गोरो वर्ण, अग्लो शरीर, न दुब्लो,न मोटो, सदाबहार मध्यम खाले शरीर। मैले जीवनको २४ औँ वसन्त पार गर्दै गर्दाको जोस र उमङ्गभन्दा बुवाले जीवनको ५९ औँ वसन्त पार भइसक्दाको जोस र उमङ्गमा कति हो कति अन्तर!
उहाँको निडर, हक्की, इमानदारी र जस्तोसुकै परिस्थिति पनि सहजै स्वीकार गर्न सक्ने क्षमता देखेर निकै डाहा लाग्थ्यो। कान्छो छोरा भएर यस धर्तीमा जन्म लिएको म पनि टुहुरो र बेसहारा बनेको तीन वर्ष पुग्न लाग्यो।
एउटा मध्यम परिवारमा जन्मिएर सानोतिनो भए नि सरकारी जागिर खानु भएको बुवाले परिवारको लागि अनि छोराछोरीको लागि गर्नु भएको त्याग र तपस्याको बयान गर्ने कुनै शब्द छैन। २५ वर्षसम्म बिहान र साँझ तीन-तीन घण्टा उकालो र ओरालो गर्दै जागिर खाँदा जुकाले चुसेको, जङ्गलमा बाघले लखेटेको, भिरबाट ढुङ्गा खसेर चोट लागेको, वर्षा यामको झरी र हिउँद महिनाको असिना पानीले चुट्नु चुटेको अनि गाउँबेसी गर्दा पराल र धानको भारी बोकेर बनेको बज्र शरीरमा लाग्दथ्यो २/४ सय वर्ष नि केही हुँदैन।
तर जन्मेपछि मृत्यु आखिर निश्चित छ। अजम्मरी त यहाँ कोही पनि छैन। यो सबै थाहा छ र पनि तीन वर्ष पुग्दा पनि यो मनले पत्याउन सकेको छैन। लाग्छ, बुवा त त्यही घरको आँगनमा बसेर पारिपट्टिको बस्ती नियालिरहनु भएको छ। आँगनीमा मुसुमुसु हाँस्दै हिँडिरहनु भएको छ। काठमाडौँमा बस्ने छोराछोरीसँग रमाइलो गफ गर्दे हुनुहुन्छ। छोरी र ज्वाइँसँग दुःख सुख साट्दै हुनुहुन्छ।
बुवाको अन्तिम समयसम्मको हाँसो र एक किसिमको आत्मबल अनि ऊर्जाले बुवालाई झन् दरिलो बनाएको जस्तो महसुस हुन्थ्यो।
मृत्युको शय्याभन्दा केही घण्टा अगाडिको बुवाको पीडा र छटपटी, काठमाडौँदेखि बझाङसम्मको त्यो यात्रा, पुस महिनाको जाडोमा घर पुग्दै गर्दा घरको एकापट्टि राखेको सेतो कपडा, दाउराको भारी आँगनमा बुबाको लास छेउमा अर्ध चेत अवस्थामा छटपटी रहेकी आमाको अनुहार मानसपटलमा अविच्छिन्न घुमिरहन्छ। लाग्थ्यो, यत्रो दुःख, कष्ट सहेर हुर्काउनु भएको म छोरो भएर बुवालाई केही गर्न सकिनँ।
आँखामा आँसुको खोलो बग्दथ्यो। घरमा भएकी आमाको अनुहारमा हेर्दा लाग्थ्यो, उहाँहरूले पनि मैले केही गर्न सकेन भनेर गाली पो गरिरहनु भएका हो कि! बुवाले पनि मेरो छोरोले मैले बोलेको केही बुझेन भनेर गाली पो गर्नु भएको छ कि! या मलाई आशीर्वाद पो दिइरहनु भएको पो हो कि?
यसरी सोच्दै गर्दा झनै आँसु बग्थ्यो। कसैले नदेख्ने गरी घण्टौँसम्म एकान्तमा रुन्थेँ। यो मन बेचैन हुन्थ्यो। कहाँ जाऊँ अनि के गरूँ जस्तो मात्र हुन्थ्यो।
मैले मेरो बुवाको मृत्यु देख्न पर्ला र? म मेरो बुवाको लासको पछि–पछि मलामी भएर हिँड्नु पर्ला र? त्यो हँसिलो अनुहारमा मैले आगो बाल्न पर्ला र? मैले अनि आमाले सेतो लुगा लगाएर क्रियामा बस्नु पर्ला र? दिदी-बहिनी अनि आफन्तको चित्कार सुन्न पर्ला र? खोलामा गएर घिउ भात पकाएर खान पर्ला र? आखिर यी यस्ता कुराहरू कल्पना गर्ने नसक्ने म भोग्न र गर्न तयार हुनु पर्यो।
प्रत्येक दिन बेलुकी सुत्ने बेलामा बुबासँग एक पटक फोनबाटै भए पनि सुख अनि दुःखका कुराहरू गरेर निदाउने बानी भएको मैले बुवाको आवाज बिना निदाउने बानी पार्न पर्यो। घर जाँदा बुबासँगै रातभर गफ गर्दे बस्ने अनि सधैँ उज्यालो हुने त्यो घर आँगन सदाको लागि अन्धकार बनेको छ।
तपाईंबाट छुटेपछि बदलिएको जीवनको रङ र अनुभव बयान गर्ने शब्द नै छैन बुवा। त्यो त मेरो मन मस्तिष्कले प्रत्येक क्षण मापन गर्ने कुरा हो। बुवा म आज पनि तपाईंका पदचाप पछ्याएर हिँड्दै छु। समयले दिएका अनगिन्ती चोटले छिया-छिया भयको हृदय र अनगिन्ती प्रश्नको किताब यो छातीमा राखेर हिँड्दा यस्तो लाग्छ, बुवाबिना पनि आजसम्म बाँचेँ! अरूको नजरमा टुटिसकेको, फाटिसकेको र ढलिसकेको भए पनि आफ्नो नजरमा मृत्युलाई होइन जीवनलाई छान्दै आएको छु।
बुवा तपाईं जति बेला मेरो साथमा हुनुहुन्थ्यो, त्यति बेला म तपाईंलाई निकै माया गर्छु जस्तो लाग्थ्यो। तर जब तपाईंलाई गुमाएँ, फर्केर हेर्दा कुनै पल मैले भेट्न सकिनँ। आफूले माया गरेको क्षण सम्झे पनि हजुरले मेरो जीवनमा खन्याएको मायाका छालबाहेक अरू भेटिनँ जुन छाल आज टाढा जाँदै छन् तरङ्ग बनेर।
जे जस्तो भए नि नियतिको प्रहार सहनै पर्छ। स्वर्गमै बसेर भए पनि मलाई सदा आशीर्वाद दिइरहनु होला। यी केही हरफहरू लेख्दै गर्दा आँखाको कुनाबाट निस्केको आँसुले थप लेख्न सकेन। हजुरको भौतिक आशीर्वाद नभए नि आजीवन आशीर्वाद पाइराखूँ। चिर शान्ति मिलोस् बुवा।