एक जना बिरामी बुवाले आफूलाई हेरचाह गर्ने छोरालाई देखाउँदै भने, ‘अरू सबै छोराछोरीले गरी खाए, अस्ट्रेलिया, अमेरिका गए, यही लठुवाले केही गर्न सकेन।’
छोराले खुवाइदिएको औषधि घुटुक्क पानीले निले भनेर सामाजिक सञ्जालमा कसैले लेखेको भनाइ केही महिनाअघि खुबै चर्चा भएको थियो।
बाध्यताले साउदी, कतार, दुबई, मलेसिया जाने लहर अलिक अगाडिदेखि नै भएता पनि हिजोआज रहर, बाध्यता वा देखासिकीले अस्ट्रेलिया, अमेरिका, क्यानडा, जापान लगायत स्थायी बसोबास गर्न मिल्ने मुलुकमा पढाइ वा कामको बहानामा जाने र उतै बस्ने क्रम बढ्दो छ।
समाजले यसलाई परिवारको प्रतिष्ठाको सवाल बनाउन थालेको छ भने कतिपय बाबुआमाले समेत शानको रूपमा लिने गरेका छन्।
देश विदेशको सुझबुझ भएका बाबुआमाले सामाजिक प्रतिष्ठाकै लागि भए पनि अनेक ऋण गरेर छोराछोरीलाई विदेश पठाउने गरेका छन्। त्यसमा पनि उतैको नागरिक बन्ने गरी अनि नेपाली नागरिक बनेर नेपाल नआउने गरी आफ्ना प्रिय सन्तान विदेशिँदा समेत बाबुआमा प्रसन्न हुनुपर्ने अवस्था भएको छ।
आफूले खाइनखाइ हुर्काएका, अनेक दु:ख गरेर पढाएका र एउटा चिया गिलास पनि सफा गर्न नलगाई पुल्पुल्याएर राखेका कल्कलाउँदा सन्तानलाई त्यो बिरानो मुलुकको नागरिक बनाउन जन्म दिने बाबुआमाले नै किन प्रतिष्ठाको विषय बनाउँछन् भन्ने प्रश्न पनि उब्जिएको छ।
यसमा एउटै कुरा छ सन्तानको सुख र खुसी। सबै बाबुआमाले आफ्ना सन्तानले आफूले भन्दा सुख पाऊन् भन्ने अपेक्षा र कामना गरेका हुन्छन्। आफूलाई दु:ख नै किन नहोस् सन्तान खुसी हुन्छ भने जे पनि त्याग गर्ने स्वभाव प्राय: सबै बाबुआमाको हुन्छ।
विदेशमा सुखैसुख हुन्छ, घर किन्छ, कार चढ्छ, मन परेको खान लगाउन र रहरका ठाउँ घुम्न पुग्छ र उनीहरूका छोराछोरी पनि उतै खुसी हुन्छन् भने बुढेसकालमा जे होला सन्तानलाई विदेश किन नपठाउने भन्ने मनोवैज्ञानिक सोच धेरै बाबुआमामा विकसित भएको छ। एकपटक एक जना छिमेकीले फूर्तिका साथ भने 'मेरा तीन जना छोराछोरी, दुई जना गइसके अस्ट्रेलिया, अब अर्को पनि जान्छु भन्दै छ त्यसलाई पनि पठाइदिने, हामी दुई बुढाबुढी बुढेसकालमा जे होला।'
उनले पुलकित हुँदै थपे, 'हुन पनि अहिले हामीलाई काइदा नै छ। पाँच दश लाखको कुनै अभाव छैन, लौ चाहियो भनेपछि एक छिनमा मोबाइलमा पैसा आइहाल्छ। बर्थ डे, बाबुको मुख हेर्ने दिन, माता औंशी जस्ता चाडवाडमा केक र परिकार अस्ट्रेलियाबाटै गेटमै आइपुग्छ। समान लिन न घरबाहिर निस्किनु पर्छ, न पैसा नै तिर्नुपर्छ। उतैबाट पैसा तिर्ने रहेछन्, त्यो फुडमाण्डु केके भन्नेले घरको ढोकामै ल्याइदिँदो रहेछ सबै परिकार। कलेजको टोपी लाउने दिनमा हामी बुढाबुढीलाई बोलाएका छन् अब हामी पनि घुमेर आउँछौं, नेपालमै जागिर खाएको भए त्यस्तो हुन्थ्यो र?' विदेशका बारेमा यस्तो आनन्दको बुझाइ र बखान सुन्दा कुन बाबुआमाले सन्तान विदेश नजाओस् भन्लान्।
