शीर्षकको मूल गेटभित्र पस्नु पहिले बाहिर बारीतिर, बगैँचातिर, आँगनतिर र पिँढीतिर एक छिन सुस्ताउनु छ।
संसारमा चिया पिउने चलनको सुरुआत चीनबाट भएको भन्ने जानकारीमा कुनै अनुसन्धाताले फरक मत जाहेर गरेकै छैनन्। मात्र भिन्नता यसको सुरुवाती समय र प्रसंगमा हो।
ईसा पूर्वको पाँचौँ/छैटौँ शताब्दीमा चीनमा एक भिक्षु थिए, बोधि धर्म नाम गरेका। चान बुद्दिजमका प्रवर्तक मानिएका उनी एउटा पर्खालको छेउमा नौ वर्षसम्म ध्यानमा रहे र ध्यानबाट ब्युँझिँदा उनका आँखाका परेली भुइँमा झरे। तिनै परेलीले जरा हाले र चियाको झाङको रूपमा विकसित भए। शाङ वंशको मिथकले यसै भन्छ।
चिया पिउने चलनका सम्बन्धमा पत्यार लाग्ने अलि अर्को मिथक छ चीनमै। शासक शेनोङले बगैँचामा उभिएर कपमा तातो पानी पिउँदै गरेको बेला कुनै पात त्यो पानीमा झर्यो र त्यसले पानीको रंग र स्वादमा परिवर्तन गरायो। त्यसरी फेरिएको पानी स्वादिलो हुनुका साथै पानी पिएपछि शेनोङको ज्यानमा छुट्टै स्फूर्ति भरिएर आयो। उनले त्यो पातको बिरुवा खोजे र त्यसपछि त्यसलाई नै आफ्नो पेयको रूपमा प्रयोग गर्न सुरु गरे। भनिन्छ, उनी हरेक बिरुवाको पात, डाँठ र जरा चपाउँथे अनि जब कुनै बिरुवाका ती भाग चपाउँदा शरीरमा नकारात्मक प्रभाव परेको चाल पाउँथे तब उनी चियाको पात चपाउँथे। त्यहीँबाट संसारमा चिया पिउने चलनको सुरुआत भयो। यो कुरा हो ईसा पूर्व २७३७ तिरको।
चियालाई विश्वव्यापी बनाउने श्रेय भने बेलायतले पाउँछ। पोर्चुगिज व्यापारीहरूले ईसाको १६ औँ शताब्दीतिर चिया पिउने चिनियाँ परम्परालाई युरोप पुर्याए अनि बेलायतले यसको एक किसिमको नेतृत्व गर्यो। बेलायतले आफ्नो चिया शासनलाई पछि ब्रिटिस इन्डियामार्फत भारतमा चिया खेतीको रूपमा अगाडि सार्यो र पूर्वी भारतले यसमा एकछत्र साम्राज्य फैलायो। दक्षिण- पूर्व चीन र उत्तरी म्यानमारको भूभागतिरबाट सुरु भएको चिया बोटको परम्परा पूर्वी भारतमा हुर्किएर संसारभर फैलियो। अहिले पनि संसारमा सबैभन्दा बढी चिया पिउने देश बेलायत नै हो भनिन्छ। र, सबैभन्दा बढी चिया उत्पादन हुने क्षेत्र पूर्वी भारत नै हो।
यो त भयो संसारमा चियाको सुरुआत र फैलावट।
उसो भए नेपालमा कसरी भित्रियो त?
