तैट! यो देशमा बसेर केही काम छैन।
हाम्रो निकै अघि देखिको निष्कर्ष थियो यो। देशको हबिगत देखेर मनमा उर्लिएको चरम बिरक्ती पोखिइरहेको थियो बारम्बार हाम्रा मुखारविन्दबाट।
‘हैन केटा हो, अब विदेशै जानुपर्छ।’
जोसमा आयो उमेश, सबैले जानै पर्छ जस्तो छ भन्ने आशय व्यक्त गरे। मलाई पनि हौस्याए। म पनि बुरुक्क उफ्रिहालेँ। साथीले भनेका न हुन्, नमानौँ पनि कसरी! तब हामी ४ जनाको ‘सिधै विदेश’वाला समूह बन्यो। एउटा बागलुङे, अर्को गोर्खे ठिटो, अझै अर्को दोलखाली र त्यसपछि अर्को झापाली।
हामीलाई तत्काल पहाडै फोरिहाल्छौँ कि झैँ लाग्यो तर फोरी चाहिँ हालिएन।
त्यसपछि भित्रैदेखि उम्लेर आएको जोस घोप्टाउने ठाउँ खोज्दै जाँदा एउटा ओडार फेला पर्यो बागबजारमा। थोत्रो बसपार्कदेखि शंकरदेव जाने गल्लीको लगभग बिचैतिर। अड्डाको नाउँ बिर्सेँ तर विष्ट थरका थिए साहु। हामीमा उम्लेर साँच्चै घोप्टिनै मात्र बाँकी जोस थियो। चारै जनाले एकै पटक त्यही लगेर विष्ट महाराजका चरणमा घप्लक्क घोप्टायौँ।
हाम्रो आशय सुनेपछि विष्ट महाराजका मुखारविन्दबाट हुकुम भयो, ‘तपाईँहरूको चाँडो भिसा लाग्छ। भाषा राम्रो पढ्नुपर्छ। ३ लाख जति उता पठाएर होटेल बुक गर्नपर्छ। डेनमार्कको दूतावासले हेर्छ, त्यहाँ गएर अन्तर्वार्ता दिनपर्छ। कमाइ त व्यापक हुन्छ। कोही गएका छन् भने सोध्दा पनि हुन्छ। त्यहाँको पैसालाई कोरोना भन्छन्।’
यस्तै–यस्तै कुरा भन्यो, हाम्रो जिब्रो लपलपाइहाल्यो। खासमा हामी कुन विदेश जान लाग्दै छौँ भन्ने नै पो थाहा रहेनछ हामीलाई।
घप्लक्क नक्सा पल्टाएर देखायो।
‘यही हो नर्वे, यता बर्गेन छ, उता ट्रोन्डेम।’ अझै उता फलानो, चिलानो, अम्को, चम्को, ढिस्को, डिस्को निकै फलाक्यो। फेरि भन्यो, ‘चिसो चाहिँ निकै हुन्छ, बाटोको हिउँ सोर्ने काम पर्यो भने त मालामाल।’
हामीले ट्वाँ परेर गाउँमा गोबर सोरेको अनुभव सम्झियौँ।
भोलिपल्टबाट क्लास सुरु भयो।
मेरी आम्मै!
एत्, थु, थ्रे, फिर्य, फेम, सेक्स, सु, ओत्ते, नि, टी।
भ हेतर दु? याइ हेतर माइकालाल।
भुर्दन हार दु देत्? याई हार दे ब्रा।
खत्तम!
बनाउँदा बनाउँदै बिग्रिएर बनेको जस्तो भाषा। हैट!
