एक वर्षपछि घुमी घुमी फेरि फर्केर दसैं हाम्रो घरआँगनमा आइपुगेको छ।
दसैंलाई हामी नेपालीहरूको महान चाडको रूपमा लिइने गरिन्छ। हुन त दसैं आफै पनि आउँदा सबैका लागि मनमा हर्ष र उल्लास सँगसँगै लिएर आउने गर्छ।
यो पालि मेरो मन भने सधैंको जस्तो खुसी छैन। खुसी पनि कसरी होस् हजुरबुबा र हजुरआमा गुमाएपछिको पहिलो दसैं हो हाम्रो घरको।
उहाँहरू आफू त जानुभयो तर आफूसँगै परिवारका सारा सदस्यको मनमा चिसो पसाएर जानुभयो।
दसैं नजिकिनु सँगसँगै उहाँहरूको यादहरूले पनि झनझन सताउँदै आएको छ।
उहाँहरू सँगसँगै मेरा बाल्यकालका धेरै दसैंका यादहरू गाँसिएका छन्। मलाई अहिलेको दसैंभन्दा म सानो हुँदा खेरिको दसैं नै धेरै रमाइलो थियो भन्ने लाग्छ। अब ती बालापनका दसैं र सँगै मनाएका दसैं सबै यादमा मात्र रहने भए।
हामी स्कुल पढ्ने हुँदा सधैं दसैंको अगाडिको परीक्षा हुने गर्थ्यो। सायद स्कुललाई पनि दसैंका लागि पैसा चाहिएर होला सधैं दसैंका अगाडि परीक्षा नै पर्ने गर्थ्यो। यता घरमा दसै आउँथ्यो भने उता स्कुलमा परीक्षा हुने गर्थ्यो।
दसैंको लागि घर सबै पोतेर नयाँ जस्तै बनाउनुपर्थ्यो। घरमा घटस्थापनाको दिन जमरा राखेदेखि दसैं सुरू हुन्थ्यो।
घटस्थापनाका दिनसम्म पूजाकोठा चाहिँ जसरी पनि पोतेर सक्नुपर्ने हुन्थ्यो। अनि बाँकी कोठा चाहिँ बिस्तारै फूलपातीसम्म पोती सक्दा पनि हुन्थ्यो।
पूरै घर पन्छाएर पोत्न त गाह्रै हुन्थ्यो तर दसैंको एउटा रमाइलो पक्षको रूपमा घर पोत्नुलाई पनि मान्थेँ म। पूरै घरबाट माटोको बास्ना हरहर आएपछि मात्र दसैं आयो जस्तो लाग्थ्यो।
जमरा राख्ने काम चाहिँ हाम्रो घरमा हजुरबुबाले गर्नुहुन्थ्यो। ममीले घटस्थापनाको अघिल्लो दिनसम्म रातो र सेतो माटोले पूजाकोठा चिटिक्क पारेर पोती दिइसकेपछि बुबाले घटस्थापनाको दिन जमरा राखेर दसैंको सुरूआत गर्नुहुन्थ्यो।
हजुरआमाले चाहिँ सबै नातिनातिनाका लागि भनेर दसैं खर्च छुट्ट्याउनु हुन्थ्यो। यसले दसैंको खुसी दोब्बर गरिदिन्थ्यो। उहाँले दिनु भएको पैसा धेरै ठूलो रकम त हुन्थेन तर हामी बच्चा टोलीको जिन्दगीमा खुसी ल्याउन पर्याप्त थियो।
हजुरबुबाको बिहान-बेलुकाको काम नै जमरामा पूजा गर्ने हुन्थ्यो। उहाँ सधैं बिहान बिहान जमरालाई पूजा गरेर पानी चढाएर घर नै बास्ना आउने गरेर जमरालाई धूप बत्तीले पूजा गर्नुहुन्थ्यो।
हामी उठ्दा पूरै घर बास्नादार हुन्थ्यो जसले दसैं आएको छ भनेर सजिलै महसुस हुन्थ्यो।
अब न मेरा बालापनका ती सम्झनाहरू फर्केर आउँछन् न त हामीलाई छोडेर जानुभएको हजुरबुबा र हजुरआमा नै। घर छोडेर बाहिर काम गर्न थालेको नि पाँच वर्ष भएछ।
दुई वर्ष सिन्धुपाल्चोकको मेलम्चीमा काम गरेँ अनि अहिले तीन वर्षदेखि कर्णालीमा काम गर्दैछु। हरेक वर्ष दसैं आउनुभन्दा १ महिनादेखि दसैं आउँदै छ भन्ने कुराले नै मन खुसी बनाइ राख्थ्यो।
कहिले घटस्थापना आउला र एक महिनाको लागि घर जाम्ला जस्तो हुन्थ्यो। तर यो वर्ष मेरो मन पटक्कै खुसी छैन।
