छिमेकी मुलुक भारतको धेरै पटक भ्रमण गरेको भए पनि राजधानी दिल्लीमा पुगेको थिइनँ। एटलस नेटवर्कले सेप्टेम्बर १७-१९ मा तय गरेको लिडर ल्याब वर्कसपमा सहभागी हुन पाउने भएपछि मलाई १ महिनाअघि देखि नै उत्सुकता थियो।
त्यससँगै एटलस नेटवर्कले हरेक वर्ष आयोजना गर्ने एसिया लिबर्टी फोरममा सहभागी हुन पाइने थियो। यसअघिका एसिया लिबर्टी फोरममा सहभागी भइसकेकोले पनि मलाई सयौंको संख्यामा एसियाका व्यक्तिगत तथा आर्थिक स्वतन्त्रताको सवालम काम गरिरहेका संस्थाका प्रतिनिधिहरूसँगको रमाइलो जम्काभेटका लागि निकै उत्सुकता थियो।
दिल्ली जानका लागि मेरो यात्रा समय एकदमै छोटो थियो। व्यक्तिगत कामको व्यस्तताका कारण दिल्ली पुग्नुपर्ने दिन दिउँसो पछिमात्रै यहाँबाट हिँड्न फुर्सद हुन्थ्यो। साँझ ४ बजे सुर्खेतको वीरेन्द्रनगरबाट हिँड्ने गरी यात्रा तय भयो।
राति ११ बजे पुग्नेगरी हवाई यात्रा तालिका बनेको थियो। धन्न हाल सुर्खेतबाट काठमाडौंका लागि दैनिक ५ वटा हवाई उडान भइरहेका छन् र त्यो सम्भव भयो।
२-३ वर्ष पहिले यहाँबाट दैनिक एउटा उडान त्यो पनि निकै महँगो थियो। त्यस्तो भएको भए मलाई निकै नै गाह्रो पर्थ्यो। बजारमा जति धेरै प्रतिस्पर्धा हुन्छ त्यसको फाइदा आम उपभोक्तालाई नै हुन्छ भन्ने कुराको भान यसबाट हुन्छ।
अहिले दुई वटा वायु सेवा कम्पनीले उडान गरिरहेका छन्। हवाई भाडा सुर्खेत-काठमाडौं र नेपालगञ्ज-काठमाडौं लगभग उस्तै छ।
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्लीको लागि राति ९:३५ बजेको उडान थियो। सामान्यतया अन्तर्राष्ट्रिय उडानको चेक इन गर्ने समय उडानभन्दा ३ घण्टा अगाडिदेखि सुरू भई १ घण्टा अगाडि सकिने गर्छ। मैले यात्रा गर्दै गरेको एयरलाइन्सले समेत सोहीअनुसार मलाई खबर गरेको थियो।
मलाई भने विमानस्थल पुग्नेबित्तिकै अध्यागमनको डर थियो। भारत यात्राका लागि चाहिने सबै कागजात मसँग थिए। तर पनि के हुने हो? भन्ने मनमा लागिरहने। भारत जाँदैछु भनेर मनलाई शान्त बनाउँथेँ। तर कताकता त्यो अध्यागमनको प्रक्रिया पूरा गरिसकेको भए त आनन्द हुन्थ्यो नि भनेजस्तो अनुभूति भइहाल्ने।
म पहिलोपटक उक्त विमानस्थलबाट अन्तर्राष्ट्रिय यात्रा गर्दै पनि थिइनँ। सोही विमानस्थलको सोही अध्यागमनबाट त्यसअघि पनि यात्रा गरिसकेको थिएँ। तर पनि त्यो त ठाउँ नै ‘डर लाग्ने ठाउँ’ पो रहेछ नि।
म कुनै फरार अपराधी थिइनँ। मैले कुनै गल्ती गरेर भागेको पनि थिइनँ। मैले कुनै गैरकानूनी वस्तु ओसारपसार पनि त गरेको थिएन। तर डर भने लागिरहेको थियो।
अध्यागमनका लागि आवश्यक कागजात तयार गर्ने क्रममा अफिसमा पनि यस विषयमा छलफल भएको थियो। पहिलोपटक यात्रा गर्न लागेका बहिनीहरूलाई ‘अध्यगमनमा केरकार’ गर्नसक्छ भन्ने विषयमा समेत कुराकानी भएको थियो।
