सिमसिमे पानी परिरहेको थियो। म स्नातक तहको अन्तिम दिनको परीक्षा दिएर घरतर्फ फर्किरहेको थिएँ। पानी दर्किएर पर्न थाल्यो।
घर जाने बाटोमा गाउँमा एक जना काकीको पसल थियो। खाजा खाने भनेर काकीको पसलमा पसेँ र काकीलाई एक प्लेट चटपटे बनाउन लगाएँ।
म बसेको टेबलको अर्को टेबलबाट अर्चना भन्ने आवाज आयो। कसले बोलायो भनेर फर्केर हेर्दा कक्षा ११ र १२ सँगै पढेकी साथी सफलता रहिछन्। मैले पनि कक्षा ११ र १२ इटहरीमा मामा घरमा बसेर अध्ययन गरेको थिएँ।
अचम्म लाग्यो, इटहरी बस्ने मान्छे खोटाङमा देखेर। उनले मलाई देख्ने बित्तिकै 'ओ हो, साथी, नमरी बाँचे भेट हुने रहेछ,' भन्दै हाँस्दै भनिन्।
कुराकानी गर्दैगर्दा काकीले चटपटे ल्याउनुभयो। चटपटे खाँदै मैले उनलाई सोधेँ, 'तिम्रो घर इटहरी होइन, यहाँ कसरी?'
उनले भनिन्, 'पेसाले ल्याइपुर्याउँदो रहेछु साथी, म आएको ५ महिना भयो। खरिदारमा हुलाक कार्यालयमा मेरो नियुक्ति भएको छ।'
मैले भनेँ, 'हेर त, सँगै पढेका साथी सरकारी जागिरे भइसके, म भने बेरोजगारी भएर यसै हलिराछु।'
उनले भनिन्, 'साथी, सरकारी जागिरले मर्न दिँदैन तर उँभो लाग्न पनि दिँदैन। सबैले कमाइकी छे सरकारी जागिर पो खाकी छे भन्छन्, तर मेरो कमाइ कहाँ पुग्छ मलाई पनि थाहा छैन। खरिदारको तलब ३२,०००, ३३००० हजार, महिना बितेको २ हप्तामा १०,००० पनि बच्दैन। म घरको जेठो सन्तान बुबा अलिकति रोगी हुनुहुन्छ। मैले त राम्रोसँग पढ्न पाइनँ, भाइले बुनेले राम्रोसँग पढून् भनेर मैले कक्षा ११ र १२ सकेर स्नातकमा भर्ना नभइ लोकसेवाको तयारी गरेँ। तयारी गरेको २ वर्षपछि खरिदारमा नाम आयो तर सोचेको जस्तो नहुने रहेछ।'
मैले भनेँ, 'खोइ, के हो साथी, यहाँ त घरको एक जना निजामती कर्मचारी छन्। मलाई घरमा मार्न आटिसके। म पनि अब लोक सेवाको तयारी गरूँ, कि भनेर काठमाडौंमा तयारी गर्न जान आँटेको।'
उनले भनिन्, 'म त भन्छु, बरू केही व्यापार गर। सरकारी जागिरले जीवन धान्न गाह्रो। सफलता प्राप्त गर्नु भनेको सरकारी जागिर खानु मात्र होइन, छोडिदेऊ साथी यस्ता कुरा, तिमी त साहित्यकार पो हो, है? मैले तिमीले लेखेको लेखहरू सबै पढ्ने गर्छु। एउटा गजल लेख देऊ, साथी।'
मैले हाँस्दै भनेँ, 'साथी, म साहित्यकार होइन तर साहित्य क्षेत्रमा रूचि छ। तिमीले भनी हालेऊ, म केही सुनाउँछु, त्यसलाई गजल भन्छौ कि कविता भन्छौ कि मुक्तक भन्छौ, आफै बुझ।
आगो निभाउन नजिक पानी हुनुपर्छ।
सम्बन्ध निभाउन समझदारी हुनुपर्छ।
तिमी भन्छौ सरकारी जागिरले पुग्दैन तरकारी किनेर खान समेत।
