भरतपुर क्यान्सर अस्पतालको गेटबाट भित्र छिरेपछि दिदीले बडो त्रासभावमा सोध्नुभयोे‐ मलाई क्यान्सर अस्पतालमा किन ल्याएको? दिदी त्यो अस्पताल पहिले जानुभएको थिएन र हामीले पनि भरतपुरको एक अस्पताल मात्र भनेका थियौं।
अस्पतालको बोर्ड पढेर दिदीले प्रश्न गर्नुभयो।
दिदीलाई क्यान्सर लागेको कुरा थाहा नदिने हाम्रो योजना अब धेरै दिन नटिक्ने डर भयो। त्यतिबेलै अमेरिकामा गरिएको एक अनुसन्धान भनेर मैले कतै पढेको थिएँ कि क्यान्सर रोगले भन्दा मलाई क्यान्सर लागेको छ भन्ने भयले धेरै बिरामीको मृत्यु हुन्छ रे। काठमाडौंको जाँचपड्तालले ब्लड क्यान्सरको ‘डायग्नोसिस’ गरेपछि सो अस्पताल रिफर गरेको थियो। हामीले काठमाडौंमै सल्लाह गर्यौं र एउटा बहाना बनाएर भन्यौं‐ 'दिदी डाक्टरका अनुसार हजुरको शरीरमा ज्वरो निकै गढेको रहेछ। अब कम्तीमा महिना दिन अस्पताल राखेरै उपचार गर्नुपर्ने भयो। चितवन लगेपछि तिलक मामाको घरबाट आउजाउ गर्न सजिलो हुन्छ, उपचारमा पनि सस्तो पर्छ। उहाँले नै भरतपुर अपस्ताल ल्याउनु भन्नुभएको छ।'
नेपाली कांग्रेसका पुराना नेता तिलक सापकोटा, उहाँहरूका अभिभावक पनि। उहाँसँग यस विषयमा सल्लाह हुँदा पनि चितवन नै ल्याउनु भन्नुभएको थियो। पछि मामा अस्पताल भर्ना गर्न पनि आउनुभयो। भर्ना भयो र मैले दिदीलाई भनेँ‐ दिदी यो क्यान्सरको मात्र उपचार गर्ने अस्पताल होइन, सबै रोगको हुन्छ, तपाईंले चिन्ता गर्नुपर्दैन।
तिजमा काठमाडौं बोलाउन दिदीलाई फोन गरेको स्वर बिरामी जस्तै लाग्यो। के भयो भनेर निकै सोधेँ।
'कुश्माका डाक्टरलाई देखाएको, टाइफाइड बिग्रिएको भनेका छन्। ज्वरो केही घटेको त छ तर पूरै ठिक भएको छैन। एक महिना लाग्छ भनेका छन्, ठिक होला नि' उहाँले भन्नुभयो।
त्यसपछि मैले त्यहाँ उपचार गरेर हुँदैन भोलि नै काठमाडौं आइहाल्नुहोस् भनेँ। तर मान्नुभएन। उहाँले भन्नुभयो 'अब तिहारमा तिमीहरूलाई टीका लगाउन आउनै पर्छ। केही दिन अगावै आउँछु, त्यतिबेलै उपचार पनि गरौँला।'
