माघ महिनाको बिहान। चिसोले सबै जमाएको छ, हुस्सुले आकाश र जमिनलाई एउटै रङमा रंगाएको छ। यस्तो कठोर मौसममा, न्यानो ओढ्नेको मोह त्याग्दै बिहान ५ बजे उठेर कलेजको यात्रा सुरु गर्नुपर्छ।
हुस्सु र चिसोले शरीरलाई थिचिरहेको जस्तो लाग्छ तर मनको गहिराइमा इन्जिनियर बन्ने सपना बल्झिरहेको छ। ती सपना र कसमसाउने उम्मेदले माघ महिनाको कठोर संघर्षलाई हराउँदै एउटा नयाँ दिनको खोजीमा यात्रा तय गरिन्छ।
तापक्रमको गिरावट र ठन्डा हावाका बिच यात्रा थाल्नु भनेको केवल भौतिक दूरी नपार्नु हो, आफ्नो उद्देश्य र आत्मविश्वाससँगै चल्नु हो। प्रत्येक कदमले संघर्षको थप अनुभूति गराउँछ तर त्यो संघर्ष नै भविष्यको सफलता बनाउने आधार हो। इन्जिनियर बन्ने सपना साकार पार्न संघर्ष गर्नुपर्छ भन्ने सोच र यो संघर्ष हरेक दिनको जीवन बनिसकेको छ।
म लुम्बिनी इन्जिनियरिङ कलेज भलवारी बुटवलको विद्यार्थीसँगै जल तथा मौसम विज्ञान कार्यालय भैरहवाको कर्मचारी पनि। दुवै जिम्मेवारीलाई सन्तुलनमा राख्नका लागि प्रत्येक दिन एउटा युद्धजस्तै लाग्छ।
मोटरसाइकल स्टार्ट गर्दा चिसो हावाको झोक्काले शरीरभरि शीतको झिनो पानी टप्किरहेको महसुस हुन्छ। जाडो महिनाको चिसो हावाले सबै चीजलाई जकडेर राखेको जस्तो लाग्छ। कति बेरका लागि न्यानो ओढ्नामा लुक्न मन लाग्छ। तर त्यही न्यानोको मोह त्यागेर १५ किलोमिटरको यात्रा सुरु गर्नुपर्ने हुन्छ।
बिहानको समय, जुन सामान्यतया विश्रामको हुन्छ। तर यहाँ भने त्यो विश्राम र आराम त्यागेर एक कठिन यात्रामा निस्किनु पर्छ।
आँखा अगाडि केही देखिँदैन, हुस्सुले बाटो लुकाइदिएको छ र चारै तिरको वातावरण सफा नभएको झैँ लाग्छ। समग्र परिवेशमा धुवाँ र सन्देशहरू लुकेको जस्तो अनुभव हुन्छ। यद्यपि, यो दृश्य र परिस्थितिको बिचमा एकाग्रता र सतर्कताका साथ बाइक चलाउन आवश्यक छ। हातमा मोटो पन्जा भए तापनि हावा चिसो र कडा भएकाले हातको हड्डी कठोरजस्तै भएको अनुभव हुन्छ र एकछिनको लागि सोच्नु पर्छ कि शरीर र मन कति थाकेको छ।
तर यत्ति हुँदाहुँदै पनि चिसो हावा चलाउँदा त्यो केवल शरीरलाई मात्र असर गर्दैन, मनभित्र पनि केही गहिरा अनुभूतिहरू समेटिदिन्छ। हावा छाला चिर्दै, बडो सजगतासाथ हृदय र मस्तिष्कको गहिराइसम्म प्रवेश गर्छ।
यो चिसोले केवल भौतिक शरीरलाई प्रभावित गर्न मात्र होइन, सोच र भावनाहरूलाई पनि सक्रिय बनाउँछ। यस संघर्षका बिचमा, यस कठिन यात्रामा एउटा विश्वास मात्र बलियो बनाउँछ— ‘यो कठिनाइ अस्थायी हो, सपना स्थायी हुनेछ।’
यात्रा जारी राख्दै, कलेज पुग्ने बेलासम्म वर्षामा हिँडेको मानिसको जस्तो शरीर गिला हुन्छ र थकान जस्तो लाग्छ। त्यो गिलोपन, त्यो चिसोपनलाई कत्ति गम्भीरतासाथ लिएर पनि, एक नयाँ सन्देश मनमा पलाउँछ। सबै संघर्ष, थकान र कठिनाइहरूको बिचमा, त्यो विश्वासले भविष्यलाई उज्यालो बनाउनको लागि प्रेरणा दिन्छ।
यो जीवनको यथार्थ हो— हाम्रो सपना र उद्देश्यलाई पाउने मार्ग सजिलो छैन तर तिनीहरूलाई पाउनका लागि दिएको संघर्ष र परिश्रम नै हामीलाई अडिग बनाउँछ।
हाँसो र आँसुका मिश्रणमा संघर्षका यी क्षणहरू केवल अस्थायी छन् र जब सपना साकार हुन्छ, तब ती सबै कठिनाइहरूले यथार्थसँगको चिजलाई अझ मूल्यवान् बनाउँछन्। यो यात्रा केवल कलेज पुग्नको लागि होइन, आत्मविश्वास र जीवनका ठुला सपनाहरूलाई पूरा गर्ने एउटा तयारीको यात्रा हो।
त्यसैले जब म मोटरसाइकल चलाउँदै मन्थन गर्छु र शरीर गिला हुन्छ, यो बुझ्छु कि यति कठिनाइहरू अस्थायी छन्। तर सपना भने स्थायी छन्— अन्ततः तिनीहरूले मेरो यात्रा र जीवनलाई नयाँ दिशा दिनेछन्।
