घरको पिँढीमा बसेर खाजा खाइरहँदा मैले मम्मीलाई सोधेँ, 'मम्मी साँच्चि हाम्रो दिदी कहिले बित्नुभएको रे?,' मैले सामान्य तरिकाले अलिक मलिन स्वरमा सोधेँ।
'तँ जन्मेको सालमा त हो नि, तँ भदौमा जन्मेको, दिदी साउनमा बितेको,' पिँढीको मुढामा बसेर खाजा खाँदै गर्नुभएको मम्मीले फरक्क मतिर फर्कंदै भन्नुभयो।
सायद मम्मीको मनमा पनि लाग्यो होला, किन आज यसले यस्तो प्रश्न गर्यो भन्ने त।
म एकछिन मौन रहेँ।
'कति वर्ष भएछ त?'
'तँ अहिले कति वर्ष भइस्?,' मम्मीले मलाई सोध्नुभयो।
'चौतिस'
'ए चौतिस?'
'हो' भनेपछि त्यति नै वर्ष भयो उसो भए,' मम्मीले भन्नुभयो।
कुरा जप्दै मम्मीले, 'तँ भदौ भनेपछि दिदी साउनको एघार गते बितेको हो।'
'अलि अलि हिँड्ने पनि भएको थिई होला है?,' मैले सोधेँ।
'अँ हिँड्थी अलि अलि, अठार महिना भएको थिई।'
'अनि के कारण दिदीको मृत्यु भएको त?'
'के भन्नी अब, ऊ बेलामा यस्तो अस्पताल, डाक्टर, उपचार भन्ने गाउँमा थिएन, बिरामी भएदेखि झाँक्रीकोमा झारफुक गर्ने हो, अनि खेत बारीमा काम गर्न जाँदा बच्चालाई घरमा एक्लै छाडेर काममा जानुपर्थ्यो, खान समयमा नपाउने, दिनभरी चिसो पिँढीमा छोड्यो, काममा गयो, फेरि त्यो बर्खाको बेला पनि थियो, डायरिया जस्तो भएको थियो, त्यस्तै हुँदाहुँदै बितिहाली।'
खाजा खाएको कचौरा भुइँमा राखेर हातलाई खुट्टामा टेकाई चिउँडोमुनि हात राखी पारि डाँडातिर हेर्दै उत्तर दिइरहँदा मम्मीको आँखा अलिअलि रसाएको जस्तो देखिन्थे।
'ए चिसो भएर होला है त्यसो भए?,' मैले सोधेँ।
'खै के हो, अहिले जस्तो भए उपचार लाग्थ्यो, बाँच्थी, ऊ बेला झाँक्री लगाउने चलन, आफू पनि अल्लारे, केही थाहा होइन, अरूलाई बच्चा हेर्ने फुर्सद नहुनी, आफूले सबै घरको धन्दा र खेत बारीको काम पनि भ्याउन पर्नि।'
एकछिनपछि फेरि मैले सोधेँ, 'अनि नाम चाहिँ के थियो त?'
'थियो, देउती', झट्ट उत्तर दिनुभयो।
सब कुरा सुनेर फलैंचामा बसिरहनुभएको बुवाले हाम्रो कुरामा बेला बेला केही प्रतिक्रिया दिइरहनुभएको थियो।
विगतमा भोगेका दु:ख र अहिलेको अवस्था सम्झेर दुबै जनाले मन कुड्याउँदै गरेको कुरा उहाँहरूको हाउभाउले बताउँथ्यो।
'अनि सम्झना त आउँछ होला नि है?,' मैले फेरि प्रश्न गरेँ।
'आउँछ नि, आउँदैन त?,' यति भनिसक्दा मम्मीको आँखा भरियो, अनुहार रातो भयो र अलि अलि ओठ पनि काम्न थाले।
उता फलैंचामा बसिरहनुभएको बुवाको हातका औंलाले दुबै आँखा पुछ्दै डाँडातिर हेर्दै ठुलो स्वास लिनुभयो। मेरा पनि गला अवरूद्ध भए। एकछिन म पनि मोबाइलतर्फ हेर्दै घोरिएर बसेँ। अरू कुरा सोध्ने आँट गर्न सकिनँ र चाहिनँ पनि। केही समय तीनै जना मौन रह्यौं।
निकै अघिदेखि दिदीको बारेमा बुझ्ने इच्छा भएकाले करिब पैतिस वर्षअघि आफ्नो सन्तान गुमाउँदाको पीडाले खाटा बसेका मम्मी बुबाको मनको घाउलाई मैले कोट्ट्याउन खोजेँ।
लाग्थ्यो, साँच्चे दिदी थिई होली र, कस्ती थिई होली, आज भैदिएको भए कस्तो हुन्थ्यो होला? यी र यस्तै कुराहरू खेलिरहेको मनलाई शान्त पार्नलाई उक्त दिन समय मिलाई बलियो मनका साथ सोधेको थिएँ।
