तपाईं भाग्यमा विश्वास गर्नुहुन्छ? अपजस भोगिरहनुपर्छ भने ‘कस्तो अभागी रहेछु’ पनि भन्नुहुन्छ होला!
मनमा ‘किन नभन्नु!’ भन्ने आइसक्यो होला, हैन?
अवश्य आउँछन् यस्ता कुरा। हमेशा।
मेरो मनमा पनि आउँछन्। मेरो मनले पनि भन्छ। कुनैबेला ‘अभागी’ घोषित म, कुनैबेला एकदमै ‘भाग्यमानी’, ‘भाग्यशाली’ बनिदिन्छु। त्यो मेरो मनले घोषणा गरिदिन्छ।
त्यसो त अभागी र भाग्यमानी छुट्याउने कुनै स्पष्ट रेखा छैन। जोख्ने तराजु पनि छैन। नाप्ने टेप पनि छैन। यो भावनाको कुरा हो। भावना सापेक्ष हुन्छ। भाग्य यति किलो, यति मिटर, यति माइल, यति पाउ भनेजस्तो हुँदैन। निरपेक्ष रूपमा कसैलाई तँ भाग्यशाली वा भाग्यमानी, तँ अभागी भन्न सकिँदैन।
अँ, म भाग्यमा विश्वास गर्दिनँ। बरू समयलाई मान्छु। सबै खेल समयको हो भन्ने मलाई लाग्छ। समय भनेको संयोग हो। एउटा घटना हुनलाई हजारौं, लाखौं, करोडौं संयोग मिल्नुपर्छ। कुनै एक घटना हुँदाको संयोग अर्को भइदिनाले करोडौं संयोगहरूले दिने नतिजा फरक–फरक भइदिन्छ। जस्तैः तपाईं र म भेट हुनु एउटा घटना मान्ने हो भने हामी एकै समयमा त्यही बाटो हिँडेको हुनुपर्यो। एउटै बाटो हिँड्नलाई त्यहाँ बाटोमा कुनै अवरोध हुनुभएन। अवरोध नहुनलाई केही पनि दुर्घटना वा बाटो रोकिनुपर्ने कुनै कारण नभएको हुनुपर्यो। ती कारणहरू नहुनलाई फेरि हजारौं संयोगहरू मिल्नुपर्यो।
सुन्दा मज्जा पनि लाग्ला अनि झर्को पनि। रमाइलो पनि लाग्ला अनि झ्याउ लाग्दो पनि। तर, मैले भन्न खोजेको के हो भने एउटा घटना मात्रैलाई हेरेर तपाईंले बनाउनुभएको धारणा, त्यस घटनाको अन्तर्यसम्म पुग्दा अर्कै बन्न सक्छन्। यसमा पनि ती संयोगहरूले नै काम गर्छन्।
आज मेरा छोराछोरीको जन्मदिन।
छोराछोरीको जन्मदिन त्यो पनि आज भनेपछि जुम्ल्याहा रहेछ भन्ने बुझ्न तपाईंलाई गाह्रो भएन होला। अनि तपाईंको मनमा आइसक्यो पक्कै कि छोराछोरी एकैचोटि जन्माउने जोडी जति भाग्यमानी त अरू को छन् होला र!
मेरा छोराछोरी आजभन्दा ठीक एक सालअघि भरतपुर अस्पतालमा जन्मिएका हुन्। त्यो बेला यो घटना थाहा पाउने, मलाई चिन्ने/नचिन्ने सबैले बधाई दिए र भने– ‘वाह! कस्तो भाग्यमानी यार, यिनीहरूले त दुईचोटि गर्नुपर्ने काम एकैपटकमा उम्काए।’
अस्पतालमा धेरैले भेट्न आए, धेरैले फेसबुकमा बधाई दिए, धेरैले फोन गरे। कतिले बधाई पठाए पनि। सबैको भाव त्यही थियो– ‘यो जोडी त लास्टै भाग्यमानी।’
साँझपख छोरोछोरीलाई बोकेर हावा खुवाउन लिएर हिँड्छौं। टोलछिमेकमा भन्छन्– ‘क्या लक्की जोडी!’
