टिनिनी टिनिनी मोबाइलमा घण्टी बज्यो, मैले हुर्रिएर मोबाइल टिपेँ र हेरेँ, बहिनीको फोन रहेछ। फोन उठाएँ, बहिनी उताबाट बोली– नेट छैन? म्यासेन्जरमा फोनै लागेन त! मैले छोटो उत्तर दिएँ– छैन।
हामीले सामान्य सञ्चोबिसञ्चो सोधपुछ गर्यौं र नेट आएपछि कुरा गरौंला है भन्दै फोन राख्यौं।
आजभोलि जमाना बदलिएको छ। मोबाइलमा फोन आएर बज्नु त दुर्लभ भैसक्यो। आजभोलि त कि म्यासेन्जर, कि भाइबर, कि ह्वाट्सएप खै के केमा हो के केमा आउँछ फोन पनि।
तर, जब मोबाइलमा फोनको रिङ्टोन बज्छ मलाई मेरी आमाको याद आउँछ।
प्रत्येक दिन मोबाइलमा रिङ्टोन बज्थ्यो 'आमा' भनेर सेभ गरेको नम्बरबाट फोन आएको हुन्थ्यो। फोन उठायो, 'हेलो। अँ, स्कुलबाट कतिबेला आइस्, खाजा खाइस्, गान्टुको के छ , सञ्चै छौ?' यस्ता कैयौं प्रश्न एकैचोटी ओइरिन्थे अनि म हाँस्दै आइसकेँ त, सबै ठिकै छ, बरू त्यता के छ, सञ्चै हुनुहुन्छ नि आमा?' भन्थेँ।
हाम्रो सधैंको भलाकुसारी यसरी सुरू हुन्थ्यो।
आमा साँझ ठिक भए बिहान उठ्दा बिरामी, कहिले बिहान ठिक भए साँझ बिरामी। आमामा दीर्घ रोग थियो। कुनै दिन सधैं बज्ने समयमा फोन बजेन भने थाहा हुन्थ्यो आमालाई पक्कै सञ्चो छैन भनेर।
अनि मैले फोन गर्थें, उताबाट आमाको मधुरो स्वर आउँथ्यो। 'सञ्चो भएन?' मैले सोध्थेँ। 'ठिकै छु' भन्नुहुन्थ्यो। टाढा छे पीर गर्छे भनेर कहिल्यै सञ्चो छैन भन्नुहुन्नथ्यो। अनि मैले बोली त सञ्चो नभएजस्तो छ त, भने भनेँ बल्ल 'अँ, अलि अलि ज्वरो आएको छ, घाँटी बसेजस्तो भएको जस्तो भएको छ, शरीर दुखेको छ' यस्तै भन्नुहुन्थ्यो।
आमा उमेरले धेरै हुनुभएको थिएन, तर उहाँ बाथको बिरामी हुनुहुन्थ्यो। फोक्सोको समस्या थियो। महिनामा एक, दुई पटक ज्वरो आउनु सामान्यजस्तै भैसकेको थियो आमालाई। तर यत्तिको बिरामीमा आमा सिरान लाएर सुत्नुहुन्न थियो। घरका सामान्य काम एकछिन नबसी गरिरहने बानी थियो। हामी कराउँथ्यौं, 'सञ्चो नहुँदा त रेस्ट गरेर बस्नु न।' आमा भन्नुहुन्थ्यो, 'यत्तिको त म सधैँ त हो नि, सुत्यो भने झन् च्याप्छ के, सकेको गरिरहनु पर्छ।'
सधैं वर्षजस्तै यो वर्ष पनि तिज आयो अनि गयो पनि। केटाकेटीमा चाडपर्व भनेपछि कति दिन अगाडिदेखि फुुरुङ्ग हुने हामी अब त कुनै चाडपर्व नआए हुन्थ्यो जस्तो लाग्छ। 'तिज आउन लाग्यो, कति दिन छुट्टी छ, एकदुई दिन छुट्टी मिलाएर आउन मिल्दैन ? मिलाएर आइज न' भन्दै बोलाउने आमाको मिठो बोली एकादेशको कथा बनिसकेको थियो।
'दसैंमा घर कहिले जान्छौ? यता आउने टिकट पनि समयमै गर्नु नि, फेरि ढिलो गरे नपाइएला, तिहारमा मिलाएर यतै आऊ, सबै सँगै मान्नुपर्छ, म बाँच्दासम्म बाँडिएर तिहार मान्न पाउँदैनौ, पछि जे गर्नु गर्नु' आदि इत्यादि चाडपर्व आउँदा आमाका हरेक वर्षका इच्छा यस्तै यस्तै हुन्थे, जुन आमाका ती शब्द अहिले चाडपर्व नजिकिँदा हरबखत कानमा गुञ्जिरहन्छन्।
साँच्चै, आमा यति छिट्टै भगवानको प्यारो हुनुहुन्छ भन्ने थाहा भएको भए जसरी पनि जान्थेँ होला तर भगवानले पनि हामीसँग छल गरे, लामो व्यथा नभई बोल्दाबोल्दै आमालाई लगे। घर छोडेको उन्नाइस वर्षको बीचमा जम्मा एकपटक आमासँग तिज मान्ने अवसर जुरेको थियो, जहिले छुट्टी छैन अर्को वर्ष आउँला भन्दाभन्दै वर्ष बिते तर अब छुट्टी मिले पनि आमा कताकता ...खै।
