रगतको नाता त थिएन हाम्रो तर म र मेरो साथी सपनालाई कक्षामा दिदी-बहिनी भनेर सबैले भन्थे।
हामी विद्यालय जाँदा पनि सँगै जान्थ्यौं, घर फर्किंदा पनि सँगै।
पढाइमा ऊ अलिक मभन्दा अब्बल थिइन्। उसले कक्षा १० को एसइई परीक्षामा ए प्लस ल्याएर पास गरेकी थिइन्।
मैले बि प्लस ल्याएर पास गरेँ। कक्षा १० पास गरेपछि हामी दुवैले एउटै कलेजमा व्यवस्थापन संकायमा भर्ना गर्यौं।
कक्षा ११ र १२ मा उनले ए ग्रेड ल्याएर पास गरिन्, मैले बि ग्रेड ल्याएर।
कक्षा ११/१२ पास गर्नासाथ लोक सेवा आयोग भिड्ने भन्ने सबैको लक्ष्य हुन्थ्यो गाउँमा। हामीले पनि घरमा सल्लाह गरेर ब्याचलर अध्ययनसँगै लोक सेवा तयारी गर्ने निर्णय गरेर काठमाडौंतिर लाग्यौं।
काठमाडौंमा उनको मितिनी बस्नुहुँदो रहेछ। काठमाडौं पुगेको दिन हामी दुबै मितिनीको घर गएर बस्यौं। सपनाले मितिनीलाई कोठा खोजिदिनू भनेकी रहिछ। मितिनीले भोलिपल्ट आफूसँगै नजिकैको घरमा कोठा खोजिदिइन्।
केही दिनमा उनले उडान शैक्षिक केन्द्रमा नायब सुब्बाको कक्षा लिन थालिन्। मैले भने आफै तयारी गर्ने निर्णय गरेँ। ब्याचलर पनि कोठा नजिकैको एउटा विद्यालयमा भर्ना गरेको थिएँ।
मध्यम वर्गको परिवारमा हुर्केको म आर्थिक रूपमा कमजोर नै थियो, तर सपनाको बुवा नायब सुब्बा हुनुहुन्थ्यो।
मैले काम गर्दै अध्ययन गर्ने निधो गरेँ। सपनाको मितिनीलाई काम खोजिदिन अनुरोध गरेँ, उनले एउटा सहकारी संस्थामा काम खोजिदिइन्।
बैंकमा जाँदा अरूले पैसाको गन्ती गरेको देख्दा मलाई पनि बैंकिङ क्षेत्रमा काम गर्ने इच्छा सानैदेखि थियो। त्यसैले मैले सरकारी बैंकको तयारी गर्न थालेँ। सपनाले निजामतीतिर तयारी गर्न थालिन्।
काठमाडौं आउँदा मैले नेपाल बैंक लिमिटेडमा फर्म भरेको थिएँ, उसले नायब सुब्बामा।
दिनभर काम अनि रातभर पढाइ हुन्थ्यो मेरो। हेर्दाहेर्दै काठमाडौं बसेको पनि एक वर्ष भइसक्यो।
शनिबारको दिन बिहान खाना खाएर फोनमा फेसबुकको न्युज फिड हेरिरहेको थिएँ, समीर लम्साल सरको पेजमा बुटवलको संघीय नायब सुब्बाको लिखितको नतिजा प्रकाशित भएको रहेछ।
सपनाले नायब सुब्बाको परीक्षा बुटवलबाटै दिएकी थिइन्। हतारहतार गर्दै उसको नाम छ कि छैन भनेर हेर्न थालेँ, २० नम्बरमा उसको नाम देखेँ। खुसीको सिमाना नै रहेन। मलाई उसको नाम आउँदा मेरो नाम आएको जस्तै खुसी लाग्यो। उनी लुगा धुन गएकी थिइन्, उनलाई आत्तिँदै बोलाएँ।
'सपना, बधाई छ! तिम्रो नाम निस्केछ सुब्बामा,' भनेँ।