निकै धाइयो। पछि डेनिस दूतावासमा अन्तर्वार्ता पनि दिइयो। पासपोर्टमा छाप पनि लाइदियो, नाइँनास्ती गरेन। तर खै! मेरो भिसा त झरेन।
विष्ट महाराजको वाणी वक्तव्यअनुसार नगद पठाइयो, होटेल बुक गरियो, कागजात पनि पठाइयो। २/३ महिना बित्यो। तनाउको पहाड अग्लियो। कागजात जम्मै फर्केर आयो तर नगद उतै हिउँसँगै पग्लियो।
पछि गएर हिउँ सोर्ने साथीहरूले भेटे होलान् तर खै भनेनन्।
मुखभरि बाक्लो लिटो हालेर बोल्नुपर्ने खालको भाषा पढेको काम लागेन। नर्वे सपना चकनाचुर।
सङ्गत भनेको सार्वजनिक शौचालय जस्तै हो रे! जस्तै गनाउने भए पनि एकछिन धैर्य गरेर खटेपछि बास्ना आएजस्तो हुने। खासमा भित्री मनबाट मलाई विदेश जाने इच्छै थिएन। केटाहरूले हौस्याएपछि हौसिएको, साँच्चै हौसिएको धान जस्तै भयो कुरो।
एकै पल्टमा उत्तानो परिहालियो। अब नजाने भनेर बसेको केही दिनपछि फेरि केटाहरू जोसमा आइहाले।
अब जापान जानपर्छ।
हो र?
हो। यहाँ बसेर के चाहिँ हुन्छ क्या?
‘एकपल्ट गोल खाइहालियो। अब जे होला जानपर्छ’ पो भन्न थाले।
केही दिन त चुपचाप बसेँ। केटाहरू त बागबजार, पुतलीसडकका घरहरूमा टाँसेका बोर्ड हेर्दै ठाडो घाँटी लगाउन थालिसकेछन्। पासपोर्ट बोकेर बुर्कुसी मारेको पो देख्छु। हत्तेरिका म मात्रै छुट्ने भएँ देशमा! सँगै दौडिएँ फेरि।
एउटा गुफामा छिरियो। त्यहाँ फेरि त्यसै भन्छे- भाषा राम्रो पढ्न पर्छ। आदि इत्यादि।
उताको भाषा पढेर टाउको चक्कराको कम्ता छैन। ‘याई हार दे ब्रा’ आएको आई छ दिमागमा। मुखभरिको लिटो खाली भएकै छैन फेरि यता अर्को भाषा पढ्न पर्नी भयो।
उसले जापानको १० हजारको एउटा नोट देखाउँदै भनी, ‘यसलाई इची मान् भन्छन्। यो त उता गएपछि तपाईंहरूको एक दिनको कमाइ हो।’
‘राम राम! हो र?’
ठुलो देशमा ठुलै कमाइ हुन्छ नि!
‘यो भाषा साषा उतै पढ्ने गरी गइहाल्दा हुन्न?’ पुष्पे हत्पताइहाल्यो।
सोचेँ, पैसालाई नै मान भन्दा रहेछन् उता र पो मान सम्मान व्यापक मिल्दो रहेछ नगद हुनेलाई।
भोलिबाट भाषा पढाइको दोस्रो राउन्ड सुरु भयो।
बाफरे! अक्षर त क्या बुट्टादार पो आइलागे गाँठे! ५५ झ्याले दरबारका झ्यालका बुट्टा के बुट्टा!
आ, ई, उ, ए, ओ बाट बाह्रखरीको दोस्रो अध्याय सुरु गरियो। ‘आ.., ई.., उ.., ए.., ओ..’ सुन्दा पनि क्या मजा आउने भन्या।
आनातानो नामाए वा नान् देसका?
बाफ्रे! शान, मान नामका पैसा। नान, परौठा नामका प्रश्न। क्याबात! जापान त त्यसै जापान बनेको हैन रहेछ क्यारे!
