काठमाडौँ उपत्यकामा झन्डै २९ हजारभन्दा बढी सडक कुकुर छन् जसले जनस्वास्थ्य, सुरक्षा र जनावरको कल्याणमा ठुलो समस्या निम्त्याइरहेका छन्। सडक कुकुरबाट रेबिज सङ्क्रमण, मानिसलाई टोकाइ आक्रमण तथा आवाज प्रदूषण र बाटामा दिशाजन्य फोहोर जस्ता समस्या बढ्दो छन्। साथै, कुकुरहरूको उचित हेरचाहको अभावले तिनीहरूको सबैतिर अवस्था दयनीय छ।
काठमाडौँ महानगरपालिकाको कुकुर व्यवस्थापन कार्यक्रमको इतिहास हेर्दा २०१६ मा काठमाडौँ महानगरपालिकाले ‘ह्युमन सोसाइटी इन्टरनेशनल’ र ‘जेनी गुडअल इन्स्टिच्युट’ सँग सहकार्य गरी तीन वर्षे कार्यक्रम सुरु गर्यो। यस अन्तर्गत बन्ध्याकरण र रेबिज खोप कार्यक्रमका लागि बजेट छुट्टाइएको थियो।
मनुमित्र परियोजना
२०१६ मा सुरु गरिएको यस परियोजनाले २० वडामा पशु व्यवस्थापन समितिहरू स्थापना गर्न र स्थानीय स्वयंसेवकहरूलाई तालिम प्रदान गर्न प्रयासहरू गर्यो। तर जन सहकार्य, नगरपालिकाले समयमा औषधि उपलब्ध गराउन नसक्दा, बजेटको अभाव भइरहँदाका कारण यो बन्ध्याकरण परियोजना दिगो बन्न सकेन।
नगरपालिका बन्ध्याकरण शिविर
काठमाडौँ महानगरपालिकाले वर्षमा एक/दुई पटक, एक हप्ते वा महिना लामो बन्ध्याकरण शिविर आयोजना गर्छ। चक्रपथमा धेरैजसो गाडी घुम्छ, भित्री गल्ली बस्तीहरूमा कुकुर्नीहरू थुप्रेका ठाउँहरू सब छुटेका हुन्छन्। यस्तै कारणले जति पटक बन्ध्याकरण कार्यक्रम गरे पनि छुटेका र नयाँ हुर्केका कुकुर्नीहरूबाट अर्को शिविर सुरु हुनु अगावै त्योभन्दा दोब्बर नयाँ बच्चा बच्चीहरू जन्मिरहेका देखिन्छन्।
हरेक कुना काप्चामा पुगेर सबै कुकुरहरू समेट्न नसकिरहेकाले पहुँचको कठिनाइको कारण र जनसरोकार न्यून भइरहँदा जनसहभागिताको अभाव जस्ता कारणहरूले बन्ध्याकरण प्रयासहरू पर्याप्त हुन सकेन। बन्ध्याकरण हुन बाँकी जुन कुकुर्नीहरू रहन्छन् तिनले लगातार असङ्ख्य बच्चा जन्माइरहने हुँदा पटके बन्ध्याकरण कार्यक्रम सञ्चालित रहेता पनि कुकुर जनसङ्ख्या बढेकै छ। कुनै पनि कुकुर्नी मेटिङ लाग्यो कि त्यही समय तत्काल एनिमल बर्थ कन्ट्रोल सेन्टरमा बन्ध्याकरण गर्न लग्न सकिने सुविधा दिएको भए वा प्रावधान मिलाएको भए मात्र थप बच्चाहरू जन्मिने थिएनन्।
नगरपालिकाले घरपालुवा कुकुर राख्न अनुमति फारम, कुकुर दर्ता, वार्षिक नवीकरण र अनुगमनको कुनै नीति नियम अगाडि सारेको छैन वा कार्यान्वयनमा देखिँदैन। आफूले पालेको कुकुर बन्ध्याकरण नगरेर राखेको घर वाला मालिकलाई ठुलो जरिवाना गर्नु पर्ने यो अभ्यास अन्य मुलुकमा भए पनि यहाँ जथाभाबी छुट दिइएको छ, रोक्न वा नियमित गर्न सकेको छैन।
सडकमा हरेक वर्ष फ्याँकिने कुकुरका बच्चाहरू त्यही टोलकै घरपालुवा कुकुर्नीको बच्चाहरू हुन्छन्। नगरपालिका कार्यक्रमले निःशुल्क घरको कुकुर बन्ध्याकरण गरिदिँदैन। शुल्क तिरेर क्लिनिक वा कहीँ लगेर सयमा एक घरबेटीले मात्र आफ्नो कुकुर्नी बन्ध्याकरण गराउँछन्। कारण नगरपालिकाले दण्ड जरिवानाबाट छुट दिएको अवस्था छ। कसैलाई कुनै अनुगमन, कार्यवाही, तिरो तारो, मान मर्दन हुने डर छैन। यो नीति नियम नल्याएसम्म सडक कुकुर बन्ध्याकरण केवल एक नौटङ्की अभ्यास मात्र भएर जाने स्वतः प्रमाणित छ।
