हरेकपटक मेरो मित्रलाई भेट्दा म आफूले काम गर्ने अलगअलग अफिसको भिजिटिङ कार्ड दिन्थेँ। उनले भन्थे, 'के गरेको यार, एक ठाउँमा स्थिर भएर बस यार, कति घुम्छौ।'
ठिकै लाग्यो एक ठाउँमा स्थिर भएर बसेँ।
अब मलाई लाग्दैछ मैले बेठिक गरेँ। आफूले जीवनमा करिब १० वटा जति जागिर बदलेँ होला तर पैसा कमाउने मामिलामा म बदलिन सकिनँ। नेपाल गए कपालसँगै, बर्मा गए कर्मसँगै जस्तो भएको होला सायद।
कुनै पनि निर्णय जीवनमा आफैमा ठिक, आफैमा बेठिक भन्ने हुँदैन। यो काल बेला अनुसार लागु हुन्छ तर मुख्य विषय हाम्रो प्राथमिकतामा हो भन्ने नै हो। जिन्दगीभर जागिरको पछाडि कुदेर जीवन नै सकियो तर जागिर मिल्यो यद्यपि सुख मिलेन। जागिरबाट मिल्ने सुख र व्यवसायबाट मिल्ने सुख अलग छन्।
पढ्ने बेलामा काम र काम गर्ने बेला जागिर खाएको नमिठो अनुभव लिने मान्छेमध्ये म पनि एक हुँ।
मेरो कहानीबाट अन्य म जस्तै वर्गलाई निश्चित रूपमा केही फाइदा होला। जसरी पनि पैसा कमाउनु भन्ने सोच म, तपाईं, हामी सबैमा छ नै केबल कोही व्यक्त गर्छन्, कोही मौनता राख्छन् तर अभिमत समग्रमा यस्तै छ।
पैसा जसरी पनि कमाउने हुटहुटी सबैमा छ, चाहे नेता होस् या व्यवसायी। पैसा कमाउने मान्छे नै सबैको प्रिय हुन्छ चन्दा दिन्छ, ऋण दिन्छ,सरसापटी दिन्छ, आफन्त खुसी, इष्टमित्र खुसी, परिवार खुसी यसकारण पैसा चाहिन्छ। यसैले होला भनेको छ नि 'इदम जीवेत सुखम जीवेत ऋणम कृत्वा घृतमम पिवेत'। यसरी 'ऋण नै गरेर भए पनि घिउ पिउने' सोचले नै होला पैसा कमाउनै पर्छ भन्ने सोच सबैमा छाएको।
फ्रान्सिस व्याकोनले 'पैसा राम्रो नोकर, खराब मालिक हो' भनेका छन्। हुन पनि हो यो पैसाको चक्करमा मानिसले के मात्र गर्दैन। २०४६ ताकाको कुरा हो म पढ्दै काम गर्ने क्रममा बसमा भाडा उठाउँथेँ। एकदिन पोखरा बसपार्कमा हामीले खाना खाने होटलको दिदीले अचानक श्रीमानलाई छाड्ने निधो गर्नुुभएछ। किन यस्तो निर्णय लिनुभयो त भनेर मैले गुरूजीलाई सोधेँ। उहाँको अनुसार 'होटलमा राति एक जना ग्राहक आएछ। ऊ चर्को मोल तिरेर भए पनि केटीसँग रात बिताउने सोचमा होटलको दाइलाई कोही खोजी दिन भनेछ। तत्काल त्यो होटलको दाइले कोही केटी भेटेनछन् यसरी केटी नभेटेपछि उनले आफ्नी श्रीमतीलाई यो प्रस्ताव गरेछन्' यसकारण त्यो होटलको दिदीले घर छोड्ने निर्णय गर्नु भएछ।' यसकारण पैसाको दायरामा अरू कोही कुनै चिजको पनि कुनै माइने रहन्न यो सत्य घटना थियो।
'पैसा नभए धेरै समस्या र पैसा भए छैन समस्या' भन्ने भनाइ ठिक छ पनि बेठिक छ पनि। किनकि यहाँ पैसा हुनेहरू पनि समस्यामा छन्। नहुनेहरू त समस्यामा हुने नै भए। यो पुँजीवादी समाजमा बिना पैसाको मानिस त मानिस नै हैन। 'प्याउली पलाइछ भन निरमाया सुख कसलाई छ?' यो गीत गाउँघरतिर खुब चल्छ। हुन पनि हो सुख भन्ने चिज दुर्लभ छ। हामीले भेटेका, जानेका र चिनेका धनाढ्यहरू पनि आफूलाई दुःख छ भन्छन्, गाह्रो छ भन्छन्, गाह्रो नुन तेल किन्न पक्कै होइन होला। बरू बैंक, इएमआई, किस्ता, ऋणको ब्याज तिर्न र भर्न होला सायद।
