म छ वर्षको हुँदा बुवा-आमाले दिदी र मलाई छोडेर यो संसारबाट बिदा हुनुभयो। त्यो दिनदेखि हाम्रो जीवनको संघर्षको पाटो सुरु भयो। केही थाहा थिएन कि आमाबुवा भनेका को हुन्, आमाबुबाको माया कस्तो हुन्छ?
आमाबुबा बितिसकेपछि म केही दिन आफ्नै सानीमाकोमा बसेँ। मलाई र दिदीलाई लिन मावली घरबाट मामा आउनुभयो र हामीलाई लिएर जानुभयो। कावासोती ल्याउनुभयो। कावासोती आइसकेपछि मैले केही दिनमा बुवाको काजक्रिया गरेँ। त्यति सानो उमेरमा मलाई क्रिया भनेको के हो भन्ने कुरा पनि राम्रोसँग थाहा थिएन।
बिस्तारै दिन बित्दै गयो र मेरो भविष्यका बारेमा मेरा शुभचिन्तकहरूले चिन्ता लिएको पाएँ। दुवै जनालाई एकै ठाउँमा राखेर पढाउन नसक्ने भएपछि मलाई अनाथालय पठाउने कुरा भयो। म अनाथालय गएर पढेँ। त्यहाँ गएर कक्षा ७ सम्म पढेँ। त्यसपछि फेरि मामाको घर आएर पढौँला, ठुलो मान्छे बनुँला भन्ने ठुलो सपना थियो।
आमाबुबा नभइसकेपछि मान्छे हेलाको चपेटामा पर्दो रहेछ। न राम्रोसँग पढ्न पाएँ, न राम्रोसँग खान र राम्रोसँग खेल्नै पाएँ। सबैको हेलाको सिकार भइँदो रहेछ। त्यस सँगसँगै मैले आफै काम गर्दै पढ्न थालेँ र जसोतसो एसएलसी पास गरेँ।
एसएलसी पास गरिसकेपछि मैले प्लम्बिङ सिकेँ। प्लम्बिङ सिकिसकेपछि सर्टिफिकेट पनि लिएँ। अब विदेश जानुपर्छ, पैसा कमाउनुपर्छ र आफ्नो भविष्य उज्ज्वल बनाउनुपर्छ भन्ने मनमा लाग्यो।
म प्रमाणपत्र बोकेर काठमाडौँ आएँ। इन्टरभ्यु पनि दिएँ। पास भएँ तर आफूसँग लगानी गर्ने पैसा थिएन। आफन्तहरूसँग मागेँ। आफन्तहरूले थाहा पाए पनि थाहा नपाए जस्तो गरे। मेरो कुरा टारेर गए। आफूसँग पैसा नभएपछि जे पाइन्छ त्यही काम गर्दै आफ्नो जीविका चलाइरहेँ। कति दिन त अरूको घरमा बसेँ।
बिस्तारै बिस्तारै होटेल लाइनतिर मन बस्न थाल्यो। होटेल लाइनमा सँगैका साथीहरू काम सघाउन जाने गर्थे र म पनि जानुपर्यो भनेर गएँ। लगातार गइरहेपछि मैले पनि केही कामहरू सिक्ने अवसर पाएँ। त्यसैमा साइडको होटेलमा काम गर्ने क्रममा मेरी श्रीमती माया गुरुङसँग भेट भयो। सुरुमा हामी साथी-साथी भएर बस्यौँ।
बिस्तारै बिस्तारै हाम्रो संघर्षका कुराहरू मिल्दै गए र हामी साथीबाट प्रेमी प्रेमिकामा परिणत भयौँ। समलिङ्गी, तेस्रोलिङ्गी, अन्तरलिङ्गी भनेको के हो भन्ने कुराहरू मलाई राम्रोसँग थाहा थिएन। बिस्तारै मायासँग कुरा हुँदै जाँदा समलिङ्गी भनेको यस्तो हो भनिसकेपछि बल्ल आफू यस्तो मान्छे रहेछु भन्ने कुरा थाहा भयो।
हामीले सामाजिक परम्पराअनुसार पञ्चेबाजा बजाएर विवाह गर्यौँ। समाजमा कुरा काट्ने धेरै थिए। केटा-केटाको पनि विवाह हुन्छ र भन्ने पनि धेरै थिए। तर हामीले समाजसँग जुधेर हाम्रो विवाहलाई सफल पार्यौँ।
हाम्रो विवाहलाई सहज रूपमा लिन थालेको पाएँ। विवाह मात्र गरेर भएन जीविका चलाउनुपर्छ भनेर हामीले १६ खुट्टेमा एउटा ठेला राख्यौँ। ठेलामा हामीले मःम, चाउमिन, स्याबाले जस्ता खानेकुराहरू बिक्री गर्थ्यौँ। टाढा-टाढादेखि हामीलाई माया गरेर धेरै व्यक्तिहरू आउनुहुन्थ्यो।