मम्मी र बुबाको मनलाई शान्त पार्न अन्य कुराहरू गर्दै विषयलाई मोडेँ र अन्य विषयमा कुरा गर्न थालें।
तर मलाई भने त्यति कुराले मात्र मन बुझेको थिएन। केही समयअघि देखि नै देख्दै नदेखेको मान्छेको सम्झना र मनमा अदृष्य माया पलाएर आइरहेको थियो। अमूर्त रूपमा भए पनि यी काल्पनिक माया र सम्झनाहरूलाई कुनै माध्यमबाट पोखेर मनलाई शान्त पार्न चाहन्थेँ। सोही कारण मनका भावनाहरूलाई यस लेखमार्फत् पोखेको छु।
दिदी देउती, पक्कै सन्चै छौ त होला नि ? सन्चो बिसन्चो पनि के हुन्छ होला र है त्यहाँ? अहिलेसम्म त्यो ठाउँमा गएपछि कोही पनि फर्किएर त्यहाँ यस्तो छ, उस्तो छ भनेको छैन, तै पनि मनले नसोधी नमान्दो रहेछ। सानो छँदा हामी न गफ गर्न पाइयो, न बोल्न पाइयो, न खेल्न पाइयो। कुनै बेला तिमीलाई दु:ख पर्दा न भाइ भन्न पायौ, न त मैले दिदी नै भन्न पाएँ। म जन्मिनुभन्दा करिब एक महिना अघि नै यस धर्तीबाट बिदा भएकाले तिमीसँगको भेट पनि के सम्भव हुनु र!
भौतिक शरीर यहाँ नभए पनि अभौतिक रूपमा तिम्रो कल्पना गरेर आज मैले धित मर्ने गरी कुरा गर्ने विचार गरेँ।
खै के गर्दैछौ भगवानको घरमा त्यो त थाहा भएन, एकछिन मेरो अन्तरमनका कुरा सुन्ने समय मिलाइदेऊ है? अहिलेको समय हुन्थ्यो त घरको एक कुनामा कम्तीमा तिम्रो तस्बिर हुन्थ्यो। तिम्रो सम्झना आउँदा तस्बिर हेरी मनलाई बुझाउन मिल्थ्यो होला, तर ऊ बेला... ।
तिमीलाई नदेखे पनि खै किन किन दिदी थिई भन्ने सुन्ने र जान्ने भएपछि मन नमान्दो रहेछ, भन्न त भन्छन्, जुन चिज आफूसँग छैन त्यही चिजको बढी महत्व र आवश्यकता हुन्छ।
मलाई लाग्छ तिमी नहुदा घर खाली भएजस्तो, कहिले मन खाली भएजस्तो भने कहिले तिमी बिनाको परिवार अपूर्ण भएजस्तो पनि। पहिल्यै कहीँकतै देखेर छुटे जस्तो न्यास्रो लाग्ने रहेछ दिदी तिम्रो, मनले सम्झना गरिरहने रहेछ। दिदी तिमी कोपिलामै भगवानको घर गयौ। यसरी तिमी यस संसारबाट भगवानको घर जाँदा के के भयो थाहा छ ? मम्मी बाबाको काख रित्तियो, दाइ भाइको साथ, माया र ममता हरायो र हरेक पर्व र तिथिको उल्लास पनि।
सम्झिन्छु, तिम्रो जन्म हुँदा बुबामम्मी कती खुसी हुनु भएको थियो होला, दोस्रो सन्तानले लक्ष्मीको रूपले यस धर्तीमा टेकेकाले। तर के गर्नु त्यो खुसी धेरै समय रहेन। परिवारको भाग्य भन्ने वा दैवको लिला। तिम्रो आँगमनको डेढ वर्षमा नै महाप्रस्थानले परिवारको सम्पूर्ण खुसी पनि सँगै गयो। अभाव र गरिबीमा बाँचेको परिवारले तिमीलाई बचाउन सकेन। तिम्रो महाप्रस्थानको लगभग एक महिनापछि म जन्मेको रहेछु दिदी। अहिले चौतीस वर्ष भयो। यति लामो समय बितिसकेको छ। तिमीलाई गुमाउनु पर्दाको चोट पनि कम हुँदै गएको छ परिवारमा, तर निको भइसकेको भने छैन हुँदैन पनि।
सुनेको छु कुनै बेला छिमेकी काका काकीहरूले तिम्रो बारेमा साध्नुभयो भने मम्मी भक्कानिनु हुन्छ रे।
उक्त कुराबाट पनि थाहा हुन्छ तिम्रो सम्झना र याद अझै मरेको छैन। तर हामीहरूको अघि आजसम्म तिम्रो याद र अभावले रूनुभएको देखेको छैन।
थाहा छ, हामीलाई नदेखानउनुभएको हो भन्ने पनि। आफ्नो काखको सन्तान गुमाउँदा परिवारलाई कति चोट पर्छ भन्ने कुराको मापन कसले गर्न सक्छ र!
