गाउँमा सबैको दिनचर्या उस्तै थियो। उज्यालो नहुँदै डाँडाका गल्छीमा झरिसक्थे। आँबैले (हजुरआमा) ‘डाडाँकाले वहाँ घाँस पुर्याइसके, यसका सन्तान अझै उठेका छैनन्’ भनेर एकाबिहानै सातो खाइसक्नु हुन्थ्यो।
भुवानामा घाम अलि ढिला लाग्छ, अलिकति पाखोमा परेर। सिरौसामा भने सूर्य उदाउँदा घाम परिसक्छ। बच्चाहरूको काम कोहीको रिप पँधेराबाट पानी ल्याउने हुन्थ्यो‚ कोही बाख्रामा जान्थे। एक थरी बच्चाको काम दूध पुर्याउने हुन्थ्यो भन्जिङसम्म। कोही भने मान्के खोला (बेसी) पुगेर परालको भारी ल्याएर स्कुल जानुपर्ने हुन्थ्यो। उदाहरण दिन परे परालको भारी घाँसको भारी जसको ठुलो छ ऊ दादा हुन्थ्यो। उसको उदाहरण दिन्थे सबैले।
बिजुली २०५०/०५१ सालतिर र मोटर बाटो ०५९/०६० तिर आए जस्तो लाग्छ मलाई गाउँमा। त्यो समयमा मानिसको जीवनशैलीमा त्यति धेरै अन्तर थिएन। सबैको लवाइ खुवाइ उस्तै थियो। जीवनशैली सरल थियो। अहिले जस्तो मानिससँग पैसाको दम्भ थियो जस्तो लाग्दैन उति बेला। एकाध दुई तानासाह शैली भनूँ वा प्रवृत्ति भएका मान्छे थिए नै तर अधिकांशको जीवन सरल नै थियो। अधिकांश गाउँका बच्चाहरू गाउँकै सरकारी विद्यालयमा अध्ययन गर्थे। गाउँमा मानिसहरूको चहलपहलै छुट्टै हुन्थ्यो।
पढ्नेभन्दा पनि कामको महत्त्व धेरै हुन्थ्यो। स्कुल जाने काम त थियो नै तर शिक्षाको गुणस्तर त्यति राम्रो भने थिएन। पढ्न पर्छ भनेर कि आफैलाई आउनु पर्यो होइन भने अलि पढे लेखेका घरकाले छोराछोरीलाई पढाउन पर्छ भनेर काममा अलि कम लगाउन पर्यो।
तीजपछि स्कुल जाँदा प्रायः सबै साथीहरूको युनिफर्म नयाँ हुन्थ्यो। नयाँ किताबको सुगन्धले बच्चा बेलाको सौन्दर्यमा थप रौनक थप्थ्यो। पैसा नभएर स्कुलमा बरफ बेच्न ल्याउने दाइलाई आधा कागज आधा च्यातिएको नोट टाँसी झुक्काएर खाएको बरफको स्वादले अहिलेको विभिन्न फ्लेभरमा पाउने आइसक्रिमको स्वादलाई फिक्का तुल्याउँछ।
पाउरोटीमा पानी राखेर खाने होस् वा चाउचाउको सुपलाई चाउचाउकै घिउसँग मिलाएर खाँदा छुट्टै रमाइलो हुन्थ्यो। चप्पल चुँडिँदा प्लास्टिकको रसीले बाँधेर होस् या केत्तुकेको काँढाले अल्झाएर लाउँदा, यी सबै बच्चा बेलाका स्मृतिहरूले अहिले पनि बालापनको यादहरू ताजा बनाउँछन्।
गाउँमा भर्खर-भर्खर मोटर बाटो आएको थियो‚ मनहरी खर्क स्यानो बुवाकोमा कुल पूजा थियो। आमासहित हामी तीन घरका निम्ता मान्न गएका थियौँ। फर्किँदा साँझ परिसकेको थियो। नयाँ बाटो खन्न डोजरको लागि ट्याक्टरमा तेल ल्याइराखेको थियो। हामी केटाकेटी कुद्यौँ पछि पछि। ट्याक्टरको ड्राइभर दाइले अहिले चढ्न मिल्दैन पछि तेल हालिसकेर आउँदा चढाउने भनेपछि गइयो पछि पछि।