बाबुआमाले मात्र हैन सन्तानले पनि बाबुआमालाई खुसी दिलाउन र विदेश भ्रमण गराउन विदेश त जानैपर्छ भन्ने सोच बनाउन थालेका छन्।
एक जना सरकारी कर्मचारी साथीले भनिन्, ‘तिम्रो त भाइ विदेशमा रहेछन् आमाबुबालाई पनि घुमाउन लगेछन् कस्तो राम्रो है, हामीले त बाबुआमाको लागि केही गर्न सकेनौं, हाम्रो बाबुआमाको दुवै जना छोराछोरी सरकारी अधिकृत जागिरे छौं, बच्चाबच्ची पढाउन र आफ्नो खर्च धान्नै गाह्रो छ। बाबुको मुख हेर्ने दिन र माता औंशीमा बाबुआमालाई राम्रो उपहार किन्न र अलिक महंगो खानेकुरा किन्न पनि तलब र खर्च सम्झेर तीन पटक सोच्नुपर्छ। अरू के सरकारी जागिरले एउटा पाहुना आएर दुई दिन खसीको मासु खान दिनु पर्यो भने त्यो महिनाको घरायसी अर्थतन्त्र हलचल हुन्छ उस्तै परे ऋण नै पर्छ। आमाबुबालाई विदेश घुमाउन त परको कुरा त्यहीँ पोखरा र सौराहा त घुमाउन कठिन छ। आमाबुवा गाउँमै दु:ख गर्दै हुनुहुन्छ, काठमाडौं आउनु भन्दा घर नबनाई नआउने भन्नुहुन्छ अहिले केले बनाउनु घर। हुँदै भएन भनेर अस्ति बुवाआमालाई बोलाएर दक्षिणकाली र पशुपति घुमाइयो।’
उनले आफ्ना कुरालाई गहिरो गरी राख्दै गइन् र फेरि थपिन्, ‘भाइले भन्ने गर्छ दिदी हामी दुवै जना सरकारी जागिरमा भएर गल्ती गरेछौं। एक जना त अस्ट्रेलिया, अमेरिका जानुपर्ने रहेछ, सँगैका साथीहरू कोहीले बाबुआमालाई अस्ट्रेलिया घुमाएका छन्, कोहीले अमेरिका घुमाएका छन्। हामीले मात्र बुबाआमाको लागि केही गर्न सकेनौं, ठूलो जहाज चढ्नु, निलो आकाशजस्तै समुद्र अनि ती अग्ला भवन देख्दा गाउँमा हलो कोदालो गरेर दु:ख गरेका हाम्रा बुबाआमा कति अचम्मित हुनुहुन्थ्यो होला!'
ती दिदीभाइको बुझाइ र बाध्यता धेरै छोराछोरीको प्रतिकात्मक भाव पनि हो। तर फेरि प्रश्न उठ्छ के विदेश घुम्दा मात्र खुसी हुनुपर्ने हो र, आफ्नै देशमा बसेर ढिँडो रोटी खाएर परिवार सबै सँगै बस्दा पनि त रमाइलो हुन्छ। कुनै एक क्षण वा संयोगलाई नै खुसी मानेर हामीले जीवनपर्यन्त कुरालाई चटक्कै भुलेका छैनौं। कुनै ठाउँ घुम्नु वा कुनै विशेष दिन मनाउनु भनेको एक क्षणिक आनन्द हो, त्यो पनि आवश्यक छ नै तर त्यही नै दैनिक जीवन वा सुख र खुसीको मानक पक्कै होइन। देशभित्रै परिवारसँग बस्दाका दिगो र दीर्घकालीन् खुसी अनेकन छन्।
काम सकेर घरमा आउँदा बाबुआमाले 'ए आइपुग्यौं' भनेर सोधेको क्षण अमूल्य सुखको हो नि। विदेशमा बस्दा कामबाट लखतरान बनेर फर्किंदाअघि भर्खरै ड्युटीबाट फर्केर सुतेको आफ्नो पार्टनरलाई डिस्टर्व होला कि भनेर फ्रिजबाट निकालेको खाना सावधानीपूर्वक खाँदा यस्तो सुख प्राप्त हुन सक्दैन। दसैं तिहार वा समुदाय अनुसारका चाडवाडमा बाबुआमाले भिडिओमा टीका लगाइदिने अनि विदेशमा श्रीमानश्रीमती एक अर्कालाई टीका लगाएर तस्बिर खिच्ने र एकैछिनपछि पुछेर हतारहतार काममा फर्किनुपर्दाका पीडाहरू झनै गहिरा छन्।