नेपाली इतिहास हेर्ने हो भने नेपालमा चियाको चलन कलकत्ताबाट फर्कने लाहुरेहरूले भित्र्याएको देखिन्छ। पाहुरका रूपमा चियाको पात सुकाएर ल्याउने र आफन्तलाई खान सिकाउने चलनबाट नेपालमा चिया पिउने संस्कार भित्रियो र फैलियो। जंगबहादुरको पालामा त उनले चियाको बोट उपहारस्वरूप पश्चिमबाट प्राप्त गरे र इलामको माटोले नेपालमा पहिलो चोटि चियाको बोट हुर्काउने अवसर प्राप्त गर्यो।
यो सबै प्रसंग तपाईं हामीले भन्ने गरेको कालो चियाको हो।
संसारमा जनावरको दूध दुहेर पिउने चलनको सुरुआत आजभन्दा नौ हजार वर्ष पहिले टर्कीबाट सुरु भएको देखिन्छ। तर यसको अर्थ यो होइन, चियामा दूध हालेर पकाउने चलन पनि त्यहीँ सुरु भयो। दूध चियाको चलन सुरु भएको भौगोलिक क्षेत्रको इपिसेन्टर एउटै भेटिँदैन। प्राचीन तिब्बती इतिहासमा चौँरीको घ्यू पेय पदार्थमा राखेर पिउने चलनको सुरुआत भएको र चियामा दूध हालेर पकाउने चलन पनि त्यहीँ सुरु भएको पाइन्छ भने केही पश्चिमा साहित्यहरूमा बेलायतमा सबैभन्दा पहिले चियामा दूधको प्रयोगको सुरुआत भएको जानकारी उल्लेख भएको देखिन्छ।
एक लेखमा लेखिएको छ- तातो पानीमा चियाको पात अलि धेरै हालेर पकाउँदा तितो भएकाले मिठास ल्याउन दूधको प्रयोग भएको हो। केही भारतीय लेखहरूमा भने दूध चियाको प्रवर्तक भारत भूमि हो भनेर यकिन गर्ने प्रयास गरेको देखिन्छ। जे होस, दूध चियाको व्यापकता हेर्दा भारतीय भूमिमा यसको चलन सुरु भएको हो भनेर अन्दाज गर्ने प्रशस्तै आधार भेटिन्छन् र नेपालमा पनि भारतीय संस्कृतिबाट नै दूध चिया भित्रिएको प्रसंगलाई अन्यथा भन्न मिल्ने ठाउँ भेटिन्न।
दूध चिया पो चिया त!
केही साथीहरू छन् मलाई दूध चियासँग पर्यायवाचीका रूपमा बुझ्ने। नबुझुन् पनि किन र कसरी त? अरू कसैले कालो चिया पिएको देख्दा पनि नाक अलिकति उचालिएर खुम्चन्छ मेरो। त्यो प्रतिक्रिया नियोजित होइन, अवचेतन मस्तिष्कले नै त्यो आदेश दिन्छ होला नाकलाई। मस्तिष्कको आदेश कसरी नमानोस् त नि नाकले!
फेसबुकको भित्तोमा प्रायः दूध चियाका तस्बिर र त्यसैसँग सम्बन्धित सायरी पोस्ट गरिरहेको हेरेकी मेरी सानी छोरीले मलाई बेलाबेला जिस्काउँछे र भन्छे- ‘बाबा, बरु मेरो नाम अक्षता नराखेर दूध चिया राखिदिएको भए हुन्थ्यो नि।’
उसको यो भनाइ सोझो हैन, लाक्षणिक अर्थको छ। मलाई निधारमा अक्षता मन पर्दैन तर छोरीको नाम नै अक्षता भनेर राखेको छु। अर्कोतिर मलाई सबैभन्दा मन पर्ने पेय दूध चिया नै हो र उसलाई आफ्नो बाबालाई सबैभन्दा मन पर्ने कुरा नै आफ्नो नाम भइदिए हुन्थ्यो भन्ने पनि लाग्दो हो। खैर, जे होस मलाई दूध हालेको चिया मात्रै चिया जस्तो लाग्छ, कालो चियाले त जिब्रो बाबरी फूलको दानाले जस्तै बनाउँछ।
दूध चियाको पारखीको रूपमा बुझ्ने केही साथीहरूले केही वर्ष अघिदेखि नै भन्दै थिए- ‘पिउने मात्रै कि लेख्ने पनि?’