'हातको मैला, सुनको थैला के गर्नु धनले, साग र सिस्नो खाएको बेस आनन्दी मनले' भनेर मुनाले मदन भोट पैसा कमाउन जाने बेला भनेको कुराले आजको दुनियाँ सम्झिनेवाला छैन। सबै पैसाको दौडमा छन्।
एक जना मित्रले भन्नुभयो, 'मानिस खुसी र सुखी होलान् पक्का तर उनीहरूलाई तपाईंले सोध्नुभयो कि यदि तिनिहरू सन्तुष्ट छन् कि छैनन्? उनीहरू सन्तुुष्ट भने छैनन् होला सुख र सन्तुष्टि फरक पाटा हुन्।
धनाढ्यहरूको क्लबको एक भनाइ अनुसार 'तिम्रो बैंक एकाउन्ट, टेलिफोन नम्बर जस्तै नभएसम्म काम गरी राख' यो भनाइ वास्तविक नै छ।
हो पनि ५ फिगरको तलबले त बाँच्नै धौधौ छ यसकारण पनि कुस्त कमाउन आवश्यक छ। नैतिकवान भएर, कानुन मानेर यतिका पैसा कमाउनु अवश्य नै कठिन कार्य हो। यी सबै कुरा त सुख खुसीको बारेमा भए अब जागिरको कुरा गरौं। जुन मुख्य विषयवस्तु थियो।
जागिर खाने जागिरवालाहरूको आ—आफ्नै विशेषताहरू छन्। जसमा बाँच्नका लागि जागिर खानु, कमाउन जागिर खानुु, सिक्न, जान्न, बुुझ्न जागिर खानुु ताकि पछि गएर आफै आफ्नै गर्न सकोस्, कुनै खाली समयको सदुपयोगका लागि जागिर खानु, यी सबै प्रकारका जागिरेहरूको आ—आफ्नै पीडा छन्।
हुन त हाम्रो समाजमा दिमागको काम गर्नेलाई जागिर रे र हातको मेहनतको पाखुरे कामलाई काम रे कति भेदभाव छ।
बाँच्न जान्न खानेहरू जेजति जस्तो सम्झौता गरेर जागिर लिन्छन्, यिनीहरू जे जसरी पनि त्यही जागिरबाट सबै कुरा गर्छन्। गाँस, बास र कपासको लागि जागिर गर्ने भए पनि खासै क्षमता, दक्षता, सीप, कला र कौशल उनीहरूमा छैन र पनि बाध्यताले जीविकाको लागि श्रम गर्छन्। उनीहरूलाई उचित ज्याला होइन, काम चाहिएको छ। उनीहरूलाई जसरी पनि जागिर खानु परिवार पाल्नु छ अन्य विकल्प छैन। सुरूआती दिनमा त सबैजसो जागिरेको हालत यही नै हो किनकि ‘जागिर गर्न अनुभव चाहिन्छ, अनुभव गर्न जागिर चाहिन्छ।’
अर्कोथरी यानी प्रखर पेशाकर्मी, प्रोफेसनल मानिसहरू जागिरबाटै सानदार जीवन जिइरहेकाछन् र रमाइरहेकाछन्। खासमा यी मानिसहरू व्यवसायीभन्दा पनि बढी खुसी र सुखी देखिन्छन् उनीहरूसँग सीप, कला, योग्यता छ तर उनीहरू बिना लगानी आनन्दको जीवन चलाइरहेका छन्। उनीहरू मासिक २० लाखसम्म पनि तलब खानेसम्म छन्। ती त भए अपवाद तर जति तलब खान्छन्, मनग्ये खान्छन्, उनीहरू अर्थात् प्रोफेसनलहरू समय काल अनुसार ढाट्न, कुरा बनाउन सिपालु छन् र पो उनीहरू प्रोफेसनल भएका हुन् जो सजिलै 'नो' भन्न सक्छन्। पद, पैसाको लागि जुनसुकै काम लिन्छन्, मानौं पैसा उनीहरूका लागि सबथोक हो। यिनीहरूलाई नै स्ट्रेट फरवार्ड भनिन्छ।
