२ वर्षअघि मुम्बई-दिल्ली-काठमाडौं आउने क्रममा नेपाल एयरलाइन्समार्फत् पहिलोपटक दिल्लीदेखि काठमाडौंसम्मको यात्रा गरेको थिएँ।
राष्ट्रिय ध्वजावाहकसँगको यात्रा गर्न पाएकोमा म त्यतिबेला धेरै नै पो उत्साहित भएको थिएँ।
फेसबुकको स्टोरीमा ‘आई लभ नेपाल एयरलाइन्स’ लेखेर राखेको थिएँ।
नेपाली क्रु मेम्बरहरूले नेपाली भाषामै ‘सर चिकेन लिनुहुन्छ कि भेज?’ भनेर सोधेर मिठो नेपाली खाना दिएकोमा पनि म मख्ख थिएँ त्यतिबेला।
त्यसपछि पनि म फिलिपिन्स जाँदा काठमाडौं-दिल्ली र दिल्ली-काठमाडौं पनि नेपाल एयरलाइन्समार्फत् नै गरेको थिएँ। टिकट लिँदा नै फ्याट्ट नजर त्यता जाने गर्थ्यो।
मलेसिया जाँदा समेत म नेपाल एयरलाइन्समार्फत् नै यात्रा गरेको थिएँ। राष्ट्रिय ध्वजावाहक भनेपछि मख्ख! मलाई याद छ, कसैले त्यतिबेला ‘कुन एयरलाइन्सको टिकट हो?’ भनेर सोध्दा गर्वका साथ भनेको थिएँ, ‘राष्ट्रिय ध्वजावाहक।
नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल एयरलाइन्सको ‘खराब पक्ष’ बारे म त्यतिबेला जानकार थिइनँ। अनि सरकारको लगानी भनेको हामी नागरिकको पनि लगानी सम्झेको थिएँ। तर २ वर्षपछि नेपाल एयरलाइन्समार्फत् नै यात्रा गर्ने मौका धन्न मिलेको थियो। ‘राष्ट्रिय ध्वजावाहक’ नै ‘धोका वाहक’ भएपछि भने त्यो अवसर टर्यो।
भदौको अन्तिम साता काठमाडौंबाट दिल्ली जानु थियो। ट्राभल एजेन्सीको दाइलाई जाने र फर्किने मिति पठाएर टिकट बुक गर्न लगाएको थिएँ।
दाइले नेपाल एयरलाइन्सको टिकट काट्ने कि के गर्ने भनेर सोध्नुभयो। मैले 'हुन्छ' भनेँ।
उहाँले त्यतिबेला भन्नुभएको थियो, ‘नेपाल एयरलाइन्सको टिकट काट्नुअघि यहाँलाई केही कुरा भन्दिहालौं, यो उडान कहिले रद्द हुन पनि सक्छ, समयमै उडान नहुन पनि सक्छ।’
ट्राभल एजेन्सीको दाइको कुराले मेरो मन केही त झस्किएको थियो। तर जाने समय लचक भएकोले ठिकै छ, नेपाल एयरलाइन्सकै काठमाडौं-दिल्ली दुईतर्फी टिकट काट्न लगाएँ।
सोही फ्लाइटमा एउटै प्रयोजनका लागि दिल्ली जान लागेका पोखराका एक जना दाइ र काठमाडौंका एक जना बहिनीले पनि नेपाल एयरलाइन्सको भदौ ३१ गतेको सोही फ्लाइटबाट टिकट काट्नुभएको थियो। भदौ ३१ गते दिउँसो १:२५ को टिकट थियो।
मेरो व्यक्तिगत कार्यव्यस्तताका कारणले म त्यो दिन साँझ ३ बजेपछि मात्रै सुर्खेतबाट हिँड्न फुर्सद पाउने भएँ। करिब १५ दिनअघि नै मैले नेपाल एयरलाइन्सको उक्त काठमाडौं-दिल्लीको फ्लाइट रद्द गर्न लगाएँ। र राति ९ बजेपछिको अर्को एयरलाइन्सको टिकट काटेँ।