मैले मनमनै लेख्ने भनेर आफैँलाई भने पनि लेख्ने साइत निकाल्न सकेको थिइनँ। दूध चिया सुरुप्प पारेर पिउन पो सजिलो छ त, लेखन कहाँ सजिलो विषय हो र!
दूध चियाको यो लेख लेख्न बस्दा मेरो अघिल्तिर बाफ उडाउँदै दूध चियाको ठुलो गिलासले मलाई हेरिरहेछ। कागबेनीको यो ठाउँमा बाहिर बतास बत्तिँदै उड्दै छ त भित्र कोठामा चियाको हर्र वासना भरिएको छ।
कुनै बेला थियो, बिहान उठ्नासाथ खाली पेटमै दूध चिया पिउँथेँ। काठमाडौँमा क्याम्पस पढ्न बसेको बेला बिहानदेखि मध्यरातसम्म सोह्र गिलाससम्म चिया पिएका दैनिकी ताजै छन्। सुन्दैमा पत्यार नलाग्ला जस्तो यो प्रसंगका जानकार मेरा आफन्तहरू नै छन्।
दूध चियाको त्यो लत बसेको भने दस कक्षादेखि हो। त्यो लतसँग आजसम्म म साथै यात्रा गरिरहेछु। चिया पिएपछि निद्रा लाग्दैन र रातभरि पढ्न सकिन्छ भनेर चिया पिउने त्यो असाध्यै बानी बसालेको म, बानीलाई उठाएर कतै घुम्न पठाउन सकेकै छैन। लगभग एक बिस उमेरको हाम्रो प्रेम अहिले पनि उत्तिकै मिठो छ जति मिठो हुन्छ क्याम्पस पढ्ने बेलाको पहिलो प्रेम।
दूध चियाको प्रसंगमा मैले छुटाउनै नहुने कुरा हो मेरा हजुरबाले भन्ने गरेको मेरो गाउँको एउटा घटना। गाउँमा आरन चलाएर बस्ने मेरो हजुरबाको पुस्ताको एक जना हुनुहुन्छ। आजभन्दा लगभग पैँतालिस वर्ष पुरानो कुरा हो। असारको महिना। रोपाइँको चटारो। राति पानी पर्यो भने भोली रोपाई गर्ने सोचेर सुत्नुभएका मेरा हजुरबाका बा। राति ठुलै झरी परेछ। आधा रातमै जुरुक्क उठेर गाउँको सिरानमा रहेको टोलतिर हर्बा (हलो जोत्ने मानिस) भन्न निस्कनु भएछ। निस्कँदै गर्दा आरन चलाउने तिनै बाको घरको आँगनबाटै निस्कनुपर्थ्यो। बाटो अहिले पनि त्यहीँबाट छ, मात्र अहिले आँगनबाट हिँड्नु पर्दैन, आँगन अगाडिको बारी छेउबाट बाटो छ।
आधा रातमा ती आरन चलाउने बाले पिँढीसँगको अगेनामा घसेटा सल्काएको देखेपछि सोध्नुभएछ- ‘हैन ए कान्छा दाइ, आधा रातमा किन आगो सल्काएको?’
ती कान्छा दाइले भनेछन्, ‘चाहा खान मन लार हो साहुका कान्छा दाइ।’
फेरि सोध्नुभएछ मेरा हजुरबाका बाले, ‘अनि यो आधा रातमा क्यार्न चाहा खान परो नसुते?’
