हो, मैले जागिर छाडेँ। त्यही जागिर जुन पाउँदाको दिन म धेरै खुसी थिएँ, साथीहरूसँग सेलिब्रेट गरेकी थिएँ, आमा बाबालाई धेरै आशा देखाएको थिएँ। लागेको थियो अब मलाई कुनै प्रकारका आर्थिक समस्या हुने छैन।
सपना देख्न खुबै मन पराउने म, थोरै हैन धेरै देखेको थिएँ। कति सजिलै लाग्थ्यो अरूले कमाएको, जागिर खाएको। ओहो! जागिरको पहिलो दिन म मज्जाले निदाएको थिएँ, मनमा बेग्लै प्रकारको उमंग, उत्साह, आस अनि आफूमा भरोसा पनि उत्तिकै थियो। मलाई के थाह बिस्तारै जिम्मेवारी बढ्दै जाँदा कतिसम्म मानसिक तनाव हुन्छ भन्ने कुरा।
मैले आफूले सक्ने त गरेकै थिएँ नि। को कर्मचारी त्यस्तो होला जसले आफ्नो संस्थाको लागि मेहनत नगरोस्! अझ जसले उसका परिवारका सदस्यहरूको आवश्यकता पूरा गर्नमा थोरै भए नि सहयोग गरेको हुन्छ। कर्मचारीको चाहना आफू जुन संस्थामा काम गरेको हुन्छ त्यहीबाट आफ्नो र संस्थाको प्रगति होस् भन्ने हुन्छ।
आज मैले जुन उत्साहका साथ जागिर सुरु गरेकी थिएँ, त्यही उत्साहलाई अलिकति पनि नमर्ने गरी जागिर छोडेँ। जुन दिन मनले चाहेको जागिर पाउँदा मज्जाले निदाएको थिएँ, आज पनि त्यही निद्रामा निदाउने छु। जुन दिन जागिर पाउँदा खुसीहरू साथीसँग साटेको थिएँ, आज नि त्यस्तै खुसी आफैसँग साट्ने अनि आफूमा भएको कमजोरी सुधार्दै नयाँ योजना बनाउने तयारीमा छु।
जब जागिर छोड्ने कुरा परिवारमा चल्यो बिचरा मेरा आमा-बाबालाई के थाहा छोरी कतिसम्म तनावमा बसेर काम गर्थी! तलब आउने दिन ३० दिनको दुःख पनि बिर्सन्थी, अलिकति भए नि आफ्नो र परिवारको आवश्यकता पूरा गर्न पाउँदा।
मनमा जागिर छोड्ने कुरा आउँदा पटक-पटक बाबा-आमाको ती मलिन अनुहार नसम्झेको कहाँ हो र मैले! हुन त बाध्यता थिएन कमाएर परिवारमा दिन तर जिम्मेवारी लिन मन पराउने म सकेको सहयोग आफ्नो कमाइबाट गर्न पाउँदा छुट्टै अनुभव गर्थेँ।
बिस्तारै खुसीहरू निराशामा परिणत हुँदै थिए। यस्तो लाग्न थालेको थियो कि मेरा सारा इच्छाहरू बिस्तारै मर्दै छन्। बढी हाँस्नु र रमाउनू पर्ने म, मेरा हाँसोहरू हराउँदै थिए। नहराओस् पनि कसरी? खुलेर हाँस्दा नि डराउनू पर्ने; चारै तिरबाट सिसिटिभीले घेरिएकी म। लाग्थ्यो मैले ठुलो गल्ती गरेको थिएँ, त्यसैले मलाई यसरी चारैतिरबाट घेरिएको होला। बिस्तारै म आफैलाई आफू जिउँदो लास जस्तो लाग्न थालेको थियो। न स्वतन्त्र भएर खुसी हुनै सक्थेँ।