फर्किने टिकट भने नेपाल एयरलाइन्सकै यथावत् राखेँ। मसँगै जान लाग्नुभएका अरू २ जना भने सोही फ्लाइटमा जानुहुने भयो।
नेपाल एयरलाइन्सको दिउँसो १:२५ को फ्लाइट रद्द गरेर साँझको फ्लाइटको टिकट काटेअनुसार म सुर्खेतबाट करिब ६ बजे काठमाडौं पुगेँ। त्यतिबेला नेपाल एयरलाइन्सको फ्लाइटमा दिल्ली जाँदै गरेका पोखराका दाइको फोन आयो। म त अचम्मित भएँ। दिउँसो १:२५ को फ्लाइटबाट दिल्ली जाँदै गरेको मान्छेले साँझ ६ बजे कसरी फोन गर्नुभयो भनेर।
अचम्म मान्दै दाइको फोन उठाएँ। उहाँले नेपाल एयरलाइन्सको फ्लाइट डिले भएकोले आफूहरू एयरपोर्टमै रहेको बताउनुभयो।
उहाँहरूले एयरपोर्टभित्र बोर्डिङ कुरिरहनुभएको थियो। त्यतिबेला उहाँहरूको फ्लाइट तीनपटक सारेर रातिको ८:३० बजेलाई कायम गरिएको रहेछ।
फेरि एकैछिनमा फ्लाइट तालिका सूचना बोर्डमा हेर्दा ९:३० बजेलाई उक्त फ्लाइट सरेको देखाइयो। मेरो फ्लाइट ९:३५ बजेको थियो। अब हामी सँगसँगै दिल्लीमा ल्याण्ड हुने भइयो भन्ने भयो। जो अगाडि पुग्छ त्यसले लगेज लिने ठाउँमा कुर्ने र होटलमा सँगसँगै एउटै ट्याक्सीमा जाने भन्ने सल्लाह भयो।
तर ९:१५ बजेतिर बोर्डिङ भएर नि म जहाजतिर लागेँ। तर अझै बोर्डिङ भएन नेपाल एयरलान्सको।
एकैछिनपछि उड्ला नि जहाज भनेर म लागेको थिएँ। म अगाडि पुग्छु र दिल्ली पुगेर दाइहरूलाई कुर्छु भन्ने थियो। म ११ बजे दिल्ली पुगेँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको इन्टरनेसनल डिपार्चर स्टाटर हेर्छु त नेपाल एयरलाइन्सको काठमाडौं-दिल्ली उडान ११:३० लाई पो सरेको देखायो।
नेपाल एयरलाइन्सको फ्लाइटबाट आउने दाइहरू र म एउटै होटलमा जाने भए पनि धेरै समय कुर्नुपर्ने भएकोले म उहाँहरूलाई नकुरी होटलतर्फ लागेँ।
१२ बजे त म होटल पनि पुगिसकेको थिएँ। दाइहरू करिब २ बजेतिर दिल्ली ल्याण्ड भएर ३ बजेतिर मात्रै होटल पुग्नुभएछ।
दिउँसो १:२५ मा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नुभएको उहाँहरू १२ घण्टाभन्दा बढी समयपछि पो गन्तव्यमा पुग्नुभयो। त्यो पनि २ घण्टाभन्दा कम समयको उडान दुरी भएको गन्तव्यमा।
सोही जहाजबाट दिल्ली काठमाडौं जान साँझ ४:२० बजेको टिकट काटेकाहरूले पनि १२ घण्टाभन्दा बढी समय दिल्ली एयरपोर्टमा बिताए होलान्।
त्यतिबेला अरू प्राय: एयरलाइन्सका उडानहरू सामान्य रूपमै समयमै उडान भइरहेका थिए। मौसमको खराबी वा विमानस्थलका कारण उक्त उडान ढिला भएको थिएन। त्यो उडान नेपाल एयरलाइन्सको व्यवस्थापनका कारण अति नै धेरै ढिला भएको थियो। मैले त्यतिबेला त्रिभुवन विमानस्थलमा इन्टरनेसनल अराइभल/डिपार्चर हेर्दा नेपाल एयरलाइन्सका एक दुई गन्तव्यमा त उडान नै रद्द भएका थिए।
