लकडाउन!
शब्दले सबैलाई कोभिड-१९ को याद दिलाउँछ होला। जसले ४ वर्ष अगाडि विश्वलाई नै तहसनहस बनायो। त्यसमा हाम्रो नेपाल पनि अछुतो रहन सकेन। जसको प्रभाव नेपालको हरेक क्षेत्रमा पर्न गयो विशेष गरी व्यापार व्यवसायमा प्रत्यक्ष प्रभाव पार्यो। जसका कारण देशको अर्थतन्त्रमा शिथिलता छायो। आमसर्वसाधारणको जीवनशैलीमा परिवर्तन आयो।
देशभर लकडाउन सुरू भयो। सरकारले संक्रमण फैलिन नदिनको लागि देशभर नै आवातजावत बन्द गर्यो। हिजोअस्तिसम्म सँगै अंगालो मारेर हिँड्ने साथीभाइ आफन्तबीच दुरी कायम हुन थाल्यो। दैनिकीमा परिवर्तन आयो। सबैतिर डरत्रास फैलिएको थियो। सबैको मनमा डरत्रास थियो। घरपरिवारदेखि नै सावधान हुनुपर्ने अवस्था थियो। एकअर्कालाई छुन डराउने, एकअर्कालाई भेट्न डराउनुपर्ने, कुनै चिजवस्तु छुन डराउनुपर्ने अवस्था सिर्जना भयो।
हो, यही विषम परिस्थितिमा जन्म भएको लकडाउन। त्यति छिटो तिम्रो आगमनको परिकल्पना मैले गरेको थिइनँ। योजना बिना नै तिमीले मेरो कोखमा बास लिइसकेको रहेछौ। व्यस्त जीवनशैलीका बीच तिमी मेरो कोखमा आइसकेको सुइँको समेत पाउन सकिनँ। करिब तीन महिना पुगिसकेको थियो सायद। यस्तो सायदै कसैलाई हुन्छ जो मलाई भएको थियो। मेरो दिनचर्या सामान्य नै थियो। बिहान घरको काम। दिउँसो अफिस। यसरी नै करिब ७ महिना बितेछन् पत्तो पाइनँ। त्यसपछिको दैनिकी बिहान र साँझ करिब दश किलोमिटर हिँडडुल गर्दै दश महिना बितेछ। दश महिना बित्दा सम्मको मेरो कोखभित्रको तिम्रो यात्रा र मेरो यात्रा सहज र सरल नै भयो। डाक्टरको सल्लाह अनुसार तिमीले यो धर्तीमा पाइला टेक्ने ऐतिहासिक दिन देशको भाग्यरेखा कोरिएको दिन असोज तीन गते थियो। तर करिब एक हप्ता ढिलाइ गरी तिम्रो आगमन भयो असोज १२ गते।
स्वास्थ्यमा खासै कुनै लक्षण देखिएको थिएन तर डाक्टरको सल्लाह बमोजिम असोज ११ गते नै म हस्पिटल भर्ना हुनुपर्ने भयो। सोही बमोजिम ११ गते साँझ नै म हस्पिटल भर्ना भएँ। तत्कालै डाक्टरको टोलीले स्वास्थ्य परीक्षण गर्यो।
‘यो इलेक्ट्रिक केस हो, यो भोलि फर्स्ट आवरमा गर्नुपर्छ’ यति भनेपछि मलाई वार्डमा सिफ्ट गरियो।
एक जना नर्सले नजिकै आएर भन्नुभयो, ‘तपाईं यतै आराम गर्नुहोस्। अब भोलि बिहान तपाईंको अपरेसन गरेर बच्चा निकाल्ने, बच्चा ठूलो छ ४ केजी ५ सय ग्राम, अनि बच्चा खेल्न आवश्यक पर्ने पानीको मात्रा पनि कम छ।’
यति भनेपछि मेरो मनमा एक खालको डर उत्पन्न भयो। इलेक्ट्रिक केस भन्ने वित्तिकै म झसंग भएँ।
नर्मल डेलिभरीको लागि मैले गरेको प्रयास व्यर्थ भएझैं पनि लागेको थियो। यही कुरा तिम्रो बाबालाई सुनाएँ। यति कुरा सुनाइसकेपछि तिम्रो बाबाको मुहार मलिन भइसकेको थियो। स्वास्थ्यमा कुनै परिवर्तन थिएन। पीडा दुखाइ केही पनि थिएन। तर भोलिको इलेक्ट्रिक केस भन्ने जुन मनमा एक खालको डर थियो त्यसले रातभर निदाउन दिएन।