त्यसपछि पनि मैले दुई चार दिन बिराएरै फोन गर्थेँ, उहाँले अलिक बिसेक भएको बताउनुहुन्थ्यो। तर काठमाडौं कति आउजाउ गर्नु, तिहारमा एकैपटक जाउँला भनेर रोग च्यापेरै बस्नुभएछ। तिहारको केही दिनअघि नै काठमाडौं त आउनुभयो तर निकै ढिला भइसकेको रहेछ। उहाँ काठमाडौं आएको भोलिपल्टै श्रीमती राधाले आफू स्टाफ रहेको ओम अस्पताल लगिन्, त्यसको दुई दिनमा त ब्लड क्यान्सर देखिएको रिपोर्ट आयो।
भाञ्जा नविन काठमाडौंमा भर्खरै प्लस टु सकेर एमबिबिएसको तयारी थाल्दै थिए। यो रिपोर्ट उनलाई पनि कसरी देखाउने भन्ने भयो। रिपोर्ट आएको दिन र रात घरमा सन्नाटा छायो। बाआमा र भिनाजुलाई त झन् भन्ने कुरै भएन। मनले मानेको त छैन तर दिदीको अगाडि हाँस्नु परिरहेको छ। सबैका मुहार मलिन छन्, दिदीले छिनछिनमा हाम्रो मुहार पढिरहनुहुन्थ्यो। किन पिर गर्छाै ठिक होला नि भनिरहनुहुन्थ्यो। अनि हामी हाँसेजस्तो गथ्र्याैँ र ठिक हुन्छ दिदीलाई भन्थ्यौँ। सायद ‘मुटुमाथि ढुङ्गा राखी हाँस्नुपर्या छ’ भन्ने गीतको जन्म पनि यस्तै परिस्थितिमा भए होला।
राति नै सल्लाह गरियो र सबैभन्दा पहिला नविनलाई ‘कन्भिन्स’ गर्ने काम भयो। भरतपुर अस्पताल कति बस्ने कुनै ठेगान थिएन। दिदी र नविनलाई तत्कालै जहाजमा भरतपुर पठायौं अनि चिरन भाइ र म गाडीमा गयौं।
भर्ना गरियो, उपचार पनि सुरू भयो। दिदीलाई थाहा नदिने हाम्रो योजना अब धेरै टिक्ने अवस्था रहेन। किनभने सबै बेडमा क्यान्सरकै बिरामी थिए। दिदीले चिनजान गरेर कुराकानी गर्न थालिहाल्नुभो। सबैको हालत उस्तै थियो, महिनौंदेखि त्यही बेडमा थिए। आ‐आफ्ना अनुभव सेयर गर्न थालिहाले।
एउटा सञ्चारकर्मीको रूपमा समाचार लेख्ने र पढ्ने क्रममा क्यान्सरका पनि विभिन्न ‘स्टेज’ हुन्छन् र सुरूको भए निको हुन्छ भन्ने सुनेको थिएँ। दिदीको उपचारमा संलग्न चिकित्सक आएपछि सबैभन्दा पहिला त यही सोधौंला भन्ने कुरेर बसेको थिएँ। भोलिपल्ट एक जना वरिष्ठजस्ता चिकित्सक आए र सोधेँ। तर जीवनमा सुन्नुपरेको सबैभन्दा रूखो शब्द र हाउभाउमा उनले जबाफ दिए ‘ब्लड क्यान्सरको पनि केको स्टेज? रगत त मानिसको शरीरमा शिरदेखि पाउसम्म खेलिरहन्छ भन्ने तपाईंलाई थाहा छैन?’ दिदीकै अगाडि घमण्ड भरिएको स्वरमा उनको यस्तो जबाफ आएपछि मनथाम्न सकिन र भनेँ– ‘यहाँले पढ्नुभएको चिकित्सा विज्ञानको शब्दकोषमा बिरामी र तिनका आफन्तसँग बोल्ने नरम र सान्त्वनायुक्त शब्द पनि थिए कि डाक्टर साहेब?’
