प्रिय बाबा,
जीवनको यस धमिलो संध्याकालमा जहाँ हरेक क्षण कुनै न कुनै कार्यमा व्यस्त छ, म आफ्ना मनका गहिरा भावनाहरू व्यक्त गर्न चाहन्छु। ती भावनाहरू जुन मैले सधैँ मनमा साँचेर राखेकी थिएँ तर कहिल्यै शब्दमा उतार्न सकिनँ। आज म ती अनकहा कुराहरूलाई शब्दको माला उन्न चाहन्छु जुन मेरा प्रिय बाबाप्रति छन्।
तपाईंको अस्तित्व मेरो जीवनमा एउटा अनमोल रत्न जस्तै छ; चम्किलो, बहुमूल्य र अतुलनीय। तपाईंको साहस र दृढता मेरो लागि एउटा अटल पर्वत जस्तो छ जसले मलाई हरपल थामिरहन्छ र अगाडि बढ्न प्रेरित गर्छ। जीवनका हरेक मोडमा, हरेक चौबाटोमा तपाईंको मार्गदर्शन मेरो लागि दीप स्तम्भ बनेर उभिएको छ।
तपाईंको व्यक्तित्वको बहु आयामिक पक्षहरू; तपाईंको अतुलनीय बुद्धिमत्ता, अथाह करुणा र अद्वितीय नेतृत्व क्षमता। यी सबै मिलेर एउटा यस्तो चित्र बनाउँछन् जुन संसारका कुनै पनि कलाकारले कोर्न सक्दैनन्। म जति सोच्छु, मलाई उति नै लाग्छ कि संसारभरि खोज्दा पनि तपाईंजस्तो पूर्ण र सिद्ध बुवा भेट्टाउन असम्भव छ।
हरेक दिन तपाईंबाट म नयाँ पाठ सिक्छु। कहिले जीवनका गहन दर्शनहरू त कहिले दैनिक जीवनका साना तर महत्त्वपूर्ण सीपहरू। तपाईं मेरो लागि एक विद्यालय हुनुहुन्छ जहाँ म निरन्तर सिकिरहन्छु, बढिरहन्छु र परिपक्व हुँदै गइरहेकी छु। तपाईं जस्तो बुवा पाउनु मेरो लागि गौरवको विषय मात्र होइन, यो त मेरो जीवनको सबैभन्दा ठुलो उपलब्धि हो।
तपाईंको बहुमुखी प्रतिभा देख्दा म चकित हुन्छु। कसरी एउटै व्यक्तिमा यति धेरै गुणहरू समाहित हुन सक्छन्? पेसागत जीवनमा तपाईंको सफलता र कुशलता त छँदै छ, तर घरायसी जीवनमा पनि तपाईंले देखाउनु हुने सन्तुलन र समन्वय अद्भुत छ। हरेक परिस्थितिलाई तपाईं यस्तो सहजतापूर्वक सम्हाल्नुहुन्छ, मानौँ त्यो तपाईंको लागि कुनै खेल मात्र हो।
कहिलेकाहीँ म सोच्छु- कसरी कोही यति विचारशील र संवेदनशील हुन सक्छ?
तपाईंको हृदय यति विशाल छ कि त्यसमा सबैको लागि ठाउँ छ। तपाईं सबैको बारेमा सोच्नुहुन्छ, सबैको सेवा गर्नुहुन्छ, सबैलाई खुसी बनाउनु हुन्छ र हरेक कठिन परिस्थितिलाई यस्तो कुशलतापूर्वक सम्हाल्नुहुन्छ कि त्यो देख्दा लाग्छ- तपाईं कुनै मानव होइन, एक देवदूत हुनुहुन्छ जो हाम्रो परिवारको संरक्षक बनेर आउनुभएको छ।
तपाईं मेरो लागि केवल बुवा मात्र होइन, मेरो आराध्य देवता हुनुहुन्छ। तपाईंको प्रत्येक कर्म, प्रत्येक शब्द र प्रत्येक सोच मेरो लागि पूजनीय छ। म जान्दछु, तपाईंले जीवनभर धेरै संघर्ष गर्नुभयो, धेरै चुनौतीहरूको सामना गर्नुभयो। तर ती सबै कठिनाइहरूलाई तपाईंले यस्तो सहजतापूर्वक पार गर्नुभयो कि हामीलाई कहिल्यै थाहा नै भएन कि तपाईं कति ठुलो दबाबमा हुनुहुन्थ्यो।
तपाईंले कुनै पनि तनाव लिनुपर्दैन किनकि तपाईं जस्तो हुनुहुन्छ, त्यही रूपमा सम्पूर्ण र अनुपम हुनुहुन्छ। तपाईंको अस्तित्व नै मेरो जीवनको सबैभन्दा ठुलो आशीर्वाद हो।
म सधैँ तपाईंप्रति कृतज्ञ र गौरवान्वित छु। यद्यपि म यी सबै कुराहरू तपाईंलाई प्रत्यक्ष रूपमा भन्न सधैँ चुक्छु तर मेरो हृदयमा तपाईंप्रति अपार श्रद्धा र प्रेम छ। जीवनको यो धावामा हामी प्रायः आफ्ना नजिकका मानिसहरूलाई हाम्रो मनका कुरा भन्न बिर्सन्छौँ वा समय जुटाउन सक्दैनौँ। तर आज मैले मेरो मनको गहिराइमा लुकेर बसेका ती सबै भावनाहरूलाई बाहिर ल्याउने प्रयास गरेकी छु।
म जान्दछु यी शब्दहरू पनि तपाईंप्रति मेरो अपार श्रद्धा र प्रेम व्यक्त गर्न अपर्याप्त छन्। तर यो एक सानो प्रयास हो, मेरो हृदयका भावनाहरूलाई शब्दमा उतार्ने।
अन्त्यमा म भन्न चाहन्छु कि- तपाईं जस्तो हुनुहुन्छ, त्यस्तै रहनुहोस्। तपाईंको हरेक कदम, हरेक निर्णय मेरो लागि प्रेरणाको स्रोत हो। तपाईंको जीवन एउटा खुला किताब जस्तो छ, जसबाट म हरेक दिन नयाँ पाठ सिक्छु।
धन्यवाद बुवा, मलाई यति माया गर्नुभएकोमा र मेरो जीवनलाई यति सुन्दर बनाइदिनु भएकोमा। तपाईंको छोरी हुनु मेरो जीवनको सबैभन्दा ठुलो सौभाग्य हो र यसको लागि म सदैव कृतज्ञ रहनेछु।