दिउँसो मध्यान्ह भएको थियो। भक्तपुरबाट कोटेश्वर जाँदै थिएँ। चेकिङ रहेछ। अनायास आँखा जुधाइन्। मुस्काउँदै हातको इसाराले सवारी रोक्नुस् भनिन्। रोकेँ।
बिल बुक र लाइसेन्स देखाउन भनिन्, ‘सक्नु हुन्छ नि?’
‘किन नसक्नु! सबै कागजात ब्यागमा बोकेर हिँड्नेलाई समस्या नै भएन। नागरिक एपमा देखाए हुन्छ?’ मैले सोधेँ।
‘होइन, सक्कल देखाउनुस्’ भनिन्।
‘त्यसो भए त त्यो एपमा राखेको कामै भए न नि’ भनेँ।
थप विवाद गरिनँ। किनकि कागजात बोकेरै हिँड्नेलाई केही समस्या थिएन। तर ‘हाम्रो ट्राफिक प्रहरी कहिले प्रविधिमैत्री होलान्?’ मनमनै सोचेँ।
ब्याग खोतल्दै गर्दा कागजात छ भन्ने लाग्यो होला, जानुस् भनिन्। उनको अनुहार हेरेर मुसुक्क हाँसेँ म र आफ्नो बाटो लागेँ। ‘शुभ यात्रा’ भनिन्। फर्केर हेरेँ मैले। मुस्काइन्।
कर्मचारीले घुस खाए, काम गरेनन्। शिक्षकले राजनीति गरे, पढाएनन्। नेताले देशको लागि कामै गरेनन्। सबै क्षेत्रको आलोचना र टीका टिप्पणी हुन्छ। तर सबैभन्दा धेरै गाली र आलोचना हुने जागिर कुन होला? यो कुनै अनुसन्धान होइन। केवल अनुमान हो। चालकको गाली र आलोचना ट्राफिकले बढी पाउँछन्।
साँच्चिकै ट्राफिक गलत हुन्छन् त?
सडकमा घाम-पानी, धुलो-मैलो सहेर नागरिकको ज्यान जोगाउन अहोरात्र खट्ने ट्राफिक पुलिसलाई गाली गरेर थाक्दैनन् चालकहरू। रातो बत्तीको मतलब छैन। लेनको मतलब छैन। स्पिडको ख्याल छैन। मापसे गरेर पनि सवारी चलाउनै पर्या छ। नशामा हुँदा नचलाऊ भन्दा पनि गाली नै छ।
हेलमेट लगाउँदा वा सिट बेल्ट बाँध्दा चालक सुरक्षित हुन्छ। त्यसलाई पनि बोझ नै सम्झेको छ। त्यसमा पनि गाली नै गर्या छ। जथाभाबी पार्किङ नगर्नू भन्दा गाली नै गर्या छ। चेक जाँच हुँदा कागजात देखाऊ भन्दा गाली नै गर्या छ। स्टेसनमा बाहेक जथाभाबी सवारी नरोक्नु भन्दा पनि आँखा तर्छन्। गाली नै गर्छन्। जेब्रा क्रसको ख्याल छैन। जथाभाबी यात्रु नचढाऊ वा नओराल भन्दा पनि त्यस्तै छ। तोकेको स्पिडभन्दा बढी नकुदाऊ भन्दा पनि हुँदैन। गाली नै छ।
बाटो जाम भयो; ट्राफिकले नै गाली पाउँछ। ठुलाबडालाई रोक्दा उसको जागिरै जान्छ। ठुलाबडालाई चेक गर्न डराउनै पर्या छ। नियम भन्ने लाग्नु हुँदैन रे नेपालमा! कस्ता नागरिक उत्पादन गर्दै छ देशले? सडकमा ट्राफिकै नराखे हुन्छ त? सचेतना कमजोर भएका र नियम उलङ्घन गर्ने जमात बढी भएकोले सडक व्यवस्थापनमा ट्राफिक जरुरी छ।
ट्राफिकको सक्रियताले यो वर्ष उपत्यकामा सडक दुर्घटना र सोबाट मृत्यु हुनेको सङ्ख्या स्वात्तै घटेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। चल्तीको एउटा उखान छ- ‘बार बारे बाली जोगिन्छ।’ ट्राफिकको सक्रियता भए अकालमा मर्नेहरू कम हुन्छन्। यति कुरा चालक र यात्रुले बुझे धेरै हुन्थ्यो।