प्रायः त्यस अस्पतालमा अन्यत्रबाटै ‘रिफर’ भएका बिरामी जाने रहेछन्। भरतपुर क्यान्सर अस्पतालको गेटबाट भित्र छिर्ने प्रायः सबै बिरामी आफ्नो जीवन र मानौं कि संसारदेखि नै हारेको मन लिएर पस्दा रहेछन्। ती चहराइरहेका मनलाई मलम लगाउने बोली र व्यवहार चाहिन्छ त्यहाँ। तर चिकित्सक र स्टाफहरूबाट बिरलै सुन्न पाइन्छ यो। अहिले त सायद परिवर्तन पनि भयो होला, मैले १२ जर्षअघिको अवस्थाको अनुभव यहाँ पोख्दैछु।
चिकित्सा विज्ञान पढाइ महँगो र चिकित्सकलाई पैसा छाप्ने मेसिनको स्वरूप नेपाली समाजले नै निर्माण गरिदिएकाले होला चिकित्सक र बिरामीबीचको सौहार्दता घट्दो छ। यी दुईबीचको सौहार्दता र भावनाको स्थान अहिले मेसिनले लिइदिएको छ। भनिन्छ, चिकित्सक बिरामीबीचको सुमधुर वार्तालापले उसको आधाआधी रोग निको हुनसक्छ। तर चिकित्सकसँग बिरामीलाई दिने समय छैन। त्यसैले बिरामीसँग कुराकानी गर्नुभन्दा चिकित्सकले सुरूमै उसलाई ल्याब टेष्टमा पठाउँछन् र ल्याबको रिपोर्टमै भर पर्दछन्। तर मेरी दिदी कौशिलाको उपचारमा खटिएका मुनिस लाखेलगायतका केही चिकित्सकको मेहनतलाई भने मैले हृदयदेखि नै सम्मान गरेको छु।
छ महिनाको अस्पताल बसाइपछि घर दमेक लग्यौं दिदीलाई। तीन वर्ष निकै सक्रिय जीवन बिताउनुभयो। तर २०७० सालको मंसिरमा दिदीले बिदा लिनुभयो। तीन वर्षअघिको तिहारको मुखदेखि यो समयसम्मका दसैं तिहारले निकै पीडा दिएर गए। न राम्ररी जमरा उम्रिए, न त दहीमा अक्षता नै भिजे। मखमली, गोदाबरी, सयपत्री बोटमै ओइलाए, माला बनेनन्।
त्यसयता पनि कैयौं तिहार आए, गए। तर फूलका थुँगा बटुलेर माला बनाई हाम्रा गलामा लगाइदिने र दैलोमा ओखर फोडेर जिम भगाइदिने दिदीको अभाव खड्किएको भने दशक भयो।
दिदीले ४० वर्षको अल्पायुमै संसार छोडेर गएपछिका दसैं र तिहार हाम्रो त्यही पीडा बल्झाउन मात्र आएका हुन् कि जस्तो लाग्छ। तिहार लागेदेखि नै दिदीको याद आउँछ र त्यो तिहारको मुखको दर्दनाक परिवेश आँखै अगाडि आएर उभिन्छ। जुन तिहारमा दिदी हामीलाई टीका लाउन आउनुभयो र हामीले टीका थाप्न पाएनौँ, त्यो मात्र याद आउँछ। त्यसपछि पनि तिहारमा सेल पाकेका छन् र खाएका पनि छौं। तर पनि दिदीले पकाएकै सेलको मात्र सम्झना हुन्छ। उहाँले दमेकबाट ताजा घिउ ल्याउनुहुन्थ्यो र आफैले सेल पकाउनुहुन्थ्यो। तिहारको हरेक सेलमा यही मात्र सम्झना आउँछ। पछिल्ला वर्षहरूमा पर्वतबाट बहिनी कमला आउँछिन्, टीका पनि लगाइन्छ। तर उनले पनि दिदी नसम्झिएको तिहार हुँदैन। उही दिन नै सुँक्क सुँक्क गर्न थालेपछि हामी पनि मन थाम्न सक्दैनौं। दिदीले तिहारमा आउनै पर्नेछ त्यही बेला उपचार गरौंला भनेको मात्र कानमा गुञ्जिन्छ। अनि कता कता हीनताबोध पनि लाग्छ कि हामीलाई तिहारमा टीका लगाउनुपर्ने कर नभएको भए दिदी त्यसअघि नै उपचारमा आउनुहुन्थ्यो कि? कतै हाम्रा कारणले तिहार कुर्दा दिदीलाई रोगले गाल्न पो पुगेको हो कि?
