तिम्रो सपनाको चटपटे, मेरो बिपना! राता डल्ले खुर्सानी जस्तै आँखा, पसिनाले पुरिएको नुनिलो शरीर र अमिलो मन; यथार्थ यही हो। तर तिमीले सपनीमा देख्दा ठ्याक्कै चटपटे नै देख्छौ; अमिलो, पिरो, टक्क मिठो।
तिमीले सपनामा देख्छौ नि रुखमै पैसा फलेको। हो, फल्छ यहाँ; जुठेल्नुमा, चर्पीमा, भुइँदेखि भित्ता-भित्ता जताततै फल्छ पैसा। क्या गज्जबको छ यहाँको जिन्दगी, कतिलाई त आफू नेपाली भनेर खुलाउनै मन नलाग्दो रहेछ। यताउता साथीभाइका कुरा कति सुन्नु, आफ्नै व्यथाले थिचिएको छ।
हुन त देश विदेश खाएर आए पो प्रगति हुन्छ त भन्छन् नेपालतिर। तर किन? आजको यो संसार एउटा गाउँ जस्तै बनिसकेको बेलामा संचारको यो युगमा हामीले हाम्रो प्रगति गर्न विदेशीकै गुलामी हुनै पर्ने हो र? हाम्रो देशमा केही नीतिगत समस्या होलान्, रोजगारयुक्त शिक्षा नहोला। त्यसलाई अब तिमीले चिर्नुपर्छ साथी। नाथे विदेशी डलरको लोभमा तिमीले तिम्रो युवा अवस्था कसैलाई नि नबेच साथी। मैले गरेको गल्ती तिमीले नगर।
हुन त समयको नि दोष होला किनकि आजभोलि नेपाली समाजले देशमै केही गर्छु भन्नेलाई भन्दा विदेशी हुन्छु भन्नेलाई बढी जोडले धाप मारिदिन्छ। तर के गर्छौ साथी? समाजको प्रिय बन्न खोज्दा आफ्नै जीवन किन बेच्नु?
‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ, हात्ती लम्कँदै गर्छ’
साथी तिमी हात्ती हौ, तिमी लम्कनुपर्छ। नाथे यो विदेशीको सिस्टम त दूरसंचारदेखि सिकिदेऊ न। सिक्न नि परेन के साथी, यिनीहरूको पनि राम राज्य होइन, त्यसैले सबै बुझेर आफ्नै पारामा चल्दा हुन्छ। किनकि यहाँको नीति भनेको यहीको विकासका निम्ति बनेका हुन्। यिनीहरूसँग हामी त्यति लोभिनु पर्ने नि छैन के। किनकि यिनीहरूको आर्थिक विकासको मुख्य खम्बा भनेकै प्राकृतिक स्रोतको दोहन र व्यापार त हो। बाँकी अरू त समय, परिस्थिति र नेतृत्वले ल्याएको परिवर्तन हो।
प्राकृतिक स्रोत र सुन्दरतामा त हामी नि कुनैभन्दा कम छैनौँ नि। तसर्थ थोरै ढिला मात्रै भएको हो साथी। हाम्रो नि आउँछ दिन तर बस् हामीमा धैर्यता र लगनशीलता हुनुपर्नेछ जुन कुराको मैले गल्ती गरेँ, तिमीले नगर्नू।
सोझा दाजुभाइहरू विदेशी आर्मीमा भर्ती हुन खुब लालायित हुन्छन् नि। बिना अर्थ कलिला अबोध बालिकाहरू खुसी र आर्थिक समृद्धिको सपनामा बेचिन बाध्य छन्।
आफ्नै देशमा भएको भए आमाले पकाएको खाएर ढुक्कले पढ्न हिँड्ने समयमा यहाँ ‘रातिको काम कहाँ पाइएला? क्लिनिङको काम पाउन पाए त खुब आनन्द हुन्थ्यो, भाडा माझ्न पाउन पाए घरको ऋण कम गर्थेँ’ भन्दै मरिहत्ते गरेर कलेजको फी जुटाएका छन्। यसरी आफ्नो युवा अवस्था या भनौँ युवा शरीर नै सुम्पेका छन्। यो बाँच्न मात्रै पुग्ने सीमित डलरमा बेचिएको हो।
नेपालदेखि बेच्ने र यहाँ हाम्रो दोहन गर्न पल्केकाहरूले भनिदिन्छन्- ‘काम ठुलो-सानो हुँदैन।’ अनि हामी रातभरि भाँडा माझेर फुलेका हात लुकाउँदै अमिलो मन पारेरै भए नि मक्ख पर्छौँ। भविष्यको लागि राम्रो विकल्प रोज्नु मानिसको स्वभाव नै होला तर यो पनि गरिबीका कारणले मात्र होइन है, लोभ र लालचीपनको भूमिका निकै ठुलो छ जस्तो लाग्छ मलाई।
अर्को त नेपालमा केही हुँदैन भन्ने नकारात्मक भावको हाबी भएर पनि होला। जे होस्, यो सबै कुरालाई चिरेर ‘अब नेपालमै हो सबै कुरा हुने’ भन्ने खालको भाव फिँजाउने जिम्मा हाम्रो हो साथी। अझ भनौँ म त त्यो लालचीको भिडमा मुछिइसकेँ, अब त तिमी मात्रै चोखो बाँकी छौँ। मभन्दा सयौँ गुणा सक्षम छौँ। तसर्थ अब मुख्य जिम्मेवारी तिम्रो हो साथी।
खराब होलान् कैयौँ मान्छे बिस्तारै हटाउनुपर्छ। हरेक कुना-कुनामा सुन फलाउनुपर्छ। विदेशीले जस्तो प्रकृतिको दोहन गरेर होइन प्राकृतिक सुन्दरताको बास्नालाई संसारमा फिँजाएर हामी समृद्ध हुनुपर्छ।
भन्न त भनौला- ‘आफू गएर अरूलाई नआइज भन्छ।’ तर के गर्नु? स्वर्ग भए नि नर्क भए नि आफू नै नपुगेसम्म देखिँदो रहेनछ। स्वर्गमा फसे त ठिकै छ तर नर्कमा फस्यौ भने त मेरोझैँ ५/६ वर्ष अलमलमै जान्छ त साथी। सामाजिक सञ्जालको कुरै नगर मेरो साथी, सिधा अर्थमा भन्नुपर्दा त्यो त मेरो नौटङ्की हो यार। मेरो समाजले मबाट त्यही आशा राख्छ त म के गरौँ?
ल एकछिनलाई मानौँ, केहीको चहलपहल राम्रै होला पनि। तर यो यथार्थ हो सबैलाई यिनीहरूले यहीको ऋणको जालमा फसाएर बँधुवा मजदुर बनाइदिन्छन्। जे होस्, मेरो झैँ तिम्रो नहोस् भनेर भनेको हो। जसरी बुझ्छौ बुझ।