पहिलोचोटि देख्नेले सोध्छन्– ‘जुम्ल्याहा हुन्?’
हामी भन्छौं– ‘हुन्।’
‘छोराछोरा कि छोरीछोरी?’, उनीहरू सोध्छन्।
‘छोरा र छोरी’, हामी भन्छौँ ।
‘ओ माइ गड’, सोध्ने अचिम्मित हुन्छन् र भन्छन्– ‘कति भाग्यमानी हो! कस्तो मिलाएर दिएको भगवानले!’
हामी मक्ख नपर्नुपर्ने कारणचाहिँ के छ र!
हालसालै काठमाडौं जाँदा खेलकुदसम्बन्धी एउटा कार्यक्रममा सहभागी भएँ। बेलुकी पार्टी समयमा भेट भएका एक दाजुले वरिपरिका चार पाँच जनालाई राखेर भने– ‘तिमीहरूलाई थाहा छ, यहाँ हामीसँग एउटै पेनाल्टीमा दुई गोल हान्ने मान्छे छ, यहीँ।’
एकजना ट्वाँ पर्यो र सोध्यो– ‘कसरी हुन्छ हो यस्तो?’
ती दाजुले भने– ‘ऊ विनोदबाबु, उसले एकैचोटि दुई छोराछोरी पायो।’
छेउको अर्को छक्क पर्यो– ‘वाउ! छोरा र छोरी मिलाएरै?’
‘त्यही त भन्दै छु’, सुरूकोले देहोर्यायो।
अनि एक पेनाल्टीमा दुई गोल भनेको सम्झेर फेरि एकचोटि लगभग सबै हाँसे।
अलि अगाडिको कुरा सम्झिऊँ है त।
नेपाली सिनेमाका एक जना हस्ती निर्माता एवम् कलाकारसँग नारायणगढको एउटा होटलमा भेट भयो। तिनी सिद्धहस्त कलाकार र नाम कहलिएका निर्माता हुन्। तर, हाम्रो चिनापर्ची र सम्बन्ध गहिरै छ। तिनको चलचित्र प्रचार गर्न देशदौडाहामा रहेको बेला भएको भेटमा तिनले मलाई भने– ‘छोराछोरी पाउनु पर्दैन? के कुरेर बसेको सिङ आउँदैन, जुरो पलाउँदैन।’
त्यति मात्रै होइन, तिनले भने– ‘बुढाबुढी दुवै जागिर खान्छौ, कमाइ राम्रै छ अनि के जोखाना हेरेर बसेको? छोराछोरी पाल्न र राम्रै स्कुल पढाउन सक्छौ त के खान कुरिराको?’
तिनले एकोहोरो पेलेपछि मन साह्रै कुँडियो। नमज्जा लाग्यो। नजिकै रहेका पत्रकार दाइले भनिदिए– ‘सबै कुरा पैसाले रोकिने होइन र पैसा भएपछि सबै कुरा हुने पनि होइन। मान्छेका आ–आफ्नै योजना र समस्या हुन्छन्।’
त्यो बेला हामी यति धेरै समस्या भोगिरहेका थियौं कि ती कलाकार दाइले त्यसको भेउ पाएका रहेनछन्। हुन त हामीमा रहेको समस्याबारे मेरो किताब ‘एकान्तवास’ मा नै लेखिसकेको कारण त्यो सार्वजनिक विषय नै बनिसकेको हो। तर, हातैमा थमाइदिए पनि ती दाइले मेरो किताब पढेका रहेनछन्। फिल्मलाइनका व्यस्त कलाकार र निर्मातालाई हाम्रो किताब पढ्ने फुर्सद पो कसरी मिल्नु!