थाहा छ आमा तिमीले, देख्छ्यौ होला नि है। म हरेक चाडवाडमा ‘आमा’ भनेर सेभ गरेको मोबाइल नम्बरबाट फोन आउँछ कि भनेर कति कुरेर बस्छु। स्कुलबाट आइस्, खाजा खाइस्, गान्टु के गर्दैछ? त्यहीँ प्रश्न सुन्न पाउँछु कि भनेर स्कुलबाट आएर मोबाइल सँगै राखेर बस्छु तर अहँ, तिम्रो फोन कहिल्यै आउँदैन आमा।
मलाई थाहा छ आमा अब तिम्रो फोन कहिल्यै आउँदैन, तर पनि आमा भनेर सेभ गरेको त्यहीँ मोबाइल नम्बर खोजेर हेरेर टोलाएर बस्छु। त्यो नम्बर छैन अब भनेर डिलिट गर्न पनि सक्दिनँ। कसैले तेरी आमासँग भेट हुन्छ भन्दियो भने त म पनि तिमी भएकै ठाउँमा आएर तिम्रो काखका शिर राखेर धित मरून्जेल रुन्थेँ जस्तो पनि लाग्छ।
आमा, साँच्चै तिमी नाता सम्बन्धकी कडी रहिछौ नि। तिमीलाई थाहा छ, पहिला तिमी हुँदा लाग्थ्यो हाम्रा आफन्त, इष्टमित्र कति हो कति छन्, जता फर्के पनि आङ्खनै आङ्खना। तिमी निस्वार्थ र ठूलो मन भएकी, इष्टमित्रलाई बोलायो, खुवायो, केही चिज छ भने दिएर पठायो, तिम्रो सन्तुष्टि त्यसैमा थियो। तिमीबाट नै हामी यताउता गाँसिएका रहेछौँ क्यार। फोन हुँदा, यताउता जाँदा घरतिर के छ, बाआमालाई कस्तो छ, आउँदै गर भन्ने, कहिलेकाहीँ फोन गर्ने आत्मीय आफन्तजनको कमी महसुुस थिएन। तर, अहिले त आमा हिँड्न, घुम्न फुर्सद नमिले फोनमै कुरा गरेर भए पनि अत्यास मेटिन्छ कि भनेर फोन गरेँ भने कसैलाई फोन उठाउने फुर्सद पनि हुँदैन, फुर्सद हुँदा कलब्याक पनि आउँदैन। फोन गरेर के छ, सञ्चै छौ ? भनेर कसैले सोध्लान् भन्ने त कल्पना परको कुरा भइसक्यो।
यी सब कुराको तिमी हुँदा अलिकति पनि हेक्का थिएन, अहिले आएर पो यो संसार बुझ्दैछु म त।
‘मेरो झोलीको देउताले आमा भन्यो आज, नातिले फोनमा आमा भन्यो भनेर त्यो दिन तिम्रो खुसीको सीमा थिएन। नाति झोला बोकेर कहिले स्कुल जान्छ होला भन्ने तिमी, आज तिम्रो नाति स्कुल जान्छ, आउँछ तिमीले देख्छ्यौ होला नि आमा। नातिले एकदिन मलाई 'मामु, दाङको आमा खै, किन हाम्रो घर आमा नआको, बा मात्र आउनु भाको हो र ?' भनेर सोध्यो।
आमा भगवानको घरमा जानुभएकोले नआउनु भएको हो भनेर उत्तर दिएँ। अनि उसले 'भगवानको घरको मोबाइल नम्बर छैन र हजुरसँग? भगवानलाई फोन गरेर दसैंमा आमालाई पठाइदिन भनम् न भन्यो,' मैले उत्तर पाइनँ आमा। सबै नाति, नातिनाहरूले तिम्रो खुबै याद गर्छन्।
‘पूर्वतिर छोराको बिहेमा आमालारु, बाबुलारुको चलन नभए पनि मेरो नातिको बिहेमा आमालारु, बाबुलारुको ढक्के म सजाउँछु' भन्ने तिमी नातिको बोली पनि राम्ररी नसुनी गयौ। नातिनीहरूको कन्यादान गर्ने तिम्रो धोको पनि अपुरै भयो। आमा, जहाँ भए पनि खुसी हुनु, हामीलाई हेरिरहनु, आशीर्वाद दिइरहनु है। बाले भान्सामा तिम्रो अनुपस्थितिमा एक्लै भातका गाँस निलेको देख्छ्यौ होला नि, बालाई साहस र ढाडस पनि दिइरहनु है आमा।
जे जस्तो भए पनि हामी अब सम्हालिन खोज्दैछौं, सामान्य हुन सिक्दैछौं तर चाडवाड अगाडि आउँदा फेरि मनलाई भड्काइदिन्छ। मोबाइलमा घण्टी बज्दा तिम्रै याद ब्युँताइदिन्छ तर अपसोच तिम्रो मोबाइल नम्बरबाट अब कहिल्यै फोन आउनेछैन र तिमी फोनमा कहिल्यै बोल्ने छैनौ तर पनि मोबाइलमा ‘आमा’ नाममा सेभ भएको नम्बर भने मेरो मोबाइलमा रहिरहनेछ, कहिलेसम्म .....थाहा छैन।