नेपालमा मनाइने पर्वहरूमध्ये सबैभन्दा भव्य हुन्छ दसैं। यसपटक दसैंको तयारी गर्दैगर्दा भएको अविरल वर्षाले देशका कयौं ठाउँमा निकै ठूलो प्राकृतिक विपत्ति ल्यायो। ठाउँठाउँमा आएको बाढीपहिरोले जनधनको ठूलो क्षति गर्यो।
दसैंको मुखैमा आइपरेको विपत्तिले उत्सव बिथोलिदियो। निकै ठूलो जनसंख्याको खुसी लुटिदियो। देशभर दुःखको बादल छायो।
ठूलो मात्रामा जनधनको क्षति भएका बेला देशको सबैभन्दा धेरै जनसंख्याले मनाउने सबैभन्दा ठूलो पर्व निरस भयो, हर्षोल्लास घट्यो, उत्सव ओझेलमा पर्यो।
जीविकोपार्जनको स्रोत र ओत नै गुमेका नागरिकहरूलाई दसैंको खुसी आउने भएन। आफन्तहरू भेला भएर खुसी हुने र शुभकामना आदानप्रदान गर्ने उत्साह पनि रहेन।
नेपालीहरू यस्तो प्रतिकूलता पनि सामना गर्न सक्छन्। दुःखपीडा लुकाएर पनि थोरै भए पनि खुसी हुन सक्छन्। नेपालीहरूको यस्तो स्वभावले दुःखकै बीचमा पनि आफ्नै ढंगको दसैं आएको छ।
समाज लचिलो छ, समाजमा एकताको भावना बलियो छ। आपसको सुखदुःखमा साझेदार हुने सामाजिक सद्भाव छ। त्यसैले त विपदले थोपरेको लुकाउने थोरै भए पनि साहस आएको छ।
यस्तै सामाजिक गुणले हामीलाई चाडपर्वको अर्थ र मूल्य बोध गराउँछ। परिवार, समाज र राष्ट्र एकसाथ उभिन प्रेरित गर्छ। अब पुनर्निर्माण गर्नु छ। विपदपछि पनि जिउनु छ। आशाका फूल फुलाउनु छ।
दसैं पर्व घटस्थापनादेखि फूलपाती, विजयादशमी हुँदै पूर्णिमासम्म पन्ध्र दिन मनाउने परम्परा छ। दैत्य-दानव माथि देवता, सत्यमाथि असत्यको विजयको प्रतीकका रूपमा दसैं मनाइन्छ।
यो पर्वले महिषासुर राक्षसमाथि विजय प्राप्त गर्ने देवी दुर्गाको सम्मान गर्छ, पूजाआराधना गर्छ। देवी दुर्गा शक्तिकी प्रतीक मानिन्छिन्। घरघरमा उनको स्वागत हुन्छ। उनको स्वागतमा सरसफाइ हुन्छ।
छरिएका परिवारका सदस्यहरू घरमा जम्मा हुन्छन्। देवी दुर्गाले विजय प्राप्त गरेको गौरव चित्रण हुने स्तोत्र पाठसहित अनुष्ठान गर्छन्। उत्सवका रूपमा मिष्ठान्न भोजन गरेर एकापसमा खुसी बाँड्छन्।
असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा रातो टीका र समृद्धिको प्रतीकका रूपमा जमरा ग्रहण गर्ने चलन छ। टीका र जमराका साथ दीर्घायु, सुख, खुसी र समृद्धिको कामना गरिन्छ। यही कामना मान्यजनबाट आशीर्वादका रूपमा ग्रहण गर्ने परम्परा छ। यो परम्पराले पारिवारिक सम्बन्ध बलियो बनाउन मद्दत गरेको हुन्छ। आफन्तहरूका बीचको सम्बन्ध नवीकरणको अवसर प्राप्त हुन्छ।
गाउँघरमा वर्षा याममा खेतीपातीपछिको सबैभन्दा बढी उत्सवको पर्व हो दसैं। यसले शरीरमा र मनमा ऊर्जा सिर्जना गर्छ। दसैं उत्सवपछि आआफ्नो काम–पेसाका लागि तयार गर्छ। दसैंमा स्वतन्त्रता र खुसीको प्रतीकका रूपमा चंगा उडाइन्छ। व्यस्त जीवनशैलीबाट केही दिन विश्राम लिने र शक्तिकी देवी दुर्गाको आराधना गरेर आफूमा ऊर्जा भर्ने उत्सव हो दसैं।
लिंगे पिङ र रोटे पिङको रौनक पातलो हुँदै गए पनि उत्साहीहरूले परम्परा धान्ने प्रयत्न गरेकै छन्। बलिप्रथामा आआफ्ना धारणा होलान् तर परम्परा त छ नै।