हामीले बच्चा जन्माउने धेरै कोसिस गरेका हौं। बच्चा त रहने तर निश्चित समयपछि खेर जाने समस्या बेहोर्यौं। हाम्रो जीवनमा आशा र निराशा आउँदै र जाँदै गर्न थाले। एकचोटि त कल्पनालाई यस्तो समस्या आइपर्यो कि मृत्युको मुखबाट बल्लबल्ल बचाइयो। बच्चा रहेर पनि गलत ठाउँमा हुर्किंदै गएपछि एक्कासि ‘एक्टोपिक’ को शिकार भइन्। पाठेघरको नलीमा बच्चा विकास भएपछि एक्कासि फुटेर क्षतविक्षत हुने र अत्यधिक रक्तश्राव हुने समस्या रहेछ यो। बैंकमा काम गर्दागर्दै ढलेपछि अकस्मात हस्पिटल ल्याएर शल्यक्रिया गरेपछि उनलाई बचाउन सकियो।
त्यसबेला डाक्टर भन्थे– ‘आधा घन्टा मात्रै ढिला भएको भए ज्यान जोगाउन सकिन्न थियो।’
त्यसअघि र पछि पनि हामीले कति दुःख पायौँ–पायौँ।
हामी कुन हस्पिटल धाएनौं र कुन डाक्टर भेटेनौं होला! हामीले कुन प्रविधि अपनाएनौं, कुन विधि स्वीकारेनौं होला! सबै गरियो, सबै भोगियो। कहिले आशा, कहिले निराशा। कहिले खुसी, कहिले दुःखी हुँदाहुँदै फ्याट्ट यी दुई आए हाम्रो जीवनमा। यिनीहरूलाई ल्याउन गरिएको दुःख, भोगिएका दुःख लेख्ने हो भने छुट्टै किताब बन्छ, भविष्यमा लेख्न पनि सकिएला।
ती दिनमा कल्पना एकदमै धेरै रून्थिन्। म पनि रून्थेँ। तर, कल्पना जति होइन। बाउ बन्न नसक्नुको पीडाभन्दा आमा बन्न नसक्नुको पीडा कैयौं गुणा बढी हुने रहेछ, त्यो मैले महसुस गर्थें। कुनै पनि सार्वजनिक कार्यक्रममा जाँदा हुने छेडछाडले उनलाई साह्रै नमिठो बनाउँथ्यो। पार्टीहरूमा मात्रै होइन, चाडबाडमा हुने जमघट र गाउँघरका विभिन्न पूजाआजा र रीतिहरूमा पनि उनी जान मन गर्थिनन्। उनले कैयौँचोटि मलाई सुनाएकी थिइन्– ‘मलाई फलानाले यसरी ‘पिन्च’ पर्ने गरी भन्यो।’
उनीहरूको नजरमा हामी ‘अभागी’ भयौं।
धेरैले मुख फोरेर भन्थे– ‘फलाना कस्तो भाग्यमानी, तिमीहरू अभागी रहेछौ।’ मुख फोर्न नसक्नेले संकेतमा भन्थे। भाषा घुमाएर भन्थे। जे–जे गर्थे वा भन्थे, त्यसको भाव ‘तिमीहरू अभागी हौ’ भन्ने नै थिए।
नजिकका साथीहरू जिस्किन्थे। ‘तेरो तागत छैन कि के हो ?’, उनीहरू भन्थे– ‘भए त देखाइहाल्थिस् नि!’
