उमेरले तीन वर्ष जेठी भए पनि दिदीलाई ‘तँ’ भन्ने बानी बस्यो, अहिले पनि सुध्रेको छैन। दिदी भन्यो अनि तँ भन्यो यस्तै चल्छ हाम्रो। कहिले कसो तिमीसम्म भनिन्छ साह्रै माया लागेर सम्बोधन गर्दा। हुन त दिदीलाई पनि भाइले तँ भनेर अनादर गर्यो भन्ने छैन होला। त्यस्तो गाह्रो मानेको, मन सानो बनाएको आभास अहिलेसम्म भएको छैन।
आज साँझतिर दिदीसँग निकै समय भिडिओ कलमा गफगाफ भयो। समय, परिवेश र माहौलले होला हाम्रो आजसम्मका तिहार हामीले सके जति सम्झिँदै कहिले हाँस्ने त कहिले न्याउरो मुख बनाउने सिलसिला चलिरह्यो।
हामी केटाकेटी हुँदाको बखत खान लाउन मुस्किल नै पर्थ्यो। त्यस्तो बेला मेरी केटाकेटी दिदीलाई चाउचाउ बिस्कुट खाने, घुम्न जाने मन भएर पनि आफ्ना रहर मारेर बर्खे बिदाभरि मेला पर्म गरेर कमाएको पैसा बचाएर राख्थिन्; तिहारमा टीका लाएर मलाई टिसर्ट र पाइन्ट दिनलाई।
हुन त दसैँमा पनि हरेक वर्ष आकाशे रङको सर्ट र निलो पाइन्ट घरबाट हाल्दिनु हुन्थ्यो जुन म र दिदी पढ्ने सामुदायिक विद्यालयको ड्रेस हो। सामान्यतया दसैँमा नयाँ स्कुल ड्रेस लाएर हामी गाउँभरि डुल्थ्यौँ टीका लगाउन, पिङ खेल्न, गाउँमा काटिने खसीको कान खान अनि विशेष त छुट्टीको समयमा साथीहरूसँग खेल्न।
सियोले उनेको सयपत्री फूलको माला साँझ घर फर्किँदा केही थुङ्गा मात्र फूल बाँकी राखेर जनै जसरी छड्के लाएर घर फर्किने म भाइटिकापछि दिदीलाई दक्षिणा दिने बेला बिना संकोच दश रुपैयाँदेखि बढीमा बिस रुपैयाँ दिन्थे। चेलीबेटी अभावमा खाली निधार लिएर घरै बस्ने बाबाले आफै टीका लाउनुहुन्थ्यो भने आफ्नी दिदीलाई कति दक्षिणा दिनुहुन्थ्यो होला त्यो त थाहा थिएन तर मलाई त्यही २० रुपैयाँको नोट थमाएर ‘अहिले यति नै दिनू दिदीलाई, पछि कमाएर दिन्छु भन्नू है’ भनेर सिकाउन कुनै साल पनि छुटाउनु भएन।
म आज परदेशमा बसेर श्रम गर्दै छु, केही कमाउँछु पनि। सानो छँदा ठुलो भएर कमाउँछु अनि कुर्था दिन्छु है भन्ने म आज दिदीको प्रिय पोसाक कुर्थासहित अनेकौँ सामाग्री पठाइदिन्छु। तिहारलाई छुट्टै उपहार पनि नपठाएको त हैन तर दिदीलाई उपहार मात्र पुग्छ; तिहार यतै मसँगै रुमलिएर बस्छ।
यहाँ त अझ न दिदी आउँछे न त तिहार नै। यहाँ त गाउँको देउसी पनि आउँदैन। आउँछ त केवल छरपस्ट टीका र मालामा सजिएका फोटाहरू जुन मुटु टुक्रा टुक्रा बनाएर आँखा रसाउने, घर अनि दिदीको यादले सताउने प्रमुख कारक हुन्।
थाहा छैन तिहारको दिन दिदीले फोन गरेर आफ्नै मोबाइलको स्क्रिनमा मेरो निधार सम्झिँदै टीका लगाएर पागलपन देखाउँछे कि देखाउँदिन, टीका लाउँदा चम्किलो देखिने त्यो अनुहारमा त्यो पल कालो बादल मडारिएला कि शान्त रहला! थाहा छैन त्यो पल म आफूलाई बाँध्न सक्छु कि दिदीसँगै रोइदिन्छु भनेर पनि।
मलाई यति थाहा छ दिदी, तिमीलाई उपहार दिन सक्ने भएको भाइ भाइटिकामा तिम्रो हातको टीका लाउन पाउने छैन। तिमीले बुनेको मखमली र सयपत्रीको माला गलामा पहिरिन पाउने छैन अनि थाहा छ दिदी तिमीलाई सम्झेर भाइले आँसु पनि थाम्न सक्ने छैन।
तिहार नजिकिँदै गर्दा हरपल मन पिरोलिरहन्छ। ढकमक्क फुलेका फूलले दिदीको मन खुसी बनाउँछ कि बनाउँदैन होला! बजारभरि बेच्न राखिएका भाइ मसला, ओखरले मनमा उमंग ल्याउला कि खिन्नता? झिलिमिलीले बलेका बत्तीको चम्किलो उज्यालोमा दिदीले प्यारो भाइको अनुहार खोज्छिन् कि खोज्दिनन् होला? रेडियो टेलिभिजनमा बज्ने देउसी-भैलीका गीतले, मादलुको तालले बहकाउला कि छटपटिएको मनलाई फकाउला?
म यो सबै तिमिलाई सोध्न चाहन्थे तर सकिनँ। मेरो विवशतालाई बुझेर निष्ठुर भयो भाइ नभन्देऊ है! यो साल अब यस्तै भयो अर्को कुनै साल दिदीभाइ तिहारमै भेटौँला। अहिले गाउँमा देउसी खेल्नू, घर झिलिमिली बनाउनू, भाइलाई आशीर्वाद दिनू तर नरुनू। अनि अब केही वर्ष भाइटिकामा आँगनीको डिलमा ओखर फोर्ने रहर नगर्नू है दिदी।