चढ्ने भनेको त्यही ५ मिनेटको दूरी थियो होला। त्यही पनि कुरी बस्यौँ। त्यो तेल लगेर डोजरमा राखेर फर्कँदा निकै रात परिसकेको थियो। ड्राइभर दाइले भने बमोजिम ट्याक्टर चढाउन त चढाए तर घर आउँदा पो आमालाई भूत चढेको पत्तो पाइयो। त्यसपछि के चाहियो, आमाले घरको खाँबामा बाँधेर दिनुभयो राम धुलाई- ‘ला चढ ट्याक्टर’ भन्दै। अहिले ट्याक्टर देख्यो कि त्यही याद आउँछ।
राजधानीदेखि करिब २५०-२५५ किलोमिटर पार गर्यो भने स्याङ्जाको गल्याङ पुगिन्छ। त्यहाँबाट आधिखोला तरेर आधा पिच आधा ग्राभेल बाटो ७/८ किलोमिटर काटेपछि पुगिन्छ सिरौसा। सिरौसापछि लगभग २०/२५ मिनेटको दूरीमा पर्छ भुवाना।
भुवाना आफैमा त्यति परिचित नाम होइन। गाउँभन्दा थोरै अलग बसेको भुवानालाई चिनाउन व्यक्तिको नामको सहारा पर्छ। त्यही वरिपरि बसोबास गर्नेलाई पनि सकस पर्छ, यसै चिन्नलाई सबैले सिरौसा नै भनेर चिन्छन्।
मेरो मानसपटलमा भुवाना नाम कसरी रहन गयो होला भन्ने प्रश्न धेरै चोटि नआएको होइन। अहिले पनि आउँछ। तर यही कारण भन्ने आधार भने भेटेको छैन। मेरो विचारमा ‘भु’ भनेको जमिन र ‘वन’ भनेको जंगलले मिलेर भुवनबाट पछि भुवाना भएको हुनसक्छ। भुवनले जगत् पनि जनाउँछ तर त्यसरी नामकरण गरियो जस्तो लाग्दैन। यत्तिकै पनि भुवाना वनै वनले घेरिएको ठाउँमा रहेको सानो गाउँ; गाउँ पनि के भन्ने ३ घर छ।
मैले ‘च्याट जिपिटी’ लाई पनि नसोधेको होइन, पत्ता लगाऊ त के रहिछ भनेर। तर त्यसले पनि ‘जेपिटी’ नै भन्यो। पूरै धार्मिक, सामाजिक, सांस्कृतिक रूपमा यो-यो हुन सक्छ भनेर दियो अनि सोचेँ, न त्यहाँ त्यस्तो कुनै भव्य धार्मिक स्थल नै छ न कुनै समाज नै जसले समाज चिनाओस्। भुवानाको अर्थ बुझाउन मलाई ‘एआई’ ले पनि सकेन। नेपाली शब्दकोशमा पनि भुवानाको अर्थ भेट्न सकिनँ।
हामीले हाम्रो हजुरआमादेखि बुवाहरूलाई जहिले सोध्ने प्रश्न हुन्थ्यो- यस्तो ठाउँमा आएर किन बसेको? माथि गाउँतिर नै बसेको भए हुन्थ्यो।
बुवाहरूबाट ठ्याक्कै यही कारणले भन्ने जवाफ पाउन सकिएन।
हामीलाई मुखिया परिवारका भनेर पनि चिन्छन्; हजुरबुवाहरू मुखिया भएकाले। हजुरबुवाहरू तीन जना दाजुभाइ, हाम्रो हजुरबुवा जेठो। जसलाई थाले मुखिया भनेर चिन्थे। चोक भन्ने ठाउँमा चोकाली साहुकोमा जाँदा टपरीमा खाना खान दिँदा ‘हामी मुखिया हौँ, हामीलाई थालमा खाना दिन पर्छ, टपरीमा खाइँदैन’ भनेसि थालमा खाना दिएछन्। त्यसपछि जेठोलाई थाले मुखिया भनेर चिनिन थालेछन्।
माइलो हजुरबुवा अलि हक्की स्वभावको हुनुहुन्थ्यो रे। कोहीसँग पनि नडराउने। एक चोटि पल्लो गाउँकोले हजुरबासँग निहुँ खोजेछन्। हजुरबाले थेच्चिने गरी दिएपछि माइलो हजुरबुबाको नाम थेचे मुखिया रहन गएको हो भनेर डोलराज दाइले भन्नु भएको थियो।