जब जब आफ्नो कामको महत्त्व र सो कामबाट भनेको जस्तो परिणाम निस्कँदैन तब अगाडि जति नै चुनौती आए तापनि मान्छे बाध्य हुने रहेछ काम छोड्न। मनमा असन्तोष पैदा भयो। चुनौतीसँग लड्न मन लाग्यो, अभावमा आफूलाई कसरी व्यवस्थित गर्न सक्छु? आफ्नो परीक्षा लिन मन लाग्यो। केही नयाँ गर्न मन लाग्यो अनि जागिर छोडेँ।
सुन्दै छु वरपरका छिमेकीलाई पो गाह्रो भयो रे मैले जागिर छोड्ने कुराले। बिचरा उनीहरूले मेरा अप्ठ्यारो समयमा साथ दिन सकेनन्। साथ दिने वचन नि दिएका थिए। खोइ किन गाह्रो पर्यो त्यो त उनीहरूको कुरा भयो। उनीहरूलाई पनि धेरै-धेरै धन्यवाद; राम्रो कुरा नभए नि नराम्रो कुरा मेरो गरिदिए। मेरो कुराले उनीहरूको समय अलिकति भए नि बित्यो। यस्ता कुराहरूले मलाई अझ हिम्मत र आँट आउँछ। जब यस प्रकारका प्रतिक्रियाको सामना गर्न तयार छु भने अब अरूका राम्रा र नराम्रा कुराले पो मलाई के छुन्थ्यो होला र!
मलाई राम्ररी थाहा थियो, जागिर छोड्दा मेरो आम्दानीको बाटो बन्द हुन्थ्यो। अझ बढी समस्याले सताउँथ्यो। सानै उमेरबाट आफ्ना लागि आफै गर्दै आएकी म आशा त थिएन कसैले दिन्छ अनि म मेरो जीवन चलाउँछु।
यी साना-साना खुसीको परवाह नगरी मैले निर्णय लिएँ। सही गरेँ कि गलत गरेँ?
मैले जागिर यस कारण पनि छोडेकी हुँ कि यो जागिरका लागि मैले दिनरात मानसिक तनाव भोग्नु पर्ने। बिहानबाट हतार-हतार अफिसका लागि निस्कियो। ओहो! जाममा परेर ढिला पुगिन्छ भन्ने चिन्ता। बल्ल बल्ल अफिस त पुगिन्छ अनि सुरु हुन्छ महाभारत। कहिले काम छिटो भएन भन्या छ। कहिले कूल बचत काम भएन भन्या छ। यति नि ठिकै थियो, राम्रो काम गर्दा नि हाकिमको अनुहार कहिले उज्याले भने छैन।
मेरो मनमा कति कुराहरू खेलिरहन्थ्यो। एउटा हाकिमको भूमिका निर्वाह गरेपछि आफ्नो अन्डरमा भएका कर्मचारीलाई कसरी मोटिभेट गरी उनीहरूबाट बढीभन्दा बढी काम गराई ‘प्रोडक्टिभिटी’ बढाउन सकिन्छ भन्ने किन उसले बुझ्दैन? मानव संसाधन व्यवस्थापन किन नपढी यति ठुलो पदमा बसेर कर्मचारीको शोषण गर्छन्?
