२०४५ सालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को स्थापना गर्दा मन लोभ्याउने मूल ध्येय तय गरिएको थियो 'देशलाई चाहिने न्यून तथा मध्यमस्तरको प्राविधिक जनशक्ति उत्पादन गर्ने।'
भर्खरै प्रविधिको विकास हुन थालेको त्यो समयमा सिटिइभिटी स्थापनाको बेग्लै अर्थ र महत्व थियो। साधारण शिक्षालाई बुर्जुवा शिक्षा भनिने परिवेशमा प्राविधिक शिक्षा निकै राम्रोसँग फस्टाएको थियो। अपेक्षित गति लिएको थियो।
सिटिइभिटीले दिने साना साना छोटो अवधिको तालिम, १८ महिने प्राविधिक कार्यक्रम र डिप्लोमा तहको ३ वर्षे कार्यक्रममा भर्ना हुनका लागि निकै पापड बेल्नु पर्थ्यो। सजिलै प्रवेश पाउनै सकिँदैन थियो। प्रवेश परीक्षामा उत्तिर्ण हुने विद्यार्थीहरू सानोतिनो युद्ध जितेको महसुस पनि गर्थे। गरिखाने शिक्षाले धेरैलाई राम्रोसँग गरिखाने पनि बनाएको थियो। तर समय एकनास चलेन, यसले एकाएक धार बदल्यो।
साधारण शिक्षाबाट गरिखान सकिँदैन भनेर प्राविधिक शिक्षा पढ्नेहरू पनि गरिखाने हुन सकेनन्। एकातिर उत्पादन भएको जनशक्तिलाई बजारले नथेगेको अवस्था थियो अनि अर्कातिर प्राविधिक शिक्षा गाउँगाउँमा खोल्ने क्रम चलिरहेको थियो। विद्यार्थी घट्ने र शिक्षालय बढ्ने उल्टो मति र हिँडाइले प्राविधिक शिक्षालाई उचित गन्तव्यमा अवतरण गराउन सम्भव थिएन र सम्भव नहुने कुरामा सिटिइभिटी भने रोकिएन। बिना पूर्वाधार, बिना जनशक्ति, बिना विद्यार्थी र बिना स्थलगत अध्ययन शिक्षालयहरू थपिएको थपियै गरे।
नेतृत्वमा केही पात्रहरू बदलिए तर प्रवृत्ति र सोच बदलिएन, प्राविधिक शिक्षालय थप्ने गन्तव्य बदलिएन। फलतः प्राविधिक शिक्षा यसरी ओरालो लाग्यो, अब सानोतिनो प्रयासले यसलाई न पुरानो गतिमा फर्काउन सकिन्छ न त यो जञ्जाललाई सही ढंगले सम्बोधन नै गर्न सकिन्छ। एउटा भर्भराउँदो संस्थाको अवसान करिब करिब निश्चितप्रायः भएको छ। सिटिइभिटी विद्यार्थी बिनाको प्रशिक्षक र कर्मचारीले मात्रै भरिएको संस्थाका रूपमा रूपान्तरित हुँदै गएको छ।
प्रविधिले दिनानुदिन स्वरूप बदलिरहेको छ। सानासाना मानवीय आवश्यकताहरू प्रविधिसँग जोडिएका छन्। प्रविधिको उपयोग बिना समाजले गतिलिन नसक्ने भएको छ। तर किन प्राविधिक शिक्षालयहरू ओरालो यात्रामा लागे? किन २५ प्रतिशत पनि विद्यार्थी भर्ना गर्न नसकेर प्राविधिक शिक्षालयहरू बन्द गर्नुपर्ने अवस्थामा सिटिइभिटी आइपुग्यो? प्राविधिक शिक्षाको यस्तो हविगत हुँदा पनि सिटिइभिटी नेतृत्वले के गरिरहेको छ? यसको गम्भीर आत्मसमीक्षा हुन सकेन भने नेपालको प्राविधिक शिक्षा अवसानको विन्दुमा पुग्ने दिन धेरै टाढा छैन।