विदेशबारे सुख दु:खका अनेक भोगाइ, अनुभूति र पीडाको स्तर र स्वरूप बाबुआमा र सन्तानको बुझाइमा समानता र असमानताले पनि निर्धारण गर्दो रहेछ। बाबुआमाले पनि देशमा सन्तानको भविष्य देखेनन् र सन्तानले पनि आफ्नो भविष्य देखेनन् भने दुवै पक्षको सहमति जुट्यो विदेश गए, जे भयो ठिकै भयो भन्नुपर्ने अवस्था छ। तर बाबुआमाले चाहिँ देशमै भविष्य देख्ने तर सन्तानले चाहिँ विदेशमा मात्र भविष्य देख्ने गर्दा पनि केही परिवारमा ठूलो पारिवारिक तनावको स्थिति छ। मेरा एक हितैसी मित्रले धेरै वर्षअघिदेखि विदेश पढ्न पठाउने कन्सल्टेन्सी सञ्चालन गरेका छन्।
उनको व्यवसाय निकै चलेको छ। एकदिन उनको कार्यालयमा जाँदा मैले विदेश जाने युवाको सोचाइ, भोगाइ तथा अहिलेको प्रवृत्ति कस्तो भनेर सोधेँ। 'अहिलेका यहाँ आउने युवाहरू जसरी पनि जहाँ भए पनि विदेश जानैपर्छ भन्ने सोचमा आउँछन्, हाम्रो त व्यवसाय हो फाइदै हुन्छ तर यस्तै अवस्था रहने हो भने मुलुक कसरी चल्ला र!' भन्दै हाँसे।
अनि फेरि खिन्न मुख लगाउँदै भने 'मलाई यो व्यवसाय गर्दाको एक घटनाले भने सधैं खल्लो लागिरहन्छ' भन्दै घटना सुनाए।
उनले भने, 'मैले अलिक पहिलेदेखि चिनजान भएका सरकारी कर्मचारी दम्पतीले छोरालाई विदेश नजानु भनेर सम्झाइदिनु पर्यो सर' भने।
'उनीहरूको एउटा मात्र छोरा रहेछ। परिवारको आर्थिक अवस्था पनि निकै मजबुत रहेछ क्यार, उनीहरूले छोरालाई तँलाई नपुग्दो के छ एउटा छोरो विदेश नजा भन्दा पनि छोराले विदेश जाने अड्डी कसेपछि म कहाँ सम्झाउन ल्याएका रहेछन्। मैले उसलाई सम्झाएँ, विदेश जानेहरूका समस्याहरू पनि सुनाएँ, उसले सुनिरह्यो र बाबुआमातिर हेरेर फिस्स हाँस्दै हुन्छ बाबाममी म अब विदेश जान्नँ भन्यो र तीनै जना निस्केर गए। घर पुगेपछि केटाले त्यही साँझ आत्महत्या गरेछ। मलाई त्यो केसले अझै बेलाबेला घोचिरहन्छ'।
विदेश जानेहरूका असफल परिघटनालाई समग्रतासँग हुबहु तुलना गर्न त नमिल्ला तर पारिवारिक बिछोड र नागरिक पहिचानको बिच्छेदको अवस्था परिवारका लागि दीर्घकालीन सुख पक्कै होइन।
स्वदेशमा नै प्रशस्त रोजगारीको अवसर नहुने र विकासको अवस्था पनि मजबुत नहुने हो भने नागरिकले मुलुकमा भविष्य देख्दैन। अनिकालमा बिउ जोगाउनू, हुलमूलमा जिउ जोगाउनू भने जस्तै बाबुआमाले जसरी भए पनि सन्तान विदेश पठाउने र सन्तानहरू पनि जस्तोसुकै चुनौती सहेर भए पनि विदेश पुग्ने भए, दुधे बच्चा पनि लिएर जाने नभए भावी पुस्ताको लागि बिउ चाहिँ विदेशमा नै पुर्याउने लहडमा परिवार मात्र हैन समाज नै लपेटिएको छ। त्यसैले हिजोआज विदेशमा सन्तान आमाबाबुको शान जस्तै भएको छ।