त्यो प्रश्नको जवाफमा ती कान्छा दाइले भनेको उत्तर मेरो लागि अहिले पनि ठ्याम्मै मिल्छ। भन्नुभएछ- ‘दूध चाहा भनेको दूध चाहा हो के साहुका कान्छा दाइ। अम्मलीलाई पो थाहा हुन्छ आधा रातमा चाहा खाँदाको मज्जा।’
यो प्रसंग अहिले पनि मेरो हजुरबाले सुनाइरहनु हुन्छ, घरमा ठुलो गिलासभरि चिया लिएर बसेको बेला। मलाई भने मज्जा लाग्छ।
जिब्रोमा दूध चियाको पहिलो स्पर्श जति मिठो कुरा के होला संसारमा! मनै फुरुङ्ङ हुन्छ त्यो चियाको वासना मात्रैले पनि। दिमाग पनि जुरुक्क उठेर माना पाथी हिमाल चढ्न हिँडे जस्तो जाँगर चल्छ। हिउँदमा सुतिरहेको सर्पजस्तो भएको दिमागी सृजनशीलता एकाएक एडिसनका आविष्कारजस्तो हुन्छ। लट्टिएका आँखाका परेलीमा बेग्लै बेग्लै जोस चल्छ, आँखाभित्र ओइलाएका सपनाहरू फेरि ढकमक्क फुल्न थाल्छन्। थाकेको मन जुरुक्क उठ्छ चौपारिबाट र भारी बोकेर दौडन थाल्छ जमैकाली उसेन बोल्ट दौडजस्तो गरी। नशा नशामा रगत माक्तिएर बग्न थाल्छन्, भारतीय शास्त्रीय नृत्याङ्गना रुक्मनी देवी जस्तो गरी मुटुले नाच्न थाल्छ, फोक्सोले अरू बेलाभन्दा केही बोरा बढी नै मिठो हावा भरेर बस्छ, बतासमा नाचेको गहुँ बारीजस्तो छाती बनिदिन्छ र सबैभन्दा बढी हातका औँलाहरू खुसी हुन्छन्।
संसारमा सबैभन्दा मिठो वासना दूध चियाकै लाग्छ, सबैभन्दा मिठो स्वाद यसकै लाग्छ। घरीघरी त लाग्छ दूध चिया आफैँमा एउटा रोदीघर हो र यसले गीत गुनगुनाइरहन्छ। दूध चिया ईश्वर हो र जिन्दगीलाई माया गर्न सिकाइरहन्छ।
दूध चिया खाने चलन चलाउने त्यो अज्ञात पुस्ताप्रति मनैदेखि आभार!
घरबाट सुरु भएको मेरो दूध चियाको जिन्दगी आफ्नै कोठामा मात्रै सीमित कसरी गर्न सक्छु र! जागिरको सिलसिलामा कति अफिसमा पुगेर दूध चिया पनि के चिया भन्ने साथीहरूको दर्शन नै फेरेको छु र दूध चियासँगको अमर प्रेम कहानी सुरुआत गराएको छु। भन्नेहरूले त भन्लान्, दूध चियाले स्वास्थ्य बिगार्छ, खानु पिउनु हुँदैन भनेर पनि। मलाई थाहा छ, रामकृष्ण ढकालको एउटा गीत जस्तो ‘ती त सब भन्ने कुरा न हुन्।’
मनै देखिको प्रेमी पनि कहीँ निर्दयी हुन सक्छ! धूम्रपान, मद्यपान पो नमिठो त, चियापान त वरदान हो, त्यो पनि दूध हालेर पकाएको सेतो चिया। रक्सी हेर्नै हुँदैन भनेर सिद्धान्त भट्याउनेहरूको साँझ रक्सी बिना खल्लो हुन्छ। हो त्यस्तै हो दूध चिया पनि। भन्नलाई भन्ने तर मनलाई चाहिने, ज्यानलाई चाहिने। यो किन पनि भने दूध चिया सुन्दरताको पर्याय पनि हो, भित्री मनको सुन्दरताको।
यति भनेर कालो चियाको विरुद्धमा लेखकीय आन्दोलन गरेको भने पक्कै होइन।
अब कुरा गरौँ दूध चियाको सहरी चलनका सम्बन्धमा।
