ती तिहारहरूमा त घर लिप्ने चटारो हुन्थ्यो। घरघरमा फिनिरोटी र सेलरोटी पकाउँदा गाउँ नै बास्नादार हुन्थ्यो। सिन्कामारी र पपराले घरका आँगन रंगीन देख्दा साँच्चै तिहार खुसी लिएर आएको अनुभव हुन्थ्यो। झिरभरि उनेका फिनिरोटीका लहरा।
आहा! सम्झेरै आनन्द आउने कति मीठो अतीत। अहिले पनि आँखामा झलझली याद आउँछ। महिनादिन अघिदेखिको त्यो चहलपहल घरका भित्ताहरूमा देखिने त्यो सुन्दरता।
त्यो आफ्नो गाउँ र घर जस्तो सुन्दर केही लाग्दैनथ्यो। तिहारमा घर लिप्न चाहिने सेतो र रातो माटो लिन ३-४ वटा डाँडा काटेर जानुपर्थ्यो।
कठै! कति दु:खले रंगीन हुन्थे घरका भित्ता!
दिनभरिको लामो बाटो भारी बोकेर हिँड्दा खुट्टामा ठेला उठ्थे। माटोको भारीले तालुमा कैयौं दिनसम्म पीडा दिन्थ्यो। थाकेका बेला बाटोमा कसैले के बोकेको भन्दा उठ्नुसम्म रिस उठ्थ्यो। उत्तर दिने शक्ति पनि हुन्थेन। त्यो भारीले हप्ता दिनलाई पुग्ने गरी थकान मिल्थ्यो।
घर रंगिएपछि थकान मेटिन्थ्यो। घरको भित्ता मात्र होइन, खुसीले मनको भित्ता पनि रंगीन हुन्थ्यो। गाउँ नै रंगीन हुन्थ्यो। एकअर्काको घर हेरेर लोभ लाग्ने देखिन्थ्यो।
अहिले ती क्षण सम्झिँदा रमाइलो लाग्छ।
चाडबाडमा गाउँको माहोल नै बेग्लै हुन्थ्यो। मन त्यसै दंग हुन्थ्यो।
सेलरोटी र फिनी नभए तिहारको रौनक नै हुन्थेन। सबैले माया र सम्मान गर्दै रोटी पकाउन बोलाउनु हुन्थ्यो। घरको बुइँगलमा त रोटीको बिस्तारा नै हुन्थ्यो।तिहारमा पकाएको रोटी माघे संक्रान्तिसम्म खान पाए राम्रो हुन्छ भन्ने विश्वास थियो। आमाले साँचेर राखेका ती रोटी चोरी चोरी खान कति रमाइलो हुन्थ्यो।
'तिहारको दिन भाइहरूलाई गाली गर्नु हुँदैन, आज त भाइहरूको पूजा गर्नुपर्छ' भनेको अझै याद छ। दाजुभाइलाई गाली त कहिल्यै पनि गर्नु हुँदैन।
चार दिदीबहिनीपछि जन्मिएका भाइहरू त परिवारका लागि मुटुका टुक्रा थिए। कसैले नराम्रो शब्द बोलिदिँदा साह्रै मन दुख्ने। जब भाइहरूको आगमन भयो, हामी आफूलाई संसारको भाग्यमानी ठान्थ्यौं।
भावीको लेखान्त, हुर्केर बढेर सबैलाई मायाको भूमरीमा पारेर मेरो ठूलो भाइ यो संसारबाट बिदा लिएर गयो।
उसको मृत्युपछिका हरेक तिहारले त्यो घाउ कोट्याइदिन्छ। तिहारले चोट लिएर आउँछ। अनि पल पल रूवाइरहन्छ। मुटु भक्कानिएर आउँछ। भाइको बिदाइपछि तिहारले बाहिर खुसी र मनमा पीडा लिएर आउँछन्। आँगनका डिलमा फुलेका हरेक फूलले उही याद आलो बनाउँछ।
'दिदी मलाई हजारी र मखमली मिसाए माला बनाइदिनु है' भन्थ्यो। छेउमै बसेर गफ गरिरहन्थ्यो। माला उनिरहँदा छेउमै बसेर आफूले लगाउने माला हेरेर बसिरहन्थ्यो। यो मेरो माला छुट्टै राखिदिनु है भन्थ्यो। ती शब्दले आज पनि फूलको माला गाँस्दा आँखाले सहनै सक्दैन।
वर्षौंदेखिको त्यो मुटुको राप बिस्फोट भएर आउँछ। एक दिनले जिन्दगी भर पुग्ने गरी चोट दिएको हुन्छ।
हुन त यो सबैलाई पर्ने कुरा हो तर पनि हामी आफूलाई मात्र परेको अनुभव गर्न सक्छौं। आफूलाई जस्तो कसैलाई नपरोस् भन्ने भावना राख्छौं!