सिटिइभिटी सुधारिनै नसकिने गरी बिग्रिएको हो त? के विद्यार्थीको आकर्षण अब वृद्धि गर्न सकिँदैन? यसो पनि होइन। नेतृत्वले सही नीति अख्तियार गर्दै सोही अनुसार कार्ययोजना बनाएर अगाडि बढ्यो भने यसलाई विस्तारै सुधारको बाटोमा ल्याउन अवश्य पनि सम्भव छ। तर नेतृत्वसँग त्यो खालको आत्मविश्वासका साथै दृढ इच्छासंकल्प पनि हुनु आवश्यक छ। पैसाको प्रलोभनमा जहिलेसुकै अनि जतिसुकै पनि सम्बन्ध बाँड्ने रोगबाट ग्रसित सिटिइभिटीलाई सही गन्तव्यमा ल्याउनका लागि सबैले इमानदार प्रयास गर्न चुक्नु हुँदैन। अहिले सिटिइभिटीमा नयाँ नेतृत्व आएको छ। इच्छाशक्ति र योजना भए केही न केही अवश्य पनि सुधारका लागि पहल गर्न सकिन्छ। त्यसो भए नेतृत्वले के गर्ने त?
पाठ्यक्रम पुनरावलोकन
अहिले जुन खालको पाठ्यक्रम अध्यापन भइरहेको छ यसले के आशा गरेको जस्तो प्राविधिक जनशक्ति उत्पादन गर्न सक्ला त? अहिलेसम्मको नतिजा हेर्दा सम्भव नै देखिँदैन। सिटिइभिटीको पाठ्यक्रमलाई पहिलो कुरा पुनरावलोकन गर्नुपर्ने देखिन्छ। एकातिर विद्यार्थीहरू अत्यन्त न्यून संख्यामा सफल भइरहेका छन् भने अर्कातिर आशा गरेको खालको जनशक्तिले बजारमा स्थान पनि पाइरहेको छैन। यसको मूल कारण भनेको पाठ्यक्रममा भएको त्रुटि नै हो। हामीले कस्तो खालको विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्यापन गराउने लक्ष्य लिएका छौं भन्ने कुरालाई पाठ्यक्रमले सम्बोधन गर्न सकेको छैन।
अत्यन्त न्यून जिपिए ल्याएको विद्यार्थीले पनि अध्ययन गर्न पाउने डिप्लोमा कार्यक्रमको पाठ्यक्रम निकै जटिल खालको छ। यसले सीपभन्दा पनि ज्ञानमा बढी फोकस गरेको देखिन्छ। डिप्लोमा तह भनेको मध्यमस्तरको जनशक्ति उत्पादन गर्ने तह भएकाले धेरै जटिल पाठ्यक्रम पनि आफैमा घातक सावित हुन जान्छ। जुन अहिले भइरहेको छ। डिप्लोमा अध्ययन गर्ने अधिकांश विद्यार्थीहरूलाई आफू सहजै पास हुन्छु भन्ने आत्मविश्वास देखिँदैन। करिब ६० प्रतिशतभन्दा बढी डिप्लोमा अध्ययन गर्ने विद्यार्थीहरूले कक्षा ११ र १२ को परीक्षा दिइरहेका हुन्छन्। समान तहको परीक्षा किन विद्यार्थीले दिइरहेको छ भन्ने कुराको जबाफ नै जटिल पाठ्यक्रम हो।