उनले खुसी हुँदै नतिजा हेर्न थाली। अन्तर्वार्ताको तयारी गर्न थाली। उनले अन्तर्वार्तामा पनि सफलता हात पारिन् र बुटवलबाट नायब सुब्बाको पदमा नाम निकालिन्।
मलाई साथीले प्रगति गर्दा खुसी त थियो, तर उनले काठमाडौं छोडेर जाँदै गर्दा दुःख पनि भयो। अनि डर पनि थियो कि कतै पद र पैसाको लोभले उनले मलाई बिर्सने त होइन।
अन्तिम नतिजा प्रकाशित भएको ५-६ दिनपछि उनी बुटवल जाने बेलामा उसले भनिन्, 'साथी, मसँग अहिले पैसा छैन। तिमीसँग छ भने १५/२० हजार दिन्छौ? पछि तिर्छु।'
मैले आफ्नो तलबबाट केही पैसा बैंकमा बचत गरेर राखेको थिएँ। मैले त्यही पैसा निकालेर उनलाई दिएँ।
बुटवल गएको एक हप्ता त फोन गर्थिन्। मैले गरेको म्यासेजको रिप्लाई पनि दिन्थिन्। तर, जब उनले नायब सुब्बाको अन्तिम चरणमा नाम निकालिन्, मलाई लागेको डर सही साबित भयो। पद र पैसा पाउँदा उसले मलाई बिर्सिइन्। मैले फोन गर्दा पनि फोन उठाउन छोडिन्। फेसबुकको म्यासेजको रिप्लाई दिन पनि छोडिन्।
मैले दिएको पैसा त गयो, गयो। साथी पनि हराइन्।
पटक-पटक बोलाउँदा उसले बेवास्ता गरेपछि मैले पनि बोलाउन छोडेँ। मनमनै सम्झिएँ, 'हेपेको खोलाले बगाउँछ, मेरो पनि आउला प्रगति गर्ने दिन।'
६ वटा परीक्षा बैंकतिर दिँदा पनि मेरो नाम निस्किएको थिएन।
घरिघरि त लाग्थ्यो, 'खप्परमा भैंसी गोठालो लेखेसी सरकारी जागिर नहुने नै रहेछ।'
जहिले परीक्षा दिन जान्थेँ, परीक्षा बिग्रन्थ्यो। पहिलो पटक परीक्षा बिग्रँदा औधी रोएको थिएँ। दोस्रो पटक दिएँ, अलिकति तनाव भयो। तेस्रो पटक दिएँ, 'भए पास नभए अभियास' भन्ने सोच्न थालेँ।
आफन्तहरूले पनि हालखबर सोध्ने बहानामा 'पढाइ कस्तो हुँदैछ? खोइ त नाम निस्केन?' भनेर सोध्थे। सबैको मुख बन्द गर्न सकिँदैनथ्यो, बरू सबैसँग टाढा हुन थाले, सम्पर्कविहीन हुन थालेँ। मनमा इख लिएँ। मनमा कल्पिएँ, 'सबैको प्रश्नको जबाफ म एकदिन अवश्य दिनेछु।'
मैले बैंक बाहेक निजामती सेवामा पनि तयारी गर्न थालेँ—खरिदार, सुब्बा, अधिकृत सबैको तयारी। सुरूमा पाठ्यक्रम हेर्दा दिक्क लाग्थ्यो। विश्व, इतिहास, संविधान सबै घोक्नै पर्ने। रिस उठ्थ्यो। घरिघरि त लोक सेवा आयोगको पाठ्यक्रम बनाउनेलाई गाली गर्न मन लाग्थ्यो।
'राजा-रानीको छोरा-छोरी, आमा-बुवा, पति-पत्नीदेखि लिएर विश्वको इतिहास, संविधान सबै घोक्नै पर्ने! यति सम्म कि नेता ज्यू विदेश जाँदा पनि घोक्नै पर्ने?' कतै बिरामी हुँदा पनि घोक्नै पर्ने,
