याद न त कवितामा उतारेर साध्य हुन्छ न कथामा नै। यदि ती पुराना दिनहरूलाई कुनै कपीमा उतार्न थालियो भने महाकाव्य नै बन्ला कि भन्ने सोच्छु कहिलेकाहीँ।
दिनहरू सम्झेर त के नै हुन्थ्यो र! तर पनि पुरानो आफूमा र नयाँ आफूमा भिन्नता छुट्टाउन सजिलो हुन्छ भन्ने मलाई लाग्छ। अझै आफू पढेको स्कुल, खेलेका नदी नाला, हिँडेका बाटोहरू, सँगैका साथी दौँतरीको सम्झना आइदिँदा त यो राजधानी अहिले नै छोडौँ र जाऊँ गाउँतिर भन्ने सोच्छ एक मन। फेरि एक मन भन्छ, सम्भावना पनि त यतै छ जतिसुकै निसासिने भए पनि।
कहिलेकाहीँ पुराना दिनहरू याद आउँदा म स्कुले जीवनको एउटा किस्सा स्मरण गर्न पुग्छु।
ती दिन ताका विद्यालयमा खुब रमाइलो हुन्थ्यो। पढाइ सँगसँगै साथीहरूसँग घुलमिल हुँदै समय बित्ने भएकाले स्कुल जान पनि मन लाग्थ्यो। मेरो घरबाट स्कुल पुग्न कमसेकम एक डेढ घण्टा जति लाग्ने। फेरि गाउँको मान्छे केही न केही काम नगरी स्कुल जान नपाइने।
बिहानै झिसमिसेमा उठेर पानी भर्न पँधेरो पुग्नु पर्थ्यो। हातमुख धोएर घर पुग्दासम्म सात बजिसकेको हुन्थ्यो। खाना खाईवरी स्कुल जान तयार भई सक्दासम्म त झन् आठ, साढे आठ भइसकेको हुन्थ्यो। हतार हतारमा स्कुलको लागि पैदल हिँड्नु पर्थ्यो। स्कुल धेरै टाढा भएर पनि त्यो बेला स्कुल जान खुबै मज्जा लाग्थ्यो। हिजो आज यता कलेज पुग्न हिँड्नै पर्दैन, कोठा नजिकै बस आउँछ तर पनि जानै मन लाग्दैन।
जे होस् अब पुरानै कुरामा फर्किन्छु। सधैँ झैँ एकाबिहानै स्कुल लाग्थ्यो। बिहानको प्रार्थना सकिएपछि हाजिरी पुस्तिका हातमा बोकेका सरहरूबाटै हाम्रो कक्षा सुरु हुन्थ्यो ‘गुड मर्निङ सर’ भन्दै उठ्थ्यौँ सबै जना। ‘थ्यान्क यु एन्ड सिट डाउन’ भन्दै सर आफ्नो नित्यकर्मतर्फ लाग्नु हुन्थ्यो।
सर ‘रोल नम्बर १’ भन्नु हुन्थ्यो। छेवैबाट ‘प्रिजेन्ट सर’ भन्ने आवाज आउँथ्यो।
रोल नम्बर १ देखि ३४ सम्म आइपुग्दा ध्यान दिँदैन थिए। जसै ३५ पुग्थ्यो, म चनाखो हुँदै आफ्नो रोल नम्बर आउने प्रतीक्षामा कान ठाडो पार्थेँ। सरले जब रोल नम्बर ३७ भन्नु हुन्थ्यो, म हत्तपत्त ‘प्रिजेन्ट सर’ भन्थेँ।
समय बित्दै जान्थ्यो। विषय पनि फेरिँदै जाने। पहिलो, दोस्रो, तेस्रो हुँदै चौथो घण्टी आइपुग्थ्यो। चौथो घण्टीमा सामाजिक विषय पढाइ हुन्थ्यो। सामाजिक विषय हाफ टाइमभन्दा अघिको विषय भएकाले प्रायः विद्यार्थी भाग्ने गर्थे। कोही खाजा खान होटेल पुगिसकेका हुन्थे भने कोही साथीभाइको समूह बनाएर घाम तापिरहेका हुन्थे।
सबैको मानसपटलमा के बसेको हुन्थ्यो भने सामाजिक विषय मौखिक हो; जसरी पनि पास गरिहालिन्छ, पढ्ने भनेको त विज्ञान, गणित, अङ्ग्रेजी हो जसलाई पास गर्न सबलाई हम्मे-हम्मे पर्छ। जो कोहीले कटाउन सक्दैनन्। यस्तै यस्तै।
त्यही विषय पढाउने समय सर सोध्ने गर्नु हुन्थ्यो- ‘कसको के बन्ने विचार छ जीवनमा?’