भाग्य वा आयु लेख्छ रे भनिने भावीको कलम पनि पक्षपाती हुँदोरहेछ। उसले आफ्नै भाग्य चाहिँ कस्तो लेख्दो हो? अनि चराचर जगतलाई समान हुनुपर्ने भनिएको दैवको ‘न्याय’को तराजु पनि हामीलाई मात्र असमान भएको हो जस्तो लाग्दछ। आखिर यी अकल्पनीय आकस्मिकता र भवितव्यलाई प्रकृतिको नियमले बाँधिन्छ र चित्त बुझाउने अनेक बहाना खोजेर भन्ने गरिन्छ– आखिर एक पटक सबैलाई मर्नैपर्छ, कसैलाई ढिलो र कसैलाई चाँडो मात्र हो। दैवको लिला भन्दै उसको थाप्लोमा हालिदिएपछि आकाशै खसे पनि, धर्ती नै भासिए पनि सहेरै बस्नु बाहेकको अर्काे विकल्पै रहँदैन। हामी पनि त्यही नियममै आजसम्म बाँधिएका छौं।
आफ्नो सन्तान गुमाउँदाको पीडा कति असह्य हुँदोरहेछ भन्ने तथ्य शोकमा डुबेकी मेरी आमाको छटपटीमा देखेँ। साना भाञ्जाभाञ्जीको रूवाइको त झन् कुरै भएन। त्यो परिस्थिति बुझाउन लेख्ने अक्षर पाउन सायदै सकिएला। पीडालाई शब्दले व्यक्त गर्न निकै अब्बल शिल्पी चाहिन्छन्, जुन सामर्थ्य मसँग छैन र सक्दिनँ। यो देख्दा लाग्छ मेरी दिदी जस्तै अल्पायुमै संसार छोडेर जाने प्रियजनहरूका आमाबुबाले कसरी रात काटिरहेका होलान्? तिनका लालाबालाहरूलाई ममतामयी मातृत्व बिर्सन कति कष्ट सहनु परिरहेको होला?
साँच्चिकै पीडादायी हुँदोरहेछ मृत्यु। क्यान्सरको संक्रमण र बिमार फैलाउने कीटाणुको मापन गर्ने प्रविधि आधुनिक चिकित्सा विज्ञानसँग अहिले धेरै आएको छ। तर बिरामी र उनका आफन्तलाई दिने पीडाको मापन गर्ने मेसिन भने संसारमै कतै पाइँदोरहेनछ। त्यसैले मेरी आमाले मृत्युसँग प्रश्न गर्नुहुन्छ– कालको मान्छे छनोटको आधार के हो? मेरी दिदीलाई क्यान्सरको निहुँ पारेर ४० वर्षमै लाने मृत्युलाई उहाँले अविवेकी, अज्ञानी र क्रुर भनिरहनुभएको छ। उहाँको अनुभवले भन्छ मृत्यु जस्तो क्रुर र परपीडक यो संसारमा अरू कोही रहेनछ।
अहिले पनि सम्झिन्छु कि हामीलाई शोक परेको २०७० सालको कात्तिकमा क्यान्सरको पीडा नेपाली सञ्चार माध्यममा पनि धेरै पोखिएको थियो। महिनाको सुरूतिरै नायिका मनिषा कोइरालाले आफू पनि सङ्घर्षको मैदानमै रहेको अनुभव सुनाउँदै हुनुहुन्थ्यो। उहाँ लामो समय अमेरिकामा उपचार गराएर नेपाल आउनुभएको थयो। लामो समयसम्म नेपालको दुर्गम जिल्लामा बसेर गरिब नेपालीको स्वास्थ्य सेवामा समर्पित डा. चित्रप्रसाद वाग्लेलाई पनि त्यसको केही समयअघि क्यान्सरले लगेको थियो। वाग्लेलाई अरु १० वर्ष यो घातक सङ्क्रमणले नछोइदिएको भए गाउँघरका सयौं बिरामी मृत्युको मुखबाट जोगिने थिए होला।