डायस्पोरा दसैं – सदभाव र उत्सवको प्रतिविम्ब
विश्वभर छरिएका नेपाली डायस्पोराका लागि पनि दसैं निकै महत्त्वपूर्ण र सुखद चाड बनेको छ। मातृभूमिबाट धेरै टाढा युरोप, अमेरिका, मध्यपूर्व, समुद्रपारका एसियाली देश र यस्तै अन्य विदेशी भूमिमा बस्ने नेपालीहरू बडो उमंगका साथ दसैं मनाउँछन्।
विदेशी भूमिमा नेपालीहरूको सामुदायिक जमघट हुन्छ। मन्दिर र पार्क उत्सवका केन्द्र बन्छन्। आआफ्नो सुविधाअनुसार घरघरमा पनि जम्मा हुन्छन्।
आफ्ना परम्परागत परिकार बनाउँछन्। अनुष्ठानहरू गर्छन्। टीका र जमरा आदानप्रदान गर्छन्।
विदेशी भूमिमा दसैं मनाउँदा प्रत्येक नेपालीको मन आआफ्नो पुर्ख्यौली थलोमा पुगेको हुन्छ। आफ्नो पुर्ख्यौली थलो, आफन्त र साथीसंगीको सम्झना गाढा भएर आउँछ।
आफ्ना प्रियजन र परिवारजनबाट टाढा हुनुको पीडा बोध पनि नहुने होइन तर जमघटले त्यो पीडा बिर्सन मद्दत गरेको हुन्छ।
विदेशी भूमिमा रहँदा आफ्नै मातृभूमिमा परिवारजन र आफन्तहरूका साथ चाडपर्व मनाउने आकांक्षाले मन भरिन्छ। आफ्नो माटोको सुगन्ध लिने चाहनाले हलचल मच्चाइदिन्छ। अनेक सम्झनाहरूले मन बिथोल्ने प्रयत्न गर्छन्।
आफू मातृभूमि र परिवारजनबाट भौतिक दूरीले धेरै टाढा हुनुले बिथोलेको मन टाढा हुनुको उद्देश्य र लक्ष्यले सह्मालिदिन्छ। निरुद्देश्य त कोही पनि त्यसरी सातसमुद्रपारि पुगेको हुँदैन।
डायस्पोराका धेरै नेपालीका लागि दसैं आफ्नो समुदायमा परिचय गर्ने, सम्बन्ध बनाउने र घुलमिल हुने अवसर पनि बनिदिन्छ। यसले परिवार र सम्बन्धको नयाँ रूप सिर्जना गर्न मद्दत गरेको हुन्छ। नेपाली हुनुको गौरब बोध भएको हुन्छ।
दसैंको यस्तो जमघटले भौगोलिक सीमा नाघेर पुगेको बिरानो भूमिमा पनि रमाउने अवसर प्राप्त हुन्छ। मातृभूमिसँगको सम्बन्ध प्रगाढ बनाउन पनि मद्दत पुगेको हुन्छ।
यस वर्ष विश्वका अनेक मुलुकमा दसैं मनाउँदै गर्दा स्वदेशमा भएको प्राकृतिक विपदले नेपाली डायस्पोराको हृदय भारी भएको छ। डायस्पोराको पूजापाठ र अनुष्ठानमा मातृभूमिको विपत्ति जोडिन पुगेको छ। आफ्ना दाजुभाइ र दिदीबहिनीप्रति सहानुभूतिको भाव प्रकट भएको छ।
विपदमा परेका परिवारहरूका लागि यथाशक्य सहयोग गर्न तत्परता देखापरेको छ। गैरआवासीय नेपालीहरूबाट राहतमा सहयोगको प्रयत्न भएको छ। केही राहत नेपाल पुगेको छ।
चाडपर्व मनाउनु भनेको रमाइलोमा भुल्नु मात्र होइन रहेछ। सामाजिक सदभाव, करूणा, भ्रातृत्व र आपसी एकता प्रवर्द्धन गर्नु पनि हो रहेछ। ठूलो प्राकृतिक विपदलगत्तै आएको ठूलो चाडले यही मनवता प्रबल बनाउन र भावनात्मक एकता सुदृढ गर्न प्रेरणा दिएको छ। नेपाली क्षितिज अझ फराकिलो बनाउन प्रेरित गरेको छ।
डायस्पोराबाट मातृभूमिका लागि योगदान गर्ने प्रेरणा मिलोस्। विजया दशमीको हार्दिक शुभकामना!
(लेखक गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य हुन्)।