बिना रोकी १० मिनेटसम्म बोलेपछि गुरुबाले सोध्नुभयो, ‘कथा यही सक्यो। ल अब भन त के बुझ्यौ यो कथाबाट?’
कक्षाका सबै निर्जीव डेस्क र बेन्चभित्र कसैले सास फुकिदियो। डेस्क र बेन्च जस्तै अड्किएका विद्यार्थी जर्याकजुरुक भए र चलायमान भयो कक्षाकोठा। चलायमान त भयो तर भर्खरै होस आएका विद्यार्थीलाई १० मिनेटसम्म के-के भयो केही पत्तो छैन। शान्त कोठामा कान खोलेर सुनिरहेका ३० विद्यार्थीसम्म गुरुबाको आवाज कसरी पुगेन? गुरुबा प्रश्नको जवाफ खोतल्न थाले।
कक्षामा विद्यार्थीले जस्तै घरमा छोरीले गुरुबालाई सताउन थाली। बिहानै कलर पेन्सिल किनेर ल्याइदिनु भनेकी छोरीको घरमा साँझ कलर पेन्सिल आइपुगेन। गुरुबालाई भने छोरीले कलर पेन्सिलको कुरा गरेको याद पनि रहेनछ। छोरीले भन्दै नभनेको भनी अटेर गरेर बसेका गुरुबालाई उनकी श्रीमतीले होसमा ल्याइन्।
उनले भनिन्, ‘तपाईँले बिहान घरी मोबाइल चलाउँदै, घरी परीक्षाको कापी काट्दै, घरी टिभी हेर्दै गरेको बेला नानीले चित्रकला प्रतिस्पर्धाको कुरा सुनाउँदै थिई। तपाईँले सुने जस्तै गरेर टाउको हल्लाउनु भयो। सुन्न खोजे पो याद हुन्थ्यो त!’
गुरुबाले आफ्नै कक्षाकोठा सम्झिए।
होसमै बेहोसिँदै गएको अन्धाधुन्ध समाजलाई कसैले नझस्काएसम्म त्यो समाज अचेत अवस्थामै रहन्छ। सुन्दा सुन्दै सुन्न नसक्नु एक व्याप्त रोग बन्दै छ जसलाई बेहोसीसँग दाँज्दा फरक नपर्ला। मान्छेको बोलीको भाउ हजाम दाइको सैलुनमा बज्ने गीत सरह भइसकेको छ। दोहोरिएर त्यही गीत ३ पटक बजेको पनि कसैलाई याद हुँदैन। मान्छेका बयान पनि सुन्न त सकिन्छ तर कसैले अलिक लामो बोल्न साथ ‘सुन्न हुन्न’ भनिदिए झैँ हाम्रा कान ठ्याप्पै बन्द हुन्छन् वा अकस्मात् दुवै कानबिच सुरङ्ग निर्माण हुन्छ- बोली आरपार भई निस्कने गरी।
मान्छेले मान्छेलाई नै सुन्न नसक्ने भएपछि आज आवाज हल्ला बन्न थालेको छ, कुराहरू बेसुरा बन्न थालेका छन्, वचन जम्मै प्रवचन झैँ लाग्छन् र कथा सुन्नु व्यथा बराबर हुन्छ।
कुनै पनि औपचारिक कार्यक्रममा भाषण दिन आउने अतिथिदेखि कार्यक्रम सञ्चालकसम्म सबैलाई अघि नै आग्रह गरिन्छ- छोटो बोल्नु होला भनेर। कार्यक्रम लम्बिएला भन्ने डर त छदै छ। त्योभन्दा ठुलो डर दर्शक निदाउलान् वा कार्यक्रम चल्दा चल्दै छोडेर निस्केलान् भन्ने छ। बोल्ने वा सुन्ने पक्षमा मात्र नभई वर्तमान समयको हरेक पक्षमा हामी कसैको लामो समय माग गर्न सक्दैनौँ।
