बाल्यकालमा हरेकलाई सोधिने एउटा साधारण प्रश्न हुन्छ, ‘तिमी सबैभन्दा धेरै कसलाई माया गर्छौ?’
अधिकांश बालबालिकाले यो प्रश्नको उत्तरमा आफ्नी आमालाई रोज्छन्, केहीले बाबालाई। तर मेरो मामलामा भने यो फरक थियो। मेरो उत्तर सधैँ एउटै हुन्थ्यो– ‘मेरो हजुरबुवा।’
हजुरबुवाप्रति मेरो प्रेम र आदर सधैँ विशेष थियो र आज पनि उहाँ मेरो जीवनका सच्चा प्रेरणा स्तम्भ हुनुहुन्छ। मेरो हजुरबुवा कुनै साधारण व्यक्तित्व मात्र होइन; उहाँको जीवन नै एउटा संघर्ष, समर्पण र समाजसेवाको गाथा हो जसले मलाई हरेक क्षण प्रेरित गर्छ।
हजुरबुवाको जीवनको कथा एक संघर्षको उदाहरण हो। उहाँको जन्म राणा शासनकालमा भएको थियो। उहाँका पिता उहाँ जन्मनु केही समयअघि नै बित्नुभएको थियो जस कारण उहाँलाई आफ्नो आमाले एक्लै हुर्काउनु भयो। राणाहरूको कठोर शासनकालमा एक विधवा महिलाको रूपमा उहाँकी आमाले धेरै अपमान र कठिनाइ झेल्नु पर्यो। तर ती चुनौतीहरूबिच पनि उहाँले आफ्ना चार सन्तानलाई सम्मान र माया दिएर हुर्काउनुभयो। यस कठिनाइबाट नै मेरो हजुरबुवामा संघर्षशीलता र आत्मनिर्भरताको भावना विकास भएको थियो जुन उहाँको जीवनभरि अटल रह्यो।
मेरो हजुरबुवाको किशोरावस्थामा नेपालमा ठुलो परिवर्तन भइरहेको थियो। समाजमा जनचेतनाको विकास भइरहेको थियो र राणाहरूको अधिनायकवाद विरुद्ध जनतामा विद्रोहको भावना बढ्दै गइरहेको थियो। उहाँले सानैदेखि यी परिवर्तनका प्रभावलाई महसुस गर्न थाल्नुभयो। उहाँमा पनि समाजको लागि केही गर्नुपर्छ भन्ने भावना जागृत भयो। गाउँको परिवेशमा रहनु भए पनि उहाँ राजनीति र सामाजिक आन्दोलनहरूको प्रत्यक्ष सहभागी हुनुभयो। उहाँ एक सचेत र शिक्षित व्यक्ति हुनुहुन्थ्यो।
उहाँ राजनीतिक गतिविधिमा सक्रिय र समाजसेवामा पनि गहिरो चासो राख्नुहुन्थ्यो। पञ्चायती व्यवस्थामा उहाँले सक्रिय भूमिका निर्वाह गर्नुभयो र पछि नेपाली कांग्रेसमा संलग्न भएर २०४६ सालको जनआन्दोलनमा भाग लिनुभयो। त्यसपछि उहाँ माओवादी आन्दोलनमा पनि संलग्न भएर समाजमा न्याय र समानताको लागि लड्न थाल्नुभयो। उहाँको यो प्रतिबद्धता र सक्रियता सामाजिक सुधार र नागरिक अधिकारको लागि थियो जसले नेपाली समाजमा महत्त्वपूर्ण परिवर्तन ल्याउन मद्दत पुर्यायो।
उहाँले गाउँ स्तरमा सधैँ न्यायका लागि आवाज उठाउनु भयो। समाजमा अन्याय भएको देख्दा उहाँ चुप लागेर बस्न सक्नु हुन्न थ्यो। अरूका हकहितका लागि उहाँले आफूलाई सधैँ समर्पित गरिरहनु भयो।
मलाई बाल्यकालमा धेरै पटक उहाँका संघर्षका कथाहरू सुन्न मिल्थ्यो र ती कथाहरूले मेरो बाल मस्तिष्कमा उहाँलाई ‘सुपरहिरो’ बनायो। उहाँको साहसी व्यक्तित्व, संघर्षशील र इमानदारिताप्रति मलाई सधैँ गर्व लाग्थ्यो। म विद्यालय जान लाग्दा उहाँ मेरो साथ लागेर जानुहुन्थ्यो र बाटोमा भन्नुहुन्थ्यो, ‘कोही तिमीलाई दुःख दिन्छ भने मलाई भन।’