परिषद्का अनेक गोष्ठीहरूमा यसबारे बृहत छलफल चलेर निष्कर्ष पनि निकालिएको हो तर सुरूआत गर्ने क्षमता भने कुनै पनि नेतृत्वले गर्न सकेको छैन। पहिलो वर्षमा अध्यापन हुने विज्ञानका जटिल विषयहरूलाई किनारा नलगाउँदासम्म विद्यार्थीको संख्या निरन्तर ओरालो लागिरहनेछ। डिप्लोमा तहलाई २ वर्ष बनाएर माथिल्लो तह अध्ययनका लागि ब्रिज कोर्षको व्यवस्थापन गर्न सकियो भने सिटिइभिटीको अहिलेको अवस्थामा सामान्य सुधार हुने आशा गर्न सकिन्छ।
संख्या शिक्षालयको होइन, विद्यार्थीको बढाऊ
शिक्षालय नयाँ स्थापना किन गर्ने भन्ने प्रश्नको वस्तृनिष्ठ उत्तर खोज्ने हो भने एउटै उत्तर आउँछ ‘विद्यार्थीको संख्या उल्लेखनीय रूपमा बढ्यो भने।’ तर सिटिइभिटी त्यस्तो संस्था हो जहाँ विद्यार्थीको संख्या ओरालो लाग्दै जाँदा शिक्षालयको संख्या बढ्दै गएको छ। अझ त्यसमा राज्यको प्रत्यक्ष लगानी हुने आंगिक शिक्षालयहरूको संख्या उल्लेखनीय छ। २०७५ सालमा ४५ वटा आंगिक शिक्षालय सञ्चालन हुँदा विद्यार्थीको संख्या र २०७९ मा ६५ वटा आंगिक शिक्षालय सञ्चालन हुँदा विद्यार्थीको संख्यामा खासै भिन्नता देखिँदैन। यसले प्राविधिक शिक्षामा राज्यले गरेको थप लगानी अर्थहीन सावित भएको छ।
विद्यार्थी संख्याभन्दा पनि नेताको आवश्यकताका आधारमा शिक्षालय सञ्चालन गरेर सिटिइभिटी नेतृत्वले नीतिगत भ्रष्टाचार गरेको देखिन्छ। स्वास्थ्य बाहेकका कार्यक्रमहरूमा अधिकांश आंगिक शिक्षालयहरूले २५ प्रतिशत पनि विद्यार्थी पुर्याउन नसकेको देखिन्छ। यसलाई कसरी सुधार गर्न सकिन्छ भन्ने बारेमा अबको नेतृत्वले मनन गर्नुपर्छ। कैयौं आंगिक शिक्षालयहरू बन्द हुँदा त्यहाँ निर्माण गरिएका करोडौंका भौतिक संरचना र ल्याबका उपकरणहरूको अवस्था के हुने? एउटा शिक्षालय खोलेको ३ वर्षमै बन्द गर्नुपर्ने अवस्थाको सृजना हुन्छ भने त्यसको पूर्व आंकलन गर्न नसक्ने नेतृत्वलाई सरकारले कारबाही गर्ने आँट किन गर्दैन? प्राविधिक शिक्षाको विस्तार गर्ने नाममा सरकारको ढुकुटी अनावश्यक रूपमा खर्च गर्ने अपारदर्शी संस्थाका रूपमा किन अगाडि बढ्दैछ सिटिइभिटी? यसको गम्भीर समीक्षा गरेर शिक्षालयभन्दा पनि विद्यार्थी संख्या वृद्धि गर्न र उत्पादित जनशक्तिलाई कसरी रोजगारसँग जोड्ने भन्ने कुरामा ध्यान दिनुपर्दछ। विद्यार्थी संख्या उकालो लागेमा नयाँ शिक्षालय नै खोल्नु पर्दै भएकै संरचनामा कोटा थप गरेर पनि अध्यापन गराउन पनि सकिन्छ। प्राविधिक शिक्षालयहरूलाई स्रोत साधनयुक्त बनाउनका लागि मेगा प्राविधिक शिक्षालय सञ्चालनमा ध्यान दिनुपर्दछ।
