भनिन्छ नि हरेक चिजको महत्त्व गुमाएपछि हुन्छ। साँच्चिकै मलाई पनि त्यस्तै लागिरहेको छ। तर चाहनाले मात्र कहाँ हुन्छ र? म कुरा गर्दै छु मेरो बालापनको। बालापन चाहेर पनि फर्काउन सकिँदैन। सबै कुरा मिठो अनि प्यारो हुन्छ बालापनको।
जहाँ पनि बालबालिका खेलेको देख्छु बालापनको याद आइदिन्छ। अहिलेका बालबालिकालाई देख्दा आफ्ना ती पुराना दिनहरू सम्झन्छु, अहिले जस्तो सुविधा तथा प्रविधि थिएन त्यति बेला। बालापन अभावमै कट्यो तर अविस्मरणीय तथा यादगार रह्यो। अहिलेका बालबालिकालाई मोबाइल, टेलिभिजन, ट्याब तथा अन्य प्रविधि भएजस्तै हामीलाई जंगल, खोलानाला, खेतबारी तथा दाउरा-घाँस अनि गाई बाख्रा थिए।
अहिलेका बालबालिका जस्तो कहाँ थियो र त्यति बेला। घरको काम गरेर स्कुल गएर बल्ल खेल्न पाउँथ्यौँ। टिभी पनि सीमित व्यक्तिको घर थिए। अहिले त हरेक बच्चाको हात-हातमा ट्याब, मोबाइल इत्यादि छ।
मलाई वसन्त सापकोटाको ‘फेरी कहाँ आउँछ र घुमेर यो बालापनको उमेर’ गीत निकै नै प्रिय लाग्छ। यो गीतले मलाई मेरो बालापनमा फर्काइदिन्छ।
गीतमा शब्द यति थोरै छ तर यही थोरै शब्दले धेरै कुरा बोलेको छ। हो साँच्ची नै बालापन कहिले पनि फर्किएर आउँदैन। बालापन नै एउटा त्यस्तो तागतवर शब्द हो जसलाई हरेक मानिसले भन्ने गर्छन्। ‘काश हामी पनि बालापनमा फर्किएर जान पाउने भए।’
अहिले म २६ वर्षको भए। २६ वर्षको यो यात्रामा जीवनमा धेरै भोगियो जानिया।े मलाई लाग्छ बालापनमा हामी जति स्वतन्त्र अनि खुसी थियौ त्यो खुसी अनि स्वतन्त्रता अब कहिले पाउँदैनौँ। केही गल्ती नै गरे पनि छुट हुन्थ्यो। सबैले भन्दथे छाडदेउ न बच्चा न हो। त्यो बेला न त कुनै कुराको डर, न त चिन्ता। खुल्ला आकाशमा उडिरहेको पन्छी जस्तै थियो बालापन। ती दिन सम्झिँदा मात्रै पनि कति खुसी मिल्छ?