सीप जानेकाहरू पनि जीवन नजानेर अलपत्र छन्। प्रोफेसन भए पनि बेहाल छ प्रोफेसनल नभएकाले। ३० वर्ष अघिको एक घटना जब बसमा काम गर्दा एक जना ड्राइभर भाइ थिए। गाडी वीरगञ्ज पोखरा चल्थ्यो। भत्ता ट्रिपको साढे तीन सय जति हुन्थ्यो। दैनिक जस्तो ट्रिप लागे पनि ती ड्राइभर भाइ बेलुकी मसँग भत्ता बुझेर कोठा जान्थे। अविवाहित नै थिए र पनि भोलिपल्ट एक रुपैया साथमा हुन्थेन र बिहान पैसा माग्थे यसकारण पनि पैसा जोगाउन जो कोहीले सक्दैन। यसका लागि पनि अलग्गै सीप चाहिन्छ। त्यो पैसा जोगाउने सीप कला हरेकमा हुँदैन, तर पैसा कमाउने सीप र कला सबैमा हुन्छ।
सिक्न, जान्न, थाहा पाउन, पछि त्यही काममा पेशामा लाग्न, जो खास उद्देश्यका साथ जागिर खान्छन्। उनीहरूलाई स्पष्ट छ कि यो बेलासम्म जागिर गर्ने हो, यो जागिर पछिको मार्ग पनि स्पष्ट नै छ अहिले नै। यसकारण उनीहरू रमाउँदै, सिक्दै जागिर गरिरहेका छन्। उनीहरू छोटो समय जागिर गर्छन्, मानौं कि इन्टर्न जस्तो।
नेपालमा अधिक संख्यामा मानिसहरू पेट पाल्नका लागि जागिर गर्नेहरू छन्। जागिरे भन्नासाथ तिनै पर्छन् जो जागिरलाई नै जिउने सहारा मान्छन्। तिनीहरूको संख्या अत्यधिक छ। हाम्रो जस्तो मुलुकमा जहाँ विद्यालयहरू, स्कुल, कलेजहरूमा सीप होइन, घोक्न, सार्न, मात्र सिकाउँछन्। चिट चोरेर, गेस पेपर घोकेर। कहाँ सीप, कला, इलम र उद्यम। यसकारण पनि यहाँ अदक्ष कामदारको संख्या ज्यादा छ।
अंग्रेजीमा एउटा मार्मिक भनाइ छ नि 'मनि इज एभ्रिथिङ्ग' सायद यही भएर होला विवेक बिर्सेर सबै पैसामा कुदेर लागेका हुरूक्क भएको यसकारण जसरी पनि पैसा कमाउनुपर्छ भन्ने मत सबैमा आयो।
अहिलेका युुवायुवती सबैमा लगाव छ, कि पैसा सबथोक हो। जसरी पनि कमाउनुपर्छ। पैसा नकमाए काम छैन, पैसा भएपछि सबथोक हुन्छ। पैसा छैन, स्वतन्त्रता छैन। युवायुवतीमा यो सोच आउनुको पछाडि दिन उमेरका कलिला केटाकेटीहरू कोही मिर्गौला फेल भएर, कोही क्यान्सर भएर दबाई गर्न नसकेर, अकाल मरेका छन्। राज्यबाट उपचारमा राहत छैन। पैसा नभएर उपचार नभएर मर्नुपरेको छ। तसर्थ यो युुवायुुवतीको भाष्यमा मेरो समर्थन नै छ भलै शाषकहरूको सर्मथन हुँदैन किनकि उनीहरू सधैं जित्न खोज्छन्। महसुुस, स्वीकारोक्ति उनीहरूमा प्राय: भेटिन्न।
बैंन्जामिन फ्रेङ्कलिनका अनुसार 'धन जोसँग छ त्यसको होइन, बरू जो त्यो धनमा रमाउँछ उसको हो'। यसकारण पैसा हुनु, कमाउनु, रमाउनु अलग अलग कुरा हुन्। जीवनमा पैसा कमाउन नसक्नु कमजोरी हो या कायरता? किनकि यहाँ हिम्मतवाला मानिसले नै पैसा कमाइरहेका छन्। हिम्मत त्योसँग हुन्छ, जोसँग पैसा हुन्छ। पैसाले मानिसलाई हिम्मत दिन्छ, मान्छे चिनाउँछ। यसकारण पनि जसरी पनि पैसा कमाउनुपर्छ भन्ने मत छ केही हदसम्म जायज छ।