त्यसैले अब म तरकारीवाली हुनुपर्छ।
सरकारी जागिरको खोजीको भागदौडमा।
मोटा मोटा किताब रट्ने धुनमा।
मैले बिर्सेछु म भित्र पनि थुप्रै क्षमता छ भन्ने कुरा।
अब त क्षमता पहिचान गरी नयाँ बाटो रोज्नु पर्छ।
'यति नै है साथी' मैले उनको अनुहारमा हाँस्दै भनेँ।
उनले पनि गजब लेखेऊ साथी ल अब छुटुम् है भन्दै उनी आफ्नो घरतिर लागिन्।
घरमा लोक सेवाको तयारी गर्नु भनेर एकदमै दबाब आएको थियो। घर परिवारको सल्लाहले मैले काठमाडौंमा गएर लोक सेवाको तयारी थालेँ।
हेर्दाहेर्दै काठमाडौं बसेको २ वर्ष भइसकेछ। रित्तो गोजी, मनभित्र सपनाका आशाका किरण, अन्धकार कोठा, अनि आफन्तका तिखा बचन सहेर बित्दै गएको थियो। २ वर्षसम्म पनि मैले लोक सेवामा नाम निकाल्न सकिरहेको थिइनँ। झलझली आमा बुवाको आँखामा छोरीले केही गर्छे कि! भन्ने आशा सम्झिन्थेँ।
जस्तोसुकै परिस्थितिमा पनि हाँसेर जीवन बिताउनु पर्छ भन्ने मान्छे म लोक सेवा आयोगको तयारी गर्न थालेपछि कोहीसित बोल्न मन नलाग्ने, कसैले केही भन्यो भने पनि रिस मात्र उठ्ने, कतै हिँड्न डुल्न मन नलाग्ने मान्छेको भिड भन्दा पनि सुनसान कोठा प्रिय लाग्न थालेको थियो।
शनिबारको दिन तरकारी किन्न भनेर बजार जाँदै थिए। ठूलो स्वरमा 'अर्चना' भन्ने आवाज सुनेँ। फर्केर हेर्दा गाउँको एक जना काकी हुनुहुँदोरहेछ।
मैले 'नमस्ते काकी' भनेँ।
काकीले 'नमस्ते छोरी, कहाँ हो बसाइ तिम्रो?' भनेर सोध्नुभयो।
मैले 'स्वयम्भु बस्छु, यहाँ तरकारी किन्न आएको' भनेँ।
अनि 'तपाईंको बसाइ कता नि?' भनेर सोधेँ।
काकीले 'मेरो यही कालिमाटी हो, मेरो छोराले नायब सुब्बामा नाम निकालेको खुसीमा आज घरमा भोज छ। तरकारी किन्न आएकी' भनेर भनिन्।
अनि 'तिम्रो के छ, के गर्दैछौ? पोहोर गाउँ जाँदा तिम्रो आमाले 'छोरी, लोक सेवाको तयारी गर्दैछे,' भन्नुभएको थियो' भनेर भन्नु भयो।
'केही गर्दिनँ, काकी 'लोकसेवाको नै तयारी गर्दैछु' भनेँ।
फेरि काकीले 'कति भयो तयारी थालेको?,' भनेर सोध्नुभयो।
मैले '२ वर्ष भयो' भनेँ।
फेरि काकीले 'यत्रो २ वर्षमा नि नाम निस्केन? पढ्दैछौ कि यहाँ बुवा आमालाई ठगेर पढेझैँ मात्र गर्दैछौ? यत्रो तयारी गरेर अन्तिममा लोक सेवा पास गरेनौ भने के गर्छौ?,' भनेर प्रश्न गर्नुभयो।
काकीको हेपान्ती पाराको प्रश्नले मलाई एकदमै रिस उठिसकेको थियो।
लोक सेवा आयोगले सोधेको प्रश्नको उत्तर भन्दा गाह्रो लोक सेवा आयोग पास गर्न नसक्दा के गर्ने भन्ने प्रश्नको उत्तर दिनु थियो।
