संसारमा करिब १५ प्रतिशत मानिस आफ्नो देश छोडेर अर्को देशमा गई बस्ने गर्दछन् र करिब ७० प्रतिशत मानिसहरू आफ्नो जन्मथलो छोडेर कर्मथलो तिर वा घर छोडी देश विदेश तिर बसोबास गर्ने गर्दछन्। नेपालमा पनि करिब यतिका प्रतिशत नै मानिस आफ्नो जन्मथलो छोडेर कर्मथलो वा देश विदेश गएको तथ्यांक छ। यही ७० प्रतिशत भित्र पर्ने एक नाम पनि हो, शेरजंग बहादुर चन्द अर्थात् म।
यस्ता अनेकौँ नाम/पात्र मेरो मस्तिष्कमा छन् मैले देखेको छु, विचार गरेको छु, सम्झेको छु र सम्झिरहन्छु पनि। हर्के हल्याण्ड, सुर्जे स्विजरल्यान्ड, अमर अमेरिका, आसु अस्ट्रेलिया, काले काठमाडौँ, दिले दिल्ली, महेश मुम्बई यी पात्र मात्र हुन्। यी अनेक पात्रहरू जस्तै मेरा पनि धेरै साथीहरू छन्, तपाईंका पनि होलान् र सबैका हुन्छन् पनि। म सजिलै विश्वास गर्न सक्छु।
मेरै तीन पुस्ताको कुरा गर्दा बाजेले जन्मथलो छोड्नु भयो, बुवाले पनि र मैले पनि। यसरी जन्मथलो छोड्ने केही सुखद पक्ष भए पनि केही अति नै दुखद अनुभव हुँदो रहेछ। एउटा छोरीले बुवाको घर छोड्दा कस्तो अनुभव हुन्छ होला यसको अनुमान त म गर्न सक्दिनँ तर माइतीको गाउँबाट काग उडेर आयो भने पनि माया लाग्छ भन्ने उखानले त्यो अनुभव कस्तो थियो भनेर दर्साउँछ। ७० प्रतिशतमा म पनि परेँ। मलाई पनि केही सुख दुःख भयो। त्यही कुरा म बाँड्दै छु।
करिब ४ दशक पहिले म महेन्द्रनगर हालको भिमदत्त नगरपालिकामा जन्मेको थिएँ। पापी पेट, सानो सहर तर इच्छा बढी भएपछि मैले महेन्द्रनगर छोडेँ। कर्मथलो नै परिवर्तन भएपछि म महेन्द्रनगर खासै जान सकिनँ। गएको बेला पनि २/४ दिन बस्ने तथा घर परिवार आमा-बुवा, दिदी-बहिनी, दाजुभाइसँग बस्दा बस्दै समय बित्ने भएकाले हतार हतारमा आफ्नो कर्मथलो फिर्ता आउने गरेको थिएँ। यही सिलसिलामा केही समय पहिले महेन्द्रनगर जाँदा मैले राम्ररी चिन्ने महेन्द्रनगरले मलाई चिनेन र दुखी भई कलम नचलाई बस्न सकिनँ।
जुन खेतको बाटो हुँदै गाउँको बिचबाट हाम फाल्दै म कक्षा २ देखि ७ सम्म पढ्न जान्थेँ, त्यही बाटो एक चोटि जाऊँ भनी विचार गरेँ। तर त्यो बाटो अब बाटो थिएन। घरबाट ज्ञानुको घर, ज्ञानुको बाट भानु, रामु दाइको घर हुँदै धर्मको घर अगाडिबाट शान्तिको घर, सिताको घर हुँदै गोविन्दको घर अगाडिबाट हिँड्दै उसको काकाले किनेको टिभीमा आइतबार महाभारत हेर्दै विद्यालय जाने जुन बाटो थियो अब त्यो बाटो नै रहेन।
त्यस बेला त्यो बाटोमा मलाई नचिन्ने कोही थिएन। त्यो बाटोको ठुलो ढुंगा, त्यो सिमलको रुख, त्यो पिपलको चौतारीदेखि त्यो ध्रुवको घरको कालो कुकुरसम्म। तर आज एक पटक त्यो सोच्दा ज्ञानु घर छोडी कर्मथलो तिर देशमै कतै अर्को ठाउँमा छ रे। रामु दाइ, भानु दाइ त्यो पुरानो घर छोडी कोही काठमाडौँ त कोही अन्यत्र गएका छन् रे।