कुनै बेला कार्यालयमा साथीहरू मलाई गैह्रआर्थिक मानव भन्थे किनकि मसँग पैसा हुन्थेन तर तलब चाहिँ सबैभन्दा बढी मेरै थियो। साथीहरू सोध्थे- तैंले पैसा कहाँ राख्छस्, सेभिङ त धेरै होला। किनकि भाडा तिर्न नपर्ने, धेरै तलब खाने, धेरै ठाउँमा काम गर्ने उनीहरूको तर्क पनि आफैमा ठिकै थियो र पनि यथार्थमा मसँग पैसा थिएन।
म आफ्नै उदाहरण दिँदा पाठकले अन्यथा नलिनु होला कि आफ्नै बखान लगाउँछ भनेर। पैसा कमाएर होइन, जोगाएर जतन गरेर हुने रहेछ। आमाले 'सधैं जिउको जतन गर है बाबु, पछि दु:ख हुन्छ' त भन्नुहुन्थ्यो तर पैसाको जतन गर भन्नु भएन कहिल्यै पनि। यसैले पनि मसँग पैसा हुन्थेन, छैन र हुँदैन पनि।
कोही साथी सोध्छन्, 'सेयर खेल्नुहुन्न?' आफूलाई थाहा नै छैन तर साथीहरू भने यति कित्ता, उति कित्ता छ भन्छन्। यसकारण पैसा कमाउनुभन्दा जोगाउनु नै कला हो, मानिसको सफलता हो। यसको तात्पर्य सेयर किन्नुहोस् भन्ने चाहिँ पक्कै होइन।
सिनेमामा हिरोइनको बाबुले हिरोलाई गरिब देखेर 'औकात बनाएर, कमाएर आइज मेरी छोरीको हात माग्न' भनेझैं हामी पनि जसरी पनि पैसा कमाउनुपर्छ भन्ने मतमा सहमत भएको अवस्था छ।
हामी नेपाली मुर्ख, अबुझ, गवार, बुुद्धु भएर नै यहाँ व्यवसाय गर्न पैसा कमाउन सहज छ, किनकी ग्राहक सबै मुर्खको जमात हो। अझ हाँसो उठ्ने कुरा के छ भने वस्तुसेवा खरिदमा पनि गरिबले महंगोमा किनेको त्यही सामान, धनीले कम मूल्यमा किन्छ दुनियाँ अचम्मको छ, जहाँ ताल, त्यहीँ पानी।
जसरी पनि पैसा कमाउनु पर्दैन बरू जसरी पनि पैसा जोगाउनु जतन गर्नुपर्छ। जोगाउनु नै कमाउनु हो। यसको अर्थ उपभोग पूरै कटौती भने होइन तर अनावश्यक उपभोग वस्तुसेवाको खपत चाहिँ हटाउनुुपर्छ नै।
केही साथी चिया माग्दा पनि 'दुईको तीन भन्छन्' त्यो भनेको के रहेछ भने दुई कप चिया तीन भाग लगाउने यो त सामान्य उदाहरण हो, अन्य सयौं यस्ता उदाहरण छन्। जहाँ पैसा जोगाउने शुत्र छ। जसरी पनि पैसा कमाउनुपर्ने नै हो त? भन्ने तर्कमा युुगको माग यही नै हो। तर विवेक, न्याय, धर्म, नैतिक, मूल्य र मान्यताले गर्दा यो गर्न सकिएन। आँखा चिम्लियो भने पैसा दुई हातको खेल नै हो, अवश्य कमाइन्छ तर सबै कुरा तिलान्जली दिनुपर्छ यसैले त भनिन्छ जब पैसा बोल्छ तब सत्य चुप लाग्छ।
वारेन बफेटका अनुसार 'तिमी धनी हुने तिम्रो कमाइ अर्थात् तलबले होइन, त्यो तिम्रो खर्च गर्ने बानीले हो।' यसकारण पनि खर्च गर्ने परिपाटी, तरिका, विधि बदल्नु आवश्यक छ, जुन तरिकाले गर्दा रु १ को माललाई हामी रु ५ तिरिरहेका छौं।
गरिबको सोच आधारभूत आवश्यकता पूरा गर्ने हुन्छ। मध्यम वर्गको सोच जीवनस्तर उकास्ने, सुधार्ने हुन्छ भने धनीको सोच जीवनस्तर कायम राख्ने हुन्छ तसर्थ पैसा जसरी पनि कमाउने सोच गलत हो जसमा स्वाभाविक रूपमा पैसाको खातिर मानिस जुनसुकै कर्म गर्न पनि तयार बन्छ, जसको कारणले समाजमा अपराध, हत्या, हिंसा, लुटपाट, ठगी, ढाँट, छल, कपटको आगमन हुन्छ।
(लेखकमा अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्।)