मैले पनि भनेँ, 'लोक सेवा आयोगको परीक्षा पास गरिनँ भने एउटा व्यापार गर्छु। त्यो पनि भएन भने गाउँमा जान्छु, २०/३० वोटा बाख्रा पाल्छु, बाख्रा फार्म खोल्छु, भैंसी पाल्छु, दुध बेच्छु। बुवाआमाको खेती गर्ने जमिन थुप्रै छ। किसानको छोरी हुँ, पाखुरा चलाएर खेती गर्छु। त्यो पनि भएन भने यो जीवन भगवानले दिनु भएको हो। सांसारिक मोह त्यागेर यो जीवन भगवानको भक्तिमा बिताइदिन्छु। लोक सेवा आयोग पास गर्नु मात्र सफलता प्राप्त गर्नु होइन।'
काकीले हाँस्दै 'तिमीसँग बोलेर सकिँदैन रहेछ,' भन्दै आफ्नो घरतिर जानु भयो।
जाडोको मौसम थियो। तरकारी किनेर फर्किंदा ज्याकेट किन्न भनेर एउटा लुगा पसलमा पसेँ। एकदमै भिड थियो। मभित्र पस्ने बित्तिकै नियालेर हेरेँ। हाम्रो घरदेखि १, २ घर तलको दाइ जस्तै लाग्यो।
फेरि सोचेँ, 'दाइ त आर्मीमा भर्ती हुनु भएको थियो, यो लुगा पसलमा नहुनु पर्ने' भन्दै होइन होला भनेर चुप लागेर बसेँ।
दाइ आफैले 'ओहो बैनी, तिमी यहाँ कसरी?' भनेर बोलाउनु भयो।
'ज्याकेट किन्न आएको दाइ, तपाईंको पसल हो?,' भनेर सोधेँ।
दाइले 'हो' भन्नुभयो।
अनि दाइ त्यहाँ काम गर्ने पसलको दाइलाई 'पसलमा बस्दै गर्नु है, म बुनुसित बसेर चिया पिएर आउँछु' भन्दै मलाई 'हिँड, चिया पिउन' भन्नुभयो।
अनि हामी एउटा चिया पसलमा गयौं। चिया पिउँदै दाइलाई सोधेँ, 'दाइ, तपाईं त आर्मीमा भर्ती हुनु भएको थियो, होइन? कसरी लुगा पसलको व्यापारी हुनुभयो?' भनेर सोधेँ।
दाइले हाँस्दै भन्नुभयो, 'खोइ के भन्नु र, बुनु। २ वर्ष खरिदार, सुब्बाको तयारी गरेँ, नाम निस्केन। वाक्क लागेर 'जे जे खुल्छ त्यहीमा भर्छु' भनेर आर्मीमा फर्म भरेँ। नाम निस्कियो तर के गर्नु जागिर पचाउन एकदमै गाह्रो भयो। काम भनेको गधाको जस्तै, तलब जीवन धान्न नै गारो भयो। जागिर खाएको २ वर्षपछि आर्मीको जागिर फेरि खरिदार सुब्बाको तयारी गर्ने भनेर छोडेँ। तर यसो जागिर खाएकासित बुझ्दछु, सरकारी जागिरको तलब उस्तै हो, पुग्दैन। बरू एउटा व्यापार गर,' भनेर साथीहरूले सल्लाह दिए। पछि लुगा पसल थालेँ। पहिला लाग्थ्यो, लोक सेवा पास गर्नु नै ठूलो सफलता हो तर होइन रहेछ। जुनसुकै पेसामा आबद्ध रहेर आफू सक्षम हुनु ठूलो सफलता रहेछ,' भनेर उत्तर दिनुभयो दाइले।
केही समय चिया पसलमा बसेपछि हामी फेरि दाइको लुगा पसलमा गयौं। मैले एउटा ज्याकेट किनेर आफ्नो कोठातिर लागे। बाटोमा दाइले भनेका कुरा कल्पिएर म पनि आफ्नो क्षमतालाई पहिचान गरेर लोक सेवाको साटो अरू विकल्प रोजेर म पनि आफूलाई सक्षम बनाउँछु भनेर कल्पिएँ।