जहाज रेगुलर जाँचका लागि पठाइएको र जहाजको संख्या कम भएकोले नेपाल एयरलाइन्सका उडानहरू अव्यवस्थित भएका थिए। एकैपटक दुइटा जहाज चेकजाँच र मर्मतका लागि पठाइएको भन्ने मैले समाचारहरूमार्फत् थाहा पाएको थिएँ।
उडान गर्न सकिँदैन वा ढिला हुन्छ भने पनि समयमै यात्रुहरूलाई जानकारी गराउनुपर्थ्यो। यात्रुहरूले पुग्नुपर्ने गन्तव्यहरू र यात्रा योजना सोहीअनुसार बनाउँथे। तर राष्ट्रिय ध्वजावाहक त राष्ट्रिय धोकावाहक पो भयो। धोका दिने नियतजस्तै पो देखियो।
नेपाल एयरलाइन्सको त्यो धोकेबाज फ्लाइट रद्द गरेकोमा पो खुसी भएँ म। उक्त फ्लाइट रद्द गर्दा मेरो थप पैसा समेत खर्च भएको थियो। त्यसमा मलाई कुनै लोभ लागेन। त्यत्रो समय कुर्नुभन्दा। जे भयो राम्रो भएको रहेछ भन्ने सोच आयो।
फर्किने फ्लाइट पनि नेपाल एयरलाइन्सकै थियो। अब तनाव पो भयो। भोलिपल्टबाट नेपाल एयरलाइन्सको दिल्ली-काठमाडौंको फ्लाइट स्टाटस हेर्न लागेँ। कहिल्यै समयमा फ्लाइट नभएको पाएँ। दिउँसो ४:२० को फ्लाइट ९-१० बजेपछि मात्रै उडान भइरहेको पाएँ।
अन्तत: नेपाल एयरलाइन्सको उक्त फ्लाइट रद्द गरेर अर्को एयरलाइन्सको टिकट लिएँ। जसमा समयमै उडान भयो। समयमै गन्तव्यमा पुगियो।
एयरपोर्ट वा मौसम वा अन्य बाह्य वातावरणको कारण जहाज उडान अनियमित हुनु सामान्य नै मानिन्छ। तर आन्तरिक कारणले लामो समसयसम्मको यस प्रकारको अवस्थाले नेपाल एयरलाइन्सको साख थप तीव्र गतिमा घटाउँछ।
न यात्रुहरूलाई सहुलियत दरमा यात्रा गराएको छ न त नेपाल एयरलाइन्सले लगानीअनुसारको प्रतिफल नै दिएको छ। अरू एयरलाइन्सले बराबर नै भाडा लैजाने नेपाल एयरलाइन्सको व्यावसायिक असफलताको चर्चा मैले गर्न चाहन्नँ। कुनै पनि लगानीको उद्देश्य हुन्छ। उक्त लगानीले उद्देश्य पूरा गर्दैन भने पक्कै पनि सोच्नुपर्छ। यसलाई राष्ट्रियता र राष्ट्रवादसँग जोड्नु खासै उपयुक्त हुँदैन।
नेपाल जस्तो सुशासनको समस्या भएको देशमा यस्ता सरकारी निगमहरू भ्रष्टाचार र अनियमितताका केन्द्र बनिरहेका छन्। धेरै समय भइसक्यो। धेरै घोटालाहरू पनि भए। तर नेपाल एयरलाइन्सलाई सधैं राष्ट्रिय ध्वजावाहक भनेर बसिरहन आवश्यक छैन। तुलनात्मक लाभ विश्लेषण गरेर अगाडि बढ्न आवश्यक छ। यात्रुलाई धोका, राज्यलाई धोका जनतालाई धोका? फाइदा कसलाई? नेपाल एयरलाइन्सलाई राष्ट्रिय धोकावाहक बनिरहन नदिऔं।