नेपालीहरूलाई भारतमा जान भिसा चाहिँदैन। हामीसँग पासपोर्ट साथमा थियो। होटल बुकिङ गरेको कागजात थियो। कार्यक्रमको लागि आयोजकबाट निमन्त्रणा थियो। यति धेरै कागजात बोक्न आवश्यक नै थिएन। एउटा पासपोर्ट भए पुगिहाल्थ्यो। तर फेरि त्यही केरकार गर्ने डरले हाम्रो टिमका अरू साथीहरूले त्यो कागजात बोकेर गएका रहेछन्।
ती कागजातहरू मसँग पनि थिए। तर मैले हातमा पासपोर्ट र बोर्डिङ मात्र लिएर अध्यागमनतर्फ गएको थिएँ। हुन त पहिलो पटकको अन्तर्राष्ट्रिय यात्रा पनि त्रिभुवन विमानस्थलबाट भारतको मुम्बईसम्मको गरेको थिएँ। पहिलोपटक भएको र त्यतिबेला अरू धेरै साथीहरू भएकोले त्यतिबेला धेरै डर लागेको थिएन। अँ साँच्चि त्यतिबेला त्यो अध्यागमनवाला डर समेत मैले धेरैबाट सुनेको समेत थिइनँ। हुन त मैले त्यतिबेला समेत निमन्त्रणा, होटल बुकिङ लगायत अन्य धेरै कागजात लिएर गएको थिएँ। एउटा कार्यक्रमको लागि मुम्बई जाँदा मैले त्यतिबेला ढाँटेको थिएँ साथीहरूको सल्लाह बमोजिम।
अध्यागमनका कर्मचारीले 'तपाईं मुम्बई किन जान लाग्नुभएको नि?,' भनेर सोध्दा मैले 'सामान्य घुमघाम' भनेको थिएँ।
कार्यक्रमको लागि जाने भन्दा थप केरकार गर्छ भन्ने सुनेर मैले त्यतिबेला सामान्य घुमघामको लागि जाँदै हो भनेर जबाफ दिएको थिएँ।
यसपटक पनि मैले हातमा पासपोर्टमात्रै बोकेको हुनाले फेरि ढाँटेँ।
कार्यक्रमको लागि निमन्त्रणा, होटल बुकिङ लगायतका कागजात मैले साथमा बोकेको थिइनँ। फोनमा भने राखेको थिएँ। अपरझट मागिहाले भने मोबाइलमा त देखाउन हुन्छ नि भनेर।
अध्यागमनका कर्मचारीले सोधे, ‘लक्ष्मीप्रसाद, दिल्ली चाहिँ किन जान लाग्नुभएको नि?’
मेरो त्यही पुरानो तयारी गरेर गएको जबाफ थियो, ‘सामान्य घुमघाम’।
त्यहि जबाफ दिएँ।
‘हुन्छ जानुस्’ भने अध्यागमनका कर्मचारीले।
जब अध्यागमनको प्रक्रिया पूरा हुन्छ नि यात्रुहरूलाई लाग्दो हो, गन्तव्या अब पक्का पुगियो। ठूलो परीक्षा पास गरियो।
हो, मलाई पनि त्यस्तै लाग्यो। म धेरै टाढाको मुलुकमा पनि त जाँदै थिइनँ। खुला सिमाना भएको छिमेकी मुलुक भारत जाँदै थिएँ। जहाँ जान नेपालीहरूलाई भिसा नै आवश्यक पर्दैन। अध्यागमनमा मलाई डर लाग्नुका पछाडि केही कारणहरू थिए।
पहिलो कारण थियो, यसअघिको यात्रामा आफुले अध्यागमनमा भोगेको केरकार। अर्को थियो, अरूबाट अध्यागमनको केरकारबारे सुनेका कुराहरू।
२ वर्ष पहिले फिलिपिन्स जाँदा मैले अध्यामनमा केरकार पाएको थिएँ। फिलिपन्समा नेपालीहरूका लागि अनअराइभल भिसा सुविधा हुन्छ। त्यसैले त्यतिबेला मसँग आवश्यक सबै कागजातहरू थिए। तर पनि एकछिन त र्याखर्याख्ती पारे अध्यागमनका कर्मचारीले।
कार्यक्रममा सहभागी हुन जान लागेकोले मसँग आयोजकको निमन्त्रणा, होटल बुकिङ, आवश्यक अमेरिकी डलर लगायतका कागजातहरू साथमा बोकेको थिएँ।
अध्यागमनमा ‘किन जान लाग्नुभएको फिलिपिन्स?’ भनेर सोधे।
मैले जे कामका लागि जान लागेको थिएँ, त्यो साँचो बताएँ। उनीहरूले पत्याएनन्। थप सोध्न थाले। मेरो कार्यालयको परिचयपत्र मागे। मैले देखाएँ। तपाईंको कार्यालयले के काम गर्छ भनेर पो सोध्न थाले!