१० बजेसम्म कलेज जसोतसो सकिन्छ। सिभिल इन्जिनियरिङका पाठहरूमा ध्यान दिन्छु। डिप्लोमा इन सिभिल इन्जिनियरिङ भएता पनि स्ट्रेन्थ अफ मेटेरियल्स, फ्ल्युड मेकानिक्स, क्यालकुलस, सर्भेइङ, स्ट्रक्चर एनालाइसिस र डिजाइनिङका जटिल फर्मुला र न्युमेरिकलहरूले दिमाग घुमाइराखेका हुन्छन्।
संरचनाको एनालाइसिस र साइट प्लानिङका आधारभूत सिद्धान्त बुझ्न हर सम्भव प्रयास गर्छु। साथीहरूका रमाइला कुराकानी/छलफलले मान शान्त हुनेसँगै नयाँ तरिकाहरू सिक्न प्रेरित गर्छ। यी सबैले मेरो इन्जिनियर बन्ने सपनाको आधार बलियो बनाइरहेका छन्।
तर दिनको जिम्मेवारी त्यतिमै सकिँदैन। कलेजपछि, १० बजेदेखि ४ बजेसम्म कार्यालयको कार्य गर्नुपर्ने छ। फाइल मिलाउनु, प्रोजेक्टको काम अघि बढाउनु, डेटा विश्लेषण गर्नु र सिनियरहरूको निर्देशनअनुसार काम गर्नुपर्छ। अफिसको कामले कहिलेकाहीँ शरीरलाई भारी महसुस गराउँछ तर मनले सधैँ सम्झाउँछ— ‘यो मिहिनेत तिमीलाई भविष्यमा वरिष्ठ इन्जिनियर बनाउन आवश्यक छ।’
साँझ करिब ५ बजेपछि घर फर्किन्छु। चिसोले कठोर बनाएको शरीर, थाकेको मन तर पढाइको चाहना भने निरन्तर बलियो रहन्छ। किताब खोल्छु, कलेज र अफिसमा सिकेका कुराहरूलाई फेरि दोहोराउँछु र प्रोफेसरहरूले दिनु भएको असाइनमेन्ट गर्छु। त्यही माथि इन्जिनियरिङको गाह्रो पढाइ, रेगुलर पास हुने दर करिब २०% भन्दा कममा आफूलाई पास भित्र पार्नै पर्ने पिर।
बिहानको चिसोमा मोटरसाइकलको यात्रा, अफिसको थकान र कलेजको पढाइ अनि असाइनमेन्ट— यी सबै मेरा सपनाका हिस्साहरू हुन्।
जाडो महिनाको कठोरता र संघर्षका यी दिनहरू केवल दुःखका लागि होइनन्। हरेक मोटरसाइकलको कठिनपूर्ण ३० किलोमिटर यात्राले मलाई इन्जिनियर बन्ने यात्रामा एक कदम नजिक पुर्याइरहेको छ। हुस्सु, चिसो र थकाइले म थाक्दिनँ, बरु झनै बलियो बनाउँछ।
रात पर्दै जाँदा बाहिरको चिसो वातावरणमा, जहाँ रातको शान्ति र हावामा हल्का कापी छ, म रुमको एक कुनामा बसेर आफ्नो असाइनमेन्ट गर्दै छु। पासमा एउटा कुर्ची र टेबल छ, जसमा मैले सबै किताब र नोटप्याड सँगै राखेको छु। सस्तो र मिहिन पल यो हो, जहाँ म आफ्ना काममा समाहित भएको छु।
यता म आफूलाई डुबाउँदै जान्छु, मेरो फोन बज्छ करिब ८०० किलोमिटर टाढा रहनुभएको आमाको फोन।
फोनको स्क्रिनमा आमाको फोटो देख्दा मनमा गहिरो शान्ति र हर्षको लहर फैलिन्छ। आमा सधैँझैँ आफ्नो माया र चासोले प्रश्न गर्नुहुन्छ, ‘खाना खायौ? के गर्दै छौ? आज कति गाह्रो भयो?’
आमाको मिठो र मायालु स्वरले मलाई मेरो घरको याद दिलाउँछ र त्यही आवाजले पूरै दिनको थकान मेटिदिन्छ। त्यो पल म यो चिसो र एक्लो ठाउँमा मात्र होइन, हाम्रो घरमा आमा-बाबाको साथ महसुस गर्छु। उहाँहरूको विश्वास र माया मलाई एक कदम अगाडि बढ्न प्रेरित गर्छ र हरेक दुःखलाई सुखमा बदलिदिन्छ।
केही बेरको आमा-बाबासँगको कुराकानी पछि फोन राखेर म फेरि मेरो पढाइमा फर्कन्छु। तर त्यही मिठो कुरा गर्दै गरेको क्षणले मलाई एक विशेष शान्ति दिन्छ, जसले पढाइमा मेरो ध्यानलाई आकर्षित पार्छ। थकान र निद्राले मलाई सुत्न मन लाग्दछ। म पढ्नको प्रयास गर्दै जाँदा निद्राले मलाई आफ्नो अँगालोमा समातेको महसुस हुन्छ र त्यसमा विलीन भइन्छ।
यो यात्रा कठिन छ तर मलाई थाहा छ, इन्जिनियर बन्ने मेरो सपना पनि त्यति नै बलियो छ। जाड यामका हरेक दिनले मलाई एक कुरा सिकाउँछ— ‘दुःख गर्नेले मात्रै सफलता चुम्छ।’ यही कठोरताले मेरो भविष्यको आधार बलियो बनाइरहेको छ।