धर्म महेन्द्रनगर भए पनि उसले शेर भनी चिन्छ होला तर सामाजिक सञ्जालबाट मात्र। शान्तिसँग केही समय पहिले काठमाडौँमा भेट भएको थियो। उसले पनि विवाह गरी जन्मथलो परिवर्तन गरेको रहेछ। सिता भारततिर कता छ थाहा छैन। उनीहरूले त मलाई चिन्ने कुरै भएन। पछिल्लो समयसम्म गोविन्द मेरो सम्पर्कमा नियमित जस्तो नै थियो। तर उसको पनि डिभी परेर अमेरिका भासिएपछि सधैँ सुख दुःखका कुरा गर्ने साथी अब उसले पनि मलाई बिर्स्यो।
यस्तै बरमक्का, चेतराज, यज्ञराज, राम, ध्रुव, गजी सबैले मलाई बिर्सिए। कैयौँ पटक बसेर मैले पानी खाएका त्यो ढुङ्गाले पनि मलाई बिर्सियो। सुनेको छु त्यो हिम्मती ढुङ्गा टुक्रा-टुक्रा भएर सडक बनाउँदा माटोभित्र च्यापिएर रोइरहन्छ। त्यो सिमलको रुख काठमाडौँमा कसैको घरको ढोका बनेर बसेको छ रे। चौतारी भत्किसक्यो अनि मलाई चिन्ने ध्रुवको कालो कुकुरपछि ध्रुवले ८ वटा कुकुर अरू पालिसक्यो।
अब त्यो बाटोमा सयौँ घरहरू छन्। त्यो बाटोले मलाई बिर्सिसक्यो। त्यो रुख मरिसक्यो। त्यो पोखरी सुकिसक्यो। माया गरी चिउरा दिने ठुली आमा, बाटोमा पिट्न आउने बाजे अब कोही पनि रहेनन्, केबल तिनीहरूका याद बाहेक। त्यो काठको पसल (खोका) कता गयो थाहा छैन। त्यो पसल मालिक रक्सीको लतले अब अन्तिम दिनहरू गन्दै छन् रे।
मैले अहिले पनि त्यो जन्मथलोलाई चिनेको छु, त्यो गाउँलाई चिनेको छु तर अहँ! अब मलाई मेरै जन्मथलोले चिन्दैन। म एक्लै भएको बेला आफूलाई त्यस ठाउँमा चिनाउन खोज्छु तर अब त्यो बाटोमा मलाई कोही चिन्दैन। चिन्नेले पनि बिर्सिसके तर पनि मसँग महेन्द्रनगरको श्याम खेतको फोटो जस्ताको त्यस्तै छ।
अलि ठुलो भएँ, विद्यालय परिवर्तन भयो। त्यहाँ पनि त्यस्तै अनेकौँ पात्रहरू आए। रमेश ओमकार, पुष्पा, विमला जस्ता अनेकौँ पात्र अमेरिका, क्यानडा हानिए। हरिस, गौरव, वसन्त दिपा सुमित्राले मजस्तै काठमाडौँलाई कर्मथलो बनाए। ध्रुव, गजी, पुष्कर आदि महेन्द्रनगरमै रमाए। फेरि हेर्दा त्यही कथा दोहोरियो यहाँ पनि।
त्यो नहरको पुल जसमा दिनको दुई पटक ओहोरदोहोर गर्थेँ। आजभोलि भत्केला जस्तो भएको त्यो पुलले मलाई चिन्दैन। सानोमा म खेल्ने त्यो पुरानो बसको संरचना त्यसलाई कवाडीले उहिले नै बेचिसक्यो रे। त्यो महाकाली सिँचाइ भित्रको लिचीको रुख जसबाट लिची चोरी खान्थेँ, ५/७ वर्ष पहिले हुरीले त्यसको हातखुट्टा तोडिदियो रे।
अब मलाई माया गरी पिट्ने मेरा म्याडमहरू मलाई चिन्दैनन्। त्यो विद्यालय भवन परिवर्तन भई मैले पढ्ने कोठा कहाँ थियो खोज्नै सकिएन। त्यो गल्ली जहाँ बेलुकी बेलुकी साइकल चलाउँदै बस्थेँ आज त्यो एकदमै चौडा भई घमन्डी भइसकेछ, झन् उसले त मलाई के चिन्थ्यो र! त्यो बैजनाथ स्कुल, त्यो सिद्धनाथ विज्ञान तथा बहुमुखी क्याम्पसहरूको पनि मैले रङ परिवर्तन भएको देखिसकेँ। म चिनाउन खोज्छु तर उनीहरू चिन्नै मान्दैनन्।
