ती दिनमा हामी केटाकेटीका लागि दसैँमा दक्षिणा र मांसाहारीभन्दा दुई कुरा बढी महत्त्वपूर्ण थिए– एक नयाँ लुगा र अर्को पिङ।
तिनताका तीनपाटनमा पसलै थिएन। पसलका लागि कि झन्डै तीन किलोमिटर उकालो चढेर कोटगाउँ पुग्नु पर्थ्यो कि चदाहा खोलैखोला झन्डै सात किलोमिटर पूर्वतर्फ हिँडेर मझुवा दोभान पुग्नु पर्थ्यो। केराउका दाना जस्ता मिठाई र खाजा बिस्कुट धरि किन्न नपाइने ठाउँमा दक्षिणा हामी केटाकेटीलाई के काम! त्यसैले सज्जन केटाकेटी हुन् बाध्य थियौँ हामी। अतः दसैँमा दक्षिणा जे जति हुन्थ्यो हामी खुरुक्क आमालाई दिन्थ्यौँ।
ती दिनमा तीनपाटनमा वस्तु विनिमय बढी हुन्थ्यो; पहाडतिरबाट दसैँको सिजनमा उपलब्ध हुने नासपती, केरा, पदेँल जस्ता फलफूलजन्य वस्तु लिएर जो आउँथे, अन्नसँग साट्थे। अन्न र बस्तुभाउबाहेक बिक्री हुने कुरा खासै हुन्नथ्यो। घरायसी उत्पादनका वस्तुहरू एैचोपैँचोमा चल्थ्यो। पैसा हात पर्थ्यो भने धान वा गाई बाख्रा बेचेपछि पर्थ्यो।
यसरी तीनपाटनका ती दिनमा हाम्रा जस्ता परिवारमा सबै कुरा थिए, पैसाको भने अभाव हुन्थ्यो। तर गृहस्थीमा पैसा खर्च हुने सन्दर्भ भने कत्ति कति! गाई वस्तु किन्नु पर्दा पैसा चाहिन्थ्यो। कतिपय कामदारले ज्यालाका रूपमा पैसाको माग राख्थे। सहर बजार जाँदा पैसाकै आवश्यकता पर्दथ्यो। त्यसैले दक्षिणाको रूपमा प्राप्त हुने मुद्रा हाम्रा लागि कम र बा/आमाका लागि बढी महत्त्वपूर्ण हुन्थ्यो।
हाम्रो परिवारमा हजुरबा/हजुरआमा वैष्णव हुनुहुन्थ्यो। त्यसैले मासु वा बिक्रीको प्रयोजनले पनि घरमा कुखुरा, परेवा र बाख्रापाठा पाल्दैनथ्यौँ। दसैँका लागि किनेको खसी पनि कि खेतमा कि छिमेकीको घरमा लगेर काटिन्थ्यो। मासु खान छाडेको तीन दिनपछि नुहाएर गहुँत खाएपछि हामी चोखिन्थ्यौँ। अनि घरभित्र पस्न र हजुरआमाको नजिकै बस्न पाइन्थ्यो। वैष्णव परिवार जो थियो।
घरमा टीका लगाएपछि हामी सबै टीका थाप्न अन्तरी हजुरआमाको घरमा जान्थ्यौँ। उमेरले भन्दा नाताले हजुरबा हजुरआमाभन्दा ज्येष्ठ सदस्य हुनुहुन्थ्यो अन्तरी हजुरआमा। यहाँ हजुरबा र हजुरआमाले पनि टीका लगाउन पाउनु हुन्थ्यो। ‘टीकाकै दिन आशिष् थाप्न पुगिनँ भने बाले चित्त दुखाउनु हुन्छ’ भन्नु हुन्थ्यो आमा।
मावल खास टाढा होइन तर गाउँ टोलकै टीका लगाउनु पर्ने घर भ्याउँदा र घरमा टीका लगाउन आउने मानिसहरूलाई खानपिन गराएर बिदा गर्दाओर्दा घरबाट निस्किँदा सधैँ रात पर्थ्यो। रात जति छिप्पिए पनि टीकाकै दिन हजुरबाको हातबाट टीका लगाएपछि आफ्ना दुई बडाबा र कालीप्रसाद दाजुको हातको टीका थाप्नै पर्थ्यो आमालाई।
दसैँको टीका पूर्णिमासम्म नै लगाइन्थ्यो तर टीकाकै दिन टीका थाप्नुलाई विशेष महत्त्व दिने गरिन्थ्यो। टीका लगाउने/लगाइदिने चटारोका बिच गाईबस्तु फुकाउन भ्याइन्नथ्यो। गाईबस्तुका लागि घाँस परालको अघिल्लै दिन जोरजम्मा गरिन्थ्यो। यी भए टीकाको दिनका कुरा।
हामी केटाकेटीको दसैँ भने केही अघि नै प्रारम्भ हुन्थ्यो। हाते कल लिएर सूचिकार जेठा दाइ वा माइला दाइले बार्दलीमा आसन जमाएपछि दसैँ आएको वास्तविक अनुभूति हुन्थ्यो, हामी केटाकेटीलाई। लुगा छेकाउने नाममा फित्ताले शरीरको नाप जाँच गर्न लागेपछि मन उसै फुरुङ्ग हुन्थ्यो। कपडा नयाँ भए पुग्यो। फेसन, डिजाइन वा सिलाइको तौरतरिका वा कपडा शरीरमा चट्ट मिलेको हुनु पर्छ भन्ने पनि नयाँ लुगाका सन्दर्भमा विचारणीय कुरा हुन् भन्ने हामीलाई लाग्थेन।