मैले बताएँ। अझै पत्याएनन्। हामी हाम्रो कार्यालयबाट २ जना जाँदै थियौँ त्यतिबेला। उहाँ र म सँगै नजिकैको अध्यागमन काउन्टरमा थियौं। उहाँलाई समेत बोलाएर सोध्न पो थाले। अफिसको बारेमा धेरै सोध्न थाले। अफिसको वेबसाइट त्यतिबेलै डाउन भएर नखुल्ने भएको रहेछ। धन्न फेसबुक पेज देखायौं। अरू हाम्रो संस्थाले गर्ने क्रियाकलापहरुबारे देखायौँ। त्यतिबेलासम्म मेरो भारत बाहेकको ट्राभल हिस्ट्री पनि नभएकोले अझै अध्यागमनका कर्मचारीले ‘फ्रड हो यो फ्रड’ भन्दै थिए मलाई त। ‘फर्किन त पक्का फर्किने हो नि ?’ भन्ने प्रश्नमा ‘पक्का फर्किन्छु’ नि भनेपछि धन्न धन्न ‘जानुस्’ भनेका थिए।
हाम्रै टिमको एक जना दाइले एकपटक विदेश जाँदा अध्यागमनमा एक्लै पो पर्नुभएछ विचरा। उहाँको त्यतिबेला त धन्न ‘सातो’ नै गएछ! एक्लै विदेश जान गाह्रो हुन्छ एक जना साथी त चाहिन्छ नि भन्नुहुन्छ आजभोलि।
उहाँलाई पनि त्यतिबेला राम्रैसँग लामै समय केरकार गरेको मलाई भन्नुभएको थियो।
फेरि अध्यागमनका कर्मचारीले त्यतिबेला उहाँलाई ‘तपाईंको संस्थाले के काम गर्छ?’ भनेर सोधेछन्।
‘लु हाम्रो लुम्बिनी प्रदेशमा समेत काम गर्न आउनुपर्यो’ भनेर भनेछन् अन्तिममा त!
बेला बखतमा वैदेशिक यात्राका विषयमा कुरा गर्दा उहाँ सधैं अध्यागमन र विमानस्थलमा यात्रुको हुलिया हेरेर गरिने व्यवहार सम्झिनुहुन्छ।
उहाँको आफ्नो एउटा अचम्मको धोकोबारे हामीलाई बेला बेलामा सुनाउने गर्नुहुन्छ।
‘मलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र अध्यागमनबाट ढुक्कका साथ यात्रा गर्न मन छ। कुनै केरकारबिना।’ हामीले ठट्टा गर्दै उहाँलाई त्यो धोको भारत जाँदा पूरा हुने सुझाएका थियौं।
केही समयअघि त्रिभुवन विमानस्थलमा विदेश जाँदै गरेको एक युवकलाई गलामा लगाएको खादा फाल्न प्रहरीले गरेको व्यवाहारको भिडिओ सामाजिक सञ्जालभर आएको थियो।
हुन पनि मलाई अरू थुप्रै मान्छेहरूले विमानस्थल र अध्यागमनमा यात्रुको हुलिया हेरेर व्यवहार गर्छन् भन्नेबारे सुनाएका थिए।
कसैले भनेका थिए ‘तिमिी हाफ पाइट वा टिसर्ट लगाई विमानस्थलमा जान्छौ। अनि गर्दैनन् त केरकार। कोट पाइटमा जुत्तासहित चिटिक्क परेर जाऊ न तिमीलाई कसैले केरकार गर्दैनन्। सम्मानका साथ जान पाउनेछौ।’
यसपालि भने म सर्ट पाइन्टको साथमा गएको थिएँ। भारत जाने भएकोले पनि डर अलि कम भएकोले हुलियामा मैले खासै ध्यान दिएको थिइनँ।
विमानस्थलमा सुरक्षाकर्मीले त यात्रुहरूको हुलिया हेरेर व्यवाहार गर्छन् भने। अध्यागमन त यात्राको कागजात जाँच गर्ने ठाउँ हो।
विमानस्थलमा हुने यस्तो व्यवहारबारे एक जना दाइसँग कुरा भएको थियो। उहाँको आशय पनि थियो, विमानस्थलमा कर्मचारीहरूले यात्रुको हुलिया हेरेर व्यवहार गर्छन्।
‘हामी विदेश गएको उनीहरूलाई के पिर? उनीहरूको काम यात्राका लागि आवश्यक कागजात छ या छैन हेर्ने हो। यात्रुको हुलिया हेरेर थप अनावश्यक केरकार गर्ने काम उनीहरूको होइन नि।’
८० भन्दा बढी देशको एक सय पटकभन्दा बढी यात्रा गरिसकेका उहाँको अनुभव पनि विमानस्थलमा यात्रुलाई हुलिया हेरेर गरिने व्यवहारप्रति नै केन्द्रित थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको हुलिया हेरेर गरिने व्यवहारले निकै नै डर पैदा गर्ने गरेको हुन्छ। हेर्नुपर्ने त कागजात हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बसेका प्रहरीबारे रोचक कुरा अन्तर्राष्ट्रिय विमान्स्थलमा बसेका प्रहरी हिन्दीमा पो बोल्छन्। हामीसँगै भारत हुँदै अमेरिका प्रस्थान गर्न लागेका अमेरिकी यात्रुलाई समेत हिन्दीमा निर्देशन दिएका पो थिए अन्तर्राष्ट्रिय विमानस्थलमा त अंग्रेजी समेत राम्रो भएका सुरक्षाकर्मी राख्न नसकेको होला कि गुजारा चलिहाल्छ भनेको होला बुझ्न सकिएन।
यात्रा छिमेकी मुलुकको भए पनि अनुभूतिहरू रमाइला भए। बाँकी यात्रा अनुभूतिहरू अरू भागमा साटौंला!