हाम्रो हजुरबुबाले तीन जना हजुरआमा बिहे गर्नु भएको रहेछ। तीन हजुरआमाबाट १० जना छोरा र ३ छोरी जन्मिए। हाम्री हजुरआमा कान्छी। कान्छीपट्टि ४ भाइ छोरा र २ बहिनी छोरी। हाम्रो बुवाहरू जन्मिसक्दा ठुली र माइली हजुरआमा पट्टिका बुवाहरू र फुपूहरू ठुला भइसकेका रहेछन्। १३ जना परिवारमा जग्गा पनि कम भयो होला गाउँमा, तैपनि हजुरआमा ‘सौताहरूले हेपेर आएकी, ज्यान जोगाउन आएकी हुँ यो वनमा’ भन्नु हुन्थ्यो।
जहाँ अहिले हाम्रो घर छ त्यहाँ पहिले गोठ रहेछ। हजुरबुबाले हजुरआमालाई त्यही गोठमा बस्ने वातावरण मिलाइदिनु भएछ। त्यसपछि एउटा गोठ ३ घरको गाउँ बन्न पुग्यो भुवाना।
बच्चा बेला हामी गाउँ जाँदा कसै-कसैले वन तिरका आए पनि भन्थे। हाम्रो लागि वन तिरका पनि राम्रै पहिचान थियो। हरेक गाउँमा एक/दुई जना जहाँ पनि भेटिन्छन् जसले जे भन्दिए पनि उनीहरूलाई पाच्य हुन्छ। कोही हुन्छन् आफ्नो दारी घस्दिएर बच्चाहरूको सातो खाइदिने‚ कोही भने सानो देखे काम अह्राइहाल्ने। यस्ता प्रजातिका मानिस अझै पनि भेटिन्छन् हरेक गाउँमा। जसलाई बाल मस्तिष्कको बारेमा खासै ज्ञान हुँदैन वा त्यति ठुलो महत्त्व राख्दैन।
आजभन्दा लगभग दश/बाह्र वर्ष अघि भुवाना अहिले जस्तो सुनसान थिएन। केटाकेटीहरूको चहलपहल हुन्थ्यो। तीन घरका हामी ७/८ जना। भुवाना तल एक घर थियो कात्तिके। कात्तिकेमा पनि ४/५ जना हुँदा हामीलाई खेल्न साथीको कमी महसुस हुन्थेन। घाँस काटेर आउँदा बिसाउने चौतारो थियो कात्तिकेको घर।
घाँस काट्न कात्तिकेभन्दा मुनि तल्लो कात्तिके तिर जान्थ्यौँ। त्यहाँ पारि कल्लेरी मगर गाउँका मगर दाइहरूको १०-१५ वटा गोठ थिए। अहिले न त्यहाँ एउटा गोठ छ न खेती, लगभग सबै बाँझो हुने अवस्था छ। गोठ आउन एक घण्टा जस्तो लाग्दो हो, पारिबाट वारि प्रस्ट देख्थेँ।
एक चोटि तल्लो कात्तिके दीपक दाइ घाँस काट्न जाँदा पारि कल्लेरीबाट चिच्याएर ‘हैन त्यहाँ बारीमा घाँस चोर्ने कुन साले हो हँ?’ भन्दा ‘म त ४२ साले परे नि किन हो र?’ भनेर जवाफ फर्काउनु हुन्थ्यो रे। अहिले चकमन्न छ सबै।
कात्तिकेको पारि थियो दियाले। दियालेमा माइलो बुवा एक्लै बस्नुहुन्थ्यो। दाइहरू एक जना कलकत्ता भने अर्को दाइ बुटवलतिर बस्नुहुन्थ्यो। हट्ठाकट्ठा नै थिए माइला बा। जंगलमा बाख्रा चराउँदा पनि यो मेरो डिही भित्र ल्याउने को हो भनेर हामीलाई खेदाउँथे बुढाले। जंगललाई पनि ‘यो सबै मेरो हो, यहाँ पस्न पाउँदैनौ’ दिन्थे बुढाले। सायद २५- ३० वर्ष माइला बा एक्लै बस्नुभयो दियालेमा बिना बत्ती टुकीको सहारामा।