साँच्चै भन्नुपर्दा आज कोही आफ्नो लामो समय एकै ठाउँ खर्चन चाहँदैनन्। चाहे पनि सक्दैनन्। यस पछाडि सबैभन्दा ठुलो कारण बनेको छ- हाम्रो एकाग्रता अवधि। हामी कति समयसम्म कुनै पनि एक काम वा विषयमा विचलित नभई ध्यान दिएर बसिरहन सक्छौँ होला त? सन् २०१५ मा माइक्रोसफ्टले गरेको अनुसन्धानअनुसार १८ वर्षभन्दा माथिका मानिसहरूको औसत एकाग्रता अवधि मात्र ८ सेकेन्ड रहेको छ। अर्थात् एक सामान्य मानिसको ध्यान ८ सेकेन्डभन्दा बढी कुनै विषयमा टिकाउन सक्नु एउटा चुनौती हो।
फलस्वरूप, आज अधिकतम मान्छेहरूले लेख पढ्दैनन्। शीर्षक मात्र वा पहिलो अनुच्छेद पढेर निष्कर्षमा पुग्छन्। ध्यान तान्न सजिलो छैन भन्ने जानेरै युट्युबमा भिडिओहरूको अनौठा शीर्षक र तस्बिर राखिन्छ। मान्छे झुक्किएर भिडिओसम्म त पुग्छन् तर लामो भिडिओ रहेछ भने कसले हेर्ने? हेर्नै पर्ने उपयोगी रहेछ भने पनि भिडिओलाई अगाडि सार्दै हेरिन्छ। अगाडि सार्दै हेरेको भिडिओमा पनि ध्यान दिन यति मुस्किल हुन्छ कि भिडिओ हेर्दै कमेन्ट पढ्नतिर लाग्छन्।
गाडी कुदाउने मान्छे गाडी मात्र कुदाएर बस्न सक्दैनन्, केही सुन्नै पर्छ। गीत सुनेर बस्ने मान्छे गीत सुनेर मात्र बस्न सक्दैनन्, केही हेर्नै पर्छ। रित्तै कोठामा पनि आँखाले केही नौलो चिज खोज्न थाल्छ। हामीलाई हरेक चिजले तान्न त तान्छ तर तानिरहन भने सक्दैन। हामी आफै आफ्नो दिमागलाई कतै सुम्पिएनौँ भने आकुल व्याकुल हुन्छौँ। यहीँ दिमाग सुम्पिने जालमा यसरी फस्छौँ कि हाम्रो ध्यान हाम्रै नियन्त्रणबाट फुस्कन्छ।
हाम्रो एकाग्रता अवधिलाई ख्याल गर्दै आज सञ्चार, सञ्जाल र प्रविधि नवनिर्मित बन्दै आएको छ। टिकटकमा पन्ध्र सेकेन्ड भिडिओ हेर्ने लतका कारण थुप्रै सामाजिक सञ्जालमा ‘रिल्स’ बनाउने विकल्प सुरु भयो। युट्युबले आफ्नो अस्तित्व जोखिममा देखेर ‘सट्स’ लिएर आयो। फेसबुक र इन्स्टा सुरु भएको वर्षौँपछि मात्र ‘स्टोरिज’ राख्न मिल्ने सुविधा आएको थियो। प्रयोगकर्ता जोगाइराख्न गरिएका यी सबै परिवर्तनले हाम्रो गुम्दै गएको धैर्यतालाई उजागर गरेको छ।
आजभोलि चलचित्रमा एउटै दृश्य लामो बनाउने जोखिम निर्देशकहरूले लिँदैनन्। छोटा दृश्यहरू भएका द्रुत गतिका चलचित्रहरू नै बजारमा टिकिरहन्छन्। वास्तवमा लामो भिड त्यही लाग्छ जहाँ कन्टेन्ट छोटो हुन्छ। चाहे त्यो लिखित, श्रव्य वा दृश्य माध्यम होस्। ‘छोटो’ प्रतिको आकर्षणले सबैलाई ‘सर्ट एन्ड स्विट’ भन्ने बनाएको छ। ‘छोटो-मिठो’को चर्चा गर्नेले मिठासको नयाँ परिभाषा सिर्जना गरेका छन्। पहिला ‘छिटो, छरितो’ भनिन्थ्यो। सायद अब ‘छोटो, छरितो’ पनि भन्न सुरु गरिन्छ।