हाकिम साहबले बुझ्नु पर्थ्यो कि जब कर्मचारी खुसी हुन्छन्, कार्यालयलाई आफ्नो सम्झिन्छन् अनि सोही अनुसार आफ्नो जिम्मेवारी पूरा गर्छन् भने तिम्रो संगठन आफै प्रगति तिर जान्छ नि। जब तिमी कर्मचारी खुसी भएको देख्थ्यौ, मनमनै रिसाए जस्तो लाग्थ्यो। कर्मचारीलाई तलब बढाउनु पर्दा तिमीलाई महाभारत हुन्थ्यो। तिमीले समय समयमा विभिन्न प्रकारका किताब तथा तालिमका माध्यमबाट आफूलाई अपग्रेड गराउनु पर्थ्यो। कर्मचारीलाई कसरी खुसी, सकारात्मक बनाउँदै आफ्नो संस्थाको उत्पादन बढाउने रणनीति बनाउनु पर्थ्यो।
तिमीले एक पटक आफैसँग प्रश्न गर्नु पर्थ्यो कि कर्मचारीको मेहनतबिना मेरो संस्था अगाडि बढ्न सक्छ कि सक्दैन? कस्ता योजना ल्याउने? समय समयमा कर्मचारीसँगै बसेर छलफल गर्नु पर्थ्यो, सोको कार्यान्वयन तिर लाग्नु पर्थ्यो। तिमी त धेरै रिसाउने मात्र र कर्मचारीलाई पेलाउन मात्र जान्दथ्यौ। तिमीले बुझ्नु पर्थ्यो तिमी ५ मिनेट मात्र रिसाउँदा पनि काम गर्ने वातावरणमा कति असर पर्छ भनेर। तिमी रिसाएर कर्मचनरीलाई गााली गर्दा त्यो डराएको, अशान्त भएको कर्मचारीबाट तिमीले स्मार्ट वर्क पाउँछौ र?
कर्मचारी उत्प्रेरणाका नयाँ तरिकाहरूको बारेमा जानकारी साथै सो कुरा लागू गराउनु पर्थ्यो। तिमीले आफ्नो मन मस्तिष्कलाई जहिले शाान्त राख्न नियमित योगा, प्रणायाम, ध्यान र खानपानमा नि ध्यान दिनु पर्थ्यो।
मेरो प्रश्न सम्पूर्ण हाकिम साहब जो कर्मचारीलाई काम गर्ने साधन मात्र समझन्छन्; जुन कर्मचारीले आफ्नो जीवनको अमूल्य समय तिम्रो संस्थाका लागि दियो, ऊ तिम्रो संस्थाबाट असन्तुष्ट भएर निस्कँदा तिमीले फेरि त्यस्तै क्षमता भएको अर्को कर्मचारी बनाउन कति समय लाग्ला? असन्तुष्ट भएर निस्किएको कर्मचारीले तिम्रो संस्थाको बारेमा कस्तो प्रकारको सूचनाहरू बाहिरी वातावरणमा फैलाउला?
कर्मचारी संस्थाको सम्पत्ति हो ठानी सोही अनुसार व्यवहार भएको भए त्यही कर्मचारीबाट तिम्रो संस्थाको सकारात्मक कुराहरू बाहिरिन्थ्यो। तिम्रो संस्थाको ग्राहक बढाउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्थ्यो। कर्मचारी, व्यवस्थापक र संगठनको सम्बन्ध राम्रो भएमा मात्र संगठन व्यवस्थित तरिकाले संचालन गर्न सकिन्छ।
समयअनुसार र संस्थाको नियमअनुसार सुबिधा दिने हो भने कुनै पनि कर्मचारी असन्तुष्ट हुन्छन् भन्ने लाग्दैन। यति भनिरहँदा कति यस्ता संस्थाहरू छन् जहाँ अनुभवी व्यवस्थापक छन् जसले कर्मचारी, सगंठनलाई आधुनिक, व्यवस्थित र सुविधायुक्त तरिकाले संचालन गरेका छन्। त्यस्तो संगठनमा कर्मचारीहरू पनि उत्प्रेरित हुन्छन्।
यस कारण पनि मैले जागिर छोडेँ कि, मलाई बढी तनावका कारण मानसिक रोगी हुनु थिएन। अहिले कमाएको पैसा २/३ वर्षमा अस्पतालमा बुझाएर सक्नु थिएन। आफ्नो मानसिक अवस्था बिगार्नु पनि थिएन। मेरा बढेको आवश्यकता घटाउँदै नयाँ आम्दानीको बाटो रोजेर मानसिक स्वास्थ्यलाई मुख्य प्राथमिकता दिँदै एउटा आम्दानीको स्रोत मात्र बन्द गरेकी हुँ।