माइलो बाको एउटा अनौठो बानी थियो; कपीमा अंक लेख्ने। हरेक दिन कपीमा एक एक एक, दुई दुई दुई दुई, कहिले जिरो जिरो जिरो। लाख करोडका हिसाब हुन्थ्यो माइला बासँग। अहिले पनि सायद एक बाकस कपी मात्र होलान् अंक लेखेका माइला बा सित। रिफिलले लेख्नुहुन्थ्यो। मसी सकिएपछि त्यही एउटा रिफिल लिन घरबाट आधा घण्टा हिँडेर लिन पुग्नुहुन्थ्यो निउरेगैह्रा।
समय फरक भइसक्यो। आज दियाले र कात्तिकेले बसाइँ सरिसकेको छ।
आज कात्तिकेले दियाले हेर्दै भन्दो हो- म पनि तँजस्तै एक्लै भएँ नि। न कसैको बाख्रा पस्ने भन्ने डर न के। अनि दुई मिलेर जिस्काउँदा हुन भुवानालाई। अब किन आत्तिन्छस् कात्तिके‚ भुवानाको पनि हाम्रो जस्तो बेला आइसकेको छ। अब बुढाबुढी मात्र छन्। तीन घरमा ५ जना भएका छन्। भुवाना पनि अब त्यति आँटिलो छैन, गलिसकेको छ। हम्मे-हम्मे गर्दै बामे सर्दै छ। खुट्टा गलिसकेका छन्। माइला बितेपछि माइली एक्लै छिन्। छोराहरू बाहिर छन्, तिनीहरूको पनि आउने छाँट छैन। ठुलाको पनि तराईमा घर छँदै छ, एक छिन बल छउन्जेल हो। कान्छो घर बेसी गर्दै छन्। अब उनी नि थाकिसकेका छन्। भुवानालाई काँध हाल्ने अहिलेसम्म त्यस्तो बहादुर कोही देखिएको छैन। हाम्रो साथी हुँदै छ।
आज प्रविधिले फड्को मारिसकेको छ। प्रविधिले संसार निकै साँघुरो बनाएको छ। नुनदेखि सुनसम्म घरमै आउँछ। अप्ठ्यारो त छ तर पनि देशको अधिकांश भूभागमा यातायातको सुविधा पुगेको छ। लाग्छ पैसा भयो भने नपाउने कुरा खासै केही छैन। हरेक देशको खबर एकैछिनमा सबैले थाहा पाइहाल्छन्। संसार घरमै बसी बसी नियाल्न सकिन्छ। बच्चाहरू यति एडभान्स भइसके कि बुवा-आमाहरूलाई उनीहरूले प्रयोग गर्ने शब्द बुझ्नै कठिन बनेको छ।
आज रोजगारीको लागि होस् वा शिक्षाको लागि अथवा व्यापारको लागि, आफ्नो थाँतथलो छाड्ने प्रचलन भनौँ वा समस्या देशकै विकराल समस्या बनेको छ।
नेपालको कुल क्षेत्रफलको लगभग ८२ प्रतिशत भूभाग ग्रामीण क्षेत्रले ओगटेकोमा लगभग ४० प्रतिशत युवाको संख्या छ भने त्यो मध्ये ५०-५५ प्रतिशत युवा बेरोजगार रहेको विभिन्न तथ्यांकले देखाएका छन्।
राज्यले बाँदर लडेर मर्ने भीरलाई पनि नगरपालिका घोषणा त गर्यो तर गाउँको शिक्षा‚ स्वास्थ्य‚ रोजगारी जस्ता आधारभूत विषयलाई उचित ध्यान दिँदै ग्रामीण विकासमा जोड दिएर उचित सीप, ज्ञान‚ प्रविधिको प्रयोगमार्फत गाउँमै युवा परिचालन गर्ने उचित नीति अपनाउन सकेको खण्डमा मात्र भुवाना जस्तो थुप्रै भुवानाहरूले आफ्नो जवानी फिर्ता पाउने सम्भावना जीवित रहन्छ। अन्यथा छोरा नातिलाई एकादेशमा भुवाना भन्ने गाउँ थियो भन्न मात्र सकिएला।