उहाँका ती स्नेहपूर्ण शब्दहरूले मलाई सधैँ सुरक्षित महसुस गराउँथ्यो। एक पटक विद्यालयको प्रधानाध्यापकले गल्तीको लागि मलाई कुट्नुभयो। मैले रोएर हजुरबुवालाई सबै सुनाएँ। भोलिपल्ट उहाँ प्रधानाध्यापकसँग कुरा गर्न पुग्नुभयो र मलाई अबदेखि कुट्न नपाइने कुरा गर्नुभयो। त्यो दिन मेरो बाल मनले उहाँलाई साँचो सुपरहिरोका रूपमा देख्यो। यो अनुभव मेरो लागि जीवनभर सम्झन लायक बन्यो।
हजुरबुवा सधैँ न्यायका पक्षमा उभिनु हुन्थ्यो। समाजमा जहाँ अन्याय हुन्थ्यो उहाँको आवाज त्यहाँ गुन्जन्थ्यो। उहाँले आफ्नो गाउँको धेरै समस्याहरू समाधान गर्न आफ्नो जीवन समाजसेवामा बिताउनु भयो।
एक पटक गाउँमा एक गरिब परिवारलाई समाजले भेदभाव गरेर हेला गरेको थियो। उहाँले त्यो परिवारको समर्थन गर्दै उनीहरूको न्यायका लागि लड्नुभयो। समाजमा कतिपयले उहाँलाई आलोचना गरे तर उहाँले आफ्नो सिद्धान्तमा सम्झौता गर्नु भएन। उहाँले अरूका लागि आफ्नो आदर्शलाई कहिल्यै त्याग्नु भएन जसले गर्दा उहाँ गाउँभरि एक आदर्श व्यक्तित्वको रूपमा चिनिनु भयो।
म सानैदेखि उहाँको संरक्षणमा हुर्किएँ। मेरो बाबा पूर्वसैनिक हो। उहाँ कार्यरत हुँदा काठमाडौँमा स्थानान्तरणमा हुनुहुन्थ्यो र एक पटक हामीलाई सँगै बस्न लैजाने आग्रह गर्नुभयो। मबाहेक परिवारका सबै सदस्य काठमाडौँ जान तयार थिए तर म भने गाउँमै रहन चाहन्थेँ। मेरी आमाले धेरै सम्झाउनु भयो; यहाँसम्म कि रोएर पनि मसँग कुरा गर्नुभयो तर म आफ्नो निर्णयमा अडिग रहेँ।
यो कुरा मैले हजुरबुवालाई सुनाउँदा उहाँ पनि भावुक हुनुभयो र भन्नुभयो, ‘सँगै जाऊ, तिमी सबैलाई सजिलो हुनेछ।’ तर म उहाँलाई छोडेर जान मानिनँ। उहाँप्रति मेरो माया र लगाव यति गहिरो थियो कि उहाँबिना म बस्नै सक्दिन थिएँ।
उहाँले मलाई सधैँ ‘कन्हैया’ भनेर सम्बोधन गर्नुहुन्थ्यो जसले मलाई विशेष महसुस गराउँथ्यो। हजुरबुवाको प्रेम र स्नेहले मप्रति उहाँको विशेष माया र स्नेह देखाउँथ्यो। उहाँको मप्रतिको माया गहिरो थियो जुन मैले जीवनभर महसुस गरेँ। उहाँले मलाई सही बाटो देखाउनु भयो र जीवनमा इमानदार र निडर बन्न प्रेरित गर्नुभयो। उहाँले आफ्नो संघर्ष र अनुभवहरूबाट मलाई सधैँ केही सिकाउनु भयो।
उहाँले भन्नुहुन्थ्यो, ‘जीवनमा चाहे कति नै कठिनाइ आए पनि कहिल्यै आफ्नो सिद्धान्त र इमानदारिताबाट विचलित नहुनु।’ उहाँका यी शब्दहरूले मलाई जीवनभर प्रेरणा दिनेछन्।