अर्का एक जना स्रष्टा जगदिश घिमिरेको आत्मबलले पनि त्यसै महिना क्यान्सरसामू हार खाएको थियो। क्यान्सरको किटाणुसँग जुँधिरहेका नेपाली नागरिकका प्रेरणाका रूपमा जिउनुभएको थियो उहाँ। आत्मबलले जस्तोसुकै रोगलाई पनि जित्न सक्छ भन्ने उहाँको ‘अन्तरमनको यात्रा’ कृति मेरी दिदीका लागि पनि केहीसमय आयु तन्काउने सहारा बनेको थियो। जगदिश दाइलाई क्यान्सरको निहुँले आजका दिनसम्म नलगिदिएको भए उहाँको अन्तरमनले नेपाली साहित्यमा राम्रै यात्रा गथ्र्यो होला।
लक्ष्मीप्रसाद देवकोटा जस्ता नेपाली साहित्य आकाशका एक विराट प्रतिभाको चर्चा पनि तिहारकै मेसोमा हुन्छ। देवकोटाजस्ता महामानवलाई लैजाने मृत्युको सहयोगी क्यान्सरको कठोरताको झन् के कुरा गर्नु! उहाँलाई ५० वर्षमै लिएर जाने मृत्युले पनि क्यान्सरलाई नै निहूँ बनाएको थियो। हामी सानो र संसारका अघिल्तिर गरिब देश भएर मात्र हो नत्र साहित्यमा संसारकै यति ठूलो उचाइ ग्रहण गरेका उहाँलाई नोबेल पुरस्कारले पनि देख्थ्यो होला। उहाँ अरू १० वर्षमात्र हामीमाझ भइदिएको भए नेपाली साहित्यले संसार छुन्थ्यो होला।
नेपालमा बढ्दो देखिएको क्यान्सरको सङ्क्रमणको रोकथामका उपाय अपनाउन जरूरी छ। यसको रोकथाम खोज्नुभन्दा पनि रोग लाग्न नदिने चेतनालाई जनस्तरमासम्म पुर्याउने काममा सरकारका स्वास्थ्य कार्यक्रम लक्षित हुनुपर्दछ।
चिकित्सकहरूले आफूकहाँ आउने हरेक बिरामीलाई क्यान्सर र यसको रोकथामका लागि चेतना दिनु आवश्यक छ। मृत्युको पीडाबाट मेरी दिदीजसरी कसैले पनि अल्पायूमै जानुनपर्ने अवस्था कसरी बन्न सक्ला? यस बारेमा राज्यले सोच्नुपर्दछ।
व्यक्ति आफैले बिर्सन नहुने कुरा चाहिँ के हो भने क्यान्सरको सबैभन्दा ठूलो औषधि आत्मबल र दोस्रोमा खानपिन हो। क्यान्सर लागेपछि मलाई केही हुँदैन, म बाँच्नुपर्छ भन्ने आत्मबलले जिउनुपर्दछ। तागतयुक्त खाना नै क्यान्सरको औषधि हो। क्यान्सरका विरूद्ध लड्न बलियो हुनुपर्दछ र बलियो हुन तागतयुक्त खाना धेरै खानुपर्दछ। क्यान्सरलाई औषधि उपचारले भन्दा बढी आत्मबल र सन्तुलित आहारले जित्न सकिने धेरैको अनुभव छ।
यो आलेखको सुरूमै प्रस्तुत क्यान्सरले भन्दा बढी मलाई क्यान्सर लाग्यो भन्ने डरले मानिसलको ज्यान जान्छ रे भन्ने तथ्यको धेरै ठूलो अर्थ छ।
क्यान्सरलाई जित्न डराएर होइन बलियो मन बनाएर लड्नुपर्छ।
१२ वर्षअघिको मैले माथि गरेको स्मरणजस्तो अहिले छैन। अहिले त प्रविधिको विकासले क्यान्सरको उपचार सहज र सरल बन्दै गएकाले क्यान्सर निको पनि हुन थालेको छ। तर उपचार भने समयमै गराउनुपर्दछ।
सबै दिदीबहिनीको सुस्वास्थ्य र दीर्घायूको कामनासँगै तिहारको शुभकामना!