अब म मेरो बाल्यकालका केही यादगार घटनाको चर्चा गर्छु।
पहिले चर्चा गरौँ मेरा गाउँले हितैषी साथीहरूको जो स्कुल जाँदा होस या घरमा प्राय सँगै हुन्थ्यौँ। प्रभा, राधा, गोमा विद्यालय जान तयार भएर मेरो घर आउँथे। स्कुल सुरु भए पनि होस तर हामी सँगै जान्थ्यौँ। यतिसम्म कि हामी मध्ये कोही स्कुल नजाने भएमा अरू पनि नजाने जिद्दी गर्दथ्यौँ।
सबै कुरामा मन मिल्थ्यो हाम्रो। तीजमा हामीहरू उस्तै कपडा किन्थ्यौँ, दसैँमा गाउँका एउटा घर पनि नछाडी टीका लगाउन जान्थ्यौँ र कति पैसा भयो गन्दथ्यौँ। तिहारमा भैलो खेल्ने जानी नजानी भट्ट्याउने आदि।
हामी घरपरिवारको आँखा छलेर फुर्सद हुने बित्तिकै कहाँ कहाँसम्म डुल्न जान्थ्यौँ । सानै उमेर के पो बुद्धि थियो र एक दिन त हामी आँप खाने रहरमा लालचन अंकलको बगैँचामा गयौँ। कसरी हो अंकलले थाहा पाउनु भएछ र हामीलाई लखेट्नु भयो। त्यो दिन हामीले घरबाट पनि नमज्जाले गाली खाएका थियौँ।
कति रमाइला थिए ती पलहरू। जहाँ साथीको लागि गाली खानुको पनि छुट्टै मज्जा हुन्थ्यो। कति त हामी झगडा पनि गर्थ्यौँ अनि तुरुन्तै मिली पनि हाल्थ्यौँ। आज पनि मेरो स्मरणमा मेरा तिनै प्रिय साथीहरू छन्। हामीले कहिल्यै पनि छुट्टिएर बस्ने दुस्साहस गरेनौँ। आफ्नो घरमा पाकेका खानाहरू बाँडिचुँडी खाने बानी।
बालापनमा स्कुलका साथीहरू पनि उत्तिकै प्रिय थिए। म स्मरण गर्न चाहन्छु प्रभा, विन्दु, विक्रम, प्रमोद, मनीषा, अर्जुन, मनोज, रमा, रेणु लगायत अरू पनि। जोसँग मेरा अनगिन्ती यादहरू जोडिएका छन्। ‘होमवर्क’ नगर्दा सरले हामीहरूलाई कुट्नु हुन्थ्यो। त्यो कुटाइ खाँदा पनि हामी खुसी हुन्थ्यौँ, स्कुलमा सरसँग कुरा लगाइदिएर साथीलाई गाली खुवाउने, साथीको मजाक उडाउने, बेन्चका २ जना साथीको कपाल बानिदिने विभिन्न उपनाम राखिदिनेदेखि लिएर अनेकौँ हरकत गर्दथ्यौँ।
विक्रम तँलाई याद छ नि एक दिन हामी ट्युसन पढ्नको लागि भनेर इमिलिया जाँदै थियौँ। सदा जस्तै त्यो दिन पनि हामी पढेर फर्कियौँ। जंगलको बाटो छिटो पुगिने भन्दै म प्रमोद र विक्रम सँगै आएका थियौँ।
विक्रमले काम परेको र आफूलाई छिटो जानुपर्ने भन्दै साइकल कुदायो र अघि अघि गयो। म र प्रमोद भने सँगै गफ गर्दै आउँदै थियौँ । बिच जंगलमा केही डर लाग्दो आवाज आयो। म अघिअघि थिएँ। मेरो पछि प्रमोद थियो। एक दुई पटक त हामीले त्यो आवाज नसुनेको झैँ गर्यौँ तर केटाकेटी उमेरका हामी डर दबाउन सकेनौँ। त्यो आवाजसँगै रुन्चे स्वर निकाल्दै साइकल पनि सकेको कुदायौँ।
प्रमोद भने एकदमै चिच्याउँदै थियो। म अगाडि भएकाले पछि फर्केर हेरिनँ र साइकल कुदाएँ जोडले। एकैछिनपछि हामी गाउँको चौरमा आयौ र लामो सास फेर्यौँ। त्यहाँ प्रमोदको अनुहार हेरिसक्नु थियो। हामी चौरमा थियौँ। भन्दै थियौँ- धन्न बाँचियो।