तिम्रो माइली ममीसँग रातभर कर्णाली प्रदेश अस्पतालको परिसरभर हिँडडुल गर्दै गफिँदै रात बित्यो। बिहानको ६ बज्यो। मनमा एक खालको डर थियो। के हुने होला ? बिहानको करिब ९ बज्यो। अपरेसन थिएटरमा लिनका लागि तयार गरिँदै थियो। मन एकदमै आत्तिएको थियो। बिहानको करिब साढे दश बजे अपरेसन थिएटरमा लिने समय भयो। घाँटी तन्काई तन्काई बाहिर हेर्न थालेँ। कतै तिम्रो बाबालाई देख्न सक्छु कि भनेर। तर नजिकै कतै देखिनँ। एकदमै डाँको छोडेर रून मन लाग्यो। सकिनँ। हिक्क हिक्क गरेको आवाज नर्सको कानसम्म पुगेछ, ‘नडराउनु म्याम केही हुँदैन, सामान्य हो।’
आँखाबाट एकोहोरो आँसु बगिरहेको थियो। मन बुझाउन सकिरहेको थिइनँ। तिम्रो बाबालाई एक पटक दौडिएर गएर अंगालो मारेर बेस्सरी रून मन थियो। तपाईं पनि हिँड्नु न म सँगै भित्र, मलाई एक्लै जान डर लागिरहेको छ भन्न मन थियो। तर त्यो सम्भव भएन। त्यो क्षण सबैभन्दा एक्लो फिल भएको थियो। पापी मन न हो। तिम्रो प्राप्तिका निम्ती म नै रहेन भने यो संसारमा? तिम्रो र बाबाको चिन्ता बढिरहेको थियो। त्यतिबेलासम्म अपरेसन थिएटरमा लगिसकिएको थियो। तिम्रो बाबालाई एकपटक देख्न मन थियो। बेडबाट नै झ्यालबाट बाहिर हेरिरहेको थिएँ। तर देखिनँ। डाक्टरले भन्नुभयो बेडमा पल्टिनुस्। मैले डाक्टर सावसँग अनुरोध गरेँ, ‘मेरो हजवेण्डलाई बोलाई दिनु न, एकपटक झ्यालबाट भए पनि हेर्छु’ अब एकछिनमा भेट्नुहुन्छ। मतलब तिम्रो बाबा खाना खान जानुभएको रहेछ। यति भन्दै गर्दा मेरो शरीरलाई लाटो बनाउनको लागि सुइँ लगाइसकेको रहेछ। अलि अलि अड्कल भयो। त्यसपछि आँखा मात्र खुलेको थियो। अरू सबै अन्जान थियो।
यतिकैमा असोज १२ गते बिहान ११ बजेर ६ मिनेटमा तिम्रो जन्म भयो। नजिकैबाट आवाज भयो। 'तपाईंको छोरा जन्मियो। हेर्नुस्।' मधुरो छाया देखेझैं भइरहेको थियो। केही छिनमा चिर्र चिच्याएको आवाज भयो। आँखा झसंग भयो। मन गदगद भयो। त्यो चिच्याहटमा कति आत्मीयता थियो। त्यो शब्दमा बयान गर्न सकिनँ। यत्तिकैमा एकदम खरोखरो फिल भएको थियो। मैले पानी खाने भनेको याद छ। कतै महिलाको आवाज आयो।
‘यो भान्साकोठा होइन त बहिनी।’
त्यसको केही समयमा मलाई वार्डमा सारियो। हो यही विषम परिस्थितिमा जन्म भएको हो लकडाउन। असोज १२ गते। परिस्थितिले सबैलाई टाढा बनाइदियो। तर घरपरिवार, आफन्त सबै तिम्रो आगमनको पर्खाइमा थिए। परिस्थितिले एकअर्का बीचको दुरीलाई कायम गर्नुपर्ने अवस्था सृजना भयो। हो त्यही समयमा बिना कसैको रोकावट तिम्रो आगमन भयो। तिमी तिम्रो बाजेबज्यैको जेठो नाति बन्यौ। तिम्रो काकाकाकीको तिमी जेठो छोरा बन्यौ। तिम्रो फुपूहरूको लागि तिमी जेठो भदै बनेर आयौ। तिम्रो बाबा र मेरो लागि हरथोक बनेर आयौ। सबैको प्रिय व्यक्ति बनेर आयौ।
संक्रमणको त्रासमा सरकारले एकअर्काबीच दुरी कायम गरेकै समयमा हो तिम्रो आगमन भएको। तिम्रो आगमनले सबै पीडा, डर, चिन्ता हराइसकेको थियो। त्यो दिन मात्र थाहा भयो जीवनमा धेरै र ठूला प्राप्ति मात्र खुसीका आधार होइनन् भन्ने।