यस्तो घोचाइ, पेलाइ, जिस्काइले कति पोल्थ्यो भन्ने त हाम्रै मनलाई मात्रै थाहा होला।
विभिन्न अस्पताल र डाक्टरहरू भेट्न हिँड्दा हामीजस्तै अभागीहरू थुप्रै भेट्यौं। १५ वर्षदेखि बच्चाकै खोजीमा भौँतारिएको, उपचार गर्ने धुनमा घरखेतै सकाएको, हुन्छ–हुन्छ भनेर झुलाएरै अस्पतालले लाखौं सिध्याइदिएको कथा त कति सुनिए–सुनिए। हामीसँगै एउटै डाक्टरकोमा उपचार गराएर पनि कैयौँचोटि ‘पोजिटिभ’ नभएर आजित भई सानो मुख लाएर घर फर्किनेहरू कति भेटिए–भेटिए। हामीले उनीहरूलाई अभागी देख्यौं, ठीक त्यही समयमा उनीहरूको नजरमा हामी भाग्यमानी ठहरिर्यौं।
'अभागी'हरूले अब बच्चा पाउने भए।
कल्पना जति खुसी यो ब्रह्माण्डमा अरू को भए होलान् र! मेरो परिवार खुसी भयो होला, शुभेच्छुक खुसी भए होलान्। तर, सन्तान दिन नसक्नु जस्तो महान् पीडाबाट पिल्सिएकी एक पत्नीको मनमा कति खुसी छायो होला?
धेरैले भन्थे– ‘जबसम्म एक महिलाले सन्तान जन्माउँदिन तबसम्म ऊ जन्मिनुको सार्थकता हुँदैन।’ कल्पनालाई लागिरहन्थ्यो– ‘मेरो जीवन सार्थक नहुने भो।’ पिलिपिल आँसु झारेर व्यक्त गर्थिन् त्यसलाई। अब ती आँसुले सुख पाउने भएका थिए।
जुम्ल्याहा पाउने भए भन्ने खबरले अभागीहरू तीन बित्ता उफ्रिए। एक दिन त रेडियोलोजिस्टले भनिदिए– ‘ल तपाईंको घर पूरा हुने भयो।’
छोराछोरी रहेको जानकारी पाएपछि हामी अचम्मै खुसी भयौं। दुवै छोरा–छोरा वा छोरी–छोरी भएको भए एउटाको अभाव सधैं खड्किने थियो। कस्तो मिठो संयोग ती दुईथरी थिए, दुईथरी आए। कस्तो गज्जब!
तिनीहरू पेटमा छउन्जेल पनि हामीले धेरै दुःख पायौं। वास्तवमै धेरै। ती दुःखको बखान पनि कुनै अवसरमा गरौंला। तिनीहरू सात महिनामै जन्मिए। फेरि दुःख त भइहाल्यो। तिनीहरू जन्मिएपछि पनि १६ औँ दिनमा मात्रै एनआइसियूबाट घर ल्याइए। यी दुःख पनि कति भनूँ र! तिनीहरूलाई खुसीसाथ, सुखसाथ हुर्काउन पनि कम्ती दुःख छैन, यसको गुनासो किन गरूँ? तर, जतिसुकै दुःख हामीले भोग्यौं, जति भोगिरहेका छौँ नि तिनीहरूको एक मुस्कानले दिने खुसी ती दुःखहरूका पहाडभन्दा कैयौं गुणा बढी अग्ला छन्। त्यस्ता दुःखलाई हामीले भुलिसकेका छौं। र, त हामीले अहिले सबैले भन्छन्– ‘वाह ! यिनीहरू त क्या भाग्यमानी!’