यत्तिकैमा हामीले देख्यौँ जंगलबाट हाम्रो साथी विक्रम भने हाँस्दै आउँदै थियो। अनि बल्ल थाहा भयो त्यहाँ हामीलाई डराउन अगाडि आएर बसेको रहेछ। विक्रम यति हाँसेको थियो उसलाई सास फेर्न नि गाह्रो हुने गरी अनि भन्दै थियो, ‘डरायौ है डरपोकहरू म तिमीहरूलाई डराउनको लागि अगाडि लुकेर बसेको थिएँ।’
सुरुमा त उसलाई हामीले एकदमै गाली गर्यौँ। पछि भने मज्जाले हाँस्यौँ। यो कुरा स्कुलमा सबैलाई सुनायौँ। सबै जना हाँसे। स्कुलबाट भ्रमण जाँदा पनि निकै रमाइलो गरेका थियौँ। स्कुलमा सरहरूले पनि निकै माया गर्नुहुन्थ्यो हामीहरूलाई। म सम्झन चाहन्छु प्रिय गुरुहरू, रेशम गिरी, हरि मरासिनी, देबु बल्ल, लोकनाथ गौतम, सुन्दर विक्रम सेन लगायत यहाँ नाम छुट्नुभएका श्री नेपाल राष्ट्रिय माविमा अध्यापनरत गुरुहरूमा पनि हार्दिक नमन।
मेरो जीवनमा भेटिएका सबै साथीहरू प्रिय छन्। बालापनका अझ प्रिय भएकाले उनीहरूको चर्चा बढी गरिएको हो। एसएलसीपछि ती सबै साथीहरू छुट्टिए, फेरि नयाँ साथीहरूसँग भेट भयो। कक्षा ११ मा पढ्दा मेरो भेट शेरिफ केसीसँग भएको थियो। नङ र मासुको जस्तो सम्बन्ध थियो हाम्रो। सायद त्यही भएर पनि होला हामी दुवै जनाले एउटा क्षेत्रमा काम गर्ने निर्णय गर्यौँ।
२०७२ सालमा हामी सामुदायिक रेडियो बुद्ध आवाजमा गर्यौँ र करिब ५ वर्ष सँगै सहकार्य गर्यौँ। यस दौरानमा रेडियोमा भेटिनु भएका सबै प्रिय हुनुहुन्थ्यो म २०७७ सालमा मायादेवी रेडियोमा आबद्ध भएँ। त्यहाँका साथीहरूलाई पनि धेरै माया।
एसएलसी पछिका साथीहरूसँग आज पनि कुराकानी हुन्छ तर बालापनका साथीसँग भने सीमित मात्रामा। आज फेरि मैले तिनै साथीहरूलाई सम्झिएर मेरा भावना पोखेकी हु। यी कुराहरू उनीहरूसम्म पुग्ला नपुग्ला त्यो फरक कुरा हो। तर कम्तीमा मेरो मन हल्का हुन्छ, यति चाहिँ विश्वास छ।
आज पनि मलाई मेरो त्यही बालापनको यादले सताउँछ, कहिलेकाहीँ त सोच्दा सोच्दै मन निसास्सिएर ओहो! म अहिले भर्खर त्यो दिनमा जान पाए हुन्थ्यो नि जस्तो लाग्छ। जुन दिनमा मेरो साथमा मेरा प्यारा प्यारा हितैषी साथीहरू थिए। जो आज भौगोलिक मात्रै होइन मनको दूरीमा पनि टाढा भइसकेको अनुभूति हुन्छ मलाई।
सबै आज म यहाँ व्याख्या गरेर सक्दिनँ। हामी एकअर्काको सारथि बन्नुदेखि रिसाएर नबोलेको सम्मका धेरै कथनहरू छन्। मानौँ एउटा पूरा फिल्मको लागि कहानी नै पुग्छ।
जीवनमा धेरै साथी आए गए; धेरै भोगाइ र अनुभव भए। तर बालापनका साथीजस्तो कोही लागेन। यसो भनिरहँदा अहिलेका साथी ठिक छैनन् भन्न खोजेको पक्कै होइन। तर बालापनका साथीसँगको 'कनेक्सन' अर्कै हुँदो रहेछ।
मेरा प्रिय साथीहरू तिमीहरूसँगका ती पलहरू यहाँ लेखिसाध्य छैन। तर मेरो मानसपटलमा भने याद ताजा छन्। त्यसैले अब म यहाँ भन्दा धेरै खोतल्न चाहन्नँ पुराना अतीतहरू।
हामी फेरि सबैको समय मिलाएर भेट्ने छौँ र त्यो एक दिनको लागि भए पनि त्यो बालापनमा फर्कनेछौँ भन्ने आशामा छु। फेरि पनि सबैलाई मुटुभरिको मायासहित मिठो सम्झना।