लाग्छ तिम्रो सम्झनालाई बिर्साउने काम हामी तीन दाजुभाइले गरिरहेका छौं। जब तिम्रो बारेमा सुनेँ र बुझ्ने भएँ, बेला बखत तिम्रो सम्झना आइरहन्थ्यो। तिमी कस्ती थियौ होली? कस्तो बोल्थ्यौ होली? भाइहरूलाई नदेखे पनि दाइसँग चाहिँ के भनेर गफ गथ्यौ र खेल्थ्यौ होला? पक्कै पनि दाइलाई पनि तिम्रो याद बेला बखत आइरहन्छ होला। मम्मी बुवाले तिमीलाई के भनेर बोलाउनुहुन्थ्यो होला? पिँढीमा के खेल्दै बस्थ्यौ होला? भोक लाग्दा रून्थ्यौ होला? कति भोकमा मम्मीको दुध खाएर मेटायौ होला, कति भोक त रूँदारूँर्दै चिसो पिँढीमा निदाएर पनि मार्यौ होला नि है...। किनभने मम्मीले भन्नु हुन्थो, तिमीलाई दिनभरि घरमा एक्लै छोडेर मेलापात जानुपर्ने बाध्यता र विवशताको कुराहरू। म कल्पना गर्छु, तिम्रो अनुहार पनि हामी दाजुभाइमध्ये कोहीसँग मिल्ने थियो होला नि ? पिँढीमा बामे सर्दै यताउता गर्दैगर्दा मम्मी बुबाले छोरी भनेर बोलाउँदा पुलुक्क उहाँहरूतिर फर्केर हेर्दै खुरुरु भाग्थ्यौ होला नि?
अनि साँच्चि दाइलाई चाहिँ दादा भन्न सक्नी भएको थियौ कि थिएनौ? अनि सानैदेखि हाम्रो भेट भैदिएको भए हामी के के गथ्यौ होला? कहिले मिलेर खेल्थ्यौ होला, कहिले झगडा गर्थ्यौ होला। जब ठुलो हुँदै जान्थ्यौ, स्कुल, मेला पात, घाँस दाउरा सँगै गर्न जानी आउने। यस्ता कति हुन् कति है? तर के गर्ने यी सब कुराहरू कल्पनामा मात्रै छन् दिदी। साँच्चि तिमीलाई पनि याद आउँछ कि आउँदैन दिदी?
दिदी आज तिमी हाम्रो परिवारमा भैदिएको भए, बुबा आमाको एउटा छोरी हुन्थ्यौ, दाइको एउटी बहिनी र भाइहरूको एउटी दिदी हुन्थ्यौ। तर अहिले दिदी शब्द उच्चारण गरेर तिम्रो अभाव र न्यास्रो मेटाइरहेको छु।
सबै याद र सम्झनाहरू त व्यक्त गर्नै नसकिने पनि छन्। अझ तिम्रो याद यतिबेला झन् बढी आउँछ जति बेला कसैले दिदी बहिनी कति छन् भनी सोध्छन्। त्यतिबेला भारी मनका साथ उत्तर खोज्नतर्फ लाग्नुपर्छ। छौ भनौँ, भौतिक रूपमा तिमी छैनौ, आफूले नदेखेको कारण यस्तो थियौ भन्न पनि नसकिने र छैनौ भनौं भने तिम्रा काल्पनिक याद र सम्झनाहरू मनबाट हटेका छैनन्।
मनलाई कसिलो पार्दै यसको उत्तर आकाशका तारा टिपेर ल्याउन जति गाह्रो हुन्छ त्यति नै गाह्रो हुने गरी खोज्ने गर्दछु र उनीहरूलाई तिमी भौतिक रूपमा नभएको कुरा सुनाउँछु र उनीहरूको सहानुभूतिका शब्दले मनलाई थाम्न झन् गाह्रो बनाउँछ।
जब मातातीर्थ औंशी आउँछ, म देख्छु ममीले आँगनको डिलमा बसेर चिउँडोमा हात लगाउदै मलिन अनुहारले बाटोतिर हेरिरहँदा लाग्छ तिमीलाई कल्पना गर्दै बाटो हेरिरहनुभएको छ, न कतै यही बाटो हुँदै मेरी छोरी पनि मलाई भेट्न माइत आउँछे कि भनेर। तिजमा घरछेउको गल्लीबाट गाउँका चेलीबेटी रातो पहिरनमा माइत ओहोर दोहोर गरिरहँदा मम्मीको आँखा त्यो भिडमा अल्झिरहेको देख्छु र लाग्छ त्यो हुलको बीचमा तिमीलाई नै खोजिरहे, हेरिरहे जस्तो। जब त्यो हुल गल्लीबाट आ–आफ्नो बाटो लाग्दै बिलाउँछन् घरको चारैतिर हेर्दै मलिन अनुहार बनाएर घरभित्र पस्नुहुन्छ।