निर्मम आत्मसमीक्षा र योजना
प्राविधिक शिक्षाको अवस्था कसरी सुधार गर्ने भन्ने विषयमा सिटिइभिटीले वर्षभरि नै कार्यक्रम गरिरहेको हुन्छ। हरेक वर्ष करोडौं रुपैयाँ गोष्ठीकै नाममा खर्च पनि भइरहेको छ। तर किन नयाँ योजना बन्दैन? किन समीक्षा कर्मकाण्डमा मात्रै सीमित देखिन्छ? यसका बारेमा जानकार भएर पनि किन सुधार हुन सकेको छैन? यस विषयमा कसले चासो दिने? आंगिक शिक्षालय प्रमुखहरू र सिटिइभिटीको प्रतिनिधिहरूको मात्रै सहभागिता हुने तालिमले सिटिइभिटी नेतृत्वको महिमागानमै गोष्ठी सम्पन्न गरेको पाइन्छ। विभिन्न क्षेत्रका विज्ञ र सबै खालका शिक्षालयका व्यक्तिहरूलाई सहभागिता नबनाएर केवल देखाउने दाँतका रूपमा मात्रै समीक्षा गोष्ठीहरू हुने गरेका छन्। हरेक वर्ष एकै खालको कार्यपत्र पेस हुँदा सिटिइभिटीका कर्मचारी र नेतृत्वलाई बदलिएको प्राविधिक शिक्षाको स्वरूपका बारेमा थाहा नै छैन जस्तो पनि भान हुन्छ। समीक्षा गोष्ठीहरूमा कमीकमजोरीका बारेमा निर्मम तरिकाले बहस गरेर वैज्ञानिक ढंगले योजना निर्माणमा सबैले ध्यान दिनुपर्ने देखिन्छ। यसले पनि सिटिइभिटीको अहिलेको अवस्थामा सकारात्मक बदलाव ल्याउन सक्छ।
रोजगार बजारको सृजना
प्राविधिक शिक्षालयले विद्यार्थीलाई पढाएर अनि सिकाएर मात्रै दायित्व पूरा गर्न सक्दैन। जबसम्म विद्यार्थीहरूले सिकेको कुरालाई बजारमा बिक्री गर्न सक्दैनन्, तबसम्म त्यसको कुनै पनि अर्थ रहँदैन। विद्यार्थीहरूलाई रोजगारको बजारमा कसरी टिक्ने बनाउने भन्ने कुरा सिटिइभिटी नेतृत्वले सोच्नुपर्दछ। विद्यार्थीलाई रोजगारसँग जोड्नका लागि अहिलेसम्म कति कम्पनीसँग सिटिइभिटीले सहकार्य गरेको छ भनेर तथ्यांक केलाउने हो भने निकै नै लाजमर्दो देखिन्छ।
हामीले उत्पादनलाई बजारसम्म जोड्न सकेनौं भने उत्पादनको कुनै पनि अर्थ रहँदैन। देशमा रहेका विभिन्न कलकारखानाहरूमा कसरी जनशक्ति व्यवस्थापन गर्ने भन्ने कुराका बारेमा सिटिइभिटी नेतृत्वले उचित पहल गर्नुपर्दछ। अहिलेसम्म जनशक्ति व्यवस्थापनका सन्दर्भमा सिटिइभिटीले कुनै खालको योजना पनि ल्याउन सकेको देखिँदैन। यो आफैमा निकै दुखदायी कुरा हो।
प्राविधिक शिक्षामा उभार ल्याउनका लागि सिटिइभिटी नेतृत्वकै मुख्य भूमिका रहन्छ। देशलाई समृद्ध बनाउनका लागि प्राविधिक शिक्षामा आमूल परिवर्तन आवश्यक देखिन्छ। यसमा सबैले पहलकदमी लिनु अहिलेको माग हो।
(लेखक तुलसीपुर बहुप्राविधिक शिक्षालयका प्रमुख हुन्।)