प्रिय आयरा,
म तिमीलाई जन्मदिनको अवसरमा आज यो पत्र लेख्दै छु। मलाई थाहा छ तिमीले यो पत्र पढ्न सक्ने छैनौ। सायद केही वर्षपछि जब तिमी विद्यालय जानेछौ अनि अक्षरहरू चिन्ने छौ, भाषासँग परिचित हुनेछौ र यो पत्र पढ्ने छौ।
मानिसका लागि के कुरा महत्त्वपूर्ण हुन्छ भन्ने कुरा सायद उसको उमेरले पनि निर्धारण गर्ने रहेछ। मलाई थाहा छ तिमी भर्खर दुई वर्ष पुग्दै छौ– तिमीले के सोचिरहेकी छौ सायद भाषाको अभावमा तिमीले व्यक्त गर्न सक्दिनौ तर सायद भाषाभन्दा पर पनि केही छ जहाँ अभिव्यक्ति छ। सायद तिनै सङ्केतहरूमा तिनै मौनतामा तिमीले आफूलाई अभिव्यक्त गरिरहेकी छौ।
कहिलेकाहीँ लाग्थ्यो एउटा मानिसको महत्त्व कति हुन्छ होला भनेर त्यसपछि नोभेम्बरको एक बिहान तिमी आयौ। अहिले लागिरहेको छ एउटा मानिस कसरी कसैको लागि सबथोक हुन सक्छ। तिमी हाम्रो जीवनको उज्यालो हौ। निराशाका दिनमा, थाकेको बेलामा साहस र ऊर्जाको स्रोत तिमी हौ। तिमी हाम्रो सुन्दर गन्तव्य हौ।
सधैँ लाग्थ्यो दूरीको खास अर्थ छैन। तर मेरा बुझाइहरू अपूर्ण रहेछन्। अस्ट्रेलियाको यो आधुनिक सहरमा बसिरहँदा प्रत्येक पल म यही दूरीको कारण तिम्रो नजिक छैन। तर सायद दूरी केही वर्षपछि मेटिने छन्। आशा छ, जब तिम्रो परिचय अक्षरहरूसँग हुनेछ र तिमीले यो पत्र पढ्ने छौ तिमी हामीसँगै हुनेछौ।
प्रिय आयरा, अस्ट्रेलियाको यो आकाशको कुनै तारा तिम्रो जस्तै उज्यालो छैन, यहाँ फुल्ने कुनै फूल तिम्रो मुस्कान जत्तिकै मधुर छैन। यहाँको निलो समुद्र तिम्रो नयनजस्तै गहिरो छैन। अनि यो भूमि माथि नाच्ने कङ्गारुको उफ्राइ तिम्रो उमङ्ग जत्तिकै उच्च छैन। एउटा मानिसको अनुपस्थितिले सारा कुरा फिका बनाउने रहेछ। सायद यही जून, यही घाम तिमी नजिकै भएको भए कति सुन्दर हुने थिए। सायद समुद्रको किनारमा तिमी नाच्ने थियौ अनि त्यो कति सुन्दर पल हुने थियो हाम्रा लागि।
यहाँ हरेक दिन, हरेक क्षण तिमीलाई सम्झन्छौँ। तिम्रो त्यो मुस्कान, तिम्रो तोते बोली, तिम्रा चालेका पाइलाको आवाज सबै सबैको सम्झना आउँछ। प्रत्येक स्मृतिहरू जुन तिमीसँग जोडिएका छन् ती सबै कुराको हामीलाई धेरै सम्झना आउँछ। तिमीले पहिलो पटक पाइला चाल्दा मेरो मनको धर्ती हल्लिएको थियो। तिमीले सानो स्वरले ‘बाबा’ भन्दै बोलाउँदा मेरो हृदयमा सधैँका लागि एउटा मिठो गीत गुन्जिएको थियो जसको प्रतिध्वनि म सधैँ महसुस गर्दछु।
तिम्रो मुस्कानले यो हाम्रो संसारमा जुन उज्यालो ल्यायो, त्यो कुनै सूर्यले ल्याउन सक्दैन। तिमी जब हाँस्छ्यौ, सारा आकाशले तिमीलाई साथ दिइरहनेजस्ता लाग्छन्। तिमीबिना हाम्रा दिनहरू खाली लाग्छ अनि रातहरू अधुरो। तिम्रो सम्झनाले हाम्रो मन भरिन्छ अनि आँखा रसाउँछन्। विरक्त लागेको साँझ, व्यथै व्यथाको सिरानी हालेर जब आकाश हेर्छु, यतै कतै मेरो मन अल्झिएको पाउँछु; तिम्रा यादहरू हिमाल झैँ अग्लिएका छन्, तराई झैँ लमतन्न तेर्सिएका छन्। तिमीसम्म पुग्ने रहरको बाटो पहिल्याउँछु। अनि मनमनै गाँठो पारेर पल्टिन्छु।
तर सायद प्रतीक्षाहरू पनि सुन्दर हुन्छन् होला। हामी त्यही सुन्दर दिनको प्रतीक्षामा छौँ। छिट्टै हामी तिम्रो समीपमा हुनेछौँ। छिट्टै तिमीले तोते बोलीमा गीत गाएको सुन्ने छौ। छिट्टै तिमीलाई काँधमा राखेर हाम्रा गाउँहरू डुलाउने छौँ। तिमीले कुनै दिन यो पत्र पढ्यौ भने हामी तिमीलाई एउटा मात्र कुरा भन्न चाहन्छौँ- प्रिय छोरी तिमीलाई तिम्रा बुवा आमाले धेरै माया गर्छन्।
कात्तिक महिनाको एक साँझ हामी तिम्रो आगमन कुरिरहेका थियौँ, प्रादेशिक अस्पतालमा। पहिलो पटक तिमीलाई देख्दा हाम्रा आँखा खुसीले रसाएका थिए। पहिलो पटक तिमीलाई काखमा लिँदा हामीले आफूलाई भाग्यमानी महसुस गरेका थियौँ। तिमी हाम्रो जीवनमा एउटा उत्सव बनेर आएकी छौ। तिम्रो उपस्थितिले हाम्रो जीवनको सार्थकता बढाएको छ। हामीलाई अझ असल मानिस बन्न प्रेरित गरिरहेको छ तिम्रो भव्य आगमनले। तिम्रो जन्मदिन हाम्रो लागि एउटा उत्सव हो।
प्रिय आयरा, तिमीलाई जन्मदिनको अपरिमित शुभकामना। तिमीले कतै मन्दिरहरूमा प्रार्थना गरिरहेकी देख्यौ भने सम्झनु तिम्रो आमा र बुवाले सात समुद्र पारिबाट तिमीलाई शुभकामनाहरू पठाइरहेका छन्। तिमीले कतै मन्दिरमा घण्टी बजिरहेको देख्यौ भने बुझ्नु तिम्रो आमा र बुवाले तिमीलाई टाढाबाट तिम्रो लागि शुभेच्छाहरू पठाइरहेका छन्। प्रिय छोरी, हामी तिमीलाई चाँडै भेट्न पाउने दिनको प्रतीक्षा गरिरहेका छौँ।
धेरै धेरै माया, सम्झना र आशीर्वाद!
उही तिमीलाई धेरै माया गर्ने
तिम्रो बुवा र आमा!