हामी बिहानको ११ बजेदेखि बेलुकाको २ बजेसम्म ठेला चलाउने गर्थ्यौँ। चल्न पनि राम्रै चलिरहेको थियो। बिचमा प्रशासनबाट हामीलाई हस्तक्षेप भयो र घरी सिलिन्डर लगिदिने, घरी कुर्ची लगिदिने गरेर दुःख दिन थालिसकेपछि हामीले त्यो व्यवसाय छोड्न बाध्य भयौँ।
त्यसपछि लगत्तै लकडाउन सुरु भयो। लकडाउनमा त्यही ठेलाबाट कमाएको पैसाले जोहो गरेर जीविकोपार्जन गर्यौँ र त्यसको लगत्तै लकडाउन पनि बिस्तारै बिस्तारै गर्दै हट्दै गयो र म प्लम्बिङ गर्नतिर लागेँ।
दिन बित्दै थियो। एक्कासि एक दिन सुनिल बाबु पन्तसँग भेट भयो। सांस्कृतिक रूपले विवाह गरेको छ वर्ष पूरा भइसकेको थियो। सुनिल बाबु पन्तसँगको भेटमा उहाँले भन्नुभयो कि ‘तपाईँहरू विवाह त गर्नुभयो तर तपाईँहरूसँग कानुनै प्रमाण केही छैन। तपाईँहरू यसका लागि लड्नुपर्छ।’ उहाँले हामीलाई प्रोत्साहन गर्नुभयो। हुन्छ भनेर हामी छुट्टियौँ।
केही दिनमा सुनिल बाबु पन्तले हामीलाई विवाह दर्ताका लागि मुद्दा दायर गर्न वकिल कार्यालय बोलाउनुभयो। म, माया गुरुङ र शीतल, पिंकी गुरुङ लगायत नौ जना भएर वकिल कार्यालय गयौँ। सबै काम सकेर हामी मुद्दा दर्ता गर्न सर्वोच्च अदालत पुग्यौँ।
केही महिनाको पर्खाइमा सर्वोच्च अदालतको अन्तरिम आदेश आयो- तपाईँहरूको विवाह दर्ता हुन्छ।
हामी एकदमै खुसी थियौँ। यसमा हामी जस्तै सबै साथीहरू पनि एकदमै खुसी हुनुहुन्थ्यो। हामी सर्वोच्च अदालतको आदेश बोकेर काठमाडौँ जिल्ला अदालत गयौँ। तर त्यहाँ हामीलाई तपाईँहरूको विवाह दर्ता हुँदैन, तपाईँहरूको दर्ताद्वारा विवाह हुन्छ भनेर जिल्ला अदालतले दर्ता गरेन।
हामी उच्च अदालत गयौँ। लगभग पाँच महिना जति हामी तारिखमा धाइराख्यौँ र अन्तिम फैसला आयो कि जिल्ला अदालतकै आदेशलाई सदर गरिदिनु भयो। हामी फेरि त्यो मुद्दा बोकेर सर्वोच्च गयौँ।
सर्वोच्च अदालतबाट आदेश सच्याउनु नपर्ने र अदालतमा नभए स्थानीय निकाय दर्ता हुन सक्ने आदेश आयो। कानुनविद्हरूले पनि स्थानीय निकायमा जानु तपाईँहरूको विवाह दर्ता हुन सक्छ भन्नुभयो। त्यसपछि हामी स्थानीय निकायमा गयौँ र विवाद दर्ता गर्न पनि सफल भइयो।
माया र म श्रीमान् श्रीमती होइन। हामीले एकअर्कालाई अभिभावकका रूपमा लिन्छौँ। श्रीमान्-श्रीमती भनेको एक अर्काको दास हुनु नै पर्छ भन्ने होइन। हामीले जे सक्छौँ त्यही नै गर्छौँ। जसले जे काम गर्न सक्छ, हामीले त्यही काम गर्छौँ।
अहिले मायाको पहिचान नेपाल संस्था खोलेर यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरूको पहिचानसहितको अधिकारका लागि वकालत गरिरहेका छौँ। समुदायका सदस्यहरूलाई पनि संस्थामा आबद्ध गराएर सामूहिक आवाज उठान गरिरहेका छौँ।
इन्द्रेणी विवाह दर्ता गर्न सफल भएसँगै पहिलो अन्तर्राष्ट्रिय इन्द्रेणी पर्यटन सम्मेलन र मिस्टर गे नेपाल आयोजना गर्यौँ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा लिखित अनुरोध गरेपछि ७५३ वटै स्थानीय तहमा इन्द्रेणी विवाह दर्ता हुन सहज भएको छ। समुदायका सदस्यलाई स्वरोजगार बनाउन, काम गरिरहेका छौँ।