पक्कै लाग्दो हो यो तिज त नआइदिए पनि हुन्थ्यो होला भनेर। कुशे औँशी नजिकिँदै गर्दा बुवाले आँगनको डिलमा बसेर पाऽऽऽऽरी डाँडाको बाटो हेर्दै टोलाउँदा तिम्रै कल्पनामा रूमलिए जस्तो लाग्छ। आफ्नो घरको बाटो हुँदै बुबा खुवाउन भन्दै आउने जाने गरिरहेका महिलाहरूको भिडको बीचमा तिम्रो आवाज खोजिरहेको पाउँछु।
जब तिथि, चाडबाड आउँछ, बुबाले हातमा टीकाको थाली लिँदै आँगन घुम्दै गर्दा त्यहाँ पनि तिमीलाई खोज्नुभएको जस्तो लाग्छ। चाडबाडमा अरूको घर छोरी चेलीले भरिँदा आफ्नो घर सुनसान हुँदा कस्तो हुन्छ होला मम्मी बुबालाई? उहाँहरूलाई लाग्दो हो यी चाडबाड र पर्वहरू त नआए पनि हुन्थ्यो। तिज तिहार जस्ता पर्व नजिकिँदै गर्दा मम्मीले हामी घर बाहिर भएको छोराहरूलाई भन्नुहुन्छ दर खाने दिन त जसरी भए पनि घर आउनु पर्छ नि है ? सायद हामी जम्मा हुदा उहाँलाई छोरीको सम्झनाले नसताउने भएर पनि होला।
तिहारको बेला बारीको डिलमा लटरम्म फूलहरू झुलिरहेको हुन्छ, सम्झन्छु ती फूलहरू तिम्रै पर्खाइमा छन्। लाग्छ तिम्रो हातबाट उनेको मालाले हाम्रो गला सजाउन पाए कति भाग्यमानी हुन्थ्यौं होला भनेर।
कहिलेकाहीँ फुलेको फूलतिर हेर्दै एकोहोरो टोलाइरहेको दाइले तिमीलाई फूल टिप्दै गरेको कल्पाना गरिरहेको भान हुन्छ। टोलाइसकेर झसक्क झस्किन्छ र ठुलो स्वास फेर्दै लक्ष्मीपूजाको लागि फूल टिप्दै गरेको भाइतिर हेर्दछ।
अन्त्यमा हामी सबैले एक अर्कामा हेर्दै मनमा रहेको तिम्रो अभावलाई साझा बुझाइ बनाउँदै हाम्रो मौनता भित्रको सम्झना समाप्त गर्छौं। जब देउसी भैलो खेल्न गाउँघरका तन्नेरीहरू आउँछन्। घरको मटानबाट बुवा मम्मीले एकछिन आँखा मिच्दै ती टोलीलाई एकटकले हेरिरहनुहुन्छ लाग्छ, उहाँहरूले त्यो हुलमा तिमी भैलो गाउँदै र नाच्दै गरेको छौ कि भनेर खोजिरहनुभएको छ। तर यी सब मनभित्रका कल्पना मात्र हुन्।
कल्पना र बाध्यतालाई हामीले आजीवन मनमा मात्र सजाउनु पर्ने विवशतालाई पनि बानी पारिसकेका छौं र लाग्दैन पनि यो चाडबाड नआइदिए हुन्छ भन्ने पनि।
तिम्रो अनुपस्थितिमा हामीले चाडबाड मनाउने बानी पारिसकेका छौँ, परिवारमा खुसी हुन सिकिसकेका छौ। तिमी जहाँ छौ, राम्रो सँग रहनू। यो जुनीमा भेट नभएको हाम्रो अब अर्को जुनीमा कहिल्यै नछुट्ने गरी भेट अवश्य हुने नै छ, तिमीलाई हामीले कहिल्यै बिर्सने छैनौँ।
अहिलेको लागि बाई!
हरेक परिवार जसको परिवारमा बुबा आमाको छोरी छैनन् र दाजु भाइको दिदी बहिनी छैनन् उनीहरूको लागि समर्पित।
सम्पूर्णमा दीपावलीको शुभकामना!