चुनौती
स्थायी बन्ध्याकरण केन्द्रको अभावले यी कार्यक्रमहरू प्रभावकारी हुन सकेका छैनन्। स्थायी केन्द्र स्थापनाले दीर्घकालीन रूपमा समस्याको समाधान गर्न सहयोग पुर्याउने छ। वर्षैभरि निरन्तर रूपमा बन्ध्याकरणको काम हुने हुँदा एनिमल बर्थ कन्ट्रोल सेन्टरमा समुदायको एउटै कुकुर्नी नछुटाई धेरै कुकुरको बन्ध्याकरण सम्भव हुन्छ अनि कुकुर जनसङ्ख्या सीमित हुन थाल्छ अनि समस्या बिस्तारै समाधान हुन थाल्छ। यसरी मानव र जनावर दुवैको स्वास्थ्य र जीवनको कल्याण हुन्छ।
पब्लिक प्राइभेट पार्टनरसिप (पिपिपी) मार्फत कार्यक्रम वर्षैभरि निरन्तर चल्ने हुँदा विगतको तुलनामा प्रभावकारी हुन्छ। बजेट प्रतिकुकुरकै हिसाबमा जाने हुँदा विगतभन्दा अनावश्यक रूपमा बढी खर्च व्यवस्था गर्नु पर्दैन। बन्ध्याकरण हुन बाँकी कुकुर नै क्रमशः घट्दै जान्छन्, कुकुर घटेपछि यसको टोकाइको सङ्ख्या घट्न जान्छ। औषधि खर्च घट्छ। थोरै कुकुर हुने हुँदा हरेक वर्ष नछुटाई एन्टि-रेबिज सुई दिन सम्भव हुन्छ र जनताको स्वास्थ्य रक्षा हुन्छ। न्यून कुकुर हुँदा टोलमा ती अबोध प्राणीहरूले दुत्कार घृणा होइन, माया र गाँस बास पाउन थाल्छन्।
स्थायी समाधान
सडक कुकुर व्यवस्थापनलाई दिगो र प्रभावकारी बनाउन स्थायी बन्ध्याकरण केन्द्रहरू आवश्यक छ।
१. स्थायी एनिमल बर्थ कन्ट्रोल केन्द्र
काठमाडौँ महानगरपालिकाका विभिन्न दस स्थानमा स्थायी केन्द्र स्थापना गरी नियमित बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्नु प्रभावकारी हुन्छ।
२. जनचेतना र सहकार्य अभियान
समुदायलाई बन्ध्याकरण महत्त्वबारे शिक्षित गर्ने, छुटेका कुकुर्नी तथा छ महिना उमेर काटेका कुकुर्नी पहिचान गर्ने, केन्द्रसम्म ल्याउन टोल समिति समुदाय लगायतलाई उत्प्रेरित गर्ने। कुकुर सही ठाउँमा फिर्ता लगिराखेको छ, रेखदेख भए गरेको छ, यो कुरा यकिन दिन रोहबरमा वडा, सुपरिचित डग लभर, रेस्क्युवर, टोल समितिको व्यक्ति या समन्वय गर्ने कोही त्यो समाजको अगुवा गन्यमान्यले निर्देशित फारम सही गरेको जिम्मा बोलेको हुनु पर्दछ।क
३. स्रोत व्यवस्थापन
नगरपालिकाको बजेट, एनजिओ सहकार्य, आबद्ध भेट क्लिनिकहरूसँग सहकार्य र घरायसी कुकुर ल्याउनेलाई न्यून शुल्कमा बन्ध्याकरण सुविधा दिँदै हालसम्म गति नलिएको घरायसी कुकुर र सडक कुकुर दुवै बन्ध्याकरणलाई समान महत्त्व दिनु पर्दछ
४. दैनिक बन्ध्याकरणका साथै भित्री र छुट भएका इलाकाहरूमा वर्षको कम्ती चार पटक हरेक टोल गल्ली पुगेर हेर्ने गरी आवश्यकता अनुसार मोबाइल टोली फिल्ड पठाएर त्यहाँबाट कुकुर बन्ध्याकरणको लागि ओसार्न ल्याउन भ्यान पठाउनु पर्दछ।
५. कार्य सञ्चालन र सङ्ख्या अनुगमन, कुकुर ल्याएको र पछि छाडेको स्थान ट्र्याकिङका लागि मोबाइल जिपिएस प्रविधि, डाटाबेस, मोबाइल एप प्रयोग गर्ने सिस्टम राख्न सकिन्छ। साथै अनुगमनकर्ता पठाउनु पर्दछ।
