करिब एक महिना अगाडि एउटा विवाहित साथीले मेरो फेसबुकको वालमा एउटा मेम पोस्ट गर्यो जसमा लेखिएको थियो- 'अगर तुम पच्चीस साल से उपर हो फिर भि तुम सिङ्गल और अविवाहित हो, तो तुमाहरे जन्म सिर्फ जनगणना के लिए हुवा हे।'
हैट, केटाहरूको पनि काम छैन के के लख्छन् भन्दै मनमनै हाँसेँ। तर फेरि एक छिनमा आफैले आफैँलाई प्रश्न गरेँ- 'हैन, साँच्चै हो र? यही भएर त होइन २०७८ सालको जनगणनामा गणकहरू मसँग नै आइपुगेनन्। अविवाहित भएकै कारण नेपालको जनसंख्या भित्र त छुटिएन नि? हुन पनि उमेरले तिस काटिसकियो। तैट! ठुलै पाप पो हुन गयो कि मबाट।'
अर्को मनले सोच्यो- सबैलाई राम्रै गरेको छु। यसै भन्दैमा मात्र पनि हुने होइन होला नि। जिम्मेवारी छन्। आफ्ना चाहना छन्। बाध्यता छन्। देखिने नदेखिने पाटो होलान्। मेरो बिहे मेरो कुरा होला नि। मेरो मर्जी होला नि। केही कुरा मेरा व्यक्तिगत पनि त हुन्छन् नि, होइन र? त्यति भन्दै गर्दा एकै पटकमा मैले पनि कति पात्रहरूको जिम्मेवारी निभाएकै छु। कहिले देशको नागरिक बनेको छु, कहिले छोरो बनेको छु, कहिले सर बनेको छु, कहिले दाइ बनेको छु, कहिले भाइ बनेको छु, कहिले काका बनेको छु, कहिले भतिज बनेको छु। यस्तै कहिले के कहिले के। नबनेको भनेको त्यही एउटा श्रीमान् त हो नि। समय आएपछि, परिस्थिति मिलेपछि सबै जुराउँला अनि त्यो पनि बनौँला नि।
यही सोच्छु अनि दिमागलाई यो परिवेशबाट टाढा राख्न कोसिस गर्छु।
म मेरो जिन्दगी चलायमान नै बनाइरहेको छु जस्तो लाग्छ। तर यसमा मभन्दा समाज आत्तिने रहेछ। चौबीस घण्टामा एक सय चोटिभन्दा बढी प्रश्नहरूको वर्षात् हुन्छ, र्यापिड फायर राउन्ड जस्तो।
'बाबु, कहिले हो? ढिलो भएन र? जन्ती जाने मेसो कहिले? भोज ख्वाउनु पर्यो के, लगन कहिले? एक्लै त नसुहाउने। यो मङ्सिर त कट्नु भएन है' आदि इत्यादि। यस्ता प्रश्नलाई न समय चाहिने, न त परिवेश नै। जसले जहाँ जति बेला पनि सोधेको छ। दिक्दार नै बनाउने गरी। भलै हामी जुनसुकै अवस्थामा भइयोस्।
यी प्रश्नहरूको हमला यसरी हुन्छ कि, लाग्छ दिनको सुरुवात यिनै प्रश्नहरू मध्ये एकलाई मनतातो पानीसँग निलेर गर्छु। अनि दिनको अन्त्य यिनै प्रश्नहरूलाई मन्जन बनाएर यिनैले ब्रस गरेर सुत्छु।
त्यति मात्रै कहाँ हो र! यस्तो लाग्छ कि सबै मेरै बिहेको प्रतीक्षामा छन्। मेरो जन्ती जान कुरिरहेका छन्। मेरै बिहेको भोज खान पर्खिरहेका छन्। साँच्चै यी सबैलाई बिहेमा बोलाउने हो भने कति जान आइपुग्लान् है? यस अर्थमा नराम्रो भन्न खोजेको होइन। मेरै भलोको लागि होला। मात्र प्रश्नै प्रश्नको तलाउमा डुबिन्छ कि भन्ने डर मात्र हो। अनि उत्तर दिन अल्छी लगेर र जरुरत नठानेर पनि हो।
ओहो! दसैँ सुरु भइसक्यो। यसैले चारै तिर रौनक छाएको छ। ठुलो चाडबाड भित्रिएको छ। तर पनि यो असोजलाई पछि पार्दै डिग्री पढ्दाका प्रश्नहरू र स्वयम् थेसिसभन्दा पनि गाह्रो मङ्सिर लक्षित प्रश्नहरूका ठुलो चाङ लाग्न सुरु भइसकेको छ।
म त अझ दसैँको बारेमा सोच्दै छु। नेपालीहरूको महान् चाड बडा दसैँ। कति मनमोहक दृश्य हुनेछ। कति रङ्गिन समय। परिवारको भेटघाट उल्लासमय हुनेछ। निधारमा रातो टीका, पहेँलो जमरा लगाएर हामी सबै कति सुन्दर देखिने छौँ। कस्तो राम्रो हाम्रो परम्परा।
आफ्ना मान्यजन, आफन्तबाट आशिष् थाप्दै नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाउने। कति राम्रो हाम्रो चालचलन अनि परम्परा। यसमा रमाएर कहिले नि नपुग्ने। अरू सबै ठिक छ, यही निर सम्झिँदा दिक्क लागेको छ।
विगत तीन वर्षदेखि सुन्दै आएको कुरा फेरि सुन्नुपर्नेछ- 'अब त ढिला भयो। छिट्टै बिहे खान पाइयोस्।'
उफ्! फेरि उही आशिष्- 'अर्को दसैँको टीकामा चाहिँ दुई जना है, चट्ट जोडी बनेर।'