ती केटी साथीहरूको पछि-पछि साइकलमा उनीहरूको घरसम्म गएको पनि म ठ्याक्कै सम्झन सक्छु। तर आज न त्यहाँ साथी छ, न त्यो घर न तिनीहरूको लेडीबर्ड साइकल। मलाई पढाउने शिक्षकहरू कति रिटायर्ड भए त कतिले संसार नै छोडिसके। फेरि पनि म चिनाउन खोज्छु तर महेन्द्रनगरले चिन्न मान्दैन र सक्दैन पनि।
मैले दिउँसो ४ बजेदेखि १०औँ वर्षसम्म टेक्वान्डो खेलेको त्यो कभर्ड हल बुढो भई आँखा नै देख्न छोडेछ अनि मलाई कसरी चिन्थ्यो। त्यो क्रिकेट खेल्दा छक्का हानेका कति बलहरू मेचको पछाडि खुला मैदानको झाडीभित्र बसी दबेका छन्। सायद तिनले चिन्थे कि तर खोज्ने सामर्थ्य ममा भएन।
अलि अगाडि नयाँ घरहरू बनिसके तिनीहरूले मलाई चिन्ने कुरा भएन, झन् त्यहाँ भित्र बस्ने मान्छेहरू मलाई कसरी चिन्थे र! त्यो लुकेर सिगरेट खाने झाडी अब पार्क बनिसकेछ। त्यसले पनि बिर्सियो। त्यो ठेलावाला दाइ जसलाई पचास पटकभन्दा धेरै धम्काएर बिना पैसा चाट खाने गर्थेँ, उसको छोरा आज काठमाडौँ छ रे तर चाट बेच्न बिर्सेको छ। त्यो कपाल काट्ने नाई दाइको पसल जहाँ दिनमा एक पटक भए पनि कपाल मिलाउन होस् या ठुलो सिसामा आफ्नो अनुहार हेर्न जान्थेँ, त्यो दाइ पनि आँखा नदेख्ने गरी बुढो भएछन् र मलाई चिन्नै छोडेछन्।
हो यस्तै विभिन्न घटना तथा पात्र लिई म आफू महेन्द्रनगर समक्ष चिनिन खोज्छु तर अब ऊ मलाई चिन्न तयार छैन। त्यो घमन्डी भयो या उसको बाध्यता थियो त्यो मलाई थाहा भएन। म स्वार्थी भएर उसलाई छोडेँ, तँ सानो ठाउँ भइस् मेरा इच्छा आकांक्षाहरू अटाएनन् भनी आएको थिएँ। सायद त्यसैले उसले मलाई चिनेर पनि नचिनेझैँ गरिरहेको पो छ कि? म एकोहोरो भएर बारम्बार यही सोचिरहन्छु।
न गल्ली, न चोक, न रुख, न पोखरी, न ढुङ्गा, न साथी, न भाइ, न काका, न खेत, न खोला, चौतारी, न त न ठेलावाला, न नाई दाइ, न ध्रुवको कुकुर अब मलाई चिन्ने महेन्द्रनगरमा कोही पनि छैन। महेन्द्रनगरलाई म बिर्सन भन्छु तर महेन्द्रनगर मलाई चिन्दै चिन्दैन र चिन्न खोज्दैन पनि। बेला बेलामा ठाउँभन्दा पनि समयले बिर्सेको हो कि जस्तो लाग्छ त्यो पनि मन बुझाउनका लागि मात्र।
तर एक कुराले मन बुझाएको छु, महेन्द्रनगरले मलाई बिर्सँदै गएको छ तर मलाई अरू ठाउँले अरू नगरले चिन्न थालेका छन्। अरू नगरले चिने पनि तिमी महेन्द्रनगर नै प्रिय लाग्छ जहाँ मैले साना-साना हातले खेलेको थिएँ। जस कारण तिमी मेरो मन मस्तिष्कमा बसेका छौ।
तिमीले बिर्सियौ म अति दुखी छु तर विकल्प केही छैन। यो घटना मेरो लागि मात्र नभई प्रायः सबैमा घट्ने घट्दछ र कोही पनि केही गर्न नसक्ने भएकाले तिमी चाहे जतिसुकै बिर्स महेन्द्रनगर तर तिमीलाई कहिल्यै बिर्सने छैन।