धेरैजसो गल्ती चालक र सडक यात्रुले गर्छन्। गाली चाहिँ ट्राफिकले पाउँछन्। लुकेर चेक गर्यो भन्छन्। ढुकेर चेक गर्यो भन्छन्। जसरी चेक गरे पनि सडक प्रयोगकर्ताले नियम पालन गरे समस्या समाधान भइहाल्यो नि। कुरा सक्किगो नि। दोष किन लगाउनु? किन गाली गर्नु? बिनासित्तिमा चिट काट्यो भन्छन्। त्यत्तिकै दुःख दियो, पैसा लिन खोज्यो आदि आदि। मुख्य सवाल चालक र सडक यात्रुले नियम मान्ने कि नमान्ने भन्ने नै हो।
नियम पालना गर्नेलाई ट्राफिकले दुःख नदिएको हुनुपर्ने हो। बरु सल्लाह दिएका होलान्। अनजानमा भएका सामान्य गल्तीलाई ट्राफिकले कहिलेकाहीँ मिनाहा गर्नु पर्छ। नत्र ऊ यन्त्र जस्तो हुन्छ। तर नियत वश गरेका गल्ती क्षम्य हुनु हुँदैन। त्यो रोक्नु उसको दायित्व हो। दण्डित गर्नै पर्छ नत्र सडक व्यवस्थापन कठिन हुन्छ। ट्राफिक प्रहरी सडकको सरकार हो। सडक र ट्राफिक व्यवस्थापनले समग्र देशको प्रणाली संकेत गर्दछ।
नेपाल कमजोर ट्राफिक चेतना भएको मुलुकमा पर्छ। नियम पालना कसैलाई मन पर्दैन। बिच बाटोमा रोक्देऊ ट्राफिक छैन भन्छन्। यात्रुकै सुरक्षाका लागि हो भनेर कहिले बुझ्लान्? चालक मात्र होइन, यात्रु समेत ट्राफिकलाई गाली गर्छन्। नियम आफू नमान्ने गाली चाहिँ ट्राफिकलाई दिने गलत प्रचलन छ।
ट्राफिक पनि यही समाजको पात्र हो। सडकमा दिनभर उभिँदा रिस उठ्दो हो। भनेको बेला पानी पिउन नपाउँदा प्यास लाग्दो हो। मानवीय त्रुटि उसले पनि गर्न सक्छ। यही समाजका पात्र भएकाले समाजको रोग ट्राफिकमा पनि सरेको हुन सक्छ। तर सबै ट्राफिक खराब हुन भन्ने मान्यता गलत छ। सबै ट्राफिक दूधले नुहाएका चोखा छन् भन्न पनि सकिन्न। यसको मतलब सबै खराब हुँदैनन्।
ट्राफिक पुलिस सडक प्रयोग कर्ताको साथी हो। ट्राफिकले यो नारालाई व्यवहारमा रूपान्तरण गर्नु जरुरी छ।
गाली नै गर्ने भए उच्च तहका अधिकारीलाई गाली गरे हुन्छ। शासकलाई गाली गरे हुन्छ जसले कुशासन ल्याए। तल्लो दर्जाका ट्राफिकलाई गाली गरेर समस्या समाधान हुँदैन। ट्राफिक सडक नियम पालना र कार्यान्वयनकर्ता मात्र हो। सडक यात्रा सुरक्षित बनाउने पहरेदार हो। समस्या चालक, यात्रु र पैदल यात्रीमा छ भन्ने कुरा गाली गर्नेहरूले बुझ्न जरुरी छ।
ट्राफिकको एउटा मात्र दोष छ, त्यो हो मानिसको जीउ ज्यान सुरक्षा गर्न सडकमा अहोरात्र खट्छन्। अनाहकमा ट्राफिकलाई गाली गर्नेहरू आफ्नो गल्ती ढाकछोप गर्न खोज्ने मानसिक बिरामी हुन्।
आँखा जुधाएर मुस्कान दिने ट्राफिकहरू सडकमा देख्न मन छ। शुभ यात्राको शुभकामना र शुभेच्छा दिनेलाई सडकमा फेरि भेट्न मन छ। मुस्कान साटासाट गर्न मन छ।