प्रश्न जति सरल थियो, त्यति नै जटिल यसको जवाफ दिन हुन्थ्यो। सर पहिलो बेन्चबाट जवाफ खोज्दै खोज्दै जानु हुन्थ्यो। जवाफ खोज्ने क्रममा कसैको डाक्टर, कसैको इन्जिनियर, कसैको पाइलट त कसैको सरकारे जागिरे हुन्थ्यो।
म भने अक्क न बक्क हुन्थेँ। के भन्ने के खै! खुबै गाह्रो हुन्थ्यो त्यो प्रश्नको जवाफ दिन मलाई। त्यो बेला दिमागमा जे आयो त्यही जवाफ दिन्थेँ। पुलिस, आर्मी यस्तै-यस्तै केही न केही भनेर सरको प्रश्नको जवाफ टार्न खोज्थेँ।
सर मेरो बेन्च छोडेर जवाफ खोज्दै अर्को बेच्नमा जानुहुन्थ्यो। त्यो बेला सरको प्रश्नको जवाफ जसोतसो टार्न पाएकोमा खुब खुसी भइन्थ्यो।
तर आज यहाँसम्म आइपुग्दा सोच्छु, कहिलेकाहीँ जिन्दगीले पीडा दिँदा सोच्छु, घरीघरी ती विद्यालयका साथीहरूको याद आउँदा सोच्ने गर्छु कि कहाँ पुगे होलान् ती सँगैका दौँतरी? अहिले कुन हालतमा होलान्?
सरले सोध्दा डाक्टर, इन्जिनियर, पाइलट, वकिल र सरकारी जागिरे हुने सपना बोकेका ती साथीहरू जिन्दगीको कुन लडाइँमा मस्त होलान्? सोच्छु, तिनीहरूले आफ्ना ती अधुरा सपना पूरा गरे होलान् कि नाइँ? के तिनीहरूका सपनाहरू साँचा थिए र? कि थिए मैले जस्तै प्रश्नको जवाफ टार्न बनाइएका बहाना मात्र?
खैर! जे भए पनि आज ती पुराना स्कुलका सर र साथीहरूलाई सम्झिँदा, उनीहरूसँग बिताएका पलहरू सम्झिँदा मन भने कसो-कसो नोस्टाल्जिक भइदिँदो रहेछ। खै के पाउन गरिँदो रहेछ र भागदौड जिन्दगीमा! एकले अर्कोलाई उछिन्न कि टन्न पैसा कमाउन? खुसी हुनेहरू त बिना जागिर, बिना पैसा एक छाक खाएर पनि खुसी भइदिने रहेछन् जिन्दगीमा।
जीवनमा फेरि पनि मन छ एक चोटि पुरानै स्कुलका दिनहरूमा फर्कन, बिदाको बेला गाउँमा बसेर घाँस-दाउरा, मेलापात गर्न र फुर्सदमा पुरानै साथीहरूसित बसेर चिसोमा न्यानो घाम ताप्दै गफिन अनि झरीका दिनमा साथमै बसेर मकै-भटमास चपाउँदै बर्खे बिदालाई दिएको होमवर्क गर्न।
फेरि तिनै दिनहरू दोहोरिएर आए भने म होमवर्क नगरेर हजारौँ बहाना पनि बनाउने थिइनँ सरसित। जे होस सम्झना भन्ने चिज यस्तै हुँदो रहेछ; मन र मस्तिष्कमा मोबाइलको क्यामराले खिचेको फोटाहरूसरि झल्याँस्स आँखा अगाडि आइपुग्ने।