नेपालमा चिया पसलको सुरुआत कसले गर्यो भनेर ठोकुवा नै गर्न सकिने कुनै आधार र प्रमाण नभेटिए पनि विसं २००२ सालतिर चिया पसल खुलेका तथ्य भने भेटिन्छन्। वरिष्ठ पत्रकार भैरव रिसालको सम्झन्छन्- त्यो बेलातिर उनी धरहरा छेउको तिलौरी माइलाको चिया पसलमा चियाको ग्राहक बनेका थिए। विसं २००५ सालतिर नेपाली सेनाबाट अवकाश प्राप्त कृष्णबहादुर क्षेत्रीले डिल्लीबजारमा चिया पसल खोलेको थिए। लप्टनको चिया पसल भनेर चिनिने त्यो चिया पसलका केही किस्साहरू कतै कतै पढ्न पाइन्छ। अचेल दूध चिया पसल नपाइने कुनै होटेल छैनन्। राजधानीदेखि अनकन्टार हिमाली भेगका छाप्ने होटेलसम्म नै दूध चिया पाइन्छ फरक फरक स्वादमा। ठुला सहरहरूमा त चिया पसल ब्रान्डकै रूपमा स्थापित भइसकेका छन्। कति त्यस्ता पसल चेन पसलको रूपमा फरक फरक सहरमा फैलिरहेका छन् पनि। मट्का चिया, बबल चिया, कटिङ चिया धेरै चिया पारखीले मन पराएका चिया ब्रान्ड नै बनेका छन्। चिया ब्रान्डको अघोषित व्यापार युद्ध नै सुरु भएको कुरालाई नकार्न सकिँदैन। र, यो सबै दूध चियाको लोकप्रियताको कथा हो।
नेपालमा मात्रै होइन, विश्वभरि अचेल दूध चियाको लोकप्रियताको ग्राफ बढ्दो छ, चढ्दो छ। खास गरी एसियाली भूमिमा बढी लोकप्रिय भएको दूध चिया विश्वव्यापी बसाइसराइका कारण पश्चिमेली दुनियाँका जिब्रोहरूमा पनि रजगज गर्न लागेको छ। एसियाली भूमिमा दूध चिया पिउने चलनको बारेमा अध्ययन गरेका लि र एमको सन २०१९ मा प्रकाशित सोधअनुसार सन् २०११ को तुलनामा इन्डोनेसियामा ८५०० प्रतिशत, फिलिपिन्समा ३५०० प्रतिशत, थाइल्यान्डमा ३००० प्रतिशत, भियतनाममा १५०० प्रतिशत, सिंगापुरमा ७०० प्रतिशत र मलेसियामा २५० प्रतिशतले दूध चिया पिउने चलनको वृद्धि भएको देखिन्छ।
त्यस्तै विश्व दूध चिया बजारको बारेमा भएको एक अनुसन्धानले देखाएको छ, सन् २०२१ लाई आधार वर्षको रूपमा लिँदा २०२७ सम्ममा यसको बजार ५.८ प्रतिशतले वृद्धि भएर विश्व बजारमा यस क्षेत्रको अर्थतन्त्र २६.४ बिलियन अमेरिकी डलरको हुनेछ। सन् २०२१ मा विश्व दूध चिया बजारको क्षेत्रगत हिस्सा ओगट्नेमा एसिया प्यासिफिक ४१ प्रतिशत, उत्तर अमेरिका २७ प्रतिशत, युरोप २१ प्रतिशत, दक्षिण अमेरिका ७ प्रतिशत र बाँकी विश्वमा ४ प्रतिशत रहेको समेत सो अध्ययनले देखाएको छ।
यी सबै अध्ययन र तथ्यले देखाएको एउटै निचोड के हो भने विश्व बजारमा दूध चियाको लोकप्रियता बढ्दो छ। दूध चियाका बेफाइदा बारेमा प्रचार गरिएका विषयवस्तु आफ्नो ठाउँमा सही होलान् तर यसको लोकप्रियतालाई रोकेर रोकिने देखिँदैन।
धन्य छ, संसारको यति मीठो पेय परिकार तपाईं हाम्रो दैनिकी बनेको छ। तपाईं हाम्रो मन मनमा, नशा नशामा रजगज गरेको छ यसले।
दूध चिया पिउने चलन चलाउने त्यो अज्ञात पुस्ताप्रति मनैदेखि पुनः आभार।