दसैं आएर खुसी हुनुको साटो किन आएको होला जस्तो लागिरहेको छ। टलक्क घाम लाग्दा नि छुट्टै रमाइलो लाग्थ्यो मानौं दसैं नै बोलाइरहेको जस्तो। यो पालि घाम लाग्दा पनि मेरो मन चसक्क भएर हजुरबुबा र हजुरआमाको नै याद आउँछ।
आकाशभरि गाइने कीराहरू उडिरहेको देख्दा नि मलाई नै यो पालि तिमीहरूको दसैं रमाइलो छैन भनेर मलाई नै सम्झाएको लाग्छ।
यसपालि चार महिनापछि म घर जाँदैछु तर पनि मलाई मनमा केही खुसी लागेको छैन। मलाई बिहानैदेखि रातिसम्म घर नै थर्किने गरेर टिभी खोलेर बस्ने मेरो हजुरबुबाको कोठामा कोही नहुँदा उहाँको याद आइहाल्छ।
मलाई 'के गर्न लाएउ कान्छा,' 'के खान लाएउ कान्छा,' 'का जान लाएउ कान्छा,' 'के भयो कान्छा' भनेर जुन बेला नि सोधिरहने आवाज नहुँदा मैले हजुरबुबालाई सम्झिहाल्छु। घरका अरूले भने केही कुरा गर्नुहुन्न। हजुरबुबा बित्दा त मलाई गाह्रो होला भनेर दुई दिनसम्म मलाई नभन्ने मेरो परिवारकाले याद आउँछ भनेर कसरी भन्लान्!
सायद हजुरबुबाको अन्तिम समयमा म हजुरबुबासँग नभएर नि होला, मलाई उहाँको यादले यति धेरै सताएको। म हजुरबुबाको मृत्यु हुनुभन्दा १५ दिन अगाडि मात्र परीक्षा दिएर कर्णाली फर्केकी थिएँ। म घरमै हुँदा पनि हजुरबुबालाई पहिलोचोटि हृदयघात भएर अपरेसन गर्नुपरेको थियो। अपरेसन गरेको एक महिनामा नै हजुरबुबालाई दोस्रो हृदयघात भयो जसबाट हामीले उहाँलाई बचाउन सकेनौं।
हजुरआमा भने हजुरबुबाको मृत्युपछि म पनि अब यो सेतो लुगा मै मर्छु भन्नु हुन्थ्यो। नभन्दै हजुरबुबाले छोडेर जानुभएको सात महिनामै हामीलाई छोडेर जानुभयो।
यो पालि हाम्रो घरमा दुई वर्षपछि दसैं आउँदै छ तर घरको दरिलो खम्बाहरूबिना।
दसैं आएसँगै मलाई हजुरबुबा र हजुरआमाको यादले झन् झन् सताउँदै गएको छ। पहिला उहाँहरूको याद नआउने होइन, घरबाट टाढा बसेपछि झन् आउँदो रहेछ। बेला बेलामा फोन गरेर 'धेरै जाडो त छैन नि, ओढ्ने कुरा पुग्नी त छ नि, तातोमा बस्नु नि, अनि कहिले आउनी, लुगा टन्न लाउनु नि' भनिरहनु हुन्थ्यो।
आजकाल मलाई घरबाट फोन गरेर त्यस्तो भन्ने हजुरबुबा नै हुनुहुन्न भनेर मन भक्कानिएर आउँछ।
सधैं दसैंमा टीका लगाउने बेलामा हजुरबुबाले हजुरआमालाई टीका लगाइदिनु भएपछि मात्र दसैंको टीका सुरू हुन्थ्यो। यो पालि कसले सुरू गर्ला टीका लगाउन? त्यति बेला त सबैलाई उहाँहरूको याद आउँछ होला।
बालापनको दसैंहरू मेरो लागि जिन्दगीभरिकै यादगार दसैं हुन् जुन अब मैले कहिले पनि महसुस गर्न पाउँदिनँ। हुन त मलाई आजकालको दसैंभन्दा बच्चा बेलाको दसैं नै ठीक लाग्छ। तर दसैं नजिक आउँदै गर्दा हजुरबुबा र हजुरआमाको यादले भने सधैं नै सताउँछ होला। हजुरबुबाआमा बिना साँच्चिकै दसैं अधुरो छ।
म उहाँहरूलाई मनैदेखि सम्झेर भन्न चाहन्छु कि, 'हजुरहरूबिना दसैं साँच्चिकै अधुरो छ। जहाँ हुनुहुन्छ त्यहीँबाट हामीलाई आशीर्वाद दिनु होला।'