सबैभन्दा माथि मेरै जीवनसाथी। सानै उमेरमा बिहे गर्न पुगेँ। पढाइ, लेखाइ अनि सपना देख्नै जानिनँ। बिहेको केही समयपछि सन्तानको आमा बनियो तर आफू हुर्किन भने बाँकी थियो।
समयसँगै संसारमा छोराछोरी, घरपरिवार र सामान्य घरायसी दिनचर्या मात्र होला भन्ने लग्दै गयो। आफू पढ्न नपाएको भोकले हुनुपर्छ सायद छोरीलाई खुब मेहनत गरेर पढ्न सिकाएँ। साथीभाइ, इष्टमित्र, आफन्त चिने जानेका सबैसँग दूरी आफै कोरिए किनकि म सामान्य मात्र पढेलेखेको मान्छे। मलाई लाग्थ्यो, मलाई बोल्न पनि आउँदैन होला। त्यसैले सोच्दा सोच्दै म त धेरै नै कम बोल्ने पो भएछु। सकभर टाउको हल्लाएर सबै प्रश्नको उत्तर दिने बानी पारेछ।
केटाकेटीको स्कुल र घरको बाटो अनि घरधन्दा पाटो चिन्ने बुझ्ने र मेरो संसार यसैमा मात्र अडिएको थियो। न कहिले सपना देखे यी आँखाले, घर बाहिर पनि संसार हुन्छ, पढ्नु पर्छ, अघि बढ्नुपर्छ भन्ने कहिले मेरो चाहना नै थिएन। पुरुषको सफलतामा महिलाको हात हुन्छ भन्ने सुनेको म सोही अनुरूप आफ्नो कर्तव्य निभाउँदै गएँ तर मेरो जीवनमा ठ्याक्कै त्यसको उल्टो रहेछ।
समय अलि अघिको हो। त्यो दिन अन्य दिनभन्दा अलि छिटो घर आउनुभयो। राजनीति गर्ने मान्छे छिट्टै घर आएको देख्दा मलाई पनि अचम्म लाग्यो अनि 'आज घाम कहाँबाट उदाएको?' भन्ने प्रश्न अगाडि राखिदिएँ। हरेक कुराको उत्तर हाँसेर दिने त्यो दिन पनि हाँसेर नै पाएँ- 'पूर्वबाटै हो।' तर हाँसोमा केही कमी वा भनौँ खल्लोपनसँगै प्रतिउत्तर प्राप्त गरेँ।
मैले केही विचार नगरी 'के भयो आज? किन उदासजस्तो लाग्छ' भनेर प्रतिप्रश्न गरेँ।
जवाफ आयो- 'मेरो सानो सपना पूरा गर्न सक्छौँ भने म आज तिमीलाई मेरो सपनाको बारेमा भन्छु।'
म एक छिन अलमल्ल परेँ अनि हुन्छ के हो पहिला सुनौँ न भनेँ। सँगै सोफामा बसेका थियौँ। भन्नुभयो, 'भित्तामा तिम्रो दीक्षान्त समारोह गरेको फोटो आफ्नै हातले सजाउन मन छ।'
म अचम्ममा परेँ। आजभन्दा अगाडि कहिले हाम्रो यस विषयमा छलफल भएको यादै छैन।
त्यो रात त्यसै बित्यो तर बाँकी २/३ रात वहाँको रहरले सुत्न सक्ने अवस्था रहेन र मैले चौथो दिन 'हजुरको कुरा के हो स्पष्ट रूपमा भन्नु पर्यो' भन्ने आग्रह गरेँ।
'छोराछोरी सानै भएकाले तिमी पढेको हेर्ने इच्छा जाहेर गर्न सकिनँ तर अब उनीहरू पनि स्कुल जाने भइसके। अब पालो तिम्रो पढ्ने हो। त्यसैले मेरो सपना सुनाएको। बाँकी पूरा गर्ने कि के तिमी विचार गर' भन्ने प्रस्ताव आयो र प्रस्तावसँगै 'त्यो फोटो हेर्दै मुस्कुराउने मेरो रहर तिम्रो हातमा छ, तिमीले चाहे छिट्टै पूरा हुन्छ।'
कसैको बोली बन्दुककै गोली सारा कुरा सुनेर गहिरो सोचमा परेँ। सपनामा पनि नसोचेको कुरा! अब पढाइ छोडेको यतिका समयपछि कसरी सुरु गर्छु होला भनेर तर मेरो लागि पूरै जिन्दगी दिएको मान्छे उसको लागि जाबो एउटा सपना कसो पूरा नगरौँला त भन्ने भित्रबाट आवाज आए। त्यो एक शब्दले आज मेरो जिन्दगी नै परिवर्तन गर्यो।
त्यसपछिका केही दिनमा नै केटाकेटीहरू स्कुल पठाएर कलेज एडमिसन गर्न तिर लागेँ। २/४ जना साथीभाइ र आफन्तलाई सोध्दा आरआर कलेज भर्ना गर्नु भन्ने सल्लाह पाएँ। तर भाग्यमा जे छ त्यही पाइन्छ। आरआर कलेज भर्ना गर्न हिँडेको अर्को गाडी पो परेछ र कलेज पनि फेरियो तर थाहा छैन अझै कुन कलेज हो।
त्यसपछि मेरो अध्ययनको यात्रा सुरु भयो। खुब मन लगाएर त्यो सपना पूरा गर्नुपर्छ सरला पढ्नुपर्छ भन्दै पढेँ। समय न हो कसलाई पर्खिने! हेर्दा हेर्दै मेरो अध्ययन पनि पूरा गरेँ, त्यो पनि राम्रो अङ्कमा पास गरेँ र अहिले त्यो सपनाको कोटमा वहाँको सपना हेर्ने सपना पूरा भएको छ जुन मेरो सपना कहिले थिएन।
'तिमी कलेज जाऊ, म खाना बनाउँछु, तिमी पढ म बच्चा सम्हाल्छु, तिमी अघि बढ म यो किन्दिन्छु, तिमी त शेरनी हो, तिमीले गर्न नसक्ने के छ र? तिमी यो अनि तिमी त्यो' भन्दै आफ्नो सपना पूरा गर्न लगाउने मेरो श्रीमान्ले गर्दा नै आमालाई नयाँ साडी किन्ने र बाबाको ऋण तिर्न सक्ने भएँ।
समयसँगै समाज परिवर्तन हुँदै छ। विवाह र केटाकेटी पछिको जिन्दगीपछि पनि बाँकी जिन्दगी, काम, कर्तव्य जिम्मेवारी पूरा गर्न सकिने रहेछ यदि श्रीमान्ले चाहेमा।
पढ्न र अगाडि बढ्न न उमेर, न समय न त अन्य कुराले छेक्ने रहेछ भन्दै मेरो उदाहरण दिएर मेरा साथीभाइ र आफन्त जो मेरो जस्तै जिन्दगीमा अल्झिनु भएको थियो कलेज जोइन गरेको देख्दा खुसी लाग्छ। श्रीमानको एउटा कुरामा गर्व लागेर आउँछ, साँच्चै नै 'यु क्यान डु इट' भन्दिने श्रीमानको साथ पाए धेरै महिला पढ्न र अगाडि बढ्न सक्छन्।