के तपाईंले कहिल्यै आफ्नो सुपरहिरोको आँखामा आँसु देख्नुभएको छ? मलाई कहिल्यै यस्तो सिकाइएको थिएन कि सुपरहिरो पनि रुन्छन्। मेरो धारणा थियो कि आँसु भनेको कमजोरहरूको लागि मात्र हो। तर जीवनका तीन पलमा मैले आफ्नै सुपरहिरोका आँखामा आँसु देखेँ जसले मलाई महसुस गरायो कि सुपरहिरो पनि कहिलेकाहीँ आँसुमा डुब्न सक्छ।
मेरो बाल्यकालमा मैले हजुरबुवाको आँखामा कहिल्यै आँसु देखेको थिइनँ। तर जब उहाँले मलाई काठमाडौँ पढ्न पठाउनु भयो, त्यस दिन उहाँका आँखामा आँसु देखेँ। त्यो पहिलो पटक थियो, जब उहाँको आँखामा आँसु देखेँ। दोस्रो पटक, जब एक दिन काठमाडौँमा मेरो ढोकामा कसैले ढकढक्यायो, म गएर ढोका खोलेँ। अगाडि हजुरबुवालाई देखेँ। उहाँ मसँग भेट्न एक्लै गाउँबाट काठमाडौँ आउनु भएको थियो। हामीले अँगालो हालेर केही क्षण आँसुमा डुब्यौँ। त्यो क्षण मेरो जीवनको सबैभन्दा विशेष थियो।
तेस्रो पटक जब मैले स्नातक पूरा गरेपछि देशको सामाजिक–राजनीतिक अवस्था, रोजगारीका अवसरहरू र सरकारी जागिरेहरूको आर्थिक कठिनाइ देखेर मैले दक्षिण कोरिया जाने योजना बनाएँ। त्यो समय धेरै नेपाली युवाहरूको लागि कोरिया आर्थिक सन्तुष्टिको खोजीमा जाने एक सपना जस्तै थियो। कोरिया जाने तयारीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जब म बिदाइको लागि पुगेँ, हजुरबुवा मलाई बिदा गर्न आउनु भएको थियो। उहाँसँगै मेरो बुबा र परिवारका सबै सदस्यहरू पनि थिए। तर हजुरबुवा सबैभन्दा अलगै उभिनु भयो र आँखाभरि आँसु लिएर मलाई एक टकले हेरिरहनु भयो। सायद उहाँलाई आफ्नो उमेरले गर्दा फेरि मलाई देख्न पाउने नहोला भन्ने डर थियो। उहाँका ती आँसुले मेरो मन भत्कायो। म आँसु पुछ्दै भारी मन लिएर गन्तव्यतिर लागेँ।
ती तीन पलहरू मैले जीवनभर भुल्न सक्दिनँ। ती आँसुले मलाई यो सिकायो कि सुपरहिरोको हृदयमा पनि संवेदनशीलता हुन्छ र तिनीहरू पनि कहिलेकाहीँ आँसुमा डुब्न सक्छन्।
समयसँगै म हुर्कँदै गएँ र अहिले म आफैँ बाबु बनेको छु। मेरो पाँच वर्षको छोरा पनि आफ्ना हजुरबुवालाई ‘सुपरम्यान’ भन्छ। मेरो बुवा र मेरो छोराको सम्बन्ध देख्दा म फेरि आफ्नो बाल्यकाल सम्झन्छु। जस्तो म आफ्नो हजुरबुवासँग धेरै नजिक थिएँ, मेरो छोरा पनि अहिले आफ्नो हजुरबुवासँग त्यही माया र स्नेहले भरिएको सम्बन्ध बनाइरहेको छ। मेरो बुवा अर्थात् उसको हजुरबाले उसलाई माया र स्नेह साथ हुर्काइरहनु भएको छ। म हजुरबाको आदर्श र संघर्षको महत्त्वलाई अझ बढी बुझ्न थालेको छु।
अहिले हजुरबुवाको ८४ औँ जन्मोत्सव नजिकै आइरहेको छ। म उहाँलाई त्यो विशेष दिनमा उपस्थित भएर श्रद्धा व्यक्त गर्न चाहन्छु। उहाँले मलाई केवल स्नेह र माया मात्र दिनु भएन, जीवनका मूल्यवान् पाठहरू पनि दिनुभयो। उहाँप्रति मेरो अनन्त प्रेम, सम्मान र आभार कायम रहनेछ। उहाँको प्रेरणादायी जीवनले मलाई मेरो जीवनका हरेक चुनौतीमा अघि बढ्न हौसला दिएको छ।