तर, फेरि सोच्थेँ, 'मैले गाली गरेर के गर्नु? लोक सेवाको पाठ्यक्रम परिवर्तन हुने होइन। लोक सेवा आयोग होइन, घोक सेवा आयोग रहेछ!' जस्तै लाग्थ्यो।
जहाँ-जहाँ परीक्षा खुल्थ्यो, सबै ठाउँमा यसै नभएको, उसै नभएको भन्दै परीक्षा दिन थालें। निजी जागिर पनि छोडें। दिक्क लाग्न थालिसकेको थियो। घरमा आमालाई ४/५ लाख ऋण खोजेर पैसा पठाइदिनु आमा सके जागिर खाएर तिर्छु, नसके विदेश गएर तिर्छु भनेर।
घरिघरि लाग्थ्यो, 'जाऊँ कि साउदी कतारतिर?' तर, फेरि सोच्छु, 'सफलता प्राप्त गर्न मैले गरेको त्याग। म असफलता हुँदा मान्छेले लाएको बचन।
राति ६ बजे किताब हेरेर बसिरहेको थिएँ, मामाको फोन आयो। फोन उठाएँ।
मामाले भन्नुभयो, 'भान्जी, बधाई छ! तिम्रो बुटवलबाट शाखा अधिकृतको लिखितको नतिजामा नाम निस्केछ।'
तर, मलाई विश्वास लागेको थिएन। यसअघि पनि सुब्बाको नतिजा आउँदा एक जना साथीले 'बधाई छ' भनेर फोन गरेकी थिइन्। नतिजा हेर्दा नाम मिल्यो, थर मिल्यो, तर बुवाको नाम मिलेन। मामाको फोन राखेर आफैं नतिजा हेरेँ। नाम, थर, बुवाको नाम सबै मिलेको रहेछ। खुसी भएँ करिब १५ वटा परीक्षा दिँदा मेरो नाम निस्केको थियो, तर अन्तर्वार्ता कस्तो हुने हो भनेर डर लाग्न थाल्यो।
अन्तर्वार्ता दिएँ। केही दिनपछि नतिजा आयो। अन्तिम चरणमा पनि सफलता हासिल गरेँ। कहिले नबोल्ने मान्छेले समेत 'बधाई छ' भनेर भने।
आमाले भन्नुहुन्थ्यो, 'धैर्य गर, सफल भइन्छ।'
आज सफल भएँ।
नतिजा आएको केही दिनपछि नियुक्ति पत्र लिएर बुटवलतिर लागेँ। भूमि सुधार तथा मालपोत कार्यालय बुटवल रूपन्देहीमा मेरो पोस्टिङ भएको थियो।
त्यहाँ गएँ, म आएपछि स्वागतको कार्यक्रम राखिएको थियो। सबै माला लिएर बसेका थिए।
मैले सपनालाई देखेँ। ऊ पनि मैले काम गर्ने कार्यालयमा काम गर्दै रहिछ। तर, मैले देखेर पनि नदेखेझैँ गरें। ऊ हेरिरही। माला अबिर लगाइदिइन्।
राति खाना खाएर फेसबुक चलाएर बसिरहेको थिएँ सपनाले हेलो साथी बधाई छ है भनेर मेसेज गरिन्। मलाई पनि उसले गरेको व्यवहारले रिस उठेको थियो। मैले नि अरू केही भनिनँ धन्यवाद के हो साथी अलिकति प्रगति गर्दा भुइँमा न भाडामा भएकी थियौ त हेपेको खोलाले बगाउँदो रहेछ नि देख्यौ आज म तिम्रो हाकिम हुँदा कस्तो महसुस भयो तिमीलाई भनेर। त्यसपछि 'त्यस्तो होइन साथी' भनेर कुरा गर्न खोजिरहेकी थिइन्। मैले पनि मेसेज नहेरी बेवास्ता गर्दिएँ।