आज हामीले हातैमा सबै थोक भेटेर पनि केही हासिल गर्न नसक्ने अवस्थामा पुगेका छौँ। संसारका सबै जानकारी प्राप्त भएर पनि हामीलाई सधैँ अपर्याप्त महसुस हुन्छ। हामीलाई आज हेर्नु छ तर देख्नु छैन। सुन्नु छ तर बुझ्नु छैन। पहिलो पाना त पढ्नु छ तर दोस्रो पानामा बढ्नु छैन। हाम्रो एकाग्रता खोसिएको छ। धैर्यता हराएको छ। कुनै विषयको गहिराइ पछ्याउन नखोज्दा हामी अज्ञानताको भुमरीमा पर्ने निश्चित छ।
अल्प ज्ञान भयङ्कर भनेझैँ अधुरो कुरा बुझेर हामी झुटलाई पुज्दै हिँड्नेछौँ। बिस्तारै सही र गलतको अन्तर मेटिँदै जानेछ। गाउँदेखि सहरसम्म कलह पस्ने छ। र हामी हाम्रा मसिना व्यवहारहरूबाट जोखिमपूर्ण भविष्य रोज्दै अघि बढ्नेछौँ।
टेक्सस विश्वविद्यालयमा अनुसन्धानकर्ताहरूको अध्ययनले बताउँछ कि छोटो एकाग्रता अवधि भएका व्यक्तिहरूलाई बढी डर र चिन्ता लाग्ने समस्या देखा पर्न सक्छ जुन समस्याले पछि गएर मानसिक स्वास्थ्यमै असर पर्न जान्छ। जब शब्दहरूले पाठक, स्वरहरूले श्रोता र कलाले नयन भेट्दैन तब समाज खण्डहर बन्छ। सुन्न छोडेदेखि मान्छेहरूले बोल्न छोड्छन् र बोल्न छोडेपछि भावनाहरूले अभिव्यक्त हुने माध्यम भेट्दैनन्। सम्बन्धहरूले दरार सहनुपर्छ। ध्यानले आफ्नो ठेगाना गुमाएपछि आज दिनचर्या भुल्दै गएका मान्छेहरूले भोलि आफू र आफ्नाको मूल्य पनि भुल्दै जानेछन्।
विभिन्न राष्ट्रहरूले बालबालिकादेखि नै एकाग्रता अवधि बढाउन शिक्षण विधिमा बदलावदेखि योगका कक्षा सञ्चालनमा ल्याउन थालेका छन्। गुरुबाहरूलाई विशेष प्रशिक्षणपछि मात्र कक्षा सञ्चालन गर्न योग्य ठहर गरिन्छ। युवा किशोर किशोरीहरूलाई मोबाइल बाहेक अन्य गतिविधिमा व्यस्त गराउन अनेक कार्यशालाहरू प्रयोगमा आउँदै छन्। केही राष्ट्रले हरेक दिन निश्चित समय मात्र अनलाइन गेमहरू चलाउन मिल्ने व्यवस्था लागु गरेको छ।
मानव जाति आफैमा बौद्धिकता र सामाजिकताले सर्वश्रेष्ठ प्राणी बनेको हो। आज त्यही बौद्धिकता र सामाजिकता हराउँदै जाँदा मान्छेले आफ्नो अधोगति टुलुटुलु हेरेर बसी मात्र रहन सकेको छ। एकाग्रता अवधिले निम्त्याउने विनाश तत्काल नदेखिए पनि यसले दिगो मानव सभ्यतामा ठुलो हानी पुर्याउने छ। समयभन्दा छिटो चल्ने हतारमा एक दिन मानवहरू एकले अर्कालाई चिन्न छोड्ने छन्। आफ्नै होस पनि होस कि नहोस् झैँ गर्ने हाम्रो सर्वश्रेष्ठता यही तरिकाले कति समयसम्म टिक्न सक्ला? कालान्तरमा यस प्रश्नले हामीबाट जवाफ अवश्य माग्ने छ।