ लगायो। भिडिओमा युट्युबर रायन ट्राहनले स्केट बुट लगाएर सडकमा गुड्ने अभ्यास गरिरहेको थियो।
यो भिडिओ हेरेपछि म अचानक आफ्नो किशोर अवस्थामा फर्किएँ।
२०५० सालतिरको कुरा हो। त्यति बेला म काठमाडौँमा पढ्दै थिएँ। क्याम्पस बिदा भएकाले चरिकोट गएको थिएँ।
स्कुलदेखि नै मलाई खेलकुदमा अघोषित प्रतिबन्ध थियो। यसो हुनुमा मेरो बुबाको मप्रतिको अत्यधिक प्रेम थियो।
म बुबाआमाको पाँचौँ सन्तान। चार जना दिदीहरूपछि जन्मेको भएकाले पनि होला म घरबाट एकदमै बढी संरक्षित थिएँ। अहिले मेरो विगतलाई फर्केर हेर्दा मलाई बुबा आमाले चाहिनेभन्दा बढी नै संरक्षण गरेको महसुस हुन्छ।
जस्तो कि मेरो लागि भान्सामा छुट्टै खाना पाक्दथ्यो। म स्कुल जाने बेला कान्छी दिदीको साथ अनिवार्य थियो। फुटबल, भलिबल जस्ता खेल त बन्दै थियो त्यसबाहेक अरू केटाकेटीको संगत पनि लगभग बन्दजस्तै थियो।
हुन त बुबाको समय र परिवेशमा खेलकुदले महत्त्व पाएको थिएन। हुनसक्छ खेलेरै आफ्नो करियर बनाउन सकिन्छ भन्ने कुरामा उहाँको विश्वास नभएर पनि हुन सक्छ। किनभने उहाँ स्वयं लामो समय शिक्षक हुनु भएको व्यक्तित्व हुनुहुन्थ्यो।
तैपनि मेरो लागि किन उहाँले बेग्लै खालको परिवेश खडा गर्नु भयो? यसको जवाफ सम्भवतः अब म कहिल्यै पाउन सक्दिनँ।
मेरो बुबालाई म गायक बनेको हेर्न मन थियो। उहाँ स्वयम एकदमै राम्रो गाउने बजाउने गर्नुहुन्थ्यो। चरिकोटमा हुने जात्रा पर्वहरूमा हार्मोनियम बजाउने र गाउने उहाँ नै हुनुहुन्थ्यो। मलाई सधैँ हार्मोनियम, गितार, तबला, मादल बजाउन प्रेरित गर्नुहुन्थ्यो। तर खेलकुदमा लाग्न भने दिनु हुने थिएन।
त्यसैले साथीहरूले खेल्न जाऊँ भने पनि म उनीहरूसँग जान सक्दिनथेँ। सानो उमेरमा त त्यस्तै भयो, म २० वर्ष पूरा भइसक्दा पनि बुबाका नजरमा खेलकुदका लागि भने अयोग्य नै थिएँ।
एक दिन सातदोबाटोतिर साथीहरूसँग चिया गफमा बसिरहेको बेला साथी प्रविण व्याञ्जुले स्केटिङ खेल्ने प्रस्ताव गर्यो।
त्यति बेलासम्म मैले स्केटिङ छोएको पनि थिइनँ।
‘मलाई आउँदैन यार,’ मैले नजाने विचारले भनेँ।
‘चिरञ्जीवी र रामकृष्ण पनि जान्छ जाऊँ हिँड्। नजाने म सिकाउँछु नि,’ उसले अलि कर गर्यो।
‘कहाँ जाने?’ मैले सोधेँ।
‘क्याम्पसमा,’ उसले भन्यो।
चिरञ्जीवी मास्के र रामकृष्ण कायस्थ स्कुलमा मभन्दा सिनियर भए पनि हामी अत्यन्तै मिल्ने साथी थियौँ। र, आज पर्यन्त हामी अत्यन्तै नजिकका साथी छौँ।
त्यति बेला चरिकोटमा स्केटिङ गर्ने ठाउँ कतै थिएन। त्यसका लागि सिमेन्ट लगाएको वा चिल्लो पिच भएको ठाउँ चाहिने रहेछ। जबकि चरिकोटको बजारमा समेत राम्रो पिच भएको थिएन। त्यसैले हामीलाई खेल्नकै लागि सिमेन्टेड ठाउँ कहाँ मिल्नु?