तिमी नै एउटा अमूल्य खुसीको माध्यम बनेर आयौ। तिम्रो आगमनले मलाई पूर्ण भएको महसुस गरायो। थप परिपक्क भएको महसुस गरायौ, थप जिम्मेवारी बहन गर्ने अवसर दियौ, दश महिना कोखमा राख्दाको हुने विभिन्न परिवर्तनको अनुभव लिने अवसर दियौ। तिमी सँगसँगै म पनि व्यावहारिक रूपमा हुर्किंदै गरेको महसुस गरेको छु। कति धेरै कुरामा अन्जान रहेछु म भन्ने कुरा बुझ्दैछु। तिम्रो आगमनले मेरो जीवनमा थप पूर्ण र अर्थपूर्ण बन्दै गएको मैले महसुस गरेको छु। तिमीले गर्ने गरेका कतिपय प्रश्नले मलाई नयाँ कुरा गर्न र सिक्ने मौका पाएको छु। तिम्रो हुर्काइ मेरो लागि प्रयोगात्मक पाठशाला बनेको छ।
उमेरले तिमी चारै बसन्त पार गर्यौ। तर कतिपय तिम्रो सोचाइ, काम गर्ने शैली, बोलाइ र मन्थनले तिमी मेरो प्रिय प्यारो नजिकको साथी बनिदिन्छौ। कहिलेकाहीँ अनुहार मलिन हुँदा मेरो मनको भाव बुझेर गर्ने तिम्रा प्रश्नले झस्काउँछ। कहिले कसो शरीरको सन्तुलन नमिल्दा तिमीले देखाउने हेरचाह र प्रेमले अचानक भावुक बनाउँछ। कहिलेकाहीँ मन साह्रै एक्लो भइरहेको हुन्छ। जुनबेला ‘म छु त मामु तिम्रो लागि किन चिन्ता लिन्छौ’ भनी हौसला दिएको देख्दा मेरो जन्म दिने बुवाको अर्को रूप तिमी हौ जस्तो लाग्छ।
तिमी मेरो एक्लोपन हरदमको प्रिय साथी बनेका छौ। मेरो काम गर्ने शैली, कर्तव्य र जिम्मेवारीलाई पटक पटक तिमीले सम्झाइदिन्छौ। जसले मलाई आँट, साहस र हौसला बढाउँछ।
कोभिड १९ को विश्वव्यापी महामारीको रोकथाम नियन्त्रण तथा प्रतिकार्यका लागि नेपाल सरकारले २०७६ चैत ११ गतेदेखि लकडाउन सुरू गर्यो। २०७७ असोज १२ गते तिम्रो जन्म भयो। महामारीको कारणले धेरैले ज्यान गुमाउनु पर्यो। यसैबीचमा तिम्रो जन्म भएको थियो। विषम परिस्थितिलाई मध्यनजर गरेर नै तिम्रो बाबाले तिम्रो नाम नै लकडाउन राखिदिनुभयो। पण्डितले राखिदिनुभएको नाम गृष्म, गृर्माण। तर मेरो र तिम्रो बाबाको लागि तिमी हाम्रो सान हौ। हाम्रो गौरव हौ। त्यसैले तिम्रो नाम गौरव रह्यो।
मेरो लागि यो मौसम अनि यो महिना यसै प्रिय थियो। झनै तिम्रो आगमनले यो मौसम अझ प्रिय लाग्छ। रमाइलो लाग्छ। आनन्दित लाग्छ। यही आन्दित मौसम आजकै दिन हो तिम्रो जन्मदिन, असोज १२ गते।
जन्मदिनको शुभकामना छोरा !
जन्मदिनको शुभकामना छोरा !!
तिम्रो चुलबुले पनमा म रम्न चाहन्छु, तिम्रो निस्वार्थपनमा म हराउन चाहन्छु, तिम्रा यी दैनिक यात्रा नजिकबाट हेर्न र महसुस गर्न चाहन्छु छोरा।
ठूलो होइन, असल र ज्ञानी बन्नु, स्वस्थ, निरोगी बन्नु, तिमीमाथि हाम्रो आशीर्वाद सदा रहिरहनेछ छोरा। बाल्यकालमा मात्र होइन छोरा, समयले साथ दिँदासम्म म तिम्रो नजिक वरपर तिमीसँगै हुने प्रयास गर्नेछु। छोरा तिमी जिन्दगीका पहाड चढ्न सक्ने आँट र साहस राख्नु, तिम्रो दु:खको इलेजर र खुड्किलो बन्ने प्रयास हामी गर्नेछौं।
समय र परिस्थितिसँग डटेर सामना गर्न सक्ने हिक्मत राख्नु, साथ हामी दिनेछौं। जिन्दगीको उकालो ओरालीमा कतै पुगेसी साह्रै थकाइ लाग्ला, हिम्मत नहार्नु तिमी धेरै पर छ जानु, चौतारी बनेर अगाडि हामी आउनेछौ छोरा। तिमी एक घर परिवारको मात्र असल छोरा नभई, देश र समाजको एक असल प्रेरणादायी देशले नै गर्व गर्न लायक छोरा बन्नु।
तिमी फूल जस्तै फर्किनु, धैर्यवान, दुरदर्शी, सकारात्मक सोचविचारले समाजमा सधैं सुगन्ध छरिरहनु।
जन्म दिनको लाखौं लाख शुभकामना मेरो छोरा।