६. जनसम्पर्क दरो हुनु पर्दछ, अगुवा तयार गर्नु पर्दछ। एरियाका हरेक घरधुरी सम्पर्क गरेर कामहरू गर्नु पर्दछ। उनीहरूलाई सचेत गराउने, उनीहरूको क्षमता अभिवृद्धि गर्ने र सामुदायिक कुकुर व्यवस्थापनमा जिम्मेवार बनाउँदै लैजाने गरी कार्यक्रमहरू अघि बढाउनु पर्दछ।
निरन्तरको कार्यक्रमले गर्दा कुकुरको जनसङ्ख्या नियन्त्रित हुन्छ, रेबिजको जोखिम कम हुन्छ, जनावरको जीवनस्तर सुधार हुन्छ। स्थायी एबिसी केन्द्रमार्फत काठमाडौँलाई स्वच्छ, सुरक्षित र जनावरमैत्री बनाउनु अत्यावश्यक छ।
आफ्नो सेल्टर भएको, गाडी भएको र अरू काम प्रोजेक्ट गर्दै गरेको, बन्ध्याकरण कामको विगतदेखि ट्र्याक रिकर्ड भएको, उपयुक्त संघ-संस्थाहरूलाई कन्ट्र्याक्ट सम्झौतामार्फत वर्षैभरि निरन्तर काम गर्ने गरी महानगरपालिकाले सहमति दिन सक्दछ। अहिले यसरी काम गरिरहेका संस्थाहरूमा सडक कुकुर लग्दा बन्ध्याकरणको न्यूनतम पच्चिस सय तिर्नु पर्ने अवस्था र कुकुर लैजाने फिर्ता ल्याउने खर्च समस्या छ।
बन्ध्याकरण कार्य सञ्चालन गरिँदा पूर्ण पारदर्शी बनाउँदै वैज्ञानिक तरिकाले रेकर्ड राख्ने सम्बन्धी समस्या हल गर्न ह्युमन सोसाइटी इनटरनेशनल (एचएसआई) ले कुकुरहरूको बन्ध्याकरण, क्याच, नेउटर, भ्याक्सिनेट एन्ड रिलिज (सिएनभिआर) कार्यक्रमका लागि मोबाइल एप्लिकेसन विकास गरेको छ। यो एपले कुकुरहरू समात्ने, शल्यक्रिया गर्ने, खोप दिएर हेरचाह गर्न र उही ठाउँमा फिर्ता छोड्ने प्रक्रियाको सबै विवरण वास्तविक समयमा ट्र्याक गर्न तथा प्रमाण सुरक्षित गर्न मद्दत पुर्याउँछ। यसमा कुकुरहरूको फोटोहरूलाई जियो-ट्याग गर्ने सुविधा छ, जसले गर्दा प्रत्येक कुकुरको गतिविधि दर्ता गर्न सम्भव बनाउँछ।
निष्कर्ष
काठमाडौँमा स्थायी बन्ध्याकरण केन्द्रहरू स्थापित भएपछि बन्ध्याकरण कार्यक्रम नियमित र प्रभावकारी हुन जान्छ। पशु कल्याण समाज र समुदायलाई सहज सेवा प्राप्त हुँदा कार्यक्रमले गति लिन्छ। सेवा सधैँ पाइने र नजिक पहुँचमा हुने हुँदा कार्यक्रमको दिगोपना बढ्न जान्छ। कुकुर सीमित भई जाने हुँदा रेबिज भ्याक्सिन कुकुर र मानव दुवैको लागि कम औषधि चाहिने स्थिति बन्छ र राज्यको खर्च बच्ने हुन्छ।
कुकुर आतङ्कका जनगुनासोहरू पहिलेको दाँजोमा घटेर बिलकुल न्यूनमा ल्याउन यो कार्यक्रम मोडलले सहयोग गर्दछ। भारतको नासिक सहरले सफल बन्ध्याकरण कार्यक्रममार्फत ठुलो सार्वजनिक स्वास्थ्य खर्च बचत गरेको देखिएको छ।
स्थायी बन्ध्याकरण केन्द्रहरूले दिगो, प्रभावकारी र समय बितेसँगै खर्च कटौती हुने समाधानहरू प्रदान गर्न सक्दछ। यता बन्ध्याकरण कार्यक्रम भन्ने उता बेहिसाब पप्पी जन्मिरहने हालको बेथितिबाट समाज मुक्त हुन पाउँछ। यसले काठमाडौँलाई स्वच्छ, सुरक्षित र जनावरमैत्री सहर बनाउन महत्त्वपूर्ण भूमिका खेल्दछ।
(लेखक नेपाल स्ट्रिट डग म्यानेजमेन्ट अर्गनाइजेसनका सिइओ हुन्।)