देङ्वा बाङ्गो, हाम्रो देशै नाङ्गो, कुनी दोचिरा? छक्क पर्दै सोचिरा! ओसाके र आमे, मैले टाउको छामेँ, नोन्दारी र फुरीमासिता, तोरीका फूल देखेर घुरीमासिता। ओयासुमीनासाई, मानवालीले हँसाई। प्रोसेसमा लागियो बेकारमा फसाई।
राम राम केटा हो, यो एउटा खप्पर छ काँ–काँ लगेर ठोक्नु हौ? अस्ति नर्वेले गिदी खायो, अहिले जापनिज भाषाले तिरिमिरी झ्याइँ।
रुपकले थप्यो, ‘यसले पनि पार नलागे रसियन पढ्नपर्छ होला। जसरी नि विदेश जानै पर्ने पो भो त!’
आफ्नो भाषा खोपडीबाट उड्ने नै भयो हैन त?
हेर्दाहेर्दै बहुराष्ट्रिय भाषाविद् पो हुन लागियो त गाँठे!
दैनिक दुई हल गोरु धाएको धाई गरियो। मेलो पटक्कै सरेको हैन। मैना पुग्दा मालिकलाई नगद बुझाउनु पर्ने। शब्दार्थ लेखाको लेखाइ गरेर एउटा कापी पूरै भरिइसक्यो।
खासा माने छाता, खाऊ माने किन्नु,
सुवारू माने बस्नु, आरुकु माने हिन्नु।
बाफ्रे!
यो माने त्यो, त्यो माने यो। पाँच क्लासमा शब्दार्थ घोकेको झलझली याद आयो।
गाउँमा पनि थाहा पाए
केटो जापान जाने भो
ह्याँ भाषाले पो ज्यान खाने भो
अब राम्रै नगद छाप्ला जस्तो छ
हो हो होक्काइडोमा आगो ताप्ला जस्तो छ!
भित्तामा टाँसेको बडेमानको जापानको शिरदेखि तीर सम्मको नक्सा खुब हेरिन्थ्यो। केटाहरू औँलाले देखाउँथे, ‘ह्याँ नेरि हिरोसिमा, ह्याँ नेरि नागासाकी।’
धन्न अमेरिकाले बम हानेर त्यति नाम चाहिँ थाहा पाए केटाहरूले। २/४ दिनपछि त केटाहरू जापानको टुरिस्ट गाइड जत्तिकै भएर निस्किए। अहिले नै उहीँ पुर्याइहाल्लान् जस्तो गरेर कानागावा, ओकिनावा, फुनाबासी, कुनाबासी, खानेगुजी, कानेगुजी जम्मै भट्ट्याउन थाले।
बिस्तारै केटाहरू त कसैले नारायणीको फेरी भन्दा नागोयाको चेरी सुन्न थाले, ओखलढुङ्गाको ढुङ्गा भन्दा ओकिनावाको डुङ्गा सुन्न थाले।
कस्तो विवशता हो नेपालीको! प्रायः सबै कागजात नक्कली, झुटा, बैंकको नगद डिपोजिट कागज झुटो बनाउन पर्ने रहेछ। त्यो काम फेरि लगभग सबै पठाउनेले नै गरिदिने। सबै तारतम्य मिल्यो। अन्तर्वार्ताको दिन आयो। लौ आधा बाटो जापान त पुगिहालियो। पालो आयो, भित्र छिरियो। नाउँ थर वतनपछि त सिधै शब्दार्थ पो सोधिरा। फटाफट भन्दिएँ। धन्यवाद पनि भनेको थियो। बडो गद्गद भएर गीत गाउँदै ओडारमा फर्किएँ।
हिरोसिमा, नागासाकी, ओकिनावा, टोकियो
अब सिधै जापान जाने झोला बोकियो।
क्याबात। सपनै जापान, बिपनै जापान। निद्रामा पनि खुट्टा उचालिन थाले। ठुलो प्लेन चढेको, सिटमा ढल्केर जापानी पत्रिका पढेको, हाई सुमिमासेन् भन्दै एअर होस्टेससँग जिस्केको अनि नारिता एयरपोर्टमा हिरोको स्टाइलमा ढोकाबाट निस्केको। क्या आनन्दका दिन आउन लागे नि नारन!