जीवनको यात्रामा कहिलेकाहीँ हामीले नसोचेका, अनपेक्षित मोडहरू सामना गर्नुपर्छ। ती मोडहरू कहिलेकाहीँ सुखद् हुन्छन् भने कहिलेकाहीँ हामीलाई तीव्र पीडा र निराशा पनि दिन्छन्।
बच्चाको कल्पनाले हाम्रो जीवनमा नयाँ आशा र उत्साह ल्याउँछ। एउटा नयाँ प्राणलाई संसारमा स्वागत गर्नु भनेको हरेक आमाबाबुको सपना हुन्छ, जुन खुसी शब्दमा बयान गर्न पनि कठिन हुन्छ। तर यो खुसी प्राप्त गर्नु सबैका लागि सजिलो हुँदैन। हाम्रो लागि पनि यो खुसी सजिलै आएन। बच्चा नपाउँदा समाजको आँखा हाम्रो लागि कहिल्यै सकारात्मक थिएन। हरेक चोटि बच्चा गुमाउँदा, हामीलाई भित्रैदेखि पोल्थ्यो, हाम्रो सपना एकपल्ट फेरि चकनाचुर हुन्थ्यो।
सुरूका प्रयासहरू असफल हुँदै जाँदा आशा र निराशा पालैपालो आइरहे। हरेकचोटि हामी बच्चाको नाम सोच्थ्यौं, उनीहरूको भविष्यको बारेमा कल्पना गरिहाल्थ्यौं। तर उनीहरूको आगमन नहुँदै उनीहरूको सपना टुट्थ्यो। समाजको नजरमा हामी ‘अभागी’ बन्यौं, जसको कोखमा बच्चा थिएन। सायद हाम्रो चुपचाप दुःख अरूलाई थाहा थिएन। तर, ती शब्दहरूले हाम्रो मनमा चोट पुर्याउँथे। ‘अभागी’ को ट्यागले हामीलाई मात्र होइन, हाम्रो आत्मालाई नै पोल्न थालेको थियो।
तर, जीवनलाई केही पनि निश्चित हुँदैन। जसरी हिउँदको चिसो मौसमले बसन्तको आगमनको संकेत गर्छ, त्यसरी नै हाम्रो जीवनमा पनि फेरि नयाँ आशा पलायो। धेरै वर्षसम्मको संघर्ष, उपचार अनि हिम्मतले हामीलाई जुम्ल्याहा छोराछोरीको खुसी दियो। त्यो क्षण हामीले महसुस गरेको खुसी अवर्णनीय थियो। उनीहरू एक्कासि हाम्रो पाखुरामा आउँदा हाम्रा आँखाबाट आँसु झरे—तर यो खुसीका आँसु थिए।
हाम्रो समाजले हरेक कुरा छुट्टै दृष्टिकोणले हेर्छ। बच्चा नपाउँदा हामीलाई ‘अभागी’ भनेका मानिसहरू, अहिले दुई बच्चा पाएको देखेर हामीलाई ‘भाग्यमानी’ भन्छन्। यो शब्द परिवर्तनको प्रक्रिया आफैमा अद्भुत थियो।
आज हामीसँग दुई केटाकेटी छन्, जसले हाम्रो जीवनलाई पूर्ण बनाएका छन्। हरेक दिन उनीहरूको मुस्कानले हामीलाई जीवनको नयाँ आशा दिन्छ। हाम्रो जीवनको यात्रा कठिन भए पनि, हामीले धेरै कुरा सिक्यौं। बच्चा गुमाउँदाको पीडा सहनु, समाजको नकारात्मक कुरा सुन्नु अनि आफैले हिम्मत गुमाउन लागेको महसुस गर्नु—यी सबै अनुभवहरू हाम्रो जीवनको हिस्सा बने।
तर, ती सबै चुनौतीहरू पार गरेर, आज हामी दुनियाँको नजरमा भाग्यमानी कहलिएका छौं। हाम्रो जुम्ल्याहा बच्चाहरूले हामीलाई फेरि बाँच्न सिकाए, अनि जीवनको हरेक पललाई माया गर्न सिकाए। उनीहरूको पहिलो जन्मदिन हाम्रो लागि केवल एउटा उत्सव मात्र होइन, यो हाम्रो जीवनको नयाँ सुरूआतको प्रतीक पनि हो। यो दिन हाम्रो लागि जितको दिन हो, जहाँ हामीले हाम्रा विगतका संघर्ष र दुःखहरूलाई सम्झिँदै नयाँ खुसीलाई स्वागत गरेका छौं।