हामी दिउँसो क्याम्पस पुग्यौँ।
त्यति बेला गौरीशंकर क्याम्पसको भौतिक अवस्था कमजोर थियो। मुस्किलले एउटा लामो भवन र त्यसको ठिक अगाडि तत्कालीन कांग्रेस नेता माधवमणि राजभण्डारीले बनाइदिएको क्याम्पसको प्रशासनिक भवन थियो।
न खेल्नलाई पर्याप्त ठाउँ थियो न त कम्पाउन्ड नै। बिहान क्लास हुन्थ्यो, दिनभरि क्याम्पस भवन बाहिर गाईबस्तु चर्थे। विद्यार्थी थोरै थिए। क्याम्पसको आर्थिक अवस्था कमजोर थियो।
हामी त्यही लामो भवनको प्यासेजमा खेल्न थाल्यौँ। प्यासेजमा पालैपालो स्केटिङ बुट लगाउँदै खुट्टा चाल्न थाल्यौँ। सुरुसुरुमा त उभिनै मुस्किल। उभिन नपाई थेचारिएर हैरान। बल्लतल्ल उठ्यो फेरि थचारियो। पहिलो दिन मुस्किलले उभिन सकेँ। थचारिएर भोलिपल्ट उभिनै मुस्किल। हिप त थिलथिलो भएछ।
हामी केही दिनदेखि लगातार स्केटिङ गर्न थाल्यौँ। एक दिन प्रविणले प्रशासनिक भवनको माथिल्लो तलामा ढुंगाले कोरेर चित्र बनायो। ढुंगाले सिमेन्टको गारोमा कोर्नु हुन्न भनेर धेरै पटक रिक्वेस्ट गर्दा पनि मानेन। उसको हठका अगाडि रामकृष्ण र म विवश भयौँ।
त्यसको भोलिपल्ट त चिरञ्जीवीले पनि त्यसैमाथि फेरि कोरकार बनायो। दुवै जनाको तन्मयले क्याम्पस चिफको कोठा अगाडि अश्लील चित्र कोरियो। मनमा एक तमासको नरमाइलो लाग्यो। क्याम्पस चिफ प्रदीप मानन्धर हुनुहुन्थ्यो। उहाँले मलाई माया गर्नुहुन्थ्यो।
भोलिपल्ट पनि हामी त्यसै गरी आयौँ खेल्यौँ।
खेल्दाखेल्दै टुँडिखेलतिरबाट प्रदिप सर आउनु भएको देखेँ। मैले हतपत सर आएको कुरा साथीहरूलाई सुनाएँ। केटाहरू अचानक भागे। उनीहरू भागेको देखेर म पनि भागेँ। सम्भवतः त्यो दिन चिरञ्जीवी थिएन। रामकृष्ण, प्रविण, म र उमेश श्रेष्ठ थियौँ।
हामी चारै जना क्याम्पस पछाडिको जंगलबाट भागेर तलको लम्पतेको सडकमा पुग्यौँ। मलाई डर लाग्यो। प्रदिप सरले मलाई चिन्नु भयो कि भन्ने चिन्ताले सतायो। प्रदीप सरको कोठा अगाडि प्रविणले कोरेको चित्र सम्झेर झनै डर लाग्यो।
मनमनै अब कहिल्यै स्केटिङ नखेल्ने मनस्थिति बनाएँ। भीमेश्वरसँग मनमनै प्रार्थना गरेँ– ‘भगवान् मलाई रक्षा गर।’
भोलिपल्ट म सिडिओ कार्यालयमा काम विशेषले पुगेको थिएँ। त्यति बेला म पत्रकारितामा क्रियाशील भइसकेको थिएँ। कार्यालयको गेटमै प्रदीप सरसँग भेट भयो। हडबडाउँदै अचानक सोधेँ– ‘सर पनि प्रशासन कार्यालयमा आउनु भएछ?’
उनले तत्कालै भने– ‘क्याम्पसमा बजारका केटाहरू गएर सार्वजनिक सम्पत्तिमाथि जथाभाबी गर्न थालेछन्। त्यसैले केही बदमास केटाहरूलाई मुद्दा हाल्न लागेको।’
मेरो हंसले ठाउँ छाड्यो। लगलग खुट्टा काम्यो। तर दृढताका साथ त्यहाँबाट घर आएँ। कसलाई भेट्ने? के भन्ने? मनमनै ठुलो अन्तर्द्वन्द्वमा फसेँ। तर एउटा कुरामा भने ढुक्क भएँ– सरले क्याम्पसबाट दौडिँदै भाग्ने तिनै केटाहरूको समूहमा म भएको कुरा पत्ता पाउनु भएनछ।
म उहाँको नजरबाट बच्न सकेकोमा भने अलि सन्तोष लाग्यो।
पत्रकारितामा संलग्न भएको र अति अनुशासनमा हुर्केकोले पनि मलाई यो घटनाले मर्माहत तुल्यायो। कतै मेरो पनि नाम मुछियो भने मैले बुबालाई के भन्ने? म आत्तिएँ।
भोलिपल्ट हामीमध्ये एक जना साथीलाई प्रहरीले बोलायो। उसले हामी को-को जम्मा भएर खेलेका थियौँ भन्ने केही भनेन। उसले सबै आरोप अस्वीकार गरेपछि प्रहरीले घर पठायो।
अहिले पनि चिरञ्जीवी, रामकृष्ण र प्रविणसँग भेट हुँदा हामी त्यही घटना सम्झन्छौँ। त्यही किशोर वयको बदमासी सम्झन्छौँ।