एउटा सुटकेस किनियो, केही थान नयाँ थाङ्ना पनि हालियो। अब उडूँ–उडूँ जस्तो भएर आयो।
एक हप्ता पर्खिन पनि एक वर्ष जस्तो। श्रीमती एक हप्तालाई माइत जाँदा लोग्नेलाई उखुम भएजस्तो। पूरा एक हप्ता त सात दिनभन्दा पनि लामो हुँदो रहेछ भन्ने कुरा त्यही बेला थाहा पाएको।
मानवालीको फोन आयो। जुत्ता लगाएर बसेको म लेस बाँध्न मात्र बाँकी थियो।
‘तपाईंहरू तीन जनाको राम्रो भयो। अब तयारी गर्नुस्।’
को–को तीन जना? हामी त चार जना थियौँ त!
‘तपाईंको चाहिँ भएन अरू तीन जनाको भयो।’
साँच्चै हो?
‘उम् हो। कस्तो नराम्रो लागिरहेको छ।’
अचानक माथिको गीत परिवर्तन भएर आयो-
हिरोसिमा, नागासाकी, ओकिनावा, टोकियो
छिर्न लाग्दा दैलोमाथि टाउको ठोकियो।
आधा बाटो गएझैँ भाथ्यो झोलीतुम्बी बोकियो
भाषा बुट्टे, सपना टुटे यात्रा रोकियो।
उसलाई त नराम्रो मात्र लागेछ तर आफ्नो त ज्यानमा अचानक ८ रेक्टरको भूकम्प नै आयो। अझ ‘तीन जनाको भयो’ सम्झिँदा त्यो ८ बढेर १० जति पुग्यो, कट्यो पनि होला! अहिले पनि त्यो सम्झिँदा ज्यानमा पराकम्प आएर बेलाबेला थर्थराउँछु।
केटाहरू हेर्दाहेर्दै जापान उडे। म पनि एयरपोर्टसम्म गएँ। नयाँ सपना बुन्दै, कानमा ठेडी घुसाएर गाना सुन्दै उनीहरू जापानतर्फ लागे। म थुइक्क जिन्दगी भन्दै ओडारमा फर्किएँ।
अब यो दिमागमा भरिएका ५५ झ्याले दरबारका झ्याल झैँ बुट्टा कहाँ लगेर टाँस्ने होला! त्यत्रा औधी शब्दार्थ केमा खर्च गर्ने होला! त्यो नक्कलीले हल्लाएको ईची मानको हावा कहिले फेरि खाने होला!
न त भिसा मोराइमासिता, न त भाषा वासुरेमासिता
लुरुलुरु ओडार फर्केर बासी भात हसुरेमासिता।
अँध्यारो कोठामा पल्टेर यसो सोचेँ, जापानले ट्याक्क मिलेका दुई हल लगेको भए दिन रात जोत्न कति काम लाग्थ्यो। जम्मा तीन वटा गोरु लग्यो, कसरी जोत्यो होला! मेलो कसरी लगाउँदै होला! कति पछुतायो होला व्यर्थै एउटा बहर यतै छोडियो भनेर।
बिस्तारै उता गएका डेढ हल गोरु जापानी भाषामा पो डुक्रिन थाले, मान पाएर होला बुरुकबुरुक उफ्रिन थाले। यता बहरका साँप्रा सुके, जुरो, तुरो सबै पग्लिए।
भनेँ, ‘धेरै नफुर्क केटा हो, विदेश जाँदा रमाइलो भनेको प्लेन चढुन्जेल मात्रै हो भन्ने मलाई थाहा छ। पछि म घुम्न जापान आउँदा रेस्टुरेन्टमा कफी फिटेर मेरो टेबलमा ल्याउलास् नि!’
