मध्यान्हको चर्को घाम। चाबहिलबाट पुतलीसडक तिर जाँदै थिएँ। गौशालामा चेकिङ रहेछ। ट्राफिकले सिठी बजाउँदै हातको इसाराले 'रोक्नुस्' भन्यो। म रोकिएँ।
'लाइसेन्स र बिल बुक छ? देखाउनुस्’ भन्यो।
'छ' भन्दै म ब्याग खोतल्न थालेँ। सायद कागजात छ जस्तो लाग्यो होला 'जानुहोस्' भन्यो। यसो ऊतिर हेरेर मुस्काएँ र आफ्नो बाटो लागेँ। 'शुभ यात्रा' भन्यो। फेरि पनि फर्केर हेरेँ उसलाई।
यो मान्छे जोत्ने सहरमा चर्को घाम, धुवाँ, धूलो, पानी, प्रदूषण, कोलाहल नभनी अहोरात्र आफ्नो काममा खटिएको एक जना ट्राफिकले पाँच सेकेन्ड समय दिएर मलाई शुभ यात्रा भन्यो।
मलाई त्यो शब्द बहुमूल्य लाग्यो। सोचेँ, मलाई मात्र हो कि अरूलाई नि भन्छ होला?
एउटा लेखकले आफ्नो शब्दहरू बेच्छ। कलाकारले कला बेच्छ। गायककारले गला बेच्छ। शिक्षकले ज्ञान बेच्छ। पसलले सामान बेच्छ। आधुनिक दुनियाँमा हरेक मान्छेले जीवन चलाउन पैसासँग केही न केही विनिमय गरेकै हुन्छन्। सोचेँ, यो ट्राफिकले के बेचिरहेको होला?
अर्को दिन पनि म त्यही समयमा त्यस ठाउँमा पुगेँ। केही क्षणको जामको फाइदा उठाउँदै मैले उसको हाउभाउ र क्रियाकलाप हेरेँ।
सेतो टोपी, टाई, सफाचट निलो सर्ट, निलो पाइन्ट। ऊ कुनै फिल्मको हिरोभन्दा कम थिएन। फिल्मका नायक मात्र कहाँ हिरो हुन्छन् र!
दिनहुँ हजारौँ सवारी साधनको आवतजावतलाई व्यवस्थित गरी यात्रुहरूलाई सकुशल गन्तव्यमा पुर्याउने, बाटो बिराएकाहरूलाई सिठी बजाएर सही बाटोमा हिँडाउने। त्यो ट्राफिक पनि हिरो हो समाजको।
मलाई हरेक दिन त्यही ठाउँमा पुगेर उसको क्रियाकलाप हेर्न रमाइलो लाग्न थाल्यो। ऊ आफ्नै काममा व्यस्त हुन्थ्यो, म आफ्नो गन्तव्यमा पुग्न। तैपनि समय मिल्दा उसको गतिविधि हेर्ने मौका मिल्थ्यो।
ऊ सिठी बजाउँदै हातको इसाराले जाम खुलाउने प्रयास गरिरहेको हुन्थ्यो। त्यति बेला मलाई लाग्थ्यो, उसले सिठीको आवाज बेचिरहेको छ। हातको इसारा बेचिरहेको छ।
अर्को दिन ऊ एक जना बुढी आमालाई हातमा समातेर बाटो कटाउँदै गरेको देखेँ। उसको यो साथ र सहयोगबाट प्रभावित भएरै होला 'प्रहरी मेरो साथी' भनेको जस्तो लाग्यो।
यस डिजिटल दुनियाँमा फेसबुके चर्चाको भोको कुनै मनुवा भए ‘फिलिङ ह्याप्पी’ भनेर ती वृद्धासँग सेल्फी खिच्ने थियो होला। फोटोहरूले सामाजिक सञ्जाल रङाउँथ्यो होला। लाइक कमेन्ट बटुल्थ्यो होला। तर त्यो ट्राफिक आफ्नो काममै व्यस्त छ।
लेन अनुशासन थाहा छैन, स्पिडको ख्याल छैन, जेब्रा क्रसिङको मतलब छैन। लुकेर चेक गर्यो भन्या छ। ढुकेर चेक गर्यो भन्या छ। मापसे गरेर पनि सवारी चलाएकै छ। तिम्रै हितको लागि हो हेलमेट लगाऊ, सिट बेल्ट बाँध भन्दा पनि ट्राफिकलाई गाली नै गर्या छ। कस्ता नागरिक उत्पादन गरिरहेका छौँ हामीहरू?
विदेशतिर सिस्टमले ट्राफिक नियमन गर्छ। मसिन जस्तो भएर सवारी व्यवस्थापनमा खटिएको एउटा ट्राफिकलाई कति सजिलै मान्छेहरू भन्ने गर्छन्- 'ट्राफिकहरू जनतालाई लुट्न बस्या हुन्!'
गाली नै गर्ने भए उच्च पदमा बसेका व्यक्तिहरूलाई गर्नु नि। शासन चलाउने नेताहरूलाई गर्नु। जसले कुशासन ल्याएँ, सुशासनको आभास दिलाउन सकेनन्। तल्ला तहका ट्राफिकलाई गाली गरेर समस्या समाधान हुने हैन! ट्राफिक त सडक सुरक्षाको लागि नियम पालना गर्न लगाउने एक पहरेदार मात्र त हो।
कार्यसम्पादनको क्रममा मानवीय त्रुटि हुन सक्छ। तर नियत नै खराब राखेर जनतालाई दुःख दिनैका लागि सेवामा खटिएको चाहिँ होइन होला!
केही दिन भयो त्यो ट्राफिकलाई देख्न छोडेँ। मन बेचैन भयो। सोचेँ, कता गयो होला?
उसको ठाउँमा नयाँ ट्राफिक देखेँ। निकै दिन ऊ अनुपस्थित भएपछि त्यो नयाँ ट्राफिकलाई सोधेँ- 'यहाँको पहिलाको ट्राफिक साब कता जानु भयो?'
'खै म्याम थाहा भएन। म त नयाँ पोस्टिङ हो,' उसले भन्यो।
महिना फेरिन नपाउँदै ट्राफिक फेरिएछ!
म निराश भएँ। ऊबाट फेरि 'शुभ यात्रा' को शुभेच्छा लिने मेरो इच्छा अधुरै रह्यो।