कपडा सिलाउने सन्दर्भमा बालीघरे प्रथा विद्यमान थियो तर हाते कल सबैको घर-घरमा पुग्न सम्भव थिएन। दसैँ र तिहार जस्ता चाडबाडले दाइहरूको निद्रा असन्तुलित बनाइदिन्थ्यो। सबैको भाका हुन्थ्यो— टीकाको दिनसम्ममा कसै गरी नयाँ लुगा चाहिन्छ।’ हामी पनि दाइहरू नयाँ लुगा लिएर कहिले आउनु हुन्छ भनेर पर्खिन्थ्यौँ। टीकाको दिन नयाँ कपडा लगाएपछि दसैँमा नयाँ कपडाले हामीलाई प्रदान गर्ने खुसी उत्कर्षमा चढ्थ्यो।
विष्णुलाल ठुलाबाले अरू दिन गीत गाएको कहिल्यै सुनिएन। तर जमरे औँसीदेखि माथ्ला घरमा विष्णुलाल ठुलाबा एउटा अनौठो गीत गाउनु हुन्थ्यो– बेलुका बेलुका सधैँ। हजुरआमा भन्नु हुन्थ्यो– ‘दसैँ लागेपछि माइलो हरेक वर्ष मालसिरी गाउँछ।’
हामीलाई अरू सबै कुरा भए पनि पिङ नहालीकन दसैँ आउँदैन भन्ने लाग्थ्यो। दसैँ आउन लागेपछि कतिपयले घरकै बलोमा डोरी बाँधेर छोराछोरीका लागि पिङ हालिदिन्थे। रमाइलो के भने, हामी केटाकेटीले यस्ता ‘केटाकेटी पिङ’मा कहिल्यै चित्त बुझाउनु परेन। दसैँ आउनै लाग्यो भन्ने भएपछि बरको हाँगामा बाबियोको लट्ठा बाँधिन्थ्यो।
बाबियो काट्न र लट्ठा बाँध्न बढी रौसिनु हुन्थ्यो– आँपगैह्रीका दाहाल काका बाहरू। उहाँहरूको रउसमा तेल थप्नेमा अगुवा हुनुहुन्थ्यो– स्वर्गीय तेजकुमार कोइराला। यो हुटहुटीमा गाउँका सबै परिवार गोलबद्ध हुन्थे। बाबियो लिन जङ्गलमा माथिमाथि नाङ्गेडाँडासम्म नै पुग्नु पर्थ्यो रे। पिङको लट्ठाका लागि बाबियो पुग्छ भन्ने भएपछि लट्ठा बाट्ने कुरा आउँथ्यो।
लट्ठा बाट्न गाउँका युवाहरू बेलुकीपख कसैको घरमा भेला हुन्थे र बिहान हुँदासम्ममा पिङ तयार भइसकेको हुन्थ्यो। लट्ठा बरको अग्लो हाँगामा बाँधेर काम्रो राखेपछि कसैले पिङ मच्चाउँथ्यो— सरर्र हु..ई..।’ यो आवाज सुनेपछि हामी केटाकेटी जहाँ जुन अवस्थामा हुन्थ्यौँ पिङ खेल्न दौडिन्थ्यौँ।
पिङ तयार भएको जानकारी गाउँभरि हावा सरी फैलिन्थ्यो र पिङमा पालो माग्न केटाकेटी जम्मा भइसकेका हुन्थे। पिङमा पालो नबिग्रियोस् र झगडा नहोओस् भनेर केटाकेटीका बिचमा अलि ठुलो देखिने व्यक्तिलाई अख्तियार दिएर पिङ हाल्ने युवाहरू बिदा हुन्थे। कसैलाई पिङ सिङ्गल खेल्नु पर्थ्यो; कोही दोहोरी खेल्न चाहन्थे। दोहोरी खेल्ने जोडीको रूपमा आफ्नो मिल्ने साथीको खोजी हुन्थ्यो।
कसैले पिङ उधुम मच्चाउँथ्यो र उसको पराक्रम पिङ खेल्ने ठाउँतिर हामी केटाकेटीका बिचमा केही दिनसम्म रुमलिई बस्थ्यो। हामी केटाकेटी पनि कम्ती जाति थिएनौँ, कुनै नौलो मानिसले पिङ खेल्न रुचि देखायो भने पालो मिचेरै उसलाई खेल्न दिन्थ्यौँ।
दसैँमा लिङ्गे पिङ तीनपाटनका सबैजसो गाउँमा हालिन्थ्यो। कतिपय गाउँमा पिङ हाल्न बाँसको लिङ्गो गाड्ने पनि गरिन्थ्यो। हाम्रो गाउँ कदमेमा भने बाँसको लिङ्गा गाडेर पिङ हाल्न अलिपछि मात्र थालिएको थियो। पिङ खेल्न हुल बाँधेर अर्को गाउँमा जाने पनि गर्थ्यौँ हामी। अरू गाउँबाट पनि हाम्रो पिङमा आउने गर्दथे।
पिङको लट्ठा खोल्नुभन्दा पहिले अनेकौँ पटक ‘अर्को साल चाहिँ रोटेपिङ हाल्ने’ योजना बुनिन्थ्यो। तर त्यस्तो पिङ साखामाडी, झुङा, बेलघारी/रातमाटे, चिसापानी र भीमथानमा हालियो। हाम्रो गाउँ कदमेमा कहिल्यै हालिएन।