चाहिनेभन्दा बढी तनाव भए पनि बिस्तारै मन बुझाउँदै गएँ। सुरुमा जान चाहेको नर्वेको ‘न’ र जापानको ‘जा’ मिलाएर हेरेँ, ‘नजा’ भएछ। त्यसपछि विदेश जाने प्रोसेस कहिल्यै गरिनँ, बरु लोक सेवाको सागरमा डुबेँ।
निकै पटक ठक्कर खाएर अधिकृत पनि भएँ। करिब ४ वर्षपछि सरकारी तवरबाट दुई हप्ताको लागि जापान जाने अवसर मिल्यो। जाने सम्पूर्ण तयारी पूरा भएपछि मान समातेर शानसँग जापानी भाषामा सुसेलिरहेका उनै साथीहरूलाई सम्झिएँ। म्यासेन्जरमा कल गरेँ।
केटाहरू त कल नै उठाउन छोडिसकेका रहेछन्। तीनै जनालाई थुप्रै पटक कल गरेपछि बल्ल एउटाले भ्वाइस म्यासेज पठायो। कलमा बोल्नै भ्याइन्न यार। नेपालको र यहाँको टाइम पनि निकै फरक छ। यस्तै–यस्तै। ठिकै छ, जापान पुगेर त्यति भन्न त सिकेछ। नेपालै बसिरहेका मान्छेको कल नाथे के उठाउनु भन्ने लाग्यो कि!
वास्तवमा अचम्मको हुन्छ है विदेश! २४ घण्टामा कुनै दिनको ५ मिनेट जति पनि बोल्न फुर्सद नहुने। हामीलाई मात्र हुने रहेछ फुर्सद। १५ पटक जति मैले कल गरेँ होला, त्यही एउटाले भ्वाइस म्यासेज पठाउने बाहेक अरू दुइटाले त कुनै प्रतिक्रियासम्म जनाएनन्। त्यो पनि ठिकै मानेँ। जापानको कमेरोले लगभग लिपिइसकेका गोरु न परे!
मैले जानकारी किन दिनु भन्ने लाग्दालाग्दै पनि आफू जापान आउन लागेको कुरा भ्वाइस म्यासेजमै भन्दिएँ। अचानक कल पो आयो। पछि सबैसँग भेट्ने कुरा भयो।
यही असारको ३ गते म नारिता एयरपोर्टमा उत्रिएँ। मनमनै ठानेँ, बाफ्रे! जापान पो आइयो। बाहिर निस्कँदा रुपक पर्खिरहेको रहेछ।
भेट्नासाथै भनिहालेँ, ‘म पनि अब दुई हप्ता भए पनि नेपालमै बस्ने फोहोरीहरूसँग कुराकानी, कल, म्यासेज केही गर्दिनँ। कहीँ जान नसकेर निरीह भएर नेपालमै बसेकाहरूसँग जापान, टोकियो आइसकेको मान्छे के बोल्नु! कुराकानी मिल्नुपर्यो, लेभल मिल्नुपर्यो, हातमा नगद हुनुपर्यो नि है?’
उसले मेरो आशय बुझ्यो। त्यस्तो नभन् न यार। कुराकानी मात्र नभएको हो क्या। फेसबुकमा त म सधैँ देखिरहेको, हेरिरहेको हुन्छु नि।
फकाउने पाराले हल्का दियो केटोले।
म होटेलतिर लागेँ, उसले उसको वासस्थानमा जाऊँ सम्म भनेन। भोलिबाट विभिन्न तालिम, गोष्ठीहरू सुरु हुने भए।
बिहानै ब्रेकफास्टको समय भयो। तयार भएर गएँ। खाजा ल्याउने त उमेश पो छ त! ‘सर खाजा’ भन्यो नेपालीमै। छक्क परेँ। कल गर्दा कहिल्यै उठाउँदैन थियो, पूरै व्यस्त भएर पो रहेछ! दोहोरो बोलचाल हुने अवस्थै बनेन। आफ्नो निर्धारित कार्यक्रम सकेर म नेपाल फर्किएँ। आजकल निकै कल गर्छन् केटाहरू।
खै! नेपाल बसे पनि दुई छाक भात त खाँदै रहेछ भनेर हो कि!