हामीले धेरै गुमायौं। तर, अन्ततः हामीले पाएको खुसी त्यसको कैयौं गुणा ठूलो छ। हाम्रा बच्चाहरू हाम्रा लागि केवल सन्तान मात्र होइनन्, उनीहरू हाम्रो आशा, हिम्मत, अनि भविष्यका प्रतीक हुन्। हरेक पटक हामी उनीहरूको आँखामा हेर्छौं अनि हामीलाई थाहा हुन्छ, यो खुसी प्राप्त गर्न हाम्रा हरेक संघर्षहरूले अर्थ राख्छन्।
यो यात्रा केवल हाम्रो लागि होइन, ती सबैका लागि प्रेरणादायी छ, जसले जीवनमा संघर्ष गरेका छन् किनभने अन्ततः, हरेक संघर्षपछि खुसी पाउन सकिन्छ अनि हरेक दुखाइले कुनै न कुनै दिन ठूलो खुसीको रूप लिन्छ।
हाम्रो लागि जुम्ल्याहा छोराछोरी पाउनु केवल भाग्यको कुरा होइन, यो हाम्रो हिम्मत, हाम्रो संघर्ष, अनि हाम्रो धैर्यको परिणाम हो। र आज, उनीहरूको पहिलो जन्मदिनमा, हामीले हाम्रा सबै गुमाएका सपना र असफल प्रयासहरूलाई सम्झिँदै, यो दिनलाई हाम्रा लागि एक विशेष उत्सवको रूपमा मनाउँछौँ। हामीले गुमाएका हरेक पलको लागि यी दुई बच्चाहरूले हामीलाई अपरम्पार खुसी दिएका छन्।
अझै पनि हामी जस्तै खुसीको खोजीमा भौँतारिएका हजरौँ/लाखौँ जोडी छन्। थाहा छैन, तिनीहरूले आफूले खोजेको खुसी भेटाउने हो कि होइन। तै पनि उनीहरू खोजेको खोज्यै छन्। तिनीहरू त्यो क्षितिजको खुसी पाउनका लागि बाँकी सबै सुख र खुसीहरू त्याग्न तयार छन्। त्यस्ता ‘अभागी’हरूलाई ‘भाग्यमानी’ बन्ने बाटोमा सघाउन मन लाग्छ। तर, हामी पर्याप्त छैनौँ/हैनौँ त्यसको लागि।
त्यसका लागि राज्यकै तहबाट गहिरो गरी सोचिनुपर्छ। आज किन कोही महिला आफ्नो जीवनलाई सार्थक ठानिरहेका छैनन्? आज किन कसैको कोख खाली होओस्? कसैको पनि नहोस्। कसैलाई पनि सन्तानविहीनताको पीडा खप्नु नपरोस्। सन्तान नहुनुजत्तिको पीडा अरू कुनै पनि हुन्न जस्तो हामीलाई लाग्छ। सन्तानविहीनतालाई चिरेर खुसी जीवन दिन राज्यले चाह्यो भने सक्छ। हामी जस्तै ‘अभागी’बाट ‘भाग्यमानी’मा रूपान्तरण हुन तत् निकायहरूले सोचून्, गरून्। भावनामाथिको व्यापार गरेर झिटी सक्ने र काख पनि खाली हुने अवस्था अब कसैको पनि नआओस्।
हाम्रा बाबुनानीको जन्मदिनको अवसरमा हामी यही कामना गर्छौं। र, कामना यो पनि गर्छौं कि हाम्रा बाबुनानीले सन्तानविहीनहरूको अनुहारमा खुसी ल्याउने अभियानमा थोरै भए पनि योगदान गरून् ताकि उनीहरूले जस्तै अरू कसैले पनि खुसी भरिदिऊन् कसैको जीवनमा